काठमाडौं, मंसिर ११ । नेकपा एमालेले वैकल्पिक आवासकाे सुनिश्चतताबिना सुकुम्वासीलाई हाेल्डिङ सेन्टरबाट हटाउने कार्य आपत्तिजनक भएकाे जनाएकाे छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले वैकल्पिक आवासको व्यवस्था नगरी विस्थापित सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णयप्रति कडा आपत्ति जनाउनुभएको छ। उहाँले सरकारको उक्त कदमलाई आपत्तिजनक, अमानवीय र गैरजिम्मेवार भन्दै तत्काल निर्णय फिर्ता लिन माग गर्नुभएको छ। आचार्यले घर भत्काएर विस्थापित बनाइएका सुकुम्वासीलाई पुनर्वासको आश्वासन दिएर महिनौँसम्म अनिश्चिततामा राख्नु र अहिले उनीहरूले आश्रय लिइरहेको अस्थायी होल्डिङ सेन्टरबाट समेत हटाउने निर्णय गर्नु राज्यको गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “घर भत्काएर, पुनर्वासको आश्वासन दिएर महिनौँ अनिश्चिततामा राख्ने र अहिले अस्थायी आश्रयसमेत खोस्ने सरकारको कदम संविधानप्रदत्त आवासको हक र सामाजिक न्यायको मर्मविपरीत छ।” राज्य नागरिकको अभिभावक हुनुपर्ने उल्लेख गर्दै आचार्यले बेघर नागरिकलाई थप पीडित बनाउने नभई उनीहरूको सुरक्षित आवास र जीवनयापनको व्यवस्था गर्नु सरकारको दायित्व भएको बताउनुभएको छ। “राज्य नागरिकको अभिभावक हो, बेघर नागरिकलाई थप बेघर बनाउने निकाय होइन,” उहाँले स्पष्ट पार्नुभएको छ। भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या बलपूर्वक विस्थापन र दमनबाट समाधान नहुने उहाँको भनाइ छ। यस समस्यालाई न्यायपूर्ण, मानवीय र दीर्घकालीन दृष्टिकोणका साथ सम्बोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ। आचार्यले वैकल्पिक आवासको सुनिश्चितताबिना सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै विस्थापित नागरिकका लागि सुरक्षित आवासको व्यवस्था गर्न आग्रह गर्नुभएको छ। सुकुमवासी तथा भूमिहीन नागरिकको समस्या समाधान गर्ने नाममा उनीहरूलाई पटकपटक विस्थापित र अनिश्चितताको अवस्थामा राख्नु सामाजिक न्यायको अवधारणाविपरीत हुने उहाँको धारणा छ।
वैकल्पिक आवासको सुनिश्चितताबिना सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट हटाउने सरकारको निर्णय आपत्तिजनक : एमाले

Read Complete Original Article
Published originally on जनताटाइम्स






