काठमाडौं । शिक्षा सेवामा उल्लेख्य भूमिका निर्वाह गर्ने मीना दिदीको नाममा उहाँका सन्ततिहरूले स्थापना गरेको पुरस्कार मंगलबार एक समारोहबीच हस्तान्तरण गरियो । उमानाथ पोखरेलको सभापतित्वमा आयोजना भएको उक्त कार्यक्रममा अनुजा अधिकारी आचार्य तथा सुमन विश्वकर्मा पुरस्कृत हुनुभएको थियो । विशेषगरी शिक्षा क्षेत्रमा उल्लेख्य काम गर्ने व्यक्तिलाई प्रदान गर्ने उद्देश्यका साथ आरती कार्की संरक्षक र नीलम कार्की निहारिका संस्थापक भई स्थापना भएको उक्त पुरस्कार यसपटक रसुवाको अकल्पनीय बाढीका बेला साहस र धैर्यका साथ धेरै विद्यार्थीको ज्यान जोगाउन सफल शिक्षिका अनुजा अधिकारी आचार्यलाई ५० हजार राशिको मीना दिदी शिक्षा पुरस्कारका साथै विशेष सम्मान अर्पण तथा चालक सुमन विश्वकर्मालाई विशेष सम्मानका साथ २५ हजार नगद पुरस्कार प्रदान गरियो । पाल्पाली संगम उक्त कार्याक्रमको आयोजक रहेको थियो । पद्मकन्या कलेजको डेनिस हलमा आयोजित उक्त कार्यक्रमको सञ्चालन अनुपमा रेग्मीले गर्नुभएको थियो । पुरस्कृत तथा सम्मानित हुने दुवै व्यक्तिले आफूले त्यस बाढीको बेलामा धैर्य गरेर ५७ जना विद्यार्थीलाई बचाएको स्मरण गर्नुभयो । मीना दिदीकी नातिनी निरुता रेग्मीले आफ्नी हजुरआमाको योगदानको स्मरण गर्नुभयो भने पद्मकन्या क्याम्पसका निमित्त क्याम्पस प्रमुख डा.रमेशबहादुर थापालगायत व्यक्तित्वहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा निलम कार्की निहारिकाले उक्त पुरस्कार बारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा केशव आचार्य, प्रा.पुरुषोत्तम दाहाल, सुलोचना मानन्धरलगायत अतिथिहरूको उपस्थिति रहेको थियो । सभापति उमानाथ पोखरेलले कार्यक्रमको अन्त्यमा मन्तव्यसहित कार्यक्रमको समापन गर्नुभएको थियो ।
मीना दिदी पुरस्कार तथा सम्मान हस्तान्तरण

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






