Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सख्या नाचले गुल्जार गाउँबस्ती

सख्या नाचले गुल्जार गाउँबस्ती

Share:WhatsAppFacebookX (Twitter)Telegram
सख्या नाचले गुल्जार गाउँबस्ती

“डानु डाडा डानु रि डाडा डानु डरिउना भली रसखि र डानु रि डाडा डरिउना रि कहिलेटोही मै समिरौ सरस्वती मैयासखि र सरस्वती मैयाँ स्यावा रि मोरी लेओ…” मादल र मञ्जिराको तालसँगै गुञ्जिने सख्या गीतको यही भाकाले यतिबेला थारू गाउँबस्तीलाई उल्लासमय बनाएको छ। दिनभरि खेतबारी र घरायसी काममा व्यस्त हुने थारू युवती साँझ परेपछि हातमा मञ्जिरा लिएर मटावाँको आँगनमा भेला हुन्छन्। उनीहरूको सामूहिक स्वरमा सख्या गीत गुञ्जिन थाल्छ भने मादलको तालले नाचमा थप रौनक ल्याउँछ। दसैँ नजिकिएसँगै पश्चिम तराईका गाउँबस्तीमा सख्या र पैयाँ नाचको रौनक बढेको छ। सख्या नाचले गाउँमा दसैँको रौनक घोराही उपमहानगरपालिका–१६ बयरबटुवा गाउँकी ललिता चौधरी दिनभरि दसैँको तयारी र घरायसी काममा व्यस्त हुन्छिन्। साँझ खाना खाएपछि उनी हातमा मञ्जिरा लिएर गाउँका मटावाँको घरमा पुग्छिन्। कोही साथी उनीभन्दा अगाडि नै पुगिसकेका हुन्छन् भने कोही सँगै पुग्छन्। अँध्यारो बढ्दै जाँदा गाउँबस्तीमा चहलपहल पनि बढ्दै जान्छ। थारू समुदायको पहिचान र संस्कृतिसँग जोडिएको सख्या नाच। युवतीहरू भेला भएपछि मादल बोकेर पुरुष पनि आइपुग्छन्। सबै जना जम्मा भएपछि सुरु हुन्छ थारू समुदायको मौलिक सख्या नाच। सख्या गीतको भाकासँगै मादल र मञ्जिराको तालमा युवतीहरू सामूहिक रूपमा नाच्न थाल्छन्। उनीहरूको गीत र नाच हेर्न गाउँलेहरू पनि मटावाँको आँगनमा पुग्छन्। अघिपछि सुनसानजस्तै रहने गाउँबस्तीमा सख्या गीत र मादलको धुन गुञ्जिन थालेपछि दसैँको रौनक थपिएको छ। बयरबटुवाका भरत चौधरीका अनुसार दसैँ नजिकिएसँगै गाउँमा छुट्टै चहलपहल बढ्छ। सख्या नाच सुरु भएपछि गाउँलेबीच भेटघाट हुने र सामूहिक रूपमा चाडपर्व मनाउने वातावरण बन्ने उनले बताए। दिनभरि खेतीपाती र घरायसी काममा व्यस्त हुने महिलाहरू साँझ भेला भएर गीत गाउने र नाच्ने गर्छन्। सख्या नाचकी अगुवा (मोह्रिन्या) समेत रहेकी ललिता चौधरीका लागि यो नाच मनोरञ्जनको माध्यम मात्र होइन, समुदायको मौलिक पहिचान र संस्कृति जोगाउने परम्परा पनि हो। “सख्या गीतमा हाम्रो मौलिक पहिचान, सभ्यता र संस्कृति जोडिएको छ,” उनले भनिन्, “यही नाचले गाउँलाई एकतामा बाँध्छ। सख्या गीतमा प्रकृति र संस्कृतिका विविध पक्ष समेटिएका छन्।” थारू समुदायको संस्कृतिसँग जोडिएको सख्या नाच। उनका अनुसार दसैँका अवसरमा करिब एक महिनासम्म सख्या नाच्ने गरिन्छ। दिनभरि खेतीपाती र घरायसी काममा व्यस्त हुने महिलाहरू साँझ भेला भएर गीत गाउने र नाच्ने गर्छन्। यसले दिनभरको थकान बिर्साउने मात्र नभई आपसमा भेटघाट गर्ने र दुःखसुख साटासाट गर्ने अवसरसमेत दिन्छ। घोराही उपमहानगरपालिका–७ हनरियामा पनि सख्या नाचको रौनक उस्तै छ। त्यहाँकी नाच अगुवा (मोह्रिन्या) सानुमाया चौधरी दिनभरि दसैँको तयारी र घरायसी काममा व्यस्त भए पनि साँझ सख्या नाच्न पुग्छिन्। “दिनभर घरको काममा व्यस्त हुन्छौँ,” उनले भनिन्, “साँझ खाना खाएर मटावाँको घरमा सख्या नाच्न पुग्छौँ। दिनभरि जति थकाइ लागे पनि नाच्दा आनन्द आउँछ र थकान मेटिन्छ।” सख्या थारू समुदायको लोकभागवत काव्य हो। यसमा ब्रह्माण्डको सृष्टिदेखि कृष्णले कंस वध गरेको कथासम्म समेटिएको छ। उनका अनुसार सख्या नाच मनोरञ्जनका लागि मात्र नभई पुर्खादेखि चल्दै आएको परम्परा र संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्ने माध्यम पनि हो। यसले समुदायका सदस्यबीच आपसी सद्भाव, सहकार्य र एकता कायम गर्न सहयोग पुर्‍याउँदै आएको छ। पुस्तौँदेखि चल्दै आएको यस परम्पराले नयाँ पुस्तालाई आफ्नो मौलिक कला र संस्कृति चिन्ने अवसरसमेत दिएको उनले बताइन्। के हो सख्या गीत? थारू संस्कृतिविद् अशोक थारूका अनुसार ‘सख्या’ शब्द ‘सखी’बाट बनेको हो। सखीको अर्थ संगिनी हो। सख्या थारू समुदायको लोकभागवत काव्य हो। यसमा ब्रह्माण्डको सृष्टिदेखि कृष्णले कंस वध गरेको कथासम्म समेटिएको छ। उनका अनुसार सख्या गायनको सुरुआत कृष्णाष्टमीदेखि नै हुन्छ। “सख्या लामो कथामा आधारित काव्य भएकाले यो गीत थोरै व्यक्तिले मात्र गाउन सक्छन्,” उनले भने, “प्रायः रातिको समयमा गाइने सख्या गीत दसैँका बेला नाच्दै गाउने गरिन्छ।” थारू समुदायको मौलिक सख्या नाच। सख्या गीतमा थारू समुदायका देवीदेवता, प्रकृति र जीवजन्तुलाई समेत सम्बोधन गरिने संस्कृतिविद् चन्द्रप्रसाद चौधरी बताउँछन्। उनका अनुसार यसले समुदायको धार्मिक विश्वास, प्रकृतिसँगको सम्बन्ध र सांस्कृतिक जीवनलाई गीतका माध्यमबाट पुस्तान्तरण गर्न सहयोग पुर्‍याएको छ। यस्तो छ सख्या नाच्ने चलन थारू समुदायमा सख्या नाच दसैँको आगमनसँगै सुरु हुने परम्परागत नाच हो। विशेषगरी डङ्गौरा थारू समुदायमा प्रचलित यो नाच लुम्बिनी प्रदेशका दाङ, बाँके र बर्दिया, सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर तथा कर्णाली प्रदेशको सुर्खेतका थारू बस्तीमा नाच्ने गरिन्छ। गाउँअनुसार नाचमा सहभागी हुने युवतीको सङ्ख्या फरक हुन्छ। थारू समुदायका अविवाहित युवती (बठिन्या) तथा विवाहित महिलाहरू मौलिक वेशभूषामा सजिएर हातमा मञ्जिरा लिई सामूहिक रूपमा सख्या गीत गाउँछन्। सख्या नाचमा सामान्यतः १० देखि ४० जनासम्म महिला सहभागी हुन्छन्। पुरुष (मन्डर्या) ले मादल बजाएर उनीहरूलाई साथ दिन्छन्। गाउँको मटावाँ वा बडघरको आँगनमा नाचिने सख्या नाचमा गीत र मादलको तालअनुसार विभिन्न प्रकारका पैयाँ नाचसमेत प्रस्तुत गरिन्छ। थारू संस्कृतिविद् चन्द्रप्रसाद चौधरीका अनुसार सख्या नाचको नेतृत्व मोह्रिन्याले गर्छिन्। उनको सहयोगीका रूपमा पछगिन्या हुन्छिन्। उनीहरूका पछिपछि गाउँका अन्य महिला सहभागी हुन्छन्। गाउँअनुसार नाचमा सहभागी हुने युवतीको सङ्ख्या फरक हुन्छ। बठिन्याको सङ्ख्या धेरै भएको गाउँमा सख्या नाचमा उनीहरूको सहभागिता पनि बाक्लो हुने गरेको उनले बताए। थारू समुदायको पहिचान र संस्कृतिसँग जोडिएको सख्या नाच। दंगीशरण गाउँपालिका–३ हेकुलीकी सिरु चौधरीका अनुसार सख्या नाचमा दुई समूह बनाइन्छ। एउटा समूहको नेतृत्व मोह्रिन्याले गर्छिन् भने अर्को समूहको नेतृत्व पछगिन्याले गर्छिन्। गीत गाउने क्रममा सुरुमा मोह्रिन्याको समूहले भाका उठाउँछ र त्यसपछि पछगिन्याको समूहले त्यही भाकामा गीत गाउँछ। यसरी गीत सवाल–जवाफको शैलीमा अगाडि बढ्छ। मन्डर्याले गीत गाइरहेको समूहसँगै रहेर मादल बजाउँछन्। मादल र मञ्जिराको तालमा दुवै समूहले नाचलाई अघि बढाउँछन्। सख्या गीत र नाचको मूल परम्परा एउटै भए पनि गाउँठाउँअनुसार नाच्ने शैली र पैयाँका ताल फरक हुने गरेका छन्। थारू संस्कृतिविद् अशोक थारू सख्या नाचको उत्पत्ति द्वापर युगमा भएको बताउँछन्। सामान्यतः दिनभरि खेतीपाती र घरायसी काम सकेपछि राति मटावाँ वा बडघरको आँगनमा सख्या नाच्ने गरिन्छ। राजाटीका अर्थात् नवमीदेखि दसैँसम्म भने दिउँसै नाच्ने चलन रहेको थारू अगुवाहरू बताउँछन्। भदौमा गरिने हार्या गुरै पूजादेखि सुरु हुने सख्या नाच दसैँपछि पनि केही दिनसम्म निरन्तर चल्ने परम्परा छ। उत्पत्तिबारे फरक-फरक धारणा सख्या नाचको उत्पत्तिबारे थारू संस्कृतिविद् र अनुसन्धाताका फरक–फरक धारणा छन्। थारू संस्कृतिविद् अशोक थारू सख्या नाचको उत्पत्ति द्वापर युगमा भएको बताउँछन्। उनका अध्ययनअनुसार यो परम्परा करिब पाँच हजार वर्ष पुरानो हो। थारू अनुसन्धाता डा. कृष्णराज सर्वहारी भने सख्या नाच कृष्ण जन्माष्टमीसँग सम्बन्धित रहेकाले कृष्णको जन्मकालदेखि नै यसको सुरुआत भएको बताउँछन्। थारू संस्कृतिविद् चन्द्रप्रसाद चौधरी सख्या गीत र नाचलाई थारू समुदायको धार्मिक तथा सांस्कृतिक अभ्याससँग जोडेर हेर्छन्। उनका अनुसार थारू समुदायमा तन्त्रमन्त्रका माध्यमबाट रोगव्याधि हटाउने र देवीदेवताको पूजापाठ गर्ने परम्परासँग सख्या गीतको सम्बन्ध छ। थारू समुदायको मौलिक सख्या नाच। थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूणबहादुर चौधरीका अनुसार सख्या गीत र नाचको ऐतिहासिक पृष्ठभूमि महाभारतको कथासँग जोडिएको छ। सख्या गीतमा खेतीपाती, समय, बार, कृषि औजार, दैनिक जीवनशैली र सामूहिक श्रमसँग सम्बन्धित विषय समेटिएका छन्। उनका अनुसार विगतमा कविला समूहमा आबद्ध भएर मिलिजुली खेतीपाती गर्ने चलन थियो। त्यही जीवनशैलीसँगै काम, व्यवहार र सामाजिक सम्बन्धका विषय गीतमार्फत व्यक्त गर्ने तथा नयाँ पुस्तालाई सिकाउने अभ्यास विकास भएको हुन सक्ने उनको तर्क छ। यस अर्थमा सख्या गीत मनोरञ्जनको माध्यम मात्र नभई समुदायको जीवनपद्धति र अनुभव अभिव्यक्त गर्ने मौखिक परम्परासमेत हो। संकटमा मौलिकता धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व बोकेको सख्या नाच पछिल्लो समय विभिन्न चुनौतीबाट गुज्रिरहेको छ। विशेषगरी मादल बजाउने मन्डर्याको अभावले कतिपय गाउँमा यो नाच बन्द हुन थालेको छ। युवाहरू रोजगारी तथा अन्य अवसरको खोजीमा गाउँबाहिर जाने क्रम बढ्दा सख्या नाचमा मादल बजाउने व्यक्तिको अभाव देखिन थालेको हो। मन्डर्या नपाएपछि धेरै गाउँमा महिलाहरूले आफैँ मादल बजाउने गरेको घोराही उपमहानगरपालिका–६ लख्वारकी उषा चौधरीले बताइन्। “केही गाउँमा त सख्या नाच हुनै छाडेको छ,” उनले भनिन्, “मादल बजाउने मन्डर्या नपाइएपछि सख्या नाच लोप हुने अवस्थामा छ।” थारू समुदायको पहिचान र संस्कृतिसँग जोडिएको सख्या नाच। चन्द्रप्रसाद चौधरीका अनुसार पहिले सख्या नाचमा २२ ख्वाट (ताल) सम्मका पैयाँ लगाउने चलन थियो। अहिले भने धेरै ठाउँमा चार–पाँच ख्वाटमा सीमित हुन थालेको छ। “पहिला हामीले २२ ख्वाटको पैयाँ लगाउँथ्यौँ, अहिलेका युवा चार–पाँच ख्वाटमा मात्र पैयाँ लगाउँछन्,” उनले भने, “त्यो पनि रिमिक्सजस्तो भइसक्यो।” परम्परागत गीत, ताल र नाच्ने शैलीमा आएको परिवर्तनसँगै सख्या नाचको मौलिकता जोगाउने चुनौती पनि थपिएको छ। पुरानो पुस्तासँग रहेको ज्ञान र सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसके यसको मौलिक स्वरूप कमजोर बन्न सक्ने संस्कृतिका जानकारहरू बताउँछन्। सख्या नाचलाई निरन्तरता दिन युवालाई मादल बजाउने ताल, पैयाँ नाच्ने शैली र परम्परागत गीत सिकाउन आवश्यक देखिन्छ। गाउँस्तरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने, पुराना गीत सङ्कलन गर्ने र अनुभवी कलाकारबाट नयाँ पुस्तालाई प्रशिक्षण दिने प्रयासले पनि यसको संरक्षणमा सहयोग पुर्‍याउन सक्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

तीन दिनका लागि खुल्यो तातोपानी नाका
ताजा खबरJust now

तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक।दशैंका सामान भित्र्याउन तातोपानी नाका आजदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ। नाका खुलेसँगै चीनका स्वशासित क्षेत्र सिचाङबाट बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल प्रवेश गरेका छन्। तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार चाडपर्वका सामान तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति नेपालमा सहज बनाउने उद्देश्यले चिनियाँ पक्षले तीन दिनका लागि नाका खोलेको हो। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले लिपिङ र कोदारी क्षेत्रमा कन्टेनरको ...

नेपालन्युज
दुई राजदूत अस्वीकार गरेको संसदीय समितिसामु न्यायपरिषद्को विवादित निर्णय अर्को परीक्षा
ताजा खबरJust now

दुई राजदूत अस्वीकार गरेको संसदीय समितिसामु न्यायपरिषद्को विवादित निर्णय अर्को परीक्षा

काठमाण्डु- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा गत असोज २० गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतमा चारजना न्यायाधीश सिफारिस गरेसँगै नेपालको न्याय क्षेत्रमा पुनः विवाद ल्याएको छ। परिषद्ले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दसहित उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। सुशासन, […] ...

काठमाण्डुपाटी
९ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ
ताजा खबरJust now

९ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी । इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जना पक्राउ परेका छन्। उक्त टोलको हनुमान् मन्दिरनजिकस्थित बुलबुल यादवको घरमा आज बिहान खानतलासी उक्त परिमाणको गाँजा फेला... ...

रातोपाटी
तातोपानी नाका तीन दिनका लागि खुल्यो, नियमित सञ्चालन गर्न व्यवसायीको माग
ताजा खबरJust now

तातोपानी नाका तीन दिनका लागि खुल्यो, नियमित सञ्चालन गर्न व्यवसायीको माग

काठमाडौं। सिन्धुपाल्चोकस्थित तातोपानी नाका तीन दिनका लागि सञ्चालनमा आएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार कात्तिक १ देखि ३ गतेसम्मका लागि नाका खुला गरिएको हो। यो अवधिमा मालवाहक सवारीसाधनलाई मात्र आवतजावतको अनुमति दिइएको छ। दशैं र तिहारजस्ता चाडपर्वका लागि सामान आयात गर्नुपर्ने बेला नाका बन्द हुँदा व्यापार प्रभावित भएको भन्दै व्यवसायीले असन्तुष्टि जनाएका छन्। नेपाल हिमालय सीमापार वाणिज्य संघले नाका ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play