२४ घण्टामै ४२ हजारभन्दा बढी आवेदन परेपछि अवरुद्ध भएको निःशुल्क अनलाइन एआई तालिमको आवेदन प्रक्रिया पुनः खुला गरिएको छ। राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सोमबारदेखि सरकारी श्रमसंसार पोर्टलमार्फत नयाँ आवेदन फाराम उपलब्ध गराएको हो। ‘Mastering AI with Effective Prompt Engineering’ नामक तालिमका लागि इच्छुकले अब श्रमसंसारको आधिकारिक वेबसाइट मार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति आज कात्तिक १७ गते मंगलबार दिउँसो ३ बजेसम्म तोकिएको छ। यसअघि प्रतिष्ठानले गुगल फाराममार्फत तालिमका लागि आवेदन खुलाएको थियो। तर, आवेदन खुला भएको २४ घण्टाभित्रै ४२ हजारभन्दा बढी युवाले आवेदन दिएपछि फाराममा समस्या देखिएको थियो। गुगलले आफ्नो सेवा सर्त तथा नीतिसम्बन्धी कारण देखाउँदै उक्त फाराम निष्क्रिय पारेपछि आवेदन प्रक्रिया रोकिएको थियो। फाराम अवरुद्ध भएपछि राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सोमबारदेखि आफ्नै आधिकारिक वेबसाइटमार्फत नयाँ आवेदन फाराम उपलब्ध गराउने जानकारी दिएको थियो। यद्यपि, सोमबार बिहानसम्म नयाँ फाराम सञ्चालनमा नआएको भन्दै इच्छुक आवेदक अन्योलमा परेका थिए। पछि श्रमसंसार पोर्टलमार्फत आवेदन प्रक्रिया पुनः सुरु गरिएको हो। प्रतिष्ठानले यसअघि पहिलो चरणमा सफलतापूर्वक आवेदन दर्ता गराइसकेका व्यक्तिको विवरण सुरक्षित रहेको जनाएको छ। उनीहरूले पुनः आवेदन दिनुपर्ने छैन। दोहोरो आवेदन रोक्न एक व्यक्तिले एक पटक मात्र फाराम भर्न प्रतिष्ठानले अनुरोध गरेको छ। तालिममा सहभागी हुन दुई हजार जनालाई छनोट गर्ने तयारी छ। आगामी कात्तिक १८ र १९ गते अनलाइन माध्यमबाट सञ्चालन हुने तालिम बिहान १० देखि दिउँसो १२ बजेसम्म र बेलुका ६ देखि ८ बजेसम्म गरी चार सत्रमा सञ्चालन हुनेछ। प्रत्येक सत्रमा ५०० जनालाई सहभागी गराइनेछ। तालिममा सहभागीलाई कृत्रिम बुद्धिमत्ता (एआई) उपकरणको प्रभावकारी प्रयोग, प्रम्प्ट लेखन, अध्ययन तथा कार्यालय प्रयोजनका लागि एआईको उपयोगलगायत विषयमा प्रशिक्षण दिइनेछ। छनोट भएका आवेदकलाई एसएमएसमार्फत जानकारी गराइने प्रतिष्ठानले जनाएको छ। तालिम पूर्ण रूपमा निःशुल्क रहेको छ। सम्बन्धित समाचार निःशुल्क अनलाइन एआई प्रम्प्ट तालिम सञ्चालन हुँदै, २ हजार जनालाई सहभागी गराइने The post ४२ हजारभन्दा बढी आवेदनपछि रोकिएको निःशुल्क एआई तालिमको फाराम पुनः खुला appeared first on Technology Khabar.
४२ हजारभन्दा बढी आवेदनपछि रोकिएको निःशुल्क एआई तालिमको फाराम पुनः खुला

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






