नेपाल, भारत र भुटानका याकपालकलाई जोड्दै हिमालय याक कृषक सञ्जाल स्थापना हुँदै

काठमाडौँ । नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही असोज ६ गते भुटानको ‘नवौँ रोयल हाइल्यान्ड महोत्सव’मा हिमालय याक पालकको सञ्जाल औपचारिक रूपमा सुरु गर्दैछन् । यो सञ्जाल हिमालयका याक कृषक समुदायमा मात्र केन्द्रित पहिलो क्षेत्रीय मञ्च हो । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार यसको स्थापना कृषक, सरकार र विकास साझेदारबीच करिब एकदशकदेखि जारी सहकार्यको परिणाम हो । जलवायु परिवर्तन, चरन क्षेत्रको क्षयीकरण र बसाइँसराइका कारण हिमाली समुदायले बढ्दो चुनौतीको सामना गरिरहेका बेला यो सञ्जाल स्थापना हुन लागेको हो । महोत्सवमा भुटानका राजा तथा प्रधानमन्त्रीको उपस्थिति रहने इसिमोडले जनाएको छ । यो सञ्जाल याक कृषक समुदायबीच सामूहिक पैरवी, ज्ञान आदानप्रदान, क्षमता विकास र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको क्षेत्रीय मञ्च हो । कृषकद्वारा स्थापित र उनीहरूकै नेतृत्वमा सञ्चालित विश्व ‘रेनडियर एसोसिएसन’बाट प्रेरित यस सञ्जालको नेतृत्व हिमालय क्षेत्रका याकपालक कृषकले गर्नेछन् । यसको सचिवालय भुटानमा रहनेछ । महोत्सवमा याक तथा चौँरी कृषक महासङ्घ नेपाल, भुटान याक महासङ्घ र भारत याक महासङ्घका साथै नेपाल, भुटान र भारतका सरकारी प्रतिनिधिहरू, अनुसन्धानकर्ता, विकास साझेदार तथा अन्य सरोकारवालाको सहभागिता रहनेछ । महोत्सव यही असोज ६ र ७ गते भुटानमा हुँदैछ । याकपालनले हिमाली भेगमा बसोबास गर्ने समुदायको जीविकोपार्जन, संस्कृति र स्थानीय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँछ । तथापि, तीनै याकपालक समुदायले विभिन्न चुनौतीहरूको सामना गरिरहेका छन् । इसिमोडका वरिष्ठ पशुपालन तथा चरन क्षेत्र विशेषज्ञ ताशी दोर्जीका अनुसार याकपालक समुदायले खासगरी याक चौँरीको सङ्ख्या घट्दो क्रममा रहेको, चरन क्षेत्रहरू खुम्चिँदै र क्षयीकरण हुँदै गएका, जलवायु परिवर्तनका असरहरू, याकको आनुवंशिक विविधतामा ह्रास, वन्यजन्तुबाट हुने पशुधन क्षति, बजार तथा सेवामा सीमित पहुँच, उच्च पहाडी र हिमाली क्षेत्रबाट युवाको बसाइँसराइजस्ता चुनौतीको सामना गरिरहेका छन् । यी चुनौती राष्ट्रिय सीमाभन्दा परसम्म फैलिएका छन् र तिनको समाधानका लागि क्षेत्रीय सहकार्य आवश्यक छ । हिमालय याक कृषक सञ्जालले सामूहिक पैरवी, ज्ञान आदानप्रदान, क्षमता विकास र सीमापार सहकार्यका लागि महत्वपूर्ण मञ्च प्रदान गर्नेछ । तीनै देशका राष्ट्रिय महासङ्घलाई एकैठाउँमा ल्याउँदै यस सञ्जालले उत्थानशील जीविकोपार्जनका अवसर विस्तार गर्ने, स्वस्थ चरन क्षेत्रको संरक्षण गर्ने र याकका आनुवंशिक स्रोतको संरक्षणलाई सुदृढ बनाउने लक्ष्य राखेको विशेषज्ञ दोर्जीको भनाइ छ । क्षेत्रीय याक कृषक सञ्जालको परिकल्पना सन् २०१६ मा भएको थियो । त्यसबेला इसिमोडको कञ्चनजङ्घा भू–परिदृश्य संरक्षण तथा विकास पहलमार्फत तीनै देशका याक कृषक, अनुसन्धानकर्ता तथा सरकारी प्रतिनिधि एकै ठाउँमा भेला भएका थिए । सन् २०१८ मा यस क्षेत्रका प्रतिनिधि नर्वेमा आयोजित आर्कटिक फ्रन्टियर्स सम्मेलनमा सहभागी भए र विश्व रेनडियर कृषक सङ्घसँग अन्तरक्रिया गरेका थिए । उक्त सङ्घको सीमापार मोडेलबाट प्रेरित भएर हिन्दुकुश हिमालय क्षेत्रमा पनि यस्तै क्षेत्रीय मञ्च स्थापना गर्ने अवधारणा विकसित भएको हो । त्यसपछि तीनै देशले क्षेत्रीय सञ्जाल स्थापना गर्नुअघि सशक्त राष्ट्रिय महासङ्घ गठन गर्ने सहमति गरेका थिए । सोहीअनुसार भुटानमा सन् २०२२, नेपालमा सन् २०२३ र भारतमा सन् २०२५ मा राष्ट्रिय महासङ्घ औपचारिक रूपमा गठन भएका थिए । सन् २०२५ मा भियतनाममा आयोजित विकासशील देशका लागि दिगो पशु कृषिसम्बन्धी दशौँ सम्मेलनमा महासङ्घका नेतृत्वकर्ता र सरकारी प्रतिनिधिले हिमालय याक कृषक सञ्जालको स्थापना गर्ने औपचारिक प्रतिबद्धता जनाएका थिए । भुटानको रोयल हाइल्यान्ड महोत्सवमा हुन लागेको यो शुभारम्भ हिमालयका याक कृषक समुदाय र उनीहरूका साझेदारबीच करिब एकदशकदेखि हुँदै आएको सहकार्यको महत्त्वपूर्ण उपलब्धि हो । तीन देशमा चरन क्षेत्र र याकपालनको अवस्था हिन्दूकुश हिमालय क्षेत्रको ६० प्रतिशतभन्दा बढी भू–भाग चरन क्षेत्रले ओगटेको छ । जीविकोपार्जनका लागि प्रत्यक्ष रूपमा निर्भर रहेका दुई करोड ५० लाखदेखि तीन करोड आदिवासी तथा स्थानीय समुदायका लागि चरन क्षेत्र नै प्रमुख स्रोत हो । राष्ट्रिय कृषि गणना ९२०२१÷२२० अनुसार, नेपालका नौ हजार ८९९ कृषकले अनुमानित ५३ हजार १९५ याक-नाक-चौँरी पालेका छन् । नेपालको कर्णाली प्रदेशमा मात्रै चरन क्षेत्रले देशको कुल क्षेत्रफलको ३४ प्रतिशत हिस्सा ओगटेको छ । यहाँ ९२ प्रजातिका औषधीय वनस्पति पाइन्छन्, जसमध्ये ८२ प्रजातिको हाल बजारमा सक्रिय रूपमा कारोबार हुन्छ । यी वनस्पतिको व्यापारबाट वार्षिक करिब तीन करोड ६० लाख नेपाली रुपैयाँ आम्दानी हुने गरेको छ । भारतको २०औँ पशुधन गणना ९२०१९० अनुसार, देशमा करिब ५८ हजार याक थिए । याक फेडेरेसन अफ इन्डियाका अनुसार, सन् २०२६ मा फेडेरेसनका ५२६ सदस्य घरधुरीसँग करिब ३२ हजार याक छन् । भुटानको राष्ट्रिय तथ्यांक ब्युरो ९एनएसबी० को सन् २०२४ को तथ्यांकअनुसार, देशका ७४६ घरधुरीले कुल २९ हजार ४३२ याक पालेका छन् । देशको कुल पशुजन्य उत्पादनमा याकपालनको योगदान चार प्रतिशत रहेको छ । भुटान, भारत र नेपालमा विगतका केही दशकयता भू–उपयोगको बदलिँदो स्वरूप, चरन क्षेत्रको क्षयीकरण, जलवायुजन्य दबाब र सामाजिक–आर्थिक परिवर्तनका कारण याकको सङ्ख्यामा उल्लेखनीय गिरावट आएको इसिमोडको तथ्यांक छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

शहरले खोस्न नसकेको खुशी : काठमाडौंको धुलाम्मे सडकपेटीमा दशैँको मच्चिँदो पिङ
काठमाडौं । काठमाडौंको व्यस्त सडक । एकातिर कालो धुवाँको मुस्लो छाड्दै तिब्र गतिमा गुडिरहेका टिपर र मोटरसाइकलहरूको कर्कश आवाज । अर्कोतिर अग्ला कंक्रिटका घरहरू र धुलोले ढाकिएका सडकपेटी । शहर आफ्नो नियमित रफ्तारमा दौडिरहेको थियो । तर त्यही व्यस्त सडकको छेउमा रहेको एउटा सानो खाली माटोको चौरमा भने समय एकाएक थामिएझैं लाग्थ्यो । त्यहाँ ठडिएको थियो, चारवटा अग्ला बाँसका लिङ्गाहरू ...

एनपीएलका सात टोलीको लोगोमा एक्स्ट्रीमका विशेष क्यान बजारमा
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले सात टोलीको लोगो अंकित विशेष संस्करणका क्यान बजारमा ल्याएको छ । कम्पनीले क्रिकेटप्रेमीलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन व्यक्त गर्ने नयाँ माध्यमका रूपमा विशेष क्यान सार्वजनिक गरेको जनाएको छ । क्यानमा एनपीएलका काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, कर्णाली याक्स र पोखरा एभेन्जर्सको लोगो समावेश गरिएको ...

काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरी बलको तीन दिन निःशुल्क बस सेवा
गोरखापत्र अनलाइनकाठमाडौं, कात्तिक २ गते । सशस्त्र प्रहरी बल, नेपालले दसैंको अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूको सहज आवतजावतका लागि २ वटा बस निःशुल्क रूपमा सञ्चालन ग... ...

यस्तो छ एक महिनामै बनेको ढुङ्गे–त्रिशूली जोड्ने २६७ मिटर लामो झोलुङ्गे पुल, तस्बिरहरु
नुवाकोट । नुवाकोटको ढुङ्गे र त्रिशूली बजार जोड्ने २६७.७ मिटर लामो झोलुङ्गे पुल एक महिनाको छोटो अवधिमै निर्माण भएको छ । बुढीगण्डकी हुँदै त्रिशूली नदीमा आएको बाढीले पक्की पुल बगाएपछि... ...


