काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले नेपाली फुटबलको विद्यमान विवाद समाधानका लागि एन्फा सबै विकल्पमा लचिलो हुन तयार रहेको बताउनुभएको छ । उहाँले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) को आगामी निर्देशनअनुसार अघि बढ्ने स्पष्ट पार्दै एन्फामाथिको अन्तर्राष्ट्रिय निलम्बन पनि चाँडै हट्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फामाथि लगाएका प्रतिबन्धात्मक व्यवस्था हटाएपछि अध्यक्ष पंकजविक्रम नेम्वाङसहित सोमबारदेखि एन्फा मुख्यालय फर्किनुभएको बताउँदै महासचिव राईले नेपाली फुटबललाई निकास दिन सहमतिको बाटो अपनाउनुपर्ने संकेत गर्नुभएको हो । ‘नेपाली फुटबलको निकासका लागि एन्फाको निर्वाचनलगायत सबै समस्या समाधान गर्ने विषयमा फिफा र एएफसीको रोडम्याप आउनेछ र सोहीअनुसार नेपाली फुटबलले निकास पाउनेछ भन्ने विश्वास लिएको छु’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । निर्वाचन प्रक्रियाबारे फिफा र एएफसीको औपचारिक लिखित निर्देशन पर्खिरहेको उल्लेख गर्दै राईले समाधानका लागि एन्फा सबै विकल्पमा छलफल गर्न तयार रहेको बताउनुभएको हो । यसअघि उहाँले तहगत निर्वाचनका विषयमा एन्फासँग कुनै औपचारिक जानकारी वा छलफल नभएको बताउनुभएको थियो । फिफाको रोडम्याप आएपछि मात्रै त्यसअनुसार अघि बढ्ने उहाँको भनाइ थियो । नेपाली फुटबलको विवाद समाधानका लागि गत साता थाइल्याण्डमा पनि महत्त्वपूर्ण छलफल भएको थियो । एएफसी अवार्ड समारोहका क्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको नेतृत्वमा गएको सरकारी टोलीले फिफा र एएफसीका पदाधिकारीसँग भेटवार्ता गरेको थियो । टोलीमा मन्त्रीका खेलकुद सल्लाहकार सिद्धि व्यञ्जनकार र राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो ।उक्त छलफलमा नेपाली फुटबलको निर्वाचन विवाद समाधान गर्न तहगत निर्वाचन गराउने विषयमा फिफा र एएफसीका पदाधिकारी सकारात्मक रहेको बताइएको छ । एन्फामा विवादको सुरुवात गत चैतमा निर्धारित कार्यकाल सकिनुअघि नै असारसम्म ‘अर्ली इलेक्सन’ गर्ने प्रयासबाट भएको थियो । जिल्ला तहको निर्वाचन नगरी चार वर्षअघिकै प्रतिनिधिलाई मताधिकार दिएर केन्द्रीय निर्वाचनमार्फत् वर्तमान नेतृत्व थप चार वर्षका लागि अनुमोदित हुन खोजेको भन्दै सरकार र एन्फाबीच मतभेद चुलिएको थियो । सरकारले पहिले जिल्ला तहको निर्वाचन सम्पन्न गरेरमात्रै केन्द्रीय निर्वाचन गर्नुपर्ने अडान लिँदै एन्फालाई निलम्बन गरेको थियो । सरकारी हस्तक्षेपलाई तेस्रो पक्षको हस्तक्षेप ठहर गर्दै फिफाले पनि गत असारमा एन्फामाथि अनिश्चितकालीन निलम्बन लगाएको थियो । पछिल्लो समय राखेपले आफ्नो निलम्बन फुकुवा गरे पनि फिफाको प्रतिबन्ध भने कायमै छ । यही प्रतिबन्ध हटाउने उद्देश्यसहित सरकारी प्रतिनिधिमण्डलले थाइल्याण्डमा फिफा र एएफसीसँग छलफल गरेको हो । महासचिव राईले मंगलबारको फेसबुक सन्देशमार्फत् मन्त्री पोखरेल, उहाँका सल्लाहकार व्यञ्जनकार र राखेप उपाध्यक्ष श्रेष्ठलाई फिफा तथा एएफसीसँग सकारात्मक छलफल गरी नेपाली फुटबललाई निकास दिने दिशामा महत्त्वपूर्ण पहल गरेको भन्दै धन्यवादसमेत दिनुभएको छ । अब फिफा र एएफसीले दिने औपचारिक निर्देशन तथा निर्वाचनसम्बन्धी रोडम्यापले नेपाली फुटबलको आगामी दिशा तय गर्ने देखिएको छ । राखेपको प्रतिबन्ध हटेसँगै केही सहज बनेको एन्फाको अवस्था अन्तर्राष्ट्रिय निलम्बन फुकुवासँगै थप सामान्य बन्ने अपेक्षा गरिएको छ ।
फिफाको निलम्बन खुल्नेमा एन्फा आशावादी, ‘सबै विकल्पमा लचिलो छौं’

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






