रातको समयमा पनि सौर्य ऊर्जा उत्पादन गर्न सकिने प्रविधि विकास गर्ने उद्देश्यसहित अमेरिकी स्टार्टअप कम्पनी रिफ्लेक्ट अर्बिटलले अन्तरिक्षमा सूर्यको प्रकाश परावर्तन गर्ने हजारौँ ऐना पठाउने योजना अघि बढाएको छ। कम्पनीले सौर्य फार्महरूमा रातको समयमा समेत सूर्यको प्रकाश पुर्याउन पृथ्वीको कक्षमा ऐना जडित स्याटेलाइटहरूको समूह राख्न लागेको हो। यसबाट सौर्य ऊर्जा उत्पादनको समय बढाउनुका साथै आवश्यक परेको समयमा स्वच्छ ऊर्जा उपलब्ध गराउन सकिने कम्पनीको दाबी छ। कम्पनीले नोभेम्बर १० मा ७ करोड ३५ लाख अमेरिकी डलर लगानी जुटाएको घोषणा गरेको थियो। यससँगै कम्पनीले अहिलेसम्म प्राप्त गरेको कुल लगानी १० करोड डलरभन्दा बढी पुगेको छ। स्पेस डटकमका अनुसार अमेरिकी सरकारले पनि यसको प्रविधि परीक्षणका लागि अनुमति दिइसकेको छ। कम्पनीले पहिलो परीक्षण स्याटेलाइट सन् २०२७ को दोस्रो त्रैमासिकमा प्रक्षेपण गर्ने तयारी गरेको छ। उद्धार कार्यमा पनि प्रयोगको तयारी रिफ्लेक्ट अर्बिटलले गत अक्टोबरमा अमेरिकाको क्यालिफोर्नियास्थित लोन पाइन क्षेत्रमा रातको समयमा प्रकाश पुर्याउने परीक्षण गरेको थियो। खोज तथा उद्धार टोलीसँगको सहकार्यमा गरिएको परीक्षणमा मोबाइल प्रकाश उपकरण प्रयोग गरी अन्तरिक्षबाट ऐनाले प्रकाश परावर्तन गर्दा हुने प्रभावको अनुकरण गरिएको थियो। कम्पनीका अनुसार उक्त परीक्षणमा प्रकाशको तीव्रता करिब ०.७ लुमेन थियो। खोज तथा उद्धार र विपद् प्रतिकार्य टोली यस प्रविधिका प्रारम्भिक ग्राहक हुन सक्ने कम्पनीको अपेक्षा छ। कम्पनीले भारतको स्काइरुट एरोस्पेससँग दुईवटा प्रक्षेपण सेवा खरिद गर्ने सम्झौता पनि गरेको छ। स्काइरुटको विक्रम–१ रकेटमार्फत आफ्ना केही स्याटेलाइट अन्तरिक्षमा पठाउने योजना छ। सन् २०३५ सम्म ५० हजार स्याटेलाइटको लक्ष्य रिफ्लेक्ट अर्बिटलले सन् २०३५ सम्म पृथ्वीको कक्षमा कम्तीमा ५० हजार ऐना जडित स्याटेलाइट सञ्चालन गर्ने लक्ष्य राखेको छ। तर, कम्पनीको योजनाप्रति खगोलविद् र रातको आकाश अवलोकन गर्ने समुदायले चिन्ता व्यक्त गरेका छन्। यस्ता स्याटेलाइटले प्रकाश प्रदूषण बढाउने र खगोलीय अवलोकनमा असर पार्ने उनीहरूको आशंका छ। कम्पनीले भने स्थानीय निकायको अनुमति र बहुस्तरीय स्वीकृतिपछि मात्रै सेवा सञ्चालन गर्ने जनाएको छ। खगोलीय अवलोकन केन्द्रहरूमा असर नपर्ने गरी निश्चित क्षेत्रलाई प्रकाश नपुर्याउने व्यवस्था पनि गरिने उसको दाबी छ। कम्पनीका अनुसार प्रयोगमा नरहेका स्याटेलाइटको प्रकाश बन्द रहनेछ। आवश्यकताअनुसार प्रकाशको तीव्रता घटाउन वा सेवा पूर्ण रूपमा बन्द गर्न सकिने प्रविधि पनि विकास भइरहेको छ। रिफ्लेक्ट अर्बिटलले अन्तर्राष्ट्रिय खगोलीय संघको अँध्यारो तथा शान्त आकाश संरक्षणसम्बन्धी केन्द्रसँग सहकार्य गरिरहेको जनाएको छ। साथै, प्रविधिको वातावरणीय प्रभाव र खगोलीय अवलोकनमा पर्ने असरबारे अध्ययन गर्न वैज्ञानिकहरूसँग पनि काम गरिरहेको कम्पनीको भनाइ छ। The post राति पनि सौर्य ऊर्जा उत्पादन गर्न अन्तरिक्षमा हजारौँ ऐना पठाउने तयारीमा रिफ्लेक्ट अर्बिटल appeared first on Technology Khabar.
राति पनि सौर्य ऊर्जा उत्पादन गर्न अन्तरिक्षमा हजारौँ ऐना पठाउने तयारीमा रिफ्लेक्ट अर्बिटल

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






