विपद्को पीडामा खल्लो दसै

चितवन।भोटेकोशी, त्रिशूली र बूढीगण्डकी नदीमा गएको बाढीले जनधनको अपूरणीय क्षति पुर्याएको र बाढी–पहिरोका कारण प्रमुख राजमार्ग प्रभावित भएकाले विगतको तुलनामा यस वर्षको दसैं खल्लो भएको स्थानीयले बताएका छन्। भोटेकोशी बाढीमा परी आफन्त गुमाएका, त्रिशूली तथा नारायणी नदीमा बाढी आएपछि उद्धारमा सक्रिय भएका तथा राहत वितरणमा खटिएका चितवनवासीले यस वर्षको दसैंमा रमाउन नसकेको बताएका छन्। उनीहरूका अनुसार यसअघिका वर्षमा जस्तो दसैंमा रौनक र उत्साह देखिएन। “बाढीका कारण ठूलो संख्यामा मानिस अहिले पनि बेपत्ता छन्। कतिपयको शव पहिचान भएको छ। भेटिएका शव डिएनए परीक्षणका लागि जमिनमुनि व्यवस्थापन गरिएको अवस्था छ। आफ्ना परिवारका सदस्यको निधन र बेपत्ता हुँदाको पीडा सहिनसक्नु छ। विपद्सँगै दशा लागेको वर्षको यो दसैं मनाउने त के, सम्झन पनि सकिएको छैन”, उनीहरूले भने। भोटेकोशी बाढीले गोसाइँकुण्ड तीर्थयात्रामा हिँडेका मामा विश्वनाथ पौडेलको अवस्था अज्ञात बनाएपछि स्थानीय कृष्णपुरका किशोर सापकोटालाई यस वर्षको दसैं खल्लो लाग्यो। “घरमा टीका भए पनि मामा विश्वनाथको सम्झनाले हर्षोल्लासका साथ उत्साहपूर्ण वातावरणमा दसैं मनाउन सकिएन। दसैं त आयो, हाम्रोमा आएन”, उनले भने। भोटेकोशी बाढीमा बगाएकाहरूको शव बोक्ने काममा खटिएका संयुक्त एम्बुलेन्स चालक संघ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले नवरात्रिभर फलाहार बसेर पूजापाठ गरे पनि दसैंको खुसी पाउन नसकेको बताए। उनले भने, “धार्मिक कर्म गरें, तर दसैंको उत्साह हामीलाई भएन। नदी किनारमा उद्धारमा खटिँदाका क्षण सम्झनामा आइरहँदा हर्षोल्लासका साथ दसैं मनाउने अवस्थै रहेन।” भोटेकोशी बाढीपछि चितवनस्थित नारायणी नदीमा सबैभन्दा बढी शव तैरिएको अवस्थामा एम्बुलेन्स चालकका रूपमा उद्धारमा खटिएका र दसैंको मुखमा खाद्यान्न अभाव भएका विपन्न परिवारसम्म राहत बाँडेका समाजसेवी लामिछानेले भने, “यस्तो विषम परिस्थितिमा कुन खुसीले यस वर्ष दसैं मनाउनु ?” महाअष्टमीका दिन समेत खानाको अभाव भएको गुनासो आएपछि भूमिहीन बस्तीमा आफ्नै गाडीमा खाद्यान्न बोकेर पुगेका समाजसेवी विनोद ढकालले जिल्लाका पहाडी चेपाङ बस्तीमा यस वर्ष पनि खाद्यान्न वितरण गरे। उनले भने, “बाढीका कारण कैयौं मान्छे मरे, कति हराए, कतै गरिबीको चपेटा छ। यस्तो अवस्थामा कसरी खुसीसाथ दसैं मनाउनु ? प्रतिकूल परिस्थितिका बीच यस वर्ष समाजसेवामा समर्पित भएर दसैं मनाइयो।” दसैंको टीकाका दिन उनले नेतृत्व गरिरहेको चितवन मानव सेवा आश्रमका बुवाआमा र बालबालिकासँग टीका लगाए। त्यसपछि परिवार र इष्टमित्रकहाँ टीका थापे पनि यस वर्ष दसैंमा उत्साह नरहेको उनले बताए। भोटेकोशी बाढीले बगाएर चितवनसम्म ल्याएका शवको उद्धारमा खटिएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले पनि विगतको जस्तो चहलपहल यस वर्षको दसैंमा नभएको बताए। सवारीसाधनको आवतजावत समेत कम भएको उल्लेख गर्दै उनले भने, “सबैतिरको प्रतिक्रिया सुन्दा विगत जस्तो दसैं यस वर्ष भएन।” राजमार्ग र भित्री सडकमा सवारीसाधन कम गुडेको उनको भनाइ छ। कतिबेला पानी पर्छ र राजमार्ग बन्द हुन्छ भन्ने डरका कारण मानिसको आवतजावत कम हुँदा परिवारसँग बसेर दसैं मनाउने क्रम घटेको देखिन्छ। बाढी पहिरोको जोखिमका कारण मानिसहरू आफ्नै घरमा टीका लगाएर आफन्त तथा इष्टमित्रकहाँ नगएकाले पनि यस वर्षको दसैंमा चहलपहल कम भएको हो।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

सामाजिक सञ्जालबाट विदेशसम्म सुकुटीको कारोबार
सुनसरी।धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार फस्टाउँदै गएको छ। घरमै सुकुटी र अचार तयार पारेर बिक्री गर्ने महिलाले पछिल्लो समय सामाजिक सञ्जाललाई व्यापार विस्तारको माध्यम बनाउन थालेका छन्। टिकटक, फेसबुक र इन्स्टाग्राममार्फत उत्पादनको प्रचारप्रसार गर्दा स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट अर्डर आउने गरेको व्यापारी बताउँछन्। धरानको मुख्य चोक भानुचोकबाट पूर्वतर्फ रहेको निकेतन गल्लीमा सुकुटी बिक्री गर्ने पसल लस्करै छन्। यहाँ ...

रुसका लागि जासुसी गरेको आरोपमा जर्मनीमा युक्रेनी नागरिक पक्राउ
काठमाडौँ । जर्मनीमा रुसी गुप्तचर निकायका लागि जासुसी गरेको आरोपमा एक युक्रेनी नागरिक पक्राउ परेका छन् । जर्मनीका सङ्घीय अभियोजकका अनुसार ती व्यक्तिमाथि सैन्य दृष्टिकोणले महत्त्वपूर्ण सूचना सङ्कलन गरेको आरोप... ...

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
नेपाली कांग्रेसले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेषका कारण नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। नेपाली कांग्रेसले आज विज्ञप्ति जारी गर्दै दिवंगत नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको हो। नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले ... ...

प्राकृतिक स्रोतको उपयोगबाट करोडौं आम्दानी
कास्की।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जडीबुटी संकलन शुल्कलगायत प्राकृतिक स्रोतको उपयोगबाट गत आर्थिक वर्षमा तीन करोड ८६ लाख ५१ हजार ९०८ संकलन गरेको छ। कार्यालयले जडीबुटी, काठ दाउरा आदिको संकलन तथा उपयोगबाट हुने उक्त आम्दानी गरेको हो। आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार कार्यालयले आव २०८१/८२ मा पाँच करोड ७७ लाख १६ हजार ७८१ रुपैंयाँ र आव २०८०/८१ मा तीन करोड ९० ...


