चिनियाँ कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी मिनिम्याक्समा प्रयोगकर्ताले पठाएको गोप्य डेटा अनधिकृत व्यक्तिहरूको पहुँचमा पुगेको साइबर सुरक्षा अनुसन्धानकर्ताले बताएका छन्। प्रयोगकर्ताले आफ्नो डेटा भण्डारण नगर्न वा नराख्न अनुरोध गरे पनि त्यस्तो घटना भएको अनुसन्धानकर्ताको दाबी छ। अमेरिकी साइबर सुरक्षा कम्पनी ड्रागोसका प्रमुख अनुसन्धान अधिकृत एचडी मुरले रोयटर्ससँग कुरा गर्दै मिनिम्याक्समा पठाइएका केही निजी वेब लिंक अनधिकृत पक्षले खोलेको बताएका छन्। मुरले नोभेम्बर १९ मा सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा एआई सेवामा पठाइएका अनुरोधमा समावेश निजी वेब लिंक पछि अनधिकृत पक्षले पहुँच गरेको उल्लेख थियो। उक्त प्रतिवेदनमा कम्पनीको नाम भने खुलाइएको थिएन। मुरका अनुसार मिनिम्याक्समा पठाइएको एउटा गोप्य लिंक केही सातापछि चीनको बाइटडान्स कम्पनीले विकास गरेको कार्यस्थलमा प्रयोग हुने मेसेजिङ प्लेटफर्म फिसुको च्याट च्यानलमा देखिएको थियो। उक्त लिंक बेइजिङ र सांघाईका उपकरणबाट खोलिएको अनुसन्धानमा पाइएको छ। अनुसन्धानकर्ताले मिनिम्याक्समा पठाइएका लिंकसँग सम्बन्धित मस्को क्षेत्रबाट असामान्य इन्टरनेट गतिविधिसमेत देखेका थिए। तर ती लिंक रुसबाटै खोलिएको पुष्टि गर्ने पर्याप्त प्रमाण भने फेला परेको छैन। चिनियाँ एआई कम्पनी मिनिम्याक्सको डेटा अनधिकृत पक्षको पहुँचमा पुगेको र रुससँग सम्बन्धित इन्टरनेट गतिविधि देखिएको विषय पहिलोपटक सार्वजनिक भएको रोयटर्सले जनाएको छ। यसै वर्ष हङकङको सेयर बजारमा सूचीकृत भएको मिनिम्याक्सले विभिन्न प्रकारका डेटा प्रशोधन गर्न सक्ने मल्टिमोडल एआई मोडल र उपभोक्ताका लागि एआई एप्लिकेसन विकास गर्दै आएको छ। अमेरिकामा आधारित एआई सेवा प्रदायक एटलस क्लाउड पनि यस घटनाबाट प्रभावित भएको छ। उक्त कम्पनीले मिनिम्याक्सका एआई मोडल प्रयोग गर्ने सुविधा उपलब्ध गराउँदै आएको छ। एटलस क्लाउडका प्रवक्ताका अनुसार ग्राहकको डेटा चीनमा प्रशोधन नहोस् भनेर कम्पनीले सिंगापुरस्थित मिनिम्याक्सको डेटा सेन्टर प्रयोग गर्ने निर्णय गरेको थियो। तर एटलस क्लाउडको प्लेटफर्मबाट पठाइएको सूचना मिनिम्याक्ससम्म पुगेपछि अनधिकृत पहुँचमा परेको हुन सक्ने आशंका गरिएको छ। रोयटर्सका अनुसार मिनिम्याक्सको घटनाले चिनियाँ एआई मोडल विश्वभर लोकप्रिय भइरहेका बेला प्रयोगकर्ताका गोप्य सफ्टवेयर विवरण, वित्तीय अभिलेख र ग्राहकसम्बन्धी सूचनाको सुरक्षामाथि प्रश्न उठाएको छ। कम मूल्य र बढ्दो क्षमताका कारण चिनियाँ एआई मोडलको प्रयोग विस्तार भइरहेको छ। अक्टोबरमा एआई प्लेटफर्म ओपनराउटरमा प्रशोधन गरिएको टेक्स्टको परिमाणका आधारमा सबैभन्दा बढी प्रयोग भएका तीनवटै मोडल चिनियाँ थिए। यसैबीच, अमेरिकाले आफ्ना कम्पनीलाई चिनियाँ एआई प्रयोगबारे जानकारी सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्ने विषयमा विचार गरिरहेको छ। मिनिम्याक्सले मंगलबार जारी गरेको विज्ञप्तिमा अन्य सेवा प्रदायकमार्फत आफ्ना एआई मोडलमा पठाइएका सन्देशमा समावेश वेब लिंक सुरक्षा प्रणालीले संकलन गरी भण्डारण गरेको जनाएको छ। सम्भावित सुरक्षा जोखिम जाँच गर्न प्रणालीले तीमध्ये केही लिंक स्वतः खोलेको कम्पनीको भनाइ छ। कम्पनीले प्रयोगकर्ताका सम्पूर्ण कुराकानी भने भण्डारण नगरेको र सुरक्षित राखिएका वेब ठेगाना हटाइसकेको जनाएको छ। उक्त गतिविधि रोकिएको र आफूले जाँच गरेका अनुरोधमा प्रयोगकर्ताका कुराकानी वा एआईका जवाफ तेस्रो पक्षलाई सार्वजनिक भएको कुनै प्रमाण नभेटिएको पनि कम्पनीले दाबी गरेको छ। एटलस क्लाउडले मंगलबार मिनिम्याक्सको स्पष्टीकरण आफ्नो अनुसन्धानसँग मेल खाएको जनाएको छ। प्रयोगकर्ताले पठाएका सन्देश एटलस क्लाउडको प्रणालीमा नभई मिनिम्याक्समा पठाइएपछि ती सन्देशमा समावेश लिंक खोलिएको उसको भनाइ छ। एटलस क्लाउडले मिनिम्याक्समा अनुरोध पठाउन बन्द गरेको छ। साथै, कम्पनीका एम३, एम२.७ र एम३.१ फ्ल्यास मोडल प्रयोग गरेका ग्राहकलाई ती मोडलमा पठाएका गोप्य विवरण बाहिरिएको हुन सक्ने मानेर सावधानी अपनाउन आग्रह गरेको छ। ओपनराउटरले पनि तीनवटा सेवा प्रदायकलाई आफ्नो प्लेटफर्मबाट हटाएको, डेटा गोपनीयतासम्बन्धी मापदण्ड कडा बनाएको र सम्भावित रूपमा प्रभावित सबै ग्राहकलाई जानकारी गराएको जनाएको छ। आफ्नो प्रणालीमा भने साइबर आक्रमण भएको कुनै प्रमाण नभेटिएको कम्पनीको भनाइ छ। The post चिनियाँ एआई कम्पनी मिनिम्याक्समा पठाइएको गोप्य डाटा अनधिकृत पक्षको पहुँचमा पुगेको अनुसन्धानकर्ताको दाबी appeared first on Technology Khabar.
चिनियाँ एआई कम्पनी मिनिम्याक्समा पठाइएको गोप्य डाटा अनधिकृत पक्षको पहुँचमा पुगेको अनुसन्धानकर्ताको दाबी

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






