काठमाडौँ । नेपालका प्रमुख जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (साउन–असोज) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा व्यापार र कोषमा फड्को मारे पनि नाफा र प्रतिसेयर आमदानीमा ओरालो लागेको देखिएको छ । कम्पनीहरूको व्यावसायिक आकार, प्रिमियम सङ्कलन र जीवन बीमा कोषमा राम्रो वृद्धि भएको छ तर ठीक विपरीत खुद नाफा र प्रतिसेयर आम्दानी (इपिएस) मा भने गिरावट आएको छ । नेपाल बीमा प्राधिकरणले चुक्तापुँजी बढाउने नियम ल्याएपछि कम्पनीहरूले हकप्रद र साधारण सेयर जारी गरेका थिए । पुँजी बढ्दा सेयर सङ्ख्या बढे पनि सोही अनुपातमा नाफा बढाउन नसक्दा त्यसको प्रभाव प्रतिसेयर आम्दानी (इपिएस)मा देखिएको छ । घट्दो ब्याजदरको मारमा समेत जीवन बीमा कम्पनी परेका छन् । कम्पनीहरूले सङ्कलन गरेको प्रिमियमको ठुलो हिस्सा बैंकिङ प्रणाली र सरकारी बन्डमा लगानी हुने गरेका तथ्याङ्कले देखाउँछ । चालु आर्थिक वर्षमा ब्याजदरहरू निरन्तर ओरालो लाग्दा कम्पनीहरूको लगानी आम्दानी सङ्कुचित भएको छ । यसले प्रत्यक्ष रूपमा खुद नाफामा दबाब सिर्जना गरेको बीमा कम्पनीहरूको वित्तीय प्रतिवेदनले देखाउँछ । पहिलो त्रैमासको आर्थिक विश्लेषण हेर्दा आइएमई लाइफ इन्स्योरेन्स इपिएसमा सबैभन्दा अग्रस्थानमा छ । आइएमई लाइफले ११.३० रुपैयाँ इपिएससहित अग्रस्थानमा छ । गत वर्षको तुलनामा १०.८१ प्रतिशतले घटे पनि यो कम्पनीले दोहोरो अङ्कले इपिएस कायम राखेको छ । प्रभु महालक्ष्मी लाइफले इपिएसमा छलाङ मारेको छ । प्रभु महालक्ष्मी लाइफको इपिएस ४.८१ रुपैयाँबाट ४५.७४ प्रतिशतले बढेर ७.०१ रुपैयाँ पुगेको छ । अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीमा नाफा वृद्धिदरमा बाजी मार्ने यो समूहको एकमात्र कम्पनी हो । व्यवसायको आकारका हिसाबले ‘सुपरजायन्ट’ मानिएका नेपाल लाइफ र लाइफ इन्स्योरेन्स कम्पनीको पनि इपिएस ओरालो लागेको छ । नेपाल लाइफको इपिएस ३२ प्रतिशतले घटेर ६.४८ रुपैयाँ (एकीकृत) हुँदा एलआइसीको ७.५० रुपैयाँमा खुम्चिएको छ । यद्यपी नेपाल लाइफको जीवन बीमा कोष २ खर्ब ६२ अर्ब र एलआइसीको १ खर्ब ५१ अर्ब पुगेको छ । यो विशाल कोष नै कम्पनीको दीर्घकालीन वित्तीय सुरक्षा कवच बनेका छन् । मध्यम स्तरका बलिया खेलाडी रहेका सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८.२२ र सिटिजनको ८.०१ रुपैयाँ इपिएस छ । नाफा सङ्कुचनका बावजुद ८ रुपैयाँ हाराहारीको इपिएस कायम राखेका छन् । यी दुवै कम्पनीको प्रिमियम सङ्कलन र जीवन बीमा कोषमा २५ देखि ३५ प्रतिशतसम्मको उच्च वृद्धि भएको छ । प्रमुख ६ जीवन बीमा कम्पनीहरूको त्रैमासिक ‘स्कोरकार्ड’ कम्पनीचालु आ.व. २०८३/८४ (Q1) इपिएसअघिल्लो आ.व. २०८२/८३ (Q1) इपिएसइपिएसको ट्रेन्ड / विश्लेषणआइएमई लाइफ ११.३० रु.१२.६७ रु. १०.८१% घटेको (सूर्यज्योति लाइफ ८.२२ रु.९.७८ रु. १५.९५% घटेको सिटिजन लाइफ ८.०१ रु.१०.५२ रु. २३.८६% घटेको एलआईसी नेपाल ७.५० रु.७.८८ रु. ४.८२% घटेको (नतम गिरावट)प्रभु महालक्ष्मी ७.०१ रु.४.८१ रु. ४५.७४% बढेको एकमात्र सुधार)नेपाल लाइफ ६.४८ रु.९.५५ रु. ३२.१५% घटेको
प्रमुख जीवन बीमा कम्पनीको वित्तीय चित्र : व्यापार र कोषमा फड्को तर प्रतिसेयर आमदानी ओरालो

Read Complete Original Article
Published originally on टक्सार






