Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/‘प्रहार’ले उठाएको न्यायको प्रश्न

‘प्रहार’ले उठाएको न्यायको प्रश्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘प्रहार’ले उठाएको न्यायको प्रश्न

भारतीय सिनेमा उद्योगको इतिहास लामो छ। मूक चलचित्रबाट सुरु भएको भारतीय सिनेमा आज देशको सीमाभन्दा धेरै टाढा पुगेको छ। हलिउडपछि विश्वव्यापी प्रभाव विस्तार गर्न सफल चलचित्र उद्योगमध्ये बलिउड पनि एक हो। मैले केन्या र घानाजस्ता अफ्रिकी देशमा समेत दर्शकहरू हलमा गएर भारतीय चलचित्र हेरेको आफ्नै आँखाले देखेको छु। यसले भारतीय सिनेमाको लोकप्रियता र सांस्कृतिक प्रभाव बुझ्न मद्दत गर्छ। सिनेमा केवल मनोरञ्जनको साधन होइन। यो कला, साहित्य, संगीत, अभिनय, संस्कृति र प्रविधिको संयोजन हो। त्यसैले चलचित्रको मूल्याङ्कन गर्दा त्यसले कति पैसा कमायो भन्ने प्रश्नसँगै त्यसले कस्तो कथा भन्यो, समाजलाई के सोच्न बाध्य बनायो र कलात्मक रूपमा कति सफल भयो भन्ने प्रश्न पनि महत्त्वपूर्ण हुन्छ। भारतीय सिनेमामा लामो समयदेखि व्यावसायिक र कलात्मक चलचित्रका दुई धार देखिँदै आएका छन्। व्यावसायिक चलचित्रले मनोरञ्जन, स्टारडम र बजारलाई प्राथमिकता दिन्छन् भने समानान्तर वा कलात्मक सिनेमाले सामाजिक यथार्थ, मानवीय सम्बन्ध, राजनीतिक शक्ति र समाजका अन्तर्विरोधलाई केन्द्रमा राख्छन्। यी दुई धारबीच सधैँ स्पष्ट विभाजन भने छैन। व्यावसायिक रूपमा सफल चलचित्र पनि कलात्मक हुन सक्छन् र कलात्मक चलचित्रले पनि दर्शकको मन जित्न सक्छन्। पछिल्लो समय स्टारडम, ठूलो बजेट र दृश्यात्मक चमत्कारले चलचित्रको मूल्याङ्कनमा अत्यधिक प्रभाव पार्न थालेको अनुभूति हुन्छ। श्याम बेनेगल, गोविन्द निहलानी र सत्यजित रेजस्ता निर्देशकले भारतीय सिनेमालाई गम्भीर सामाजिक र कलात्मक अभिव्यक्तिको माध्यम बनाएका थिए। उनीहरूका चलचित्रमा जातीय विभेद, वर्गीय असमानता, राज्यसत्ताको दुरुपयोग, सामाजिक रूढिवाद र व्यक्तिको नैतिक सङ्घर्षजस्ता विषयले स्थान पाउँथे। नसरुद्दिन शाह, शबाना आजमी, स्मिता पाटिल र ओम पुरीजस्ता कलाकारले पनि कलात्मक र व्यावसायिक दुवै धारमा आफ्नो क्षमता प्रमाणित गरेका थिए। तर पछिल्लो समय स्टारडम, ठूलो बजेट र दृश्यात्मक चमत्कारले चलचित्रको मूल्याङ्कनमा अत्यधिक प्रभाव पार्न थालेको अनुभूति हुन्छ। ठूला स्टारको उपस्थिति, अत्यधिक हिंसा र अस्वाभाविक रूपमा शक्तिशाली नायकलाई केन्द्रमा राख्ने चलचित्रले बक्स अफिसमा सफलता पाउन सक्छन्। तर त्यस्तो सफलताले मात्र चलचित्रलाई राम्रो कला, साहित्य वा संस्कृतिको उदाहरण बनाउँदैन। राजकुमार रावको ‘प्रहार’ हेरेपछि गम्भीर विषयमा आधारित चलचित्रको महत्त्वबारे फेरि सोच्ने अवसर मिलेको छ। ‘प्रहार’ किन फरक छ? गत १६ अक्टोबरमा प्रदर्शनमा आएको ‘प्रहार : द अनटोल्ड स्टोरी अफ उज्ज्वल निकम’का निर्देशक अविनाश अरुण हुन्। चलचित्रमा राजकुमार रावले सरकारी वकिल उज्ज्वल निकमको भूमिका निर्वाह गरेका छन्। ललित प्रभाकर अजमल कसाबको भूमिकामा छन् भने सिकन्दर खेरले कसाबका प्रतिरक्षा वकिल अब्बास काजमीको भूमिका खेलेका छन्। जयदीप अहलावत, वामिका गब्बी र आशिष विद्यार्थी पनि महत्त्वपूर्ण भूमिकामा छन्। चलचित्रको पृष्ठभूमि सन् २००८ नोभेम्बर २६ मा मुम्बईमा भएको आतंकवादी हमला हो। ताजमहल प्यालेस होटललगायत विभिन्न स्थानमा भएका ती आक्रमणमा १६६ जनाको मृत्यु भएको थियो। घटनाले भारत मात्र होइन, विश्वलाई नै स्तब्ध बनाएको थियो। आक्रमणमा संलग्न आतंकवादीमध्ये अजमल कसाब जीवित पक्राउ परेका थिए। पछि भारतीय अदालतले उनलाई दोषी ठहर गरी मृत्युदण्ड सुनायो र सन् २०१२ नोभेम्बरमा उनलाई फाँसी दिइयो। अपराधको प्रमाण प्रस्तुत गर्नुपर्छ, प्रतिवादीलाई आफ्नो पक्ष राख्ने अवसर दिनुपर्छ र अदालतले प्रमाण तथा कानुनका आधारमा निर्णय गर्नुपर्छ। यति चर्चित घटनामा आधारित चलचित्र फेरि किन बनाउनुपर्‍यो भन्ने प्रश्न उठ्न सक्छ। घटनाका दृश्य, समाचार र विवरण संसारभर प्रसारित भइसकेका थिए। तर निर्देशक अविनाश अरुणले घटनाको पुनः चित्रणमा मात्र सीमित नभई त्यसपछिको कानुनी प्रक्रियालाई कथाको केन्द्रमा राखेका छन्। अपराधको भयावहता देखाउनु एउटा कुरा हो, अपराधीलाई कानुनी रूपमा दोषी प्रमाणित गर्ने प्रक्रिया देखाउनु अर्को। ‘प्रहार’को महत्त्व यही दोस्रो पक्षमा छ। अपराधीलाई सजाय दिन पनि कानुन चाहिन्छ आतंकवादी आक्रमणपछि जनतामा आक्रोश हुनु स्वाभाविक हो। सयौँ निर्दोष मानिसको जीवनमा क्षति पुर्‍याउने व्यक्तिलाई कडा सजाय दिनुपर्छ भन्ने माग पनि स्वाभाविक हुन्छ। तर लोकतान्त्रिक राज्यमा जनआक्रोश वा सार्वजनिक धारणाका आधारमा मात्र कसैलाई सजाय दिन मिल्दैन। अपराधको प्रमाण प्रस्तुत गर्नुपर्छ, प्रतिवादीलाई आफ्नो पक्ष राख्ने अवसर दिनुपर्छ र अदालतले प्रमाण तथा कानुनका आधारमा निर्णय गर्नुपर्छ। कसाबको अपराधबारे सार्वजनिक रूपमा ठूलो आक्रोश हुँदाहुँदै पनि उनलाई फाँसी दिन भारतलाई कानुनी प्रक्रिया पूरा गर्न करिब चार वर्ष लाग्यो। उनी सन् २००८ मा पक्राउ परेका थिए र सन् २०१२ मा मृत्युदण्ड दिइयो। यस अवधिमा मुद्दा चलेको थियो, प्रतिरक्षा पक्षले आफ्नो तर्क राखेको थियो र उच्च अदालत तथा सर्वोच्च अदालतबाट कानुनी परीक्षण भएको थियो। अपराधीलाई सजाय दिन कानुनको पालना गर्नु भनेको अपराधप्रति नरम हुनु होइन, बरु राज्यको निर्णयलाई वैधानिक र न्यायसङ्गत बनाउनु हो। यस प्रक्रियालाई अनावश्यक ढिलाइका रूपमा मात्र हेर्न मिल्दैन। यसको मूल अर्थ राज्यले पनि कानुनको सीमाभित्र रहेर काम गर्नुपर्छ भन्ने हो। अपराधीलाई सजाय दिन कानुनको पालना गर्नु भनेको अपराधप्रति नरम हुनु होइन, बरु राज्यको निर्णयलाई वैधानिक र न्यायसङ्गत बनाउनु हो। चलचित्रले यही कुरालाई अदालती नाटकका माध्यमबाट प्रभावकारी रूपमा प्रस्तुत गरेको छ। उज्ज्वल निकमको भूमिका निर्वाह गरेका राजकुमार रावले अपराधको गम्भीरतासँगै प्रमाण सङ्कलन, साक्षीको बयान र कानुनी तर्कको महत्त्वलाई दर्शकसमक्ष ल्याउँछन्। उनको चरित्रलाई केही हदसम्म नायकका रूपमा प्रस्तुत गरिएको भए पनि कथाको मूल शक्ति उनले गर्ने भाषणभन्दा कानुनी प्रक्रियामा देखिन्छ। कसाबको प्रतिरक्षा र न्यायको कठिन प्रश्न चलचित्रको अर्को महत्त्वपूर्ण पक्ष कसाबका प्रतिरक्षा वकिल अब्बास काजमीको भूमिका हो। कसाबजस्तो व्यक्तिको पक्षमा उभिनु सजिलो थिएन। सार्वजनिक आक्रोशको वातावरणमा अपराधको आरोप लागेका व्यक्तिको प्रतिरक्षा गर्नु भनेको वकिल स्वयं सामाजिक आलोचनाको पात्र बन्न सक्नु हो। अप्रिय वा घृणित मानिएको व्यक्तिको प्रतिरक्षा गर्नु नैतिक रूपमा गलत हो कि कानुनी व्यवस्थाको अनिवार्य हिस्सा? चलचित्रमा काजमी आफ्नो परिवारसहित होटलमा खाना खान गएको दृश्यमार्फत उनलाई समाजले हेर्ने दृष्टिकोण देखाइएको छ। आतंकवादीको पक्षमा मुद्दा लडेको भन्दै उनलाई आफ्नै समुदायका मानिसले समेत गद्दारजस्तो व्यवहार गरेको चित्रण प्रभावकारी छ। यसले एउटा महत्त्वपूर्ण प्रश्न उठाउँछ-अप्रिय वा घृणित मानिएको व्यक्तिको प्रतिरक्षा गर्नु नैतिक रूपमा गलत हो कि कानुनी व्यवस्थाको अनिवार्य हिस्सा? कुनै व्यक्तिको प्रतिरक्षा गर्नु उसको अपराधलाई समर्थन गर्नु होइन। वकिलको काम प्रतिवादी निर्दोष छ भनेर व्यक्तिगत रूपमा घोषणा गर्नु मात्र पनि होइन, राज्यले प्रस्तुत गरेको प्रमाण र कानुनी दाबीको परीक्षण गर्नु हो। अभियोजन पक्षले प्रमाण प्रस्तुत गर्नुपर्छ र प्रतिरक्षा पक्षले त्यसलाई चुनौती दिन पाउनुपर्छ। यही प्रक्रियाबाट अदालतको निर्णय विश्वसनीय हुन्छ। काजमीको भूमिकाले यस पक्षलाई स्पष्ट पार्छ। उनले सरकारी वकिल निकमका तर्कलाई चुनौती दिँदा निकमलाई थप मेहनत गर्नुपर्ने अवस्था सिर्जना हुन्छ। यसले सार्वजनिक रूपमा दोषी मानिएको व्यक्तिलाई पनि अदालतमा प्रमाणका आधारमा दोषी ठहर गर्नुपर्ने कुरा देखाउँछ। अभियोजन पक्षको शक्ति देखाउने क्रममा प्रतिरक्षा पक्षको भूमिकालाई कमजोर बनाइयो भने कानुनी प्रक्रियाको सन्तुलित चित्रण अपूरो हुन सक्छ। यद्यपि, काजमीका सहायक वकिल पवारको भूमिका प्रस्तुत गरिएको तरिकामा निर्देशकले प्रतिरक्षा पक्षलाई आफ्नो तर्क सशक्त रूपमा अघि बढाउने पर्याप्त अवसर नदिएको हो कि भन्ने प्रश्न उठ्छ। अभियोजन पक्षको शक्ति देखाउने क्रममा प्रतिरक्षा पक्षको भूमिकालाई कमजोर बनाइयो भने कानुनी प्रक्रियाको सन्तुलित चित्रण अपूरो हुन सक्छ। चलचित्रको यो पक्षमा निर्देशकले अझ गहिराइ दिन सक्थे भन्ने मेरो ठम्याइ छ। कसाबको मनोवैज्ञानिक रूपान्तरण ललित प्रभाकरले कसाबको भूमिकामा प्रभावशाली अभिनय गरेका छन्। उनको चरित्र सुरुमा अपराध अस्वीकार गर्ने, बहाना बनाउने र आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्ने व्यक्तिका रूपमा देखिन्छ। तर कथा अघि बढ्दै जाँदा उसले गरेको अपराधको भयावहता र त्यसको मानवीय परिणामसँग उसको सामना हुन्छ। चलचित्रमा आफ्ना मृत साथीहरूको शव र अन्तिम संस्कारसम्बन्धी प्रसङ्गलाई कसाबमाथि परेको मनोवैज्ञानिक दबाबका रूपमा प्रस्तुत गरिएको छ। त्यसैगरी, उसलाई तालिम दिने समूहले कसरी धार्मिक प्रलोभन, पैसा र अन्य आश्वासनमार्फत प्रयोग गरेको थियो भन्ने पक्ष पनि देखाइएको छ। यी दृश्यलाई चलचित्रको नाटकीय प्रस्तुतिका रूपमा बुझ्नुपर्छ; प्रत्येक विवरण ऐतिहासिक रूपमा त्यही रूपमा घटेको प्रमाणका रूपमा लिन मिल्दैन। कसरी कुनै व्यक्ति हिंसात्मक विचारधाराको प्रभावमा पर्न सक्छ, कसरी उसलाई प्रयोग गरिन्छ र अन्ततः त्यसको परिणाम कति भयावह हुन्छ भन्ने बुझ्नु समाजका लागि पनि आवश्यक छ। यस प्रसङ्गको महत्त्व कसाबप्रति सहानुभूति जगाउनुमा होइन। अपराधीको मानवीय पक्ष देखाउनु र अपराधलाई उचित ठहर गर्नु फरक कुरा हुन्। कसरी कुनै व्यक्ति हिंसात्मक विचारधाराको प्रभावमा पर्न सक्छ, कसरी उसलाई प्रयोग गरिन्छ र अन्ततः त्यसको परिणाम कति भयावह हुन्छ भन्ने बुझ्नु समाजका लागि पनि आवश्यक छ। आशिष विद्यार्थीले निर्वाह गरेको न्यायाधीशको भूमिकाले पनि चलचित्रलाई प्रभावकारी बनाएको छ। अदालतको काम अभियोजन पक्षको दबाब वा जनताको आक्रोशमा बहकिनु होइन, प्रमाण र कानुनका आधारमा निर्णय गर्नु हो। यस अर्थमा चलचित्रले न्यायाधीश, अभियोजन पक्ष र प्रतिरक्षा पक्षको भूमिकाबीचको सम्बन्धलाई दर्शकले बुझ्ने गरी प्रस्तुत गर्ने प्रयास गरेको छ। वास्तविक दृश्य र चलचित्रको कलात्मकता ‘प्रहार’मा मुम्बई आक्रमणका बेला ताज होटललगायतका स्थानमा भएका घटनाका वास्तविक टेलिभिजन दृश्य पनि प्रयोग गरिएका छन्। ती दृश्य हेर्दा कहिलेकाहीँ वृत्तचित्र हेरिरहेको अनुभूति हुन्छ। वास्तविक दृश्य सामग्रीले घटनाको भयावहता र ऐतिहासिक विश्वसनीयता बढाउँछ। तर यसले चलचित्रको कलात्मकतासम्बन्धी प्रश्न पनि उठाउँछ- वास्तविक दृश्यले नाटकीय कथालाई गहिरो बनाइरहेको छ कि कतिपय अवस्थामा त्यसको ठाउँ लिइरहेको छ? चलचित्र उज्ज्वल निकमको चरित्र वरिपरि धेरै केन्द्रित हुँदा उनको जीवनका अन्य जटिल पक्षलाई अझ गहिराइमा प्रस्तुत गर्न सकिने सम्भावना भने बाँकी रहन्छ। वास्तविक दृश्य प्रयोग गर्नु आफैँमा कमजोरी होइन। तर फिचर फिल्मको दायित्व विगतमा के भयो भनेर सम्झाउनु मात्र होइन, त्यस घटनाको अर्थ के हो, त्यसले पात्रहरूलाई कसरी प्रभावित गर्‍यो र समाजले त्यसबाट के बुझ्न सक्छ भन्ने कुरा पनि देखाउनु हो। ‘प्रहार’को मुख्य उपलब्धि वास्तविक दृश्यमा भन्दा त्यसपछिको कानुनी सङ्घर्षलाई कथाको केन्द्रमा राख्नुमा छ। राजकुमार रावको अभिनयले चलचित्रलाई एकीकृत राखेको छ। उनी व्यावसायिक र कलात्मक दुवै प्रकारका चलचित्रमा प्रभावकारी देखिएका कलाकार हुन्। उनका चरित्रमा प्रायः कथासँग मेल खाने उपस्थिति देखिन्छ। ‘प्रहार’मा पनि उनी सरकारी वकिलको दृढता र व्यावसायिक प्रतिबद्धतालाई प्रस्तुत गर्न सफल छन्। तर चलचित्र उज्ज्वल निकमको चरित्र वरिपरि धेरै केन्द्रित हुँदा उनको जीवनका अन्य जटिल पक्षलाई अझ गहिराइमा प्रस्तुत गर्न सकिने सम्भावना भने बाँकी रहन्छ। स्टारडमभन्दा माथि उठ्ने सिनेमा ‘प्रहार’ हेर्दा भारतीय सिनेमामा समानान्तर चलचित्रले स्थापित गरेको परम्पराको सम्झना हुन्छ। चलचित्रमा मूलधारका मनोरञ्जनप्रधान फिल्ममा देखिने अनावश्यक गीत, नृत्य, अस्वाभाविक नायकत्व र दृश्यात्मक चमत्कारको भर परेको छैन। यसको कथा अदालती बहस, प्रमाण, पात्रहरूको मनोवैज्ञानिक सङ्घर्ष र कानुनी प्रक्रियामा आधारित छ। यसको अर्थ मनोरञ्जनप्रधान चलचित्र सबै कमजोर हुन्छन् भन्ने होइन। ‘बजरंगी भाइजान’जस्ता व्यावसायिक चलचित्रले पनि मानवीय संवेदना र सामाजिक सन्देशलाई प्रभावकारी रूपमा प्रस्तुत गरेका छन्। आमिर खानका कतिपय चलचित्रले व्यावसायिक सफलता र सामाजिक विषयबीच सन्तुलन कायम गरेका छन्। प्रश्न व्यावसायिक सिनेमा बनाउने कि कलात्मक भन्ने मात्र होइन, चलचित्रले आफ्नो कथा कति इमानदारीपूर्वक र कलात्मक रूपमा प्रस्तुत गर्छ भन्ने हो। ठूलो बजेट, स्थापित कलाकार र असाधारण दृश्यले दर्शक तान्न सक्छन्, तर ती तत्त्व मात्रले चलचित्रलाई दीर्घकालीन सांस्कृतिक मूल्य दिँदैनन्। हालै प्रदर्शनमा आएका ठूला स्टारका चलचित्रसँग तुलना गर्दा पनि यही प्रश्न उठ्छ। ठूलो बजेट, स्थापित कलाकार र असाधारण दृश्यले दर्शक तान्न सक्छन्, तर ती तत्त्व मात्रले चलचित्रलाई दीर्घकालीन सांस्कृतिक मूल्य दिँदैनन्। स्टारडमले केही समय दर्शकलाई आकर्षित गर्न सक्छ, राम्रो कथा र कलात्मक इमानदारीले भने चलचित्रलाई लामो समयसम्म सम्झनयोग्य बनाउन सक्छ। ‘प्रहार’ राष्ट्रिय पुरस्कार पाउन योग्य छ कि छैन भन्ने निर्णय निर्णायक मण्डलको विषय हो। तर गम्भीर विषयलाई मनोरञ्जनको नाममा हलुका नबनाई प्रस्तुत गर्ने यसको प्रयास प्रशंसनीय छ। यसले दर्शकलाई घटनाको भयावहता सम्झाउनुका साथै न्यायको प्रक्रिया किन आवश्यक छ भन्ने प्रश्नमा पनि सोच्न बाध्य बनाउँछ। नेपाली चलचित्र उद्योगले के सिक्न सक्छ? नेपालमा वर्षेनी सयभन्दा बढी चलचित्र निर्माण हुने गरेको सन्दर्भमा एउटा प्रश्न उठ्छ- यति धेरै चलचित्र निर्माण हुने उद्योगले समाजका महत्त्वपूर्ण प्रश्नमा आधारित, कलात्मक रूपमा सशक्त र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनिन सक्ने चलचित्र किन अझ धेरै बनाउन सक्दैन? व्यावसायिक जोखिमकै कारण समाजका लागि महत्त्वपूर्ण विषयमा चलचित्र बनाउने सम्भावना कमजोर हुनु उचित होइन। धेरै चलचित्रले आफ्नो लगानी उठाउन नसक्ने अवस्थामा निर्माताले बजारको जोखिम मात्र बेहोर्दैनन्, कलाकार र प्राविधिक जनशक्तिको श्रमको मूल्य पनि प्रभावित हुन्छ। त्यसैले गम्भीर चलचित्र बनाउन चाहने निर्माताले आर्थिक सम्भाव्यतालाई बेवास्ता गर्न सक्दैनन्। तर व्यावसायिक जोखिमकै कारण समाजका लागि महत्त्वपूर्ण विषयमा चलचित्र बनाउने सम्भावना कमजोर हुनु पनि उचित होइन। सरकारले चलचित्र क्षेत्रबाट उठाउने राजस्वको केही अंश पारदर्शी र प्रतिस्पर्धात्मक सार्वजनिक कोषमार्फत सामाजिक, ऐतिहासिक तथा कलात्मक महत्त्व भएका चलचित्रको विकासमा लगानी गर्न सक्छ। यस्तो सहयोग राजनीतिक पहुँच वा व्यक्तिगत सम्बन्धका आधारमा नभई स्पष्ट मापदण्ड, स्वतन्त्र छनोट समिति, निर्माणको गुणस्तर र सार्वजनिक जवाफदेहिताका आधारमा वितरण गरिनुपर्छ। यसले व्यावसायिक बजारमा तुरुन्तै ठूलो नाफा कमाउन नसक्ने तर दीर्घकालीन सांस्कृतिक महत्त्व राख्ने परियोजनालाई अवसर दिन सक्छ। यस्ता चलचित्रले जातीय विभेद, लैङ्गिक असमानता, श्रम शोषण, ऐतिहासिक अन्याय, भ्रष्टाचार र सामाजिक रूपान्तरणका विषयलाई कलात्मक रूपमा प्रस्तुत गर्न सक्छन्। तिनले नेपाली समाजलाई आफ्नै इतिहास र वर्तमानलाई नयाँ दृष्टिले हेर्न मद्दत गर्नेछन्। अन्तर्राष्ट्रिय महोत्सवमा पुग्ने सम्भावना पनि त्यस्ता चलचित्रको विषयवस्तु, निर्माणको गुणस्तर र मौलिकतासँग जोडिएको हुन्छ। वास्तविक दृश्य सामग्री र नाटकीय दृश्यबीचको सन्तुलन अझ राम्रो हुन सक्थ्यो र प्रतिरक्षा पक्षका केही प्रसङ्गलाई थप विस्तार गर्न सकिन्थ्यो। सिनेमा उद्योगलाई केवल मनोरञ्जनको व्यापारका रूपमा हेर्नु पर्याप्त हुँदैन। यो देशको संस्कृति, भाषा, इतिहास र सामाजिक चेतना अभिव्यक्त गर्ने माध्यम पनि हो। त्यसैले यसको विकासमा निजी लगानीसँगै पारदर्शी सार्वजनिक सहयोगको भूमिका हुन सक्छ। न्याय र कलात्मक इमानदारीको महत्त्व ‘प्रहार’ पूर्णतः दोषरहित चलचित्र होइन। कथाका केही भाग अझ गहिरा हुन सक्थे, वास्तविक दृश्य सामग्री र नाटकीय दृश्यबीचको सन्तुलन अझ राम्रो हुन सक्थ्यो र प्रतिरक्षा पक्षका केही प्रसङ्गलाई थप विस्तार गर्न सकिन्थ्यो। तर यसको मूल विषयलाई गम्भीरतापूर्वक लिने प्रयास महत्त्वपूर्ण छ। राजकुमार रावको अभिनय, ललित प्रभाकरको कसाबको चरित्र चित्रण र अदालती प्रक्रियालाई केन्द्रमा राख्ने निर्देशकको निर्णयले चलचित्रलाई सामान्य आतंकवादी घटनामा आधारित कथाभन्दा फरक बनाएका छन्। अपराधीलाई सजाय दिनु मात्र न्याय होइन, राज्यले कानुनको पालना गर्दै प्रमाणका आधारमा निर्णय गर्नु पनि न्यायको अनिवार्य हिस्सा हो भन्ने सन्देश यस चलचित्रको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। नेपाली चलचित्र उद्योगले पनि मनोरञ्जन र व्यापारसँगै यस्ता गम्भीर विषयलाई प्राथमिकता दिन सकेमा त्यसले उद्योगको आर्थिक आधार मात्र होइन, देशको सांस्कृतिक प्रतिष्ठा पनि बढाउन सक्छ। अन्ततः चलचित्रको सफलता बक्स अफिसको अङ्कमा मात्र मापन गर्न मिल्दैन। लगानी उठाउनु र आर्थिक रूपमा टिकाउ हुनु निर्माताका लागि आवश्यक छ। तर त्यससँगै चलचित्रले दर्शकलाई के सोच्न बाध्य बनायो, समाजका कुन प्रश्न उठायो र कलात्मक रूपमा के योगदान दियो भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ। नेपाली चलचित्र उद्योगले पनि मनोरञ्जन र व्यापारसँगै यस्ता गम्भीर विषयलाई प्राथमिकता दिन सकेमा त्यसले उद्योगको आर्थिक आधार मात्र होइन, देशको सांस्कृतिक प्रतिष्ठा पनि बढाउन सक्छ। राम्रो सिनेमा दर्शकलाई केही घण्टा मनोरञ्जन दिएर बिदा हुँदैन, त्यसले चलचित्र सकिएपछि पनि सोचिरहनुपर्ने प्रश्न छोड्छ। ‘प्रहार’को महत्त्व पनि त्यही प्रश्नमा छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु
ताजा खबरJust now

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

​काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुईमहिने राष्ट्रिय जागरण अभियानको औपचारिक सुरुआत गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको औपचारिक उद्घाटन गरिएको हो । ​पत्रकार सम्मेलनमा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले संयुक्त रूपमा अभियानको शुभारम्भ गरेका हुन् । ​नेकपाको गत असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले देशव्यापी रूपमा दुईमहिने ...

कर्पोरट खबर
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा
ताजा खबरJust now

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ। बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म... ...

रातोपाटी
युक्रेनले भन्याे- स्टारलिङ्क सेवामा पुनः सुधार आयाे
ताजा खबरJust now

युक्रेनले भन्याे- स्टारलिङ्क सेवामा पुनः सुधार आयाे

किएभ । युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल स्टारलिङ्कको सम्पर्क युक्रेनमा पुनः स्थिर भएको जनाएको छ । स्टारलिङ्क सेवाको विषयलाई लिएर केही दिनयता वासिङ्टनसँग तनाव बढिरहेका बेला युक्रेन सरकारको यस्तो भनाइ आएको हो । रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट आफ्नो रक्षा गर्न सङ्घर्ष गरिरहेको युक्रेनले नागरिक प्रयोजनको स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीका साथै सैन्य प्रयोजनको स्टारशिल्ड संस्करणमा निर्भर रहँदै ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play