ललितपुर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशस्तरीय बुद्धिचाल खेलाडी छनोट प्रतिस्पर्धाको क्लासिकल विधामा पुरुषतर्फ ललितपुरका कमल श्रेष्ठ र महिलातर्फ रामेछापकी ग्लोसी श्रेष्ठ पहिलो हुनुभएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सञ्चालन भएको छनोट प्रतियोगितामा सात चरणको खेलपछि खेलाडीले प्राप्त गरेको अंक र टाइब्रेकका आधारमा अन्तिम वरीयता निर्धारण गरिएको हो । पुरुषतर्फ कमलले सात खेलबाट ६ अंक जोड्दै शीर्ष स्थान हासिल गर्नुभयो । समान ६ अंक प्राप्त गर्नुभएका ललितपुरकै सुरोज महर्जन टाइब्रेकका आधारमा दोस्रो हुनुभयो । पाँच अंकसहित दोलखाका राजीव कार्की तेस्रो स्थानमा रनुभयो । त्यस्तै, सत्याम शर्मा, मोहम्मद इमरान खान, बिमल भण्डारी र क्यान्डिडेट मास्टर नवीन तण्डुकारले समान पाँच अंक प्राप्त गर्दै क्रमशः चौथोदेखि सातौँ स्थान हासिल गर्नुभयो । शैलेन्द्र न्यौपाने, प्रतीक सुबेदी र सुभाषकुमार गुरुङ समान ४.५ अंकसहित क्रमशः आठौँ, नवौँ र दसौँ स्थानमा रहनुभयो । महिलातर्फ ग्लोसी श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै सात खेलबाट ६.५ अंक जोडेर पहिलो स्थान सुरक्षित गर्नुभयो । काठमाडौँकी नेलिशा ओझा पाँच अंकसहित दोस्रो हुनुभयो भने चितवनकी लक्ष्मी कँडेल समान पाँच अंकका बाबजुद टाइब्रेकका आधारमा तेस्रो स्थानमा रहनुभयो । ओजस्वी श्रेष्ठ पाँच अंकसहित चौथो हुनुभयो । महिलातर्फ शुभेच्छा घिमिरे, यशस्वी महर्जन र मानश्विनी शर्माले समान चार अंक प्राप्त गर्दै क्रमशः पाँचौँ, छैटौँ र सातौँ स्थान हासिल गर्नुभयो । त्यस्तै, श्रेयश्री तुलाधर, आयुप्शा सिटिखु र पारिधि खत्री समान चार अंकसहित क्रमशः आठौँ, नवौँ र दसौँ स्थानमा रहनुभयो । प्रतियोगिताको पुरुष तथा महिला दुवै विधामा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई बुद्धिचाल छनोटका लागि गठित प्राविधिक समितिका संयोजक राजु ताम्राकारले पदक तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । क्लासिकल विधाको खेल सम्पन्न भएसँगै बुद्धिचालको र्यापिड विधातर्फको छनोट प्रतिस्पर्धा सुरु भएको छ । आज (बुधबार) ब्लिट्ज विधाका खेल सम्पन्न भएपछि १०औँ राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशबाट बुद्धिचाल खेलाडी छनोट प्रक्रिया पूरा हुनेछ ।
बुद्धिचाल छनोटमा कमल र ग्लोसी पहिलो

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






