चिनियाँ कम्पनी जेडएआई आफ्नो अर्को प्रमुख एआई मोडेल विकास गर्ने निर्धारित समयभन्दा पछाडि परेको छ। त्यस्तै, प्रतिस्पर्धी कम्पनी मुनसट एआईले विदेशबाट कम्प्युटिङ क्षमता प्राप्त गर्न नपाएमा प्रमुख मोडेल सार्वजनिक गर्ने समयावधि छ महिनाबाट बढेर एक वर्ष वा त्योभन्दा लामो हुन सक्ने अनुमान गरेको यस विषयसँग परिचित व्यक्तिहरूले बताएका छन्। यसअघि सार्वजनिक नभएका यी विवरणले अमेरिकी एआई कम्पनी ओपनएआई र एन्थ्रोपिकले ज्ञान नक्कल गर्ने (डिस्टिलेसन) प्रविधि रोक्न थालेका प्रयासले चिनियाँ एआई विकासलाई कसरी सुस्त बनाएको छ भन्ने देखाउँछन्। डिस्टिलेसन भनेको विकासकर्ताले बढी सक्षम एआई मोडेलले दिएका उत्तर प्रयोग गरेर अर्को मोडेललाई तालिम दिने प्रविधि हो। अमेरिकाले पछिल्लो समय लागू गरेका चिप प्रतिबन्धले यस्तो विकासमा थप ढिलाइ गराउन सक्ने देखिएको छ। यी उपायले अमेरिकी प्रतिस्पर्धीलाई चुनौती दिन चिनियाँ एआई कम्पनीहरूलाई सघाउँदै आएको एउटा प्रमुख फाइदा जोखिममा पारेका छन्। त्यो हो, वर्षौंदेखिको निर्यात नियन्त्रणका बाबजुद निकै कम लागतमा प्रतिस्पर्धी एआई मोडेल विकास गर्न सक्ने क्षमता। अमेरिकी वाणिज्य मन्त्रालयले नोभेम्बर १९ देखि लागू गरेको एउटा नियमले विदेशस्थित डेटा सेन्टरमा रहेका अत्याधुनिक अमेरिकी चिपबाट प्राप्त हुने ठूलो कम्प्युटिङ क्षमतामा चिनियाँ कम्पनीहरूको पहुँच सीमित गर्ने उद्देश्यले इजाजतपत्र अनिवार्य गरेको छ। यसले एनभिडियाका प्रोसेसर आयात नगरी विदेशस्थित डेटा सेन्टरमार्फत तिनको प्रयोग गर्ने बाटोलाई लक्षित गरेको छ। जेडएआई (जिपु एआईका नामले पनि चिनिने) ले आफ्नो अर्को प्रमुख एआई मोडेल जीएलएम-५.५ यसै महिना सार्वजनिक गर्ने योजना बनाएको थियो। तर, अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन। यस विषयमा जानकारी राख्ने दुई व्यक्तिले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा यो जानकारी दिएका हुन्। रोयटर्सका अनुसार करिब तीन ट्रिलियन प्यारामिटर भएको उक्त मोडेलको विकासमा डिस्टिलेसन रोक्ने सुरक्षा उपायहरू प्रभावकारी हुँदै जानु पनि ढिलाइको एउटा कारण रहेको तीमध्ये एक व्यक्तिले बताएका छन्। प्यारामिटर एआई मोडेलको आकार मापन गर्ने एउटा आधार हो। जेडएआईले वर्षको अन्त्यसम्ममा मोडेलको तालिम पूरा गरी सार्वजनिक गर्ने आशा गरेको थियो। तर, अमेरिकाले लागू गरेका नयाँ कम्प्युटिङ प्रतिबन्धका कारण यसको सार्वजनिक मिति सन् २०२७ को पहिलो त्रैमासिक वा त्यसभन्दा पछाडि धकेलिन सक्ने ती व्यक्तिले बताएका छन्। जेडएआईले यस विषयमा टिप्पणी गर्न गरिएको अनुरोधको तत्काल जवाफ दिएको छैन। सोमबार कम्पनीले ७५० अर्ब प्यारामिटर भएको विद्यमान मोडेलमा आधारित जीएलएम-५.४ सार्वजनिक गरेको थियो। कम्पनीका अनुसार नयाँ डिजाइनका कारण यसले दुईदेखि तीन ट्रिलियन प्यारामिटर भएका मोडेलसरह प्रदर्शन गर्न सक्छ। एन्थ्रोपिकले सेप्टेम्बरमा आफ्नो क्लाउड मोडेलसँग भएका करिब २० करोड संवाद शंकास्पद डिस्टिलेसन अभियानसँग सम्बन्धित रहेको पत्ता लगाएको बताएको थियो। कम्पनीले ती गतिविधिमा अलिबाबा, मुनसट र जेडएआईलगायतका चिनियाँ विकासकर्ता संलग्न रहेको आरोप लगाएको थियो। ओपनएआईले पनि मुनसटसँग सम्बन्धित व्यक्तिहरूमाथि यस्तै आरोप लगाएको छ। एन्थ्रोपिकले अनुमति नलिई गरिने डिस्टिलेसन पहिचान गर्न र रोक्न अपनाएका उपायबारे जानकारी दिएको छ। ओपनएआईले पनि यस्ता गतिविधि अवरुद्ध पार्न प्रयास गरिरहेको बताएको छ। मुनसटले यस विषयमा टिप्पणी गर्न गरिएको अनुरोधको तत्काल जवाफ दिएको छैन। यसअघि कम्पनीले आफ्नो किमी के३ मोडेलको प्रदर्शन डिस्टिलेसनका कारण हासिल भएको भन्ने दाबी अस्वीकार गरेको थियो। जुलाईमा चीनको नेसनल बिजनेस डेलीलाई प्रतिक्रिया दिँदै कम्पनीले मोडेलको प्रदर्शनमा आएको सुधार यसको आधारभूत संरचनामा गरिएका मौलिक परिवर्तनका कारण सम्भव भएको बताएको थियो। The post अमेरिकी चिप प्रतिबन्ध र एआई मोडेलको ज्ञान नक्कल गर्ने प्रविधिमाथिको कारबाहीले चिनियाँ एआई विकासमा चुनौती थप्ने appeared first on Technology Khabar.
अमेरिकी चिप प्रतिबन्ध र एआई मोडेलको ज्ञान नक्कल गर्ने प्रविधिमाथिको कारबाहीले चिनियाँ एआई विकासमा चुनौती थप्ने

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






