‘जनताको आँखामा पट्टी बाँधिदिएको छ, कानमा विष हालिदिएको छ, नेपाली जनतालाई भेदेको छ, भेद निकाल्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘ भेद निकाल्न ढ्याङ्ग्रो ठटाउने हामीले नै हो ।’ काठमाडौं, मंसिर ३ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विश्व नै लागेर पार्टीलाई समाप्त पार्न खोज्दा पनि एमाले आफ्नो अस्तित्वसहित उभिइरहेको दाबी गर्नुभएको छ । उहाँले एमाले कमजोर नभएको उल्लेख गर्दै पार्टीलाई लोकतन्त्र, राष्ट्रिय स्वाभिमानको रक्षा र देश विकासका लागि निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने घोषणा गर्नुभएको छ । नेकपा एमालेको राष्ट्रिय भेलालाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीविरुद्ध विभिन्न शक्ति लागे पनि एमाले समाप्त नभएको बताउनुभयो । उहाँले एमालेको राजनीतिक अस्तित्व र प्रभावलाई कमजोर पार्ने प्रयास सफल हुन नसकेको जिकिर गर्नुभयो । ‘एमाले यति बलियो रहेछ नि, विश्व लागेर एमालेलाई सिध्याउँछु भनेर लाग्दा पनि एमाले छ त,’ उहाँले भन्नुभयो । अध्यक्ष ओलीले वर्तमान राजनीतिक परिस्थितिमा पनि देशमा वास्तविक प्रतिपक्षका रूपमा नेकपा एमाले नै रहेको दाबी गर्नुभयो । सरकारको संरक्षण र सहारामा बसेर प्रतिपक्षको भूमिका निर्वाह गरेको देखाउने पक्षमा एमाले नरहेको स्पष्ट पार्दै उहाँले राष्ट्रिय हित र जनताको पक्षमा पार्टीले दृढतापूर्वक आवाज उठाउने बताउनुभयो । ‘अहिले पनि अस्तित्वमा रहेको एकमात्र प्रतिपक्ष नेकपा एमाले हो,’ उहाँले भन्नुभयो, ‘सरकारको पखेटामुनि ओतिएर प्रतिपक्ष हुँ भन्न एमाले चाहँदैन, देशको हितको रक्षाका लागि एमाले लड्छ ।’ उहाँले प्रतिपक्षको भूमिका केवल सरकारको विरोधमा सीमित नहुने उल्लेख गर्दै राष्ट्रिय स्वार्थ, लोकतान्त्रिक मूल्य र मुलुकको हितका पक्षमा दृढतापूर्वक उभिनुपर्ने बताउनुभयो । सम्बोधनका क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री र अर्थमन्त्रीका अभिव्यक्तिप्रति पनि टिप्पणी गर्नुभयो । उहाँले उनीहरूको अभिव्यक्ति र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रस्तुति अपेक्षित स्तरको नरहेको टिप्पणी गर्नुभयो ।‘हामीले प्रधानमन्त्री र अर्थमन्त्रीको बोलाइ सुनेका छौँ । केपमा नेपालको प्रस्तुति बेढंगको देखियो,’ उहाँले भन्नुभयो । अध्यक्ष ओलीले पछिल्लो राजनीतिक परिस्थितिमा जनतामाझ पार्टीको वास्तविक काम, योगदान र उपलब्धि पुर्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । जनताका बीचमा जाँदा केवल राजनीतिक आरोप–प्रत्यारोपमा सीमित नभई विगतमा एमालेले गरेका काम र मुलुकका लागि पुर्याएको योगदान स्पष्ट रूपमा प्रस्तुत गर्न उहाँले नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘जनताका बीचमा जाँदा हामीले के गरेका थियौँ भनेर सम्झाउने गरी जानुपर्छ,’ उहाँले भन्नुभयो । जनतामाझ एमालेविरुद्ध भ्रम सिर्जना गरिएको दाबी गर्दै अध्यक्ष ओलीले त्यसलाई चिर्न पार्टीका नेता तथा कार्यकर्ताले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयो । जनतासम्म सही सूचना र तथ्य पुर्याउन नसक्दा भ्रमले ठाउँ पाउने उल्लेख गर्दै उहाँले त्यसविरुद्ध संगठित रूपमा आवाज उठाउनुपर्ने धारणा राख्नुभयो । ‘जनताको आँखामा पट्टी बाँधिदिएको छ, कानमा विष हालिदिएको छ, नेपाली जनतालाई भेदेको छ, भेद निकाल्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘ भेद निकाल्न ढ्याङ्ग्रो ठटाउने हामीले नै हो ।’ उहाँको यो अभिव्यक्तिले पार्टीको राजनीतिक सन्देश जनतामाझ पुर्याउन र एमालेविरुद्ध फैलाइएको भनिएको भ्रमको प्रतिवाद गर्न कार्यकर्तालाई सक्रिय हुनुपर्ने संकेत गरेको छ । अध्यक्ष ओलीले लोकतन्त्रको पुनःस्थापनालाई एमालेले बिर्सन नहुने ऐतिहासिक जिम्मेवारीका रूपमा व्याख्या गर्नुभयो । लोकतान्त्रिक प्रणालीको रक्षा, मुलुकको अस्मिता र राष्ट्रिय स्वाभिमानको संरक्षण तथा देशको समग्र विकासलाई पार्टीको प्रमुख राजनीतिक कार्यभार बनाउनुपर्ने उहाँको भनाइ थियो । ‘लोकतन्त्र पुनःस्थापनाको अभिभारा हामीले बिर्सनु नहुने अभिभारा हो,’ उहाँले भन्नुभयो । एमालेले अबको राजनीतिक यात्रामा आफूलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य लिएको उल्लेख गर्दै अध्यक्ष ओलीले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई सोही उद्देश्यका साथ अघि बढ्न आह्वान गर्नुभयो । ‘लोकतन्त्र, देशको अस्मिताको रक्षा र देश विकासका लागि नेकपा एमालेलाई हामी निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्छौँ,’ उहाँले उद्घोष गर्नुभयो । राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको अस्तित्व, प्रतिपक्षीय भूमिका, जनतामाझ राजनीतिक सन्देश प्रवाह, लोकतन्त्रको पुनःस्थापना र राष्ट्रिय स्वाभिमानको रक्षालाई आगामी राजनीतिक कार्यदिशाका प्रमुख विषयका रूपमा प्रस्तुत गर्नुभएको छ । उहाँले एमालेविरुद्धका राजनीतिक चुनौतीको सामना गर्दै पार्टीलाई राष्ट्रिय राजनीतिमा निर्णायक भूमिकामा पुर्याउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।
विश्व लागेर सिध्याउन खोज्दा पनि एमाले अस्तित्वमै छ, सरकारको पखेटामुनि ओतिएर प्रतिपक्ष हुँ भन्ने पक्षमा एमाले छैन : केपी ओली

Read Complete Original Article
Published originally on जनताटाइम्स






