दसैँमा बाँकेका थारु बस्तीमा सखिया नाचको रौनक

बाँके । दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया नाचको रौनक छाएको छ । दसैँ आउनुभन्दा केही दिनअघिदेखि सुरु हुने यो नाच पर्व सकिएको केही दिनसम्म चल्ने भएकाले थारु समुदायका गाउँबस्तीमा सांस्कृतिक उत्सवको माहोल बनेको छ । थारु समुदायको बाक्लो बसोबास रहेका जिल्लाका अधिकांश गाउँमा हरेक दिन साँझ युवायुवती सखिया नाचमा रमाउने गरेका छन् । दिनभरको काम सकेर साँझपख सामूहिक रूपमा नाचिने यस नाचले गाउँमा आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचानलाई जीवन्त बनाएको छ । कोहलपुर नगरपालिका–मैटहवाका थारु अगुवा दीपेन्द्र चौधरीले पछिल्लो समय गाउँबस्तीमा दैनिकजसो सखिया नाच हुन थालेपछि दसैँको रौनक थपिएको बताए । उनका अनुसार नाचका क्रममा दुष्टात्माबाट जोगिन गुरुवाको व्यवस्था गरिन्छ भने गाउँका बरघर तथा भद्रभलादमीले यसको संरक्षण र व्यवस्थापनमा भूमिका निर्वाह गर्छन् । राप्तीसोनारी गाउँपालिका–बैजापुरका थारु अगुवा विक्रम थारुका अनुसार सखिया नाचमा युवतीले नृत्य गर्ने र युवाले मादल बजाउने परम्परा छ । नाचमा मादलको सङ्ख्या र ताल बढ्दै जाँदा यसको आकर्षणसमेत बढ्ने उनले बताए । यसका लागि कम्तीमा चारदेखि पाँच जनासम्म मादल बजाउने युवा सहभागी हुने गर्छन् । सखिया नाचमा सामान्यतया १५ देखि २० जना युवती सहभागी हुन्छन् । उनीहरू सेतो फरिया, रातो चोलिया र रातो रिबन लगाएर परम्परागत पहिरनमा सजिने गर्छन् । थारु संस्कृति झल्काउने विभिन्न गहना तथा सात रङले सजाइएको मञ्जीरा नाचको थप आकर्षण बन्ने गरेको छ । बाँकेको टिटिहिरियाका शङ्करसिंह थारुका अनुसार सखिया नाचमा डेमनडौरा, घोटैली, जगनथ्वा, पसिया, कटकटुवा, जिन्गुनी, मदुवा, शिव–पार्वती, पाण्डव र कृष्णलगायत देवीदेवताको स्तुति गीतमार्फत गरिन्छ । गीतका माध्यमबाट समुदायको शान्ति, सुख र सुरक्षाको कामना गर्ने परम्परा रहेको उनले बताए । नाचमा सहभागी युवतीले फेफी, बुलाकी, मगौरी, झुम्का, बिजलीवाला, कनसेहरी, ऐरम, तरिया, पछेला, गटैया, ततैया, कारा, घुङना र कुकरलगौतीलगायत परम्परागत गहना लगाउने गर्छन् । उनीहरूको पहिरनमा गोन्या, चोल्या र फरियाको प्रयोगले थारु समुदायको मौलिक संस्कृति झल्काउने गरेको अगुवाहरू बताउँछन् । गाउँका साथीभाइ तथा युवायुवती एकै ठाउँमा भेला भएर सामूहिक रूपमा नाच्ने भएकाले यसलाई सखिया नाच भनिएको थारु अगुवाहरूको भनाइ छ । यो नाचले समुदायमा सामूहिकता, आपसी सहयोग र एकताको भावना बलियो बनाउने गरेको छ । सखिया नाच सम्पन्न भएपछि सहभागीले सङ्कलन गरेको रकमबाट माछा, मासु तथा अन्य परिकार तयार गरी सामूहिक रूपमा खाने चलनसमेत रहेको छ । यसले मनोरञ्जनसँगै सामुदायिक सम्बन्ध प्रगाढ बनाउन सहयोग पुर्याउँदै आएको छ । थारु समुदायको मौलिक कला, परम्परा र सांस्कृतिक पहिचानसँग जोडिएको सखिया नाच दसैँका बेला पुस्तान्तरण हुँदै आएको महत्त्वपूर्ण सांस्कृतिक सम्पदाका रूपमा स्थापित छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

ड्रोनबाट राहत वितरण
काठमाडौं।बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री पुर्याइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सडक सम्पर्क टुटेका बस्तीमा राहत सामग्री पुर्याउन ड्रोनको प्रयोग गरिरहेको जनाएको छ। दशैंका समयमा समेत प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन ड्रोन प्रयोग गरिएको प्राधिकरणले जनाएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सडक सम्पर्क विच्छेद भएका र भौगोलिक रूपमा विकट ...

रहस्यमय ‘सारथी’को टिजर : यस्तो अवस्थामा देखिइन् निरुता सिंह
फिल्म ‘सारथी’को टिजर सार्वजनिक भएको छ। निर्देशक कुमार गजुरेलको जन्मदिनको अवसर कात्तिक २ मा फिल्मको टिजर सार्वजनिक गरिएको हो। जसमा काउब्वाय ह्याट, हातमा लालटिन र रहस्यमय हाउभाउमा छन्। जंगलको अँध्यारो बाटोमा हिँडिरहेका डेब्यु अभिनेता गिरि विश्वकर्मा र अभिनेत्री निरुता सिंहबिचको सम्बन्ध के हो? गिरिले निरुतालाई ‘आमा’ भनेर सम्बोध... ...
![सवारीसाधन पूजा [तस्बिरहरू]](https://hamrakura.com/uploads/news/images/sabari-puja-83-7-3%20(5).jpg)
सवारीसाधन पूजा [तस्बिरहरू]
यस अवसरमा निर्माण, कलकारखाना, उद्योग तथा प्रविधिसँग सम्बन्धित औजार, मेसिनरी उपकरण र सवारीसाधनको पूजा गर्ने परम्परा छ। ...

दसैँमा मासु खाँदा अपनाउनुहोस् सावधानी: कति खाने र कसरी पकाउने?
काठमाडौं। दसैँको समयमा नेपाली भान्सामा मासुका विभिन्न परिकार पाक्ने गर्छन्। मासु प्रोटिन, खनिज तत्व, भिटामिन बी, जिंक र पोटासियमको राम्रो स्रोत भए पनि यसको अत्यधिक र असन्तुलित उपभोगले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। पोषणविद् रुजु खड्काका अनुसार मासुलाई सही ढंगले नपकाउँदा र धेरै खाँदा पाचन प्रणालीमा समस्या, टाउको दुख्ने, वाकवाकी लाग्ने र पखाला लाग्ने जस्ता समस्या देखिन सक्छन्। लामो समयसम्म ...


