काठमाडौं, मंसिर १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीमा आफ्नो पार्टीको राजनीतिक उपस्थिति र प्रतिनिधित्व कमजोर भए पनि प्रदेशको विकासलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले निर्वाचनमा रास्वपाका उम्मेदवार विजयी भए वा नभए पनि कर्णालीको विकासमा पार्टीले कुनै भेदभाव नगर्ने स्पष्ट पार्नुभएको हो। उहाँले कर्णालीबाट पार्टीको प्रतिनिधित्व अन्य प्रदेशको तुलनामा कमजोर हुने अवस्था रहेको स्वीकार गर्दै त्यही कारणले प्रदेशको विकासलाई ओझेलमा पार्न नहुने बताउनुभयो। ‘हाम्रो आवाज कर्णालीको दूरदराजसम्म पुग्न सकेन, पुर्याउन सकेनौँ। कर्णालीबाट हाम्रो प्रतिनिधित्व अरू प्रदेशको तुलनामा कमजोर हुने भयो,’ उहाँले भन्नुभयो, ‘तर सिङ्गो कर्णालीलाई वाचा गर्न चाहन्छु, हाम्रा उम्मेदवारलाई विजयी गराउनु र नगराउनुसँग कर्णालीको विकासको साइनो छैन। कर्णालीले विकास मागेको छ।’ सभापति लामिछानेले रास्वपा सरकारमा रहुन्जेल कर्णालीका जनताले आफ्नो पार्टीलाई एक मत पनि नदिए पनि प्रदेशको विकास पार्टीको प्राथमिकतामा रहने बताउनुभयो। उहाँले कर्णालीसँग विकासका नाममा राजनीतिक सौदाबाजी गर्न आफूहरू नआएको पनि स्पष्ट पार्नुभयो। ‘हामी कर्णालीसँग सौदा गर्न आएका होइनौँ। हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौँ, हाम्रा मान्छेलाई जितायो भने पुल बन्छ, बाटो बन्छ र घरघरमा विकासको स्वाद चाख्न पाइन्छ भनेर हामी कुनै सौदाबाजी गर्न आएका होइनौँ,’ उहाँले भन्नुभयो। कर्णालीका समस्या र विकासका मुद्दालाई राष्ट्रिय राजनीतिको केन्द्रमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै लामिछानेले आफूहरू निष्कपट मनका साथ प्रदेशका मुद्दा उठाउन आएको बताउनुभयो। उहाँले राजनीति केवल निर्वाचन जित्नका लागि मात्र गरिने विषय नभएको धारणा पनि राख्नुभयो। निर्वाचनमा प्राप्त हुने मतभन्दा नागरिकका आवश्यकता, विकास र जनताको जीवनस्तरमा सुधार ल्याउने विषय राजनीतिको मुख्य उद्देश्य हुनुपर्ने उहाँको भनाइ थियो।
हाम्रा उम्मेदवारलाई विजयी गराउनु-नगराउनुसँग कर्णालीको विकासको साइनो छैन : रवि लामिछाने

Read Complete Original Article
Published originally on जनताटाइम्स






