कर्णालीमा साढे ५ लाख पर्यटक पुगे

कर्णाली प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा पाँच लाख ४० हजार ७२८ जना आन्तरिक तथा बाह्य पर्यटक आएको सरकारी तथ्यांक छ । तर, प्रदेशको साहसिक पर्यटनको महत्वपूर्ण क्षेत्र जलयात्रा (¥याफ्टिङ) का लागि आउने पर्यटकको संख्या भने मन्त्रालयले सार्वजनिक गरेको विवरणमा समेटिएको छैन । यसले प्रदेशको पर्यटन तथ्यांक संकलन प्रणाली र विवरणको पूर्णतामाथि प्रश्न उठाएको छ । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०८२÷८३ मा प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यमा पाँच लाख ४० हजार ७२८ जना पर्यटक पुगेका छन् । उक्त तथ्यांकमा आन्तरिक र बाह्य दुवै पर्यटक समावेश छन् । यो संख्या रारा र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पुगेका पर्यटकको मात्रै नभई कर्णालीका विभिन्न पर्यटकीय गन्तव्यमा आएका पर्यटकको कुल विवरण हो । मन्त्रालयको विवरणअनुसार रारा राष्ट्रिय निकुञ्जमा २४ हजार ९३१ र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा सात हजार २२४ पर्यटक पुगेका छन् । तर, भेरी र कर्णाली नदीमा जलयात्राका लागि आउने पर्यटकको विवरण भने सार्वजनिक तथ्यांकमा देखिँदैन । प्रदेश सरकारले पर्यटन क्षेत्रको प्रगति विवरण सार्वजनिक गर्दै आए पनि जलयात्राजस्ता पर्यटन गतिविधिको तथ्यांक समेट्न नसकेको पर्यटन व्यवसायीको गुनासो छ । उनीहरूले आफूहरूले वर्षेनी ठूलो संख्यामा पर्यटकलाई जलयात्राका लागि कर्णाली ल्याउने गरेको भए पनि सरकारी तथ्यांकमा त्यसको अभिलेख नदेखिएको बताएका छन् । निकुञ्जको विवरण डिभिजन वन कार्यालय हुँदै मन्त्रालयमा मन्त्रालयका सूचना अधिकारी महेश नेपालीका अनुसार रारा राष्ट्रिय निकुञ्ज र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले संकलन गरेको पर्यटकको विवरण सम्बन्धित डिभिजन वन कार्यालयमार्फत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आउने गर्छ । मन्त्रालयले निकुञ्जलगायत विभिन्न निकायबाट प्राप्त विवरण संकलन गरेर पर्यटन क्षेत्रको प्रगति विवरण सार्वजनिक गर्ने गरेको नेपालीले बताए । उनका अनुसार मासिक तथा अर्धवार्षिक रूपमा सम्बन्धित निकायसँग पर्यटकको विवरण माग्ने गरिएको छ । तर, ¥याफ्टिङसम्बन्धी तथ्यांक माग गर्दा विवरण प्राप्त नभएको उनले बताए । यसले प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यको विवरण संकलन भए पनि जलयात्राजस्ता साहसिक पर्यटन गतिविधिको तथ्यांक संकलनमा समस्या रहेको देखाउँछ । कर्णालीमा पर्यटकको कुल संख्या सार्वजनिक गरिए पनि पर्यटनका सबै गतिविधिको विवरण एकीकृत रूपमा संकलन हुन नसक्दा क्षेत्रको वास्तविक अवस्था पहिचान गर्न कठिन हुने देखिएको छ । ¥याफ्टिङका पर्यटकको तथ्यांक खोइ ? कर्णाली र भेरी नदी जलयात्राका लागि सम्भावनायुक्त गन्तव्य हुन् । यी नदीमा ¥याफ्टिङ सञ्चालन हुँदै आए पनि यसका लागि आउने पर्यटकको संख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणमा समेटिएको छैन । नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) का सचिव तथा कर्णाली ¥याफ्टिङ एड्भेन्चरका अध्यक्ष देवराज जैसीले प्रदेश सरकारले सार्वजनिक गर्ने पर्यटकसम्बन्धी तथ्यांक वास्तविक अवस्थासँग मेल नखाएको आरोप लगाए । आफूले हरेक वर्ष जलयात्राका लागि ठूलो संख्यामा पर्यटक कर्णाली ल्याउने गरेको भए पनि सरकारी तथ्यांकमा त्यसको विवरण नदेखिएको उनले बताए । ‘म आफैँले वर्षेनी जलयात्राका लागि धेरै पर्यटक ल्याउँछु, तर प्रदेश सरकारले सार्वजनिक गर्ने तथ्यांकमा त्यसको कुनै विवरण देखिँदैन,’ जैसीले भने । उनका अनुसार कर्णालीमा जलयात्राको सम्भावना भए पनि प्रदेश सरकारले पर्यटन व्यवसायीलाई आवश्यक सहयोग र दक्ष जनशक्ति उपलब्ध गराउन सकेको छैन । ‘प्रदेश सरकारले हामीलाई गाइड उपलब्ध गराओस्, हामी रोजगारी दिन्छौँ,’ जैसीले भने, ‘तर सरकारले त्यो पनि दिन सक्दैन ।’ उनले सीमित व्यक्तिको प्रभावका कारण पर्यटन क्षेत्रको वास्तविक अवस्था देखाउने तथ्यांक सार्वजनिक हुन नसकेको आरोपसमेत लगाए । पाँच लाखभन्दा बढी पर्यटक, तर विवरणको पूर्णतामाथि प्रश्न प्रदेश सरकारले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२÷८३ मा पाँच लाख ४० हजार ७२८ जना आन्तरिक तथा बाह्य पर्यटक कर्णालीका विभिन्न पर्यटकीय गन्तव्यमा पुगेका छन् । रारा राष्ट्रिय निकुञ्जमा २४ हजार ९३१ र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा सात हजार २२४ पर्यटक पुगेको विवरण छ । तर, प्रदेशभरिका पर्यटकीय गन्तव्यको कुल विवरण सार्वजनिक गरिए पनि जलयात्राका लागि आउने पर्यटकको संख्या समेटिएको छैन । यसले सरकारी तथ्यांकमा पर्यटनका सबै गतिविधि समेटिएका छन् कि छैनन् भन्ने प्रश्न उठाएको छ । पर्यटन क्षेत्रको अवस्था मूल्यांकन गर्न पर्यटकको कुल संख्या मात्रै पर्याप्त हुँदैन । कुन गन्तव्यमा कति पर्यटक पुगे, साहसिक पर्यटनमा कति सहभागी भए र विभिन्न पर्यटन गतिविधिबाट कति रोजगारी सिर्जना भयो भन्ने विवरण पनि आवश्यक हुन्छ । जलयात्रामा सहभागी पर्यटकको संख्या अभिलेख नहुँदा यस क्षेत्रमा भइरहेको गतिविधि, पर्यटकको आकर्षण र रोजगारी सिर्जनाको अवस्था मूल्यांकन गर्न कठिन हुन्छ । त्यसैले पर्यटन व्यवसायीले उठाएको तथ्यांकको विश्वसनीयतासम्बन्धी प्रश्नलाई मन्त्रालयले गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ । कर्णालीका विभिन्न स्थानीय तहमा प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटकीय गन्तव्य छन् । ती गन्तव्यमा आउने पर्यटकको विवरण व्यवस्थित रूपमा संकलन र अभिलेखीकरण गर्नु प्रदेश सरकारको महत्वपूर्ण जिम्मेवारी हो । निकुञ्ज, डिभिजन वन कार्यालय, स्थानीय तह, पर्यटन व्यवसायी तथा सम्बन्धित संघसंस्थाबीच समन्वय गरेर नियमित तथ्यांक संकलन गर्न सके प्रदेशको पर्यटन क्षेत्रको वास्तविक अवस्था पहिचान गर्न सहज हुनेछ । विशेषगरी र्याफ्टिङ, पदयात्रा, धार्मिक पर्यटन र निकुञ्जबाहिरका पर्यटकीय गतिविधिमा सहभागी पर्यटकको विवरणसमेत एकीकृत प्रणालीमा समेट्न आवश्यक छ । यसले पर्यटकको संख्या मात्र नभई पर्यटन क्षेत्रमा भएको लगानी, रोजगारी र आर्थिक योगदानको मूल्यांकन गर्नसमेत सहयोग पुर्याउनेछ । कर्णालीमा पर्यटनको ठूलो सम्भावना रहे पनि त्यसको वास्तविक अवस्था पहिचान गर्न भरपर्दो तथ्यांक आवश्यक छ । प्रदेश सरकारले विभिन्न निकायबाट प्राप्त विवरण सार्वजनिक गर्नुका साथै तथ्यांकको पूर्णता सुनिश्चित गर्ने र छुटेका पर्यटन गतिविधिको अभिलेख राख्ने व्यवस्था मिलाउनुपर्ने देखिन्छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

कैलालीबाट अछाम जाँदै गरेको मिनी बस सुर्खेतमा दुर्घटना, ९ जना घाइते
३ कातिक, सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ लगाम डाँडामोडमा आज (भदौ ३ गते) मिनीबस (फोर्स गाडी) दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी बिहान करिब १०ः३० बजे अनियन्त्रित भई सडकमा पल्टिएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा घाइते भएका नौ जनालाई… ...

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री
बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री पुर्याइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सडक सम्पर्क टुटेका बस्तीमा राहत सामग्री पुर्याउन ड्रोनको प्रयोग गरिरहेको जनाएको छ। दसैँका समयमा समेत प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन ड्रोन प्रयोग गरिएको प्राधिकरणले जनाएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सडक सम्पर्क विच्छेद भएका र भौगोलिक रूपमा विकट ...

चाडपर्व लक्षित ‘प्रोएक्टिभ’ सुरक्षा रणनीति प्रभावकारी, ठूला दुर्घटना र अपराधमा कमी
चाडपर्व केन्द्रित सक्रिय प्रहरी परिचालन र आधुनिक प्रविधिको प्रयोगका कारण यस वर्षको बडादशैँ अवधिमा देशभरको शान्ति सुरक्षा सुदृढ रहेको नेपाल प्रहरीले जनाएको छ । सिन्धुलीको सुनकोशी नदीमा भएको यात्रुवाहक सुमो दुर्घटनाबाहेक ठूलो जनधनको क्षति हुने अन्य गम्भीर घटनाको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले दशैँलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले ‘प्रोएक्टिभ ...

गुल्मीका शक्तिपीठमा भक्तजनको घुइँचो
३ कात्तिक, गुल्मी । बडादसैँको नवौँ दिन महानवमीका अवसरमा गुल्मीका विभिन्न शक्तिपीठ तथा ऐतिहासिक मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । जिल्लाका मुसिकोट, इस्माकोट, धुर्कोट, अर्जै, चारपाला दरबार, उजुङ्गकोट, जोगिथुम, चोयगा, शान्तिपुर र तम्घासलगायतका मन्दिरमा भक्तजनले नवदुर्गाको पूजाआराधना गर्नुका साथै पशुबलि तथा फलफूल चढाएर महानवमी मनाएका छन् । मनोकामना पूरा हुने तथा परिवारमा सुख, शान्ति… ...


