शहरले खोस्न नसकेको खुशी : काठमाडौंको धुलाम्मे सडकपेटीमा दशैँको मच्चिँदो पिङ

काठमाडौं । काठमाडौंको व्यस्त सडक । एकातिर कालो धुवाँको मुस्लो छाड्दै तिब्र गतिमा गुडिरहेका टिपर र मोटरसाइकलहरूको कर्कश आवाज । अर्कोतिर अग्ला कंक्रिटका घरहरू र धुलोले ढाकिएका सडकपेटी । शहर आफ्नो नियमित रफ्तारमा दौडिरहेको थियो । तर त्यही व्यस्त सडकको छेउमा रहेको एउटा सानो खाली माटोको चौरमा भने समय एकाएक थामिएझैं लाग्थ्यो । त्यहाँ ठडिएको थियो, चारवटा अग्ला बाँसका लिङ्गाहरू आपसमा गाँसिएको एउटा भव्य लिङ्गे पिङ । परम्परा र आधुनिकताको योभन्दा जीवन्त द्वन्द्व र मेल सायद काठमाडौंमा अन्त कतै देख्न पाइँदैनथ्यो । मध्याह्नको चर्को घाम सिधै आकाशबाट खसिरहेको थियो । बाँसको टुप्पोमा बाँधिएको बाबियोको चमरबाट प्रकाश छरपस्ट भएर लेन्समा ठोक्किँदा पिङको काठको फलेकमा बसेको त्यो सानो ज्यान कालो सिल्हूट बनेर आकाशमा तैरिरहेको देखिन्थ्यो । न कुनै भिडियो गेम, न कुनै कृत्रिम संसार । त्यहाँ केवल घामको राप, हावाको वेग र एउटा बालकको उड्ने तृष्णा थियो । सेतो टिसर्ट र स्नीकर लगाएको एउटा सानो बाबु जब दुई हातले सनपाटको डोरी समातेर अगाडि हुत्तियो, उसको अनुहारमा फुल्ने त्यो निष्कपट हाँसोले सडकको सारा कोलाहललाई क्षणभरमै निस्तेज बनाइदियो । खुट्टा हावामा तेर्सिएका थिए, अनि आँखामा थियो खुला आकाश जित्दाको अद्भूत चमक । केही बेरपछि पिङमा उक्लिन आइन् एउटी किशोरी । सधैं कलेज र चार पर्खालको वन्धनमा सिमित रहने उनका पाइलाहरूले जब धर्ती छाडे, हावासँगै उनका कपालहरू लहराए । उनको ओठमा फुलेको त्यो लाजमिश्रित तर उन्मुक्त मुस्कानले भनिरहेको थियो । मान्छेलाई खुसी हुन धेरै कुरा चाहिँदैन, केवल मनको पखेटा फिँजाउने एउटा निहुँ भए पुग्छ । एकातिर आधुनिक सडकबत्तीको सोलार पोल, अर्कोतिर सदियौँ पुरानो बाँसको पिङ । तिब्र गतिमा गुडिरहेका गाडीहरूका चालक पनि एकछिन ब्रेक लगाएर पिङतिर हेर्थे । पिङमा मच्चिरहेको साथीलाई हेर्दै तल दर्जनौँ बालबालिकाहरू पालो कुरिरहेका थिए । यो शहरमा मानिसहरू बैंकको लाइन, अस्पतालको लाइन वा ट्राफिक जामको लाइनमा रिस र छटपटी पोख्छन् । तर यहाँ बाँसको फेदमा बसेर पालो कुर्नुमा कसैलाई हतार थिएन, सबैका आँखाहरू पिङको गतिसँगै माथि र तल नाचिरहेका थिए । दशैँ केवल केटाकेटीको मात्र कहाँ हो र ? पहेँलो र सेतो बुट्टेदार कुर्था लगाएकी महिला जब पिङको फलेकमा बसिन्, उनले सायद केही मिनेटका लागि घरको चुलोचौको, पाहुनापाछाको सत्कार र पारिवारिक जिम्मेवारीको सारा बोझ जमिनमै छाडिदिएकी थिइन् । पिङ जति-जति माथि पुग्यो, उनको अनुहारमा उति-उति बाल्यकालको रंग गाढा हुँदै गयो। शरीर हावामा तेर्सिँदा मुटुको धड्कन एकछिन रोकिन्थ्यो होला, तर त्यो रोमाञ्च नै त वर्षभरिको थकान पखाल्ने ओखती थियो । पिङको ठीक पछाडि रातो कुर्था लगाएकी एउटी आमा हात बाँधेर उभिइरहेकी थिइन् । आफ्नो सन्तान हावामा उड्दा उनको मनमा सन्तान लड्छ कि भन्ने हलुका सन्त्रास र सन्तानको ओठमा हाँसो देख्दाको गहिरो सन्तुष्टि एकसाथ पोखिएको थियो । पिङ आकाशमा जति मच्चिन्थ्यो, काठमाडौंको सुख्खा माटोमा उसको छायाँ त्यति नै तिब्र गतिमा नाच्थ्यो । हाम्रा पूर्खाहरूले त्यसै भनेका थिएनन्, ‘विजया दशमीको दिन जसरी भए पनि एकपटक धर्ती छाड्नुपर्छ ।’ ताकि धर्ती माताको ऋण चुक्ता होस् र वर्षभरिको दुःख–कष्ट हावासँगै उडेर जाओस् । शहरले हामीबाट धेरै कुरा खोस्यो । खुला फाँटहरू खोस्यो, स्वच्छ बतास खोस्यो, अनि चौतारीहरू खोस्यो । तर दशैँको यो केही दिनमा काठमाडौंको यो सडकछेउ उभिएको चारखुट्टे लिङ्गे पिङले प्रमाणित गरिदियो । नेपालीको मनबाट मौलिकता खोस्ने तागत कुनै कंक्रिटसँग छैन । साँझ ढल्किँदै गर्दा पनि पिङको मच्चाइ रोकिएको थिएन । एउटा पिङ, जसले धनी र गरिब चिनेन । महल र झुपडी छुट्याएन । धुलाम्मे सडकको छेउमा उभिएर सबैले एउटै लयमा मुस्कुराए, अनि हावामा उडेर धर्ती छाड्दाको आनन्द बाँडे । यो बाँसको लिङ्गे पिङझैं, हाम्रो मौलिक संस्कृति र यो निश्चल नेपालीपन सधैँ आकाश छुने गरी मच्चिइरहोस् । सबैमा विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

दसैँमा मासु खाँदा घाँटीमा अड्कियो भने यी काम झुक्किएर पनि नगर्नुहोस् !
काठमाण्डु– दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, एसिड रिफ्लक्स तथा निल्न असहज हुने समस्या देखिन सक्ने भएकाले खानपानमा सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् । बढी चिल्लो र बोसोयुक्त मासु खाँदा केही व्यक्तिमा एसिड रिफ्लक्सको समस्या बढ्न सक्छ । मासु खाँदा हड्डी वा मासुको टुक्रा घाँटीमा अड्किएमा गम्भीर समस्या आउन सक्ने […] ...

यी चार माग एक हप्ताभित्र पूरा गर्न सरकारलाई डा गोविन्द केसीको अल्टिमेटम
डा गोविन्द केसीले न्यूनतम पूर्वाधार र जनशक्तिबिनै गेटा मेडिकल विश्वविद्यालयलाई एमबीबीएस कार्यक्रम सञ्चालन गर्न अनुमति दिने निर्णय खारेज, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष्य बर्खास्त गरिनुपर्नेलगायत चार माग पूरा गर्न सरकारलाई एक हप्ताको अल्टिमेटम दिएका छन्। सोमबार विज्ञप्ति जारी गरी उनले २४औँ सत्याग्रहका क्रममा २०८३ साउन ११ गते सरकारसँग गरिएको सहमति कार्यान्वयनसहित चा... ...

चाडपर्वमा घर फर्किएका प्रवासी नेपालीको फेरि कर्मथलो फर्किनुपर्ने चिन्ता
दशैँको टीका र तिहारको रमझमसँगै घरपरिवारसँग माया साट्न भारतबाट नेपालीहरू स्वदेश फर्किरहेका छन्।तर उनीहरूको मनमा चाडबाडको खुसीसँगै फेरि भारत फर्किनै पर्छ नत्र कसरी परिवारको गुजारा चलाउने भन्ने चिन्ता पनि उत्तिकै छ।रोजगारीका लागि भारतमा पसिना बगाइरहेका धेरै नेपालीका लागि चाडपर्व मनाउन देश फर्किए पनि आर्थिक जोहोका लागि कर्मथलो फर्किने अवस्थाले मन नरमाइलो बनाउँछ। नेपालगञ्जस्थित जमुनाहा नाकामा भेटिने प्रवासी नेपालीका अनुभवले त्यस्तै ...

१२ वर्षपछि लाग्ने ‘बोन मेला’ तथा तीर्थयात्रा : जगदुल्ला ताल क्षेत्रमा देखिएको रौनक
सुर्खेत । डोल्पाको जगदुल्ला गाउँपालिका–१ हिमालय क्षेत्रमा रहेको जगदुल्ला तालमा १२ वर्ष पछि लाग्ने वोन मेला तथा तीर्थयात्रा सम्पन्न भएको छ । सोमबार सकिएको उक्त मेला तथा तीर्थयात्रा रहेको ठाउँमा राक्षस, प्रेम तथा जगदुल्ला तालहरु रहेका छन् । धार्मिक तथा सांस्कृतिक विधिअनुसार सम्पन्न भएको जगदुल्ला तीर्थयात्रा तथा मेलाले डोल्पा र समग्र कर्णाली प्रदेशको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पहिचानलाई पुनः उजागर गरेको ...


