पासवर्ड व्यवस्थापन सेवा प्रदायक कम्पनी वनपासवर्डले आफ्नो आन्तरिक प्रणालीमा ह्याकरले अनधिकृत पहुँच बनाएको पुष्टि गरेको छ। घटनामा केही ग्राहकको व्यक्तिगत विवरण चोरी भए पनि उनीहरूका पासवर्ड र अन्य गोप्य विवरणमा पहुँच नपुगेको कम्पनीले जनाएको छ। क्यानडाको टोरन्टोमा मुख्यालय रहेको कम्पनीले बुधबार सार्वजनिक गरेको विवरणअनुसार गत नोभेम्बर १९ मा आफ्नो प्रणालीमा अनधिकृत पहुँच भएको पत्ता लागेको थियो। ह्याकरले कम्पनीका एक कर्मचारीको कर्पोरेट गिटहब खातामा पहुँच बनाएका थिए। कम्पनीले आफ्नो स्रोत कोड भण्डारण र साझेदारी गर्न गिटहब प्रयोग गर्दै आएको छ। ती कर्मचारीको पहुँच प्रयोग गरेर ह्याकरले कम्पनीका आन्तरिक सर्भरमा खराब कोड राखेका थिए। त्यसपछि १पासवर्डका केही ग्राहकको विवरण डाउनलोड गरिएको कम्पनीले जनाएको छ। चोरी भएका विवरणमा ग्राहकको नाम, आफ्नो खाता खोल्न प्रयोग गर्ने इमेल ठेगाना, खाता सिर्जना गरेको मिति र पछिल्लोपटक लगइन गरेको समय समावेश छन्। कम्पनीका अनुसार ग्राहकका पासवर्ड भण्डारण हुने भल्टमा भने ह्याकरको कुनै पनि समयमा पहुँच पुगेको थिएन। १पासवर्डले ग्राहकको खाता पासवर्ड र गोप्य कुञ्जीसमेत हेर्न वा पहुँच गर्न नसक्ने जनाएको छ। ती गोप्य कुञ्जी प्रयोगकर्ताका पासवर्डलाई इन्क्रिप्ट गरेर सुरक्षित राख्न प्रयोग गरिन्छन्। यस घटनाबाट कम्पनीका मोबाइल एप, डेस्कटप एप तथा ब्राउजर एक्सटेन्सनमा कुनै असर नपरेको पनि १पासवर्डले स्पष्ट पारेको छ। ह्याकरले कर्मचारीको कर्पोरेट खातामा कसरी पहुँच बनाए भन्ने विषय भने खुल्न सकेको छैन। घटनाबारे थप जानकारी माग्दा कम्पनीका प्रवक्ताले तत्काल प्रतिक्रिया दिएका थिएनन्। टेकक्रञ्चका अनुसार कम्पनीले कति ग्राहकको विवरण चोरी भयो र प्रभावित ग्राहकलाई यसबारे जानकारी गराइएको छ वा छैन भन्ने पनि खुलाएको छैन। ह्याकरले कम्पनीसँग कुनै रकम वा अन्य माग राखेका छन् कि छैनन् भन्ने विषयसमेत स्पष्ट भएको छैन। १पासवर्डका अनुसार विश्वभर लाखौँ व्यक्ति र २ लाखभन्दा बढी व्यवसायले यसको सेवा प्रयोग गर्दै आएका छन्। प्रयोगकर्ताले आफ्ना पासवर्ड, लगइन विवरण, भुक्तानी कार्डसम्बन्धी जानकारीलगायत गोप्य सूचना सुरक्षित राख्न यो सेवा प्रयोग गर्छन्। साइबर सुरक्षा विज्ञहरूले अनलाइन खाताका लागि बलिया पासवर्ड निर्माण गर्न र तिनको व्यवस्थापन गर्न पासवर्ड म्यानेजर प्रयोग गर्न लामो समयदेखि सुझाव दिँदै आएका छन्। The post वनपासवर्डको आन्तरिक प्रणालीमा ह्याकरको पहुँच, ग्राहकका पासवर्ड भने सुरक्षित appeared first on Technology Khabar.
वनपासवर्डको आन्तरिक प्रणालीमा ह्याकरको पहुँच, ग्राहकका पासवर्ड भने सुरक्षित

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






