काठमाडौं, मंसिर १० । नेकपा एमालेका नेता विष्णु रिजालले राष्ट्रको प्रतिनिधित्व गर्दै विदेश भ्रमणमा जाने नेताहरूले आफ्नो व्यवहार र गतिविधिबाट देशका नागरिकमा पर्ने प्रभावबारे सधैँ सचेत रहनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले विदेशमा रहँदा नेताहरूले अरूको मन जित्नेभन्दा आफ्नै देशका नागरिकले आफ्नो व्यवहारलाई कसरी मूल्याङ्कन गर्छन् भन्ने कुरालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । आफ्नो धारणालाई स्पष्ट पार्न नेता रिजालले सन् १९६६ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले गरेको अमेरिका भ्रमणको एउटा प्रसङ्ग उल्लेख गर्नुभएको छ । उहाँका अनुसार पहिलो पटक अमेरिका भ्रमणमा पुग्नुभएकी तत्कालीन भारतीय प्रधानमन्त्री गान्धीलाई अमेरिकी राष्ट्रपति लिन्डन बी. जोन्सनले ह्वाइट हाउसमा आयोजित भव्य रात्रिभोजका क्रममा नृत्यका लागि प्रस्ताव गर्नुभएको थियो । आधुनिक विचारधाराकी तथा पश्चिमी शिक्षा प्राप्त गान्धीले भने उक्त प्रस्ताव सहजै स्वीकार गर्नुभएन । रिजालले उल्लेख गर्नुभएको प्रसङ्गअनुसार राष्ट्रपति जोन्सनको प्रस्तावमा गान्धीले तत्कालै भन्नुभएको थियो, ‘ओहो ! मेरा जनताले के सोच्लान् ?’ (Oh! What would my people think!) आफ्ना नागरिकको धारणा र देशको प्रतिष्ठालाई प्राथमिकता दिँदै उहाँले अमेरिकी राष्ट्रपतिको नृत्य प्रस्ताव अस्वीकार गर्नुभएको नेता रिजालको भनाइ छ । उहाँले केही वर्षअघि आफूले पढेको इन्दर मल्होत्राद्वारा लिखित पुस्तक ‘इन्दिरा गान्धी : अ पर्सनल एन्ड पोलिटिकल बायोग्राफी’ मा समेत उक्त घटनाबारे विस्तृत उल्लेख रहेको स्मरण गर्नुभएको छ । यही ऐतिहासिक प्रसङ्गलाई वर्तमान नेपाली राजनीतिक घटनाक्रमसँग जोड्दै नेता रिजालले प्रधानमन्त्री बालेन्द्र शाहको विदेश भ्रमण र त्यहाँ प्रस्तुत व्यवहारप्रति टिप्पणी गर्नुभएको छ । उहाँले प्रधानमन्त्री शाहले अरूको मन जित्ने प्रयासमा ध्यान केन्द्रित गरेको तर आफ्नै देशका नागरिकले त्यसलाई कसरी लिइरहेका छन् भन्ने विषयलाई पर्याप्त महत्त्व नदिएको बताउनु भएकाे छ । रिजालले विवादित विषयहरूलाई सम्बोधन नगरी आकर्षक अभिव्यक्ति र प्रस्तुतिमार्फत जनमत प्रभावित पार्न खोज्दा त्यसको परिणाम पनि अपेक्षाअनुसार नआउन सक्ने टिप्पणी गर्नुभएको छ । ‘विवादित विषयलाई थाँती राखेर गरिएका चिल्ला कुराको परिणाम चिल्लो आउँदैन,’ उहाँको निष्कर्ष छ ।
प्रधानमन्त्रीले अरूको मन जित्नुभन्दा आफ्ना नागरिकले के सोच्छन् भन्नेमा ध्यान दिनुपर्छ : एमाले नेता विष्णु रिजाल

Read Complete Original Article
Published originally on जनताटाइम्स






