बेनी–जोमसोम–कोरला सडक : पुनर्निर्माण गर्न ४ अर्बसम्म खर्च लाग्ने

म्याग्दी । पछिल्लो मनसुनमा आएको बाढी र पहिरोले चीनसँगको कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकलाई नराम्ररी क्षति पुर्याएको छ। सडकका विभिन्न संरचनामा करिब एक अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। क्षतिग्रस्त सडकलाई पुरानै अवस्थामा फर्काउन भने तीनदेखि चार अर्ब रुपैयाँसम्म खर्च गर्नुपर्ने देखिएको छ। असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी, नदी कटान र ठाउँठाउँमा खसेको पहिरोले सडकको अवस्था बिगारेको हो। बेनी–जोमसोम–कोरला सडक योजनाका अनुसार बाढीले सडकका विभिन्न भाग बगाउनुका साथै पहिरोले दर्जनौँ स्थानमा संरचना भत्काएको छ। योजना प्रमुख तेजस्वी शर्माका अनुसार कालीगण्डकी नदीको कटानले १० स्थानमा सडक बगाएको तथा भत्काएको छ भने अन्य ५० स्थानमा पहिरोले क्षति पुर्याएको छ। प्रारम्भिक अनुमानमा ८० देखि ९० करोड रुपैयाँ बराबरको क्षति देखिएको छ। तत्काल सामान्य मर्मत गरेर दुई साताभित्रै सडक सञ्चालनमा ल्याइए पनि दीर्घकालीन पुनर्निर्माणका लागि ठूलो बजेट आवश्यक पर्ने उनको भनाइ छ। शर्माका अनुसार सडकलाई सुरक्षित र दिगो रूपमा पुनर्निर्माण गर्न पहिरो नियन्त्रण, नदी कटान रोक्ने संरचना निर्माण र सडकको सतह सुधार गर्नुपर्नेछ। म्याग्दी खण्डमा यसअघि गरिएको डिबिएसडी कालोपत्रलाई समेत अक्सफाल्ट पिचको निर्धारित स्वरूपमा स्तरोन्नति गर्नुपर्ने भएकाले पुनर्निर्माणको लागत बढ्ने अनुमान गरिएको छ। पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङको कोरला नाकासम्म फैलिएको २०२ किलोमिटर लामो सडकको सबैभन्दा बढी क्षति म्याग्दी खण्डमा भएको छ। यस खण्डको करिब ३३ किलोमिटर सडक बाढी, पहिरो र कटानबाट प्रभावित भएको छ। विगतमा जोखिमपूर्ण मानिएका स्थानमा मात्रै नभई पहिले सुरक्षित ठानिएका क्षेत्रमा समेत नयाँ पहिरो खस्ने र नदीले सडक काट्ने समस्या देखिएको छ। सङ्घीय सडक सुपरिवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले यो सडक निर्माण सुरु भएयताकै सबैभन्दा ठूलो क्षति पछिल्लो विपद्बाट भएको बताएका छन्। २०७३/७४ मा निर्माण सुरु भएको सडकको म्याग्दी खण्डमा पछिल्लो समय स्तरोन्नति गरिएका भागसमेत क्षतिग्रस्त भएका छन्। यसले सडक निर्माणमा भएको लगानी जोगाउन र भविष्यमा यस्ता विपद्बाट हुने क्षति कम गर्न थप बलिया संरचना निर्माण गर्नुपर्ने आवश्यकता देखाएको छ। बाढीपहिरोले सडकमा क्षति पुर्याएपछि यात्राको समयसमेत उल्लेख्य रूपमा बढेको छ। पहिले करिब एक घण्टा तीन मिनेटमा पार गर्न सकिने म्याग्दी खण्ड छिचोल्न अहिले तीनदेखि चार घण्टासम्म लाग्ने गरेको छ। पर्वतको फर्से, केराबारी र लामाबगरदेखि म्याग्दीका तिल्केनीचौर, राहुपारे, बैसरी, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ, रातोपानी, नौनीबगर, तातोपानी, गुह्येभिर, खामभित्ता र सुकेबगरलगायत क्षेत्रमा सडक क्षतिग्रस्त भएको छ। कालीगण्डकी नदीले पोखरेबगरस्थित सडक पुल बगाएपछि अस्थायी मार्ग निर्माण गरेर यातायात सञ्चालन गरिएको छ। अन्य क्षतिग्रस्त क्षेत्रमा पनि एकतर्फी सवारी चलाउन मिल्ने गरी बाटो खुलाइएको छ। तर, साँघुरो मार्ग र कमजोर सडकका कारण सवारीसाधन फस्ने, लामो समय जाममा बस्नुपर्ने र आवागमनमा कठिनाइ हुने समस्या कायमै छ। म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठका अनुसार कोरला नाकाबाट आउने र जाने मालवाहक कन्टेनर, मुस्ताङतर्फ आवतजावत गर्ने सवारीसाधन, पर्यटक तथा स्थानीयवासीको चापका कारण क्षतिग्रस्त सडकमा यातायात व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ। सडकको अवस्था कमजोर रहँदा व्यापार, पर्यटन र स्थानीय जनजीवनमा समेत असर परेको छ। बेनी–जोमसोम–कोरला सडक चीनसँगको व्यापारिक सम्पर्क विस्तार गर्ने, कोरला नाकाबाट हुने आयात–निर्यात सहज बनाउने र मुस्ताङको पर्यटन प्रवर्द्धन गर्ने दृष्टिले महत्वपूर्ण मानिन्छ। यस सडकमा हुने अवरोधले स्थानीय आवागमनमा मात्रै नभई सीमापार व्यापार र पर्यटकीय गतिविधिमा समेत प्रत्यक्ष असर पार्ने भएकाले यसको पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने देखिएको छ। केही दिनअघि क्षतिग्रस्त सडकको स्थलगत निरीक्षण गरेका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पुनर्निर्माणका लागि आवश्यक बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाएका थिए। उनले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई तीव्रता दिनसमेत निर्देशन दिएका थिए। तत्कालका लागि अस्थायी मर्मत गरेर यातायात सञ्चालन गरिए पनि सडकलाई सुरक्षित, भरपर्दो र दीर्घकालीन रूपमा सञ्चालनयोग्य बनाउन ठूलो लगानी आवश्यक पर्ने देखिएको छ। बाढी र पहिरोबाट बारम्बार प्रभावित हुने कालीगण्डकी करिडोरका जोखिमयुक्त स्थानमा नदी नियन्त्रण, पहिरो रोकथाम र सडक संरचनाको दिगो सुधार गर्न नसके भविष्यमा पनि यस्तै क्षति दोहोरिने जोखिम रहनेछ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

अस्ट्रेलियामा वित्तीय प्रतिवेदन बुझाउन ढिलाइ गर्ने २१ कम्पनीलाई २९ लाख डलर जरिवाना
काठमाडौं- अस्ट्रेलियाको भिसी/प्राट समूहअन्तर्गतका २१ कम्पनीले तोकिएको समय सीमाभित्र वित्तीय प्रतिवेदन नबुझाएको भन्दै ४१ लाख ५८ हजार अस्ट्रेलियाली डलर (करिब २९ लाख अमेरिकी डलर) जरिवाना तिरेका छन् । अस्ट्रेलियाली धितोपत्र तथा लगानी आयोग (एएसआईसी) ले बुधबार दिएको जानकारीअनुसार प्रत्येक कम्पनीले एक लाख ९८ हजार अस्ट्रेलियाली डलरका दरले जरिवाना बुझाएका हुन् । यी कम्पनीले सन् २०२५ जुन ३० मा समाप्त भएको आर्थिक वर्षको ...

आईसीसीबाट एनपीएलका सबै खेललाई लिस्ट ए टी-२० को मान्यता
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल प्रिमियर लिग तेस्रो संस्करणका सम्पूर्ण खेललाई मान्यता प्रदान गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले बुधबार विज्ञप्ति जारी गरी उक्त जानकारी गराएका हुन्। ‘आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हने तेस्रो सं... ...

भोटेकोशी बाढीपछि बुबाको पत्तो छैन, बालक सोध्छन् – ‘दशमीयोमे पापा घर किया नइँ एलै?’
भोटेकोशी बाढीमा बेपत्ता इन्जिनियर अजयकुमार यादवको परिवार करिब दुई महिनादेखि उनको पर्खाइमा छ । बुबाको बाटो हेर्दै साढे चार वर्षीय छोरा सोध्छन्, ‘दशमीयोमे पापा घर किया नइँ एलै?’ उता डीएनए परीक्षणको रिपोर्ट नआउँदा परिवार अन्योलमा छ । ...

थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण गर्ने परम्परा पुनः सुरु
भक्तपुर । भक्तपुरको मध्यपुरथिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शन गरी टीका ग्रहण गर्ने परम्परा पुनः सुरु भएको छ। स्थानीय शाक्य, बज्राचार्य, कर्माचार्य तथा संस्कृति संरक्षणकर्मीहरूको पहलमा धार्मिक, सामाजिक एवं ऐतिहासिक महत्त्व बोकेको कुमारीको दर्शन गर्ने परम्परा ६२ वर्षपछि पुनः सुरु भएको हो। यस वर्ष मध्यपुरथिमि चपाचोकी चार वर्षीया आयुषी बज्राचार्यलाई जीवित देवी कुमारीका रूपमा नियुक्त गरिएको थियो। उनलाई आज आदर्शस्थित लायकु दरबारमा ...


