Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/टीकाको राजनीति

टीकाको राजनीति

Share:WhatsAppFacebookX (Twitter)Telegram
टीकाको राजनीति

बर्दियाको राजापुर नगरपालिका-९, तिनघरवामा यस वर्ष दसैँको रौनक छैन। घरघरमा जमरा राखिएको छ, कुलदेवताको पूजा भइरहेको छ। तर गाउँका पाँच परिवार बाढीमा परी सम्पर्कविहीन भएका आफन्तको प्रतीक्षामा छन्। रोजगारीका लागि रसुवा पुगेका उनीहरू गत १० भदौमा आएको भोटेकोशी बाढीमा परेका थिए। प्रदीप थारूकी पत्नी सिर्जना थारू र सुरेश थारूकी पत्नी रमिता थारूका लागि यो दसैँ विगतका वर्षजस्तो छैन। गाउँका बरघर बरुण थारू भन्छन्, “कसैको मनमा पनि खुसी छैन।” भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घको परिसरमा राखिएको डिस्प्लेमा देखाइएको भोटेकोशी बाढीपछि प्राप्त शवको तस्बिर हेरेर पहिचानका लागि आएका आफन्तहरू। तस्बिरः सनद अधिकारी/रासस तिनघरवाका ७५ परिवारमध्ये पाँच परिवारका सदस्य बेपत्ता भएपछि अरू छिमेकीसमेत शोकमा छन्। बाढीमा बेपत्ता भएका मजदुरका परिवारले सरकारी राहतसमेत नपाएको गुनासो गरेका छन्। उनीहरू आफन्तको खोजी र परिवारको जीविकोपार्जनको चिन्तामा छन्। देशका विभिन्न भागमा यस्तै पीडाबीच दसैँ मनाइँदैछ। यसैले यस वर्ष राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई टीका लगाइदिने छैनन्। राष्ट्रपति पौडेल भने बिहान १० बजेर २६ मिनेटको साइतमा शीतलनिवासमा गुरु पुरोहितबाट टीका, जमरा र आशीर्वाद लिनेछन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार गत वर्षदेखि मुलुकले सामना गरिरहेको विषम परिस्थितिका कारण सर्वसाधारणलाई टीका लगाइदिने औपचारिक कार्यक्रम यस वर्ष पनि आयोजना गरिएको छैन। सार्वजनिक टीका परम्पराको जग बसाल्ने राजतन्त्रका अन्तिम प्रतिनिधि पूर्वराजा ज्ञानेन्द्र शाहले पनि यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने घोषणा गरेका छन्। भदौमा आएको हिमपहिरो र त्यसपछिको बाढी तथा असोजको अविरल वर्षाले ठूलो जनधनको क्षति पुर्‍याएको भन्दै निर्मल निवासले सार्वजनिक टीका कार्यक्रम स्थगित गरेको हो। पूर्वराजाको संवाद सचिवालयले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, “मौसुफबाट यस वर्षको विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा बक्सने कार्यक्रम नरहेको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।” पूर्वराजाले सार्वजनिक टीका कार्यक्रम स्थगित गरेको यो लगातार दोस्रो वर्ष हो। अघिल्लो वर्ष जेनजी आन्दोलनपछि उत्पन्न शोकका कारण उनले यस्तो निर्णय गरेका थिए। यसपटक प्राकृतिक विपत्तिलाई कारण बनाइएको छ। दसैँका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री वा पूर्वराजाबाट सर्वसाधारणले टीका थाप्ने परम्परा पुरानो हो। तर पछिल्ला वर्षमा महामारी, प्राकृतिक विपत्ति र राजनीतिक आन्दोलनका कारण यस्ता कार्यक्रम कहिले स्थगित भए, कहिले निरन्तर रहे। एउटै राष्ट्रिय संकटका बेला उच्च पदाधिकारीले फरक निर्णय गरेका उदाहरणसमेत छन्। राजतन्त्रपछि पनि रोकिएन सार्वजनिक टीका काठमाडौँको शीतलनिवास र महाराजगन्जको निर्मल निवासले नेपालको दुई फरक राजनीतिक अवस्थाको प्रतिनिधित्व गर्छन्। शीतलनिवास गणतन्त्र नेपालको राष्ट्राध्यक्षको कार्यालय हो। निर्मल निवास भने राजतन्त्र अन्त्य भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह बस्दै आएको निजी निवास हो। तर दसैँको टीकाको दिन यी दुई निवासले धेरै वर्षसम्म मिल्दोजुल्दो दृश्य देखाए। जहाँ दसैँको टीकाका दिन टीका र जमरा थाप्न सर्वसाधारण लामबद्ध हुन्थे। राष्ट्रपतिको कार्यालयमा राज्यका उच्च पदाधिकारीका लागि छुट्टै समय निर्धारण गरिन्थ्यो भने निर्मल निवासमा पूर्वराजाका शुभेच्छुक तथा सर्वसाधारण टीका थाप्न पुग्थे। नेपालमा १५ जेठ २०६५ मा राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना भयो। राजाबाट राष्ट्राध्यक्षको अधिकार राष्ट्रपतिमा हस्तान्तरण भयो। रामवरण यादव गणतन्त्र नेपालका पहिलो राष्ट्रपति बने। त्यसपछि विद्यादेवी भण्डारी र रामचन्द्र पौडेलले राष्ट्राध्यक्षको जिम्मेवारी सम्हाले। राजाको शासनकालमा हुने कतिपय औपचारिक समारोह गणतन्त्रमा राष्ट्रपतिबाट सञ्चालन हुन थाले। दसैँमा सर्वसाधारणलाई टीका लगाइदिने अभ्यास पनि यसैसँग जोडियो। राष्ट्रपति विद्यादेवी भण्डारीले विशिष्ट व्यक्ति र सर्वसाधारणका लागि छुट्टाछुट्टै समय निर्धारण गरेर पनि टीकाको कार्यक्रम तय गरिन्। दिउँसो १ देखि २ बजेसम्म विशिष्ट व्यक्तिहरू र त्यसपछि २ देखि ४ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने व्यवस्थासमेत भयो।मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी, निजामती कर्मचारी तथा सुरक्षा निकायका अधिकारी सुरुको कार्यक्रममा सहभागी हुने सूचीमा थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सार्वजनिक टीका कार्यक्रम राखे। राष्ट्रपति कार्यालयमा राज्यका पदाधिकारीको मर्यादाक्रमअनुसार समय छुट्याएर सर्वसाधारणलाई समेत टीका लगाइदिने परम्परा सरु हुँदा पूर्वराजाले पनि निजी निवासमा सार्वजनिक टीका कार्यक्रमलाई निरन्तरता दिइरहे। महामारीले रोकेको समारोह यसैबिच विभिन्न समयमा सार्वजनिक टीका कार्यक्रम स्थगित पनि भए। कोरोना महामारीका बेला राष्ट्रपति र प्रधानमन्त्रीले सार्वजनिक टीका कार्यक्रम रोकेका थिए। २०७७ सालमा कोरोना संक्रमण फैलिन नदिन ठूलो जमघट रोक्ने उपायहरू अपनाइएका थिए। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संक्रमणको जोखिमलाई ध्यानमा राखेर सर्वसाधारणलाई टीका नलगाइदिने निर्णय गरिन्। राष्ट्रपति कार्यालयले महाअष्टमी र कोजाग्रत पूर्णिमामा शक्तिपीठ जाने नियमित कार्यक्रमसमेत स्थगित गरेको थियो। तत्कालीन प्रधानमन्त्री ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम राखेनन्। तर व्यक्तिगत धार्मिक अभ्यास भने कायम रह्यो। दसैँको टीकाको दिन राष्ट्रपति भण्डारीले शीतलनिवासमा धार्मिक विधिअनुसार टीका ग्रहण गरिन्। उनले तत्कालीन प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिएकी थिइन्। महामारीको अर्को वर्ष पनि सार्वजनिक कार्यक्रम रोकिए। २०७८ सालमा राष्ट्रपति भण्डारीले परिवारका सदस्यलाई टीका लगाए पनि सर्वसाधारणका लागि कार्यक्रम राखिनन्। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पनि परिवार र सीमित व्यक्तिबीच दसैँ मनाएका थिए। महामारीको जोखिम घटेपछि सार्वजनिक टीका कार्यक्रम पुनः सुरु भयो। २०८० सालको दसैँको टीकाको दिन शीतलनिवास र निर्मल निवास दुवै ठाउँमा सर्वसाधारणको भीड लागेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट व्यक्तिलाई दिउँसो २ देखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ देखि ५ बजेसम्म टीका लगाइदिएका थिए। निर्धारित समयपछि पनि शीतलनिवासमा टीका थाप्नेहरूको लाम थियो। त्यही दिन पूर्वराजा ज्ञानेन्द्र शाहले पनि अपराह्न ४ बजेदेखि निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइदिएका थिए। एउटै विपत्ति, तीन फरक निर्णय २०८१ सालको दसैँअघि असोजको दोस्रो सातामा आएको भीषण वर्षाले काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढीपहिरोबाट सडक, पुल, बस्ती र सार्वजनिक संरचना प्रभावित भएका थिए। उद्धार तथा राहतको काम भइरहेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक टीका कार्यक्रम रद्द गर्ने घोषणा गरे। ओलीले बाढीपहिरोबाट प्रभावित नागरिकको पीडाका कारण त्यस वर्षको दसैँ पहिलेझैँ हर्षोल्लासका साथ मनाउन नसकिने बताएका थिए। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश दिँदै उनले परिवारका सदस्यबाहेक अरूलाई टीका लगाइदिने कार्यक्रम नरहेको स्पष्ट पारे। तर त्यही वर्ष राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक टीका कार्यक्रम कायम राखे। दसैँको टीकाको दिन २६ असोज २०८१ मा उनले शीतलनिवासमा पहिले विशिष्ट व्यक्तिहरू र त्यसपछि सर्वसाधारणलाई टीका लगाइदिए। राष्ट्रपति कार्यालयले विशिष्ट व्यक्तिहरूका लागि दिउँसो ३ देखि ३:३० बजेसम्म र सर्वसाधारणका लागि ३:३० देखि ५ बजेसम्म समय निर्धारण गरेको थियो। प्रधानमन्त्री ओलीले पनि आफ्नो पारिवारिक दसैँ रोकेका थिएनन्। उनले पिता मोहनप्रसाद ओलीबाट टीका ग्रहण गरे र पत्नी राधिका शाक्यलगायत परिवारका सदस्यलाई टीका लगाइदिए।उता निर्मल निवासमा पनि सार्वजनिक टीका कार्यक्रम भयो। पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाइदिए। उनको निवासमा टीका थाप्न पुगेका मानिसहरूको लाम लागेको थियो। यसरी एउटै राष्ट्रिय विपत्तिका बेला प्रधानमन्त्रीले सार्वजनिक टीका रोके भने राष्ट्रपति र पूर्वराजाले परम्परालाई निरन्तरता दिएका थिए। आन्दोलनलगत्तैको दसैँ गत सालको दसैँ नेपालको राजनीतिक संक्रमणका बीचमा आयो। २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनामा ठूलो मानवीय क्षति भयो। तत्कालीन प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिए। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो। आन्दोलनमा ज्यान गुमाएका परिवार शोकमा थिए। घाइतेहरूको उपचार चलिरहेको थियो। संसद् भवन र सरकारी कार्यालयसहित विभिन्न संरचनामा आगजनी तथा तोडफोड भएको थियो। यस्तो परिस्थितिमा आएको दसैँमा राष्ट्रपति, अन्तरिम प्रधानमन्त्री र पूर्वराजा तीनै जनाले सार्वजनिक टीका कार्यक्रम स्थगित गरे। अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा भएको मानवीय क्षति र घाइतेहरूको पीडालाई कारण देखाउँदै व्यक्तिगत रूपमा टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाइदिने निर्णय गरेकी थिइन्। राष्ट्रपति रामचन्द्र पौडेलले पनि देशको प्रतिकूल परिस्थितिलाई कारण देखाउँदै शीतलनिवासमा सर्वसाधारणलाई टीका नलगाइदिने निर्णय गरे। तर उनले व्यक्तिगत रूपमा टीका ग्रहण गरे। दसैँको टीकाको दिन शीतलनिवासमा पुरोहित अर्जुन अधिकारी र देवराज अर्यालबाट टीका लगाएका थिए। पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सर्वसाधारणलाई टीका नलगाइदिने घोषणा गरे। जेनजी आन्दोलनमा भएको मानवीय क्षति, देशको शोकपूर्ण अवस्था र नयाँ पुस्ताको आकांक्षालाई उल्लेख गर्दै उनले दसैँलाई पारिवारिक तथा सांस्कृतिक सीमाभित्र मनाउने बताएका थिए। यस वर्ष कांग्रेसको पनि कार्यक्रम स्थगित यस वर्ष प्राकृतिक विपत्तिले फेरि दसैँका सार्वजनिक कार्यक्रम प्रभावित बनाएको छ। १० भदौमा आएको हिमपहिरोपछिको बाढीले रसुवाबाट सुरु भएर त्रिशूली नदी प्रणालीका तटीय बस्तीमा व्यापक क्षति पुर्‍यायो। त्यसपछिको अविरल वर्षा र बाढीपहिरोबाट अन्य जिल्लासमेत प्रभावित भए। बुढीगण्डकी क्षेत्रमा आएको बाढीले पनि जनधनको क्षति पुर्‍याएको छ। यसैबिच नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम स्थगित गरेको छ। बीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीतिसहित स्वदेश फर्किएपछि २०३४ सालमा सुरु गरेको यो समारोह कांग्रेसको नियमित राजनीतिक-सामाजिक कार्यक्रम हो। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले भोटेकोशी र बुढीगण्डकी क्षेत्रमा आएको विपत्तिबाट भएको क्षतिलाई ध्यानमा राखेर यस वर्ष चियापान कार्यक्रम नगर्ने जानकारी दिएका छन्। कांग्रेस सभापति गगनकुमार थापाले पनि शोकको समयमा चाडपर्व मनाउँदा भड्किलो शैली अपनाउनुको सट्टा शान्त र संयमित रूपमा परिवारमा सीमित रहेर मनाउन आग्रह गरेका छन्। सार्वजनिक टीका वा चियापान स्थगित भए पनि चाडपर्वसँग सम्बन्धित सबै औपचारिक गतिविधि रोकिएका छैनन्। यस वर्षको फूलपातीमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री वालेन्द्र शाह सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँमा सहभागी भए। नेपाली सेनाले आयोजना गरेको उक्त कार्यक्रममा सैनिक सम्मान, बढाइँ र धार्मिक–सांस्कृतिक विधि सम्पन्न भएका थिए। राष्ट्रपति पौडेलले महाअष्टमीका दिन उपत्यकाका नौवटा शक्तिपीठको दर्शन तथा पूजा गरेका थिए। महानवमीका दिन उनले शीतलनिवासमा नवकन्याको पूजाअर्चना पनि गरेका छन्। सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम नराखिए पनि राष्ट्रपति कार्यालयमा परम्परागत धार्मिक विधि सञ्चालन भइरहेका छन्। टीकाको परम्परा र धर्मनिरपेक्ष गणतन्त्र नेपालमा दसैँको टीका सामान्यतः परिवारका ज्येष्ठ सदस्यबाट आशीर्वाद ग्रहण गर्ने परम्परा हो। तर राष्ट्रपति, प्रधानमन्त्री वा पूर्वराजाबाट सर्वसाधारणले टीका थाप्ने कार्यक्रम व्यक्तिगत परिवारको दायराभन्दा बाहिरको सार्वजनिक गतिविधि हो। राष्ट्रपतिबाट टीका थाप्न शीतलनिवास पुग्ने मानिसमा विभिन्न पेसा, क्षेत्र र समुदायका व्यक्ति हुन सक्छन्। त्यसमा राज्यका उच्च पदाधिकारीको औपचारिक सहभागिता पनि हुन्छ। पूर्वराजाको निवासमा पुग्ने मानिसको सम्बन्ध भने निजी आस्था, सामाजिक प्रतिष्ठा, राजसंस्थाको ऐतिहासिक पहिचान वा राजनीतिक सहानुभूतिसँग जोडिएको हुन सक्छ। राष्ट्रपति कार्यालयमा टीका थाप्ने प्रत्येक व्यक्ति गणतन्त्रको राजनीतिक समर्थक वा निर्मल निवासमा पुग्ने प्रत्येक व्यक्ति राजतन्त्र पुनर्स्थापनाका पक्षधर हुन् भन्ने त होइन। तर यस्ता समारोहले धार्मिक आस्थासँगै सम्बन्धित व्यक्तिको सार्वजनिक उपस्थिति र सामाजिक सम्बन्धलाई निरन्तरता दिन्छन्। नेपालको संविधानको धारा ६१ले राष्ट्रपतिलाई राष्ट्राध्यक्षका रूपमा परिभाषित गरेको छ। राष्ट्रपतिले राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने र संविधानको पालन तथा संरक्षण गर्ने जिम्मेवारी पाएका छन्। तर सर्वसाधारणलाई दसैँको टीका लगाइदिनुपर्ने संवैधानिक अनिवार्यता छैन। संविधानको धारा ४ले नेपाललाई धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा परिभाषित गरेको छ। त्यही धाराले धर्मनिरपेक्षताको व्याख्यामा सनातनदेखि चलिआएको धर्म-संस्कृतिको संरक्षण तथा धार्मिक र सांस्कृतिक स्वतन्त्रतालाई पनि समेटेको छ। संविधानले धार्मिक स्वतन्त्रतालाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। राष्ट्रपतिको व्यक्तिगत धार्मिक अभ्यास र राष्ट्राध्यक्षको हैसियतमा हुने सरकारी समारोहबीच भने भिन्नता छ। राष्ट्रपति अन्य नागरिकसरह धार्मिक स्वतन्त्रताको अधिकार भएका व्यक्ति हुन्। तर सरकारी निवासमा राज्यका पदाधिकारीको मर्यादाक्रमअनुसार सञ्चालन हुने समारोह व्यक्तिगत धार्मिक अभ्यासभन्दा फरक प्रकृतिको हुन्छ। नेपालका सबै समुदायले दसैँ एउटै विधिबाट मनाउँदैनन्। कतिपयले धार्मिक पर्वका रूपमा, कतिपयले सांस्कृतिक अवसरका रूपमा मनाउँछन् भने केही समुदाय र नागरिकले दसैँ मनाउँदैनन्। राष्ट्राध्यक्षको औपचारिक सांस्कृतिक सहभागिताको सन्दर्भमा यो विविधता पनि जोडिन्छ। राजतन्त्रको अन्त्यपछि धार्मिक अनुष्ठान र राजनीतिक हैसियतबीच आएको परिवर्तनलाई मानवशास्त्री एन टी मोकोले यसबारे आफ्नो अध्ययन डिमोटिङ विष्णु : रिचुअल, पोलिटिक्स एन्ड द अनरेभलिङ अफ नेपाल्स हिन्दु मोनार्की पुस्तक लेखेको छिन्। उनको अध्ययनले राजाको राजनीतिक अधिकारसँगै राजकीय अनुष्ठानले निर्माण गरेको धार्मिक तथा सामाजिक पहिचानलाई केलाएको छ। मोकोका अनुसार राजतन्त्र टिकाउन राजकीय अनुष्ठानले लामो समयसम्म महत्त्वपूर्ण भूमिका खेलेका थिए। तर २०६२/६३ को राजनीतिक परिवर्तनसँगै ती अनुष्ठानमा राजाको सहभागिता हटाइयो। त्यसले राजाको सामाजिक हैसियत र राजनीतिक अधिकारबीचको सम्बन्धलाई पनि प्रभावित पार्‍यो। राजतन्त्र अन्त्य भएपछि राष्ट्रपतिले भोटो जात्रा, इन्द्रजात्रा र दसैँलगायत कतिपय राजकीय अनुष्ठानमा पहिले राजाले निर्वाह गर्ने भूमिका सम्हालेको उनको अध्ययनमा उल्लेख छ। पूर्वराजाले भने निजी हैसियतमा केही धार्मिक तथा सांस्कृतिक अभ्यासलाई निरन्तरता दिएका छन्। यस वर्षको दसैँमा पनि दुई फरक अभ्यास देखिएका छन्। शीतलनिवासमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित छ, तर राष्ट्रपतिले शक्तिपीठको दर्शन र नवकन्याको पूजा गरेका छन्। निर्मल निवासमा पूर्वराजाले पनि सार्वजनिक टीका रोकेका छन्। राजतन्त्र अन्त्य भएपछि राष्ट्राध्यक्षको संवैधानिक अधिकारको आधार फेरिएको छ, तर कतिपय राजकीय धार्मिक अनुष्ठानको निरन्तरता कायमै छ। यस्तो अवस्थामा धर्मनिरपेक्ष गणतन्त्रमा राष्ट्राध्यक्षको कार्यालयबाट हुने धार्मिक तथा सांस्कृतिक समारोहको स्वरूप कस्तो हुनुपर्छ? यस्ता समारोहले देशका विविध धार्मिक र सांस्कृतिक समुदायलाई कसरी समेट्न सक्छन्? बहस स्वाभाविक छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

पश्चिमी वायुको प्रभाव: हिमाली र पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
ताजा खबरJust now

पश्चिमी वायुको प्रभाव: हिमाली र पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ। तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। बुधबार देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यसैगरी देशको हिमाली भू-भाग तथा कोशी र गण्डकी ...

केन्द्रबिन्दु
प्रधानमन्त्री शाहको शुभकामना : क्षमताअनुसार विजयादशमी मनाऔँ, सद्‌भाव, एकता, सम्मान र माया साटौँ
ताजा खबरJust now

प्रधानमन्त्री शाहको शुभकामना : क्षमताअनुसार विजयादशमी मनाऔँ, सद्‌भाव, एकता, सम्मान र माया साटौँ

प्रधानमन्त्री वालेन्द्र शाह बालेनले आज (कात्तिक ४ गते) विजयादशमीको उपलक्ष्यमा देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिएका छन्। बुधबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न प्रेरणा दिने उल्लेख गरेका छन्... ...

नेपालखबर
भक्तपुरको ब्रह्मायणी जात्रामा रातिदेखि नै दर्शनार्थीको भीड
ताजा खबरJust now

भक्तपुरको ब्रह्मायणी जात्रामा रातिदेखि नै दर्शनार्थीको भीड

भक्तपुर । प्रत्येक वर्ष विजयादशमीका दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी जात्रामा रातिदेखि नै दर्शनार्थीको भीड लागेको छ । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा आज त्रिपुरा सुन्दरी प्रकट हुने जनविश्वासअनुरूप... ...

रातोपाटी
कस्तो रहला आज देशभरको मौसम?
ताजा खबरJust now

कस्तो रहला आज देशभरको मौसम?

काठमाडौं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ। महाशाखाका अनुसार आज बुधबार दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली भू–भागका साथै कोशी र गण्डकी प्रदेशका पहाडी ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play