साइबर ठगीमा संलग्न संगठित गिरोहले बेरोजगार युवायुवती तथा वृद्धवृद्धालाई विभिन्न बहानामा बैंक खाता खोल्न लगाई त्यसलाई आफ्नो नियन्त्रणमा लिने गरेको भन्दै गृह मन्त्रालयले चिन्ता व्यक्त गरेको छ। मन्त्रालयले हालै स्वीकृत गरेको ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ दिग्दर्शन-२०८३ ले यस्तो प्रवृत्ति बढ्दै गएको औंल्याएको छ। दिग्दर्शनअनुसार गिरोहहरूले वित्तीय असाक्षरताको फाइदा उठाउँदै मानिसलाई खाता खोल्न लगाउँछन् र उक्त खाताको डिजिटल भुक्तानी प्रणाली वा डेबिट कार्ड आफ्नो नियन्त्रणमा लिन्छन्। कतिपय अवस्थामा विभिन्न बहानामा रकम स्थानान्तरण गर्न लगाइने गरेको पनि उल्लेख छ। अवैध कारोबार गर्ने/गराउने उद्देश्यले यसरी खोलिएका ‘मनी म्युल’ खातामार्फत वित्तीय क्षेत्रको संवेदनशीलता थप बढेको दिग्दर्शनमा भनिएको छ। मनी म्युलका रूपमा प्रयोग गरिएका युवाहरू जानी–नजानी संगठित अपराधको सञ्जालमा फस्ने जोखिम बढ्दो रहेको पनि दिग्दर्शनले उल्लेख गरेको छ। यसले खाताधनीलाई समेत कानुनी झन्झटमा पार्न सक्ने संकेत गर्छ। दिग्दर्शनले स्क्यामबाट सङ्कलित रकम सम्पत्ति शुद्धीकरण, लागुपदार्थ कारोबार, क्रिप्टो कारोबार र अवैध रेमिट्यान्स सेटलमेन्टमा प्रयोग भइरहेको देखिएको उल्लेख गरेको छ। विदेशमा अवैध रूपमा स्थापित स्क्याम कल सेन्टरहरूले नेपाली बैंक खाता तथा इ-वालेटलाई लक्षित गर्ने गरेको तथा मनी म्युलमार्फत विभिन्न खातामा लेयरिङ गरी अवैध रेमिट्यान्स (हुन्डी) बाट प्राप्त रकम वा अन्य प्रयोजनका लागि प्राप्त रकम वापत समेत स्क्याम भएको रकमलाई रकमान्तर गराइने वा नगद निकासी (क्यास-आउट) गरिने प्रवृत्ति बढेको छ। यस्तो प्रवृत्ति रोक्न केन्द्रले मनी म्युल सञ्जाल तथा वालेटको सञ्जाल विश्लेषण गर्ने र जोखिम सूची (watch list) व्यवस्थापन गर्ने कार्यक्षेत्र तोकिएको छ। साथै, मनी म्युल खाताको पहिचान गरी रोक्का गर्न बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहक पहिचान विवरण (केवाईसी), खाता खोल्दाको विवरण (एओएफ), बैंक स्टेटमेन्ट, आईपी लग आदि विश्लेषण गर्नुपर्ने व्यवस्था गरिएको छ। मन्त्रालयले सर्वसाधारणलाई अपरिचित व्यक्तिको कुनै पनि प्रलोभनमा परेर आफ्नो नाममा खोलिएको खाता, कार्ड वा डिजिटल वालेट अरूको नियन्त्रणमा नदिन सचेत रहन आग्रह गरेको छ। The post ‘मनी म्युल’का रूपमा युवा प्रयोग, ठगी गिरोहले बेरोजगार र वृद्धवृद्धालाई शिकार बनाउँदै गरेको सरकारको चेतावनी appeared first on Technology Khabar.
‘मनी म्युल’का रूपमा युवा प्रयोग, ठगी गिरोहले बेरोजगार र वृद्धवृद्धालाई शिकार बनाउँदै गरेको सरकारको चेतावनी

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






