Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Others/इनर्जी ड्रिङ्क्स सेवन मानव स्वास्थ्यका लागि जोखिमयुक्त, यसो भन्छन् चिकित्सकहरु

इनर्जी ड्रिङ्क्स सेवन मानव स्वास्थ्यका लागि जोखिमयुक्त, यसो भन्छन् चिकित्सकहरु

10/29/2026, 3:07:52 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
इनर्जी ड्रिङ्क्स सेवन मानव स्वास्थ्यका लागि जोखिमयुक्त, यसो भन्छन् चिकित्सकहरु

थकान हटाउन, फुर्तिलो हुन र शरीरमा ऊर्जा बढाउन भन्दै युवा पुस्तामाझ इनर्जी ड्रिङ्क्सको सेवन बढ्दो छ । विशेषगरी बालबालिकाहरुले स्वादिलो मानेर सेवन गर्ने यस्ता पेय पदार्थले मानव स्वास्थ्यमा कति असर पारिरहेको छ भन्ने कुरा गौण मानिएको छ । यतिबेला नेपालका ठूला र महत्वपूर्ण कार्यक्रम, चाडपर्व एवम विशेष अवसरमा इनर्जी ड्रिङ्क्स कम्पनीहरुले आक्रामक प्रचार र ठूलो धनराशि खर्चगरेर विज्ञापन गर्ने होडबाजी नै चलाइरहेका छन् । जसका कारण अर्थतन्त्र चलाएमान मात्र बनाएको छैन राजश्वपनि बढेको अनुमान छ । तर त्यस्ता इनर्जी ड्रिङ्क्सले मानव स्वास्थ्यमा पारिरहेको असरबारे भने वहस हुने गरेको छैन् । पछिल्ला दिन नेपालमा संचालनमा रहेका क्रिकेटलगायत खेलकुद प्रतियोगिताको प्रायोजन र विज्ञापनले पनि यस्ता पेय पदार्थप्रति आकर्षण बढाएको देखिन्छ । तर, तत्काल ऊर्जा मिलेको महसुस गराउने यस्ता पेय पदार्थले मुटुको धड्कन बढाउने, रक्तचापमा असर पार्ने, निद्रामा समस्या ल्याउने र बेचैनी बढाउने जोखिम रहेको चिकित्सकहरूले बताएका छन् । इनर्जी ड्रिङ्क्सको सेवन र स्वास्थ्यमा पर्ने असरबारे विभिन्न चर्चा भइरहेका बेला सरकारले पनि यससम्बन्धी सूचना जारी गर्दै उपभोक्तालाई सचेत गराएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कात्तिक ११ गते जारी गरेको सूचनामा इनर्जी ड्रिङ्क्सको सेवन गर्दा लेबलमा उल्लेख गरिएका चेतावनी र सुरक्षित मात्रामा ध्यान दिन आग्रह गरेको छ । विभागले स्वस्थ वयस्कले चिया, कफी, चकलेट र इनर्जी ड्रिङ्क्सलगायत सबै स्रोतबाट दैनिक कुल क्याफिनको मात्रा ४०० मिलिग्रामभन्दा बढी नहुने गरी सेवन गर्न सक्ने जनाएको छ । विभागको सूचनाअनुसार नेपालमा बिक्री हुने इनर्जी ड्रिङ्क्समा प्रतिक्यान १०० मिलिग्राम क्याफिन रहेको उल्लेख छ । तर, क्याफिनको कुल मात्रा गणना गर्दा अन्य पेय पदार्थबाट प्राप्त हुने क्याफिनलाई समेत ध्यान दिनुपर्ने हुन्छ । विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहलगायतका बिरामी र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न आग्रह गरेको छ । साथै, पानी, जुस, दूध र मोहीजस्ता पेय पदार्थको विकल्पका रूपमा इनर्जी ड्रिङ्क्स सेवन नगर्न र अन्य पेय पदार्थमा मिसाएर नपिउन पनि अनुरोध गरेको छ । सरकारी सूचनाले इनर्जी ड्रिङ्क्समा प्रयोग गरिएको क्याफिनको मात्रा निर्धारित सुरक्षित सीमाभित्र रहेको उल्लेख गरे पनि चिकित्सकहरूले भने सेवन गर्ने व्यक्तिको स्वास्थ्य अवस्था, क्याफिनप्रतिको संवेदनशीलता र सेवनको मात्रा महत्त्वपूर्ण हुने प्रतिक्रिया दिएका छन् । मुटुको चाल बिग्रिएर ज्यानै जाने जोखिम मुटु विशेषज्ञ डा. दीपक मिश्रका अनुसार इनर्जी ड्रिङ्क्समा क्याफिन, टाउरिन, जिन्सेङ र ग्वारानाजस्ता विभिन्न तत्त्व पाइन्छन् । यस्ता पेय पदार्थमा चिनीको मात्रा पनि बढी हुनसक्छ । तिनमा रहेका तत्त्वले मुटुको चाल र रक्तचाप बढाउन सक्ने उनको भनाइ छ । नेपाल न्यूज बैंकसँगको कुराकानीमा डा. मिश्रले भने, ‘यी केमिकल कन्टेन्टहरूले मुटुको चाल बढाउने, ब्लड प्रेसर बढाउने काम गर्छन् । सुगर कन्टेन्ट हाई भयो भने ब्लड सुगर पनि बढाउने काम गर्छन् ।’ उनका अनुसार इनर्जी ड्रिङ्क्सको सेवनले कतिपय व्यक्तिमा मुटुको धड्कन अनियमित हुन सक्छ । पहिलेदेखि नै मुटुको चालसम्बन्धी समस्या भएका, उच्च रक्तचाप भएका वा हृदयाघात भइसकेका व्यक्तिका लागि यस्तो सेवन थप जोखिमपूर्ण हुन सक्छ । ‘धेरै नै ब्लड प्रेसर बढाएर प्यारालाइसिसदेखि हार्ट अट्याकसम्मको रिस्क गराउन सक्ने क्षमता यी ड्रिङ्क्सहरूसँग हुन्छ,’ उनले भने । उनले कतिपय व्यक्तिमा पहिलेदेखि नै रहेको मुटुको विद्युतीय प्रणालीसम्बन्धी समस्या पत्ता नलागेको हुन सक्ने उल्लेख गर्दै त्यस्तो अवस्थामा इनर्जी ड्रिङ्क्सको सेवनले गम्भीर समस्या निम्त्याउन सक्ने बताए । विशेषगरी युवाहरूले आफू स्वस्थ छु भन्ने ठानेर जथाभावी सेवन गर्न नहुने उनको सुझाव छ । मुटुको चालसम्बन्धी समस्या भएका व्यक्तिमा अनियमित धड्कन र गम्भीर अवस्थामा अचानक मुटु बन्द हुने जोखिमसमेत हुन सक्ने उनले बताए । त्यसैगरी,अर्का मुटु विशेषज्ञ डा. मिलन श्रेष्ठले इनर्जी ड्रिङ्क्समा मुख्य रूपमा पाइने क्याफिनले मुटुको चाल बढाउने, रक्तचाप बढाउने र मुटुको चालमा गडबडी ल्याउने जोखिम रहेको बताएका छन् । उनले भने, ‘क्याफिनले गर्ने मुख्य कुरा भनेको मुटुको चाल बढाउने, ब्लड प्रेसर बढाउने अनि मुटुको चाल गडबड गराउने हो । तीनटा कुरा मुख्य रूपमा गर्छ यसले ।’ उनका अनुसार इनर्जी ड्रिङ्क्सको अत्यधिक सेवनले छटपटी र निद्रासम्बन्धी समस्या पनि निम्त्याउन सक्छ । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले मुटुरोग, मुटुको चालमा गडबडी वा उच्च रक्तचाप भएका व्यक्तिले यस्ता पेय पदार्थ सेवन नगर्नु उपयुक्त हुने सुझाए । ‘मुटुको समस्या भएको मान्छेले खानै हुँदैन । झन् नेपाल सरकारले त बच्चाहरू र गर्भवती महिलाहरूमा पटक्कै प्रयोग नगरौँ भन्ने सर्कुलर नै जारी गरेको छ,’ डा. श्रेष्ठले भने । गर्भावस्थामा मुटुको चाल र रक्तचापमा परिवर्तन हुन सक्ने भएकाले क्याफिनयुक्त पेय पदार्थको सेवनले आमा र बच्चा दुवैको स्वास्थ्यमा असर पार्न सक्ने उनले बताए । इनर्जी ड्रिङ्क्सको सट्टामा पानी, फलफूल र प्राकृतिक जुसजस्ता विकल्प रोज्न उनले सुझाव दिए । ‘हामी कार्डियाक डाक्टरको हिसाबमा यस्तो ड्रिङ्क्सलाई कहिल्यै प्रमोट गर्दैनौँ । यसको सट्टामा नियमित रूपमा साधारण पानी, फलफूल र जुस सेवन गर्न सल्लाह दिन्छौँ,’ उनले भने । क्षणिक ऊर्जा, तर मानसिक स्वास्थ्यमा असर इनर्जी ड्रिङ्क्सको असर मुटुमा मात्र सीमित नहुने चिकित्सकहरू बताउँछन् । क्याफिन र अन्य उत्तेजक तत्त्वले मानसिक स्वास्थ्यमा पनि असर पार्न सक्ने उनीहरूको भनाइ छ । मनोविद् डा. गोविन्द ढकालका अनुसार इनर्जी ड्रिङ्क्स सेवन गरेपछि केही समयका लागि ऊर्जा, उत्साह र फुर्ति बढेको महसुस हुनसक्छ । तर, नियमित वा अत्यधिक सेवनले बेचैनी, तनाव, घबराहट र निद्रासम्बन्धी समस्या बढाउन सक्छ । उनले भने, ‘इनर्जी ड्रिङ्क्सले शारीरिक स्वास्थ्यमा पनि मानसिक स्वास्थ्यमा पनि गम्भीर असर पु¥याउँछ । क्याफिन भन्ने तत्त्वको कारणले एन्जाइटी बढ्ने, तनाव बढ्ने, छटपटी बढ्ने, घबराहट बढ्ने, अनिद्राको समस्या आउने र कन्सन्ट्रेसन कम भएर जाने हुन्छ ।’ डा. ढकालका अनुसार लामो समयसम्म निद्रा नलाग्ने, तनाव र बेचैनी रहने समस्याले व्यक्तिको दैनिक जीवन र काम गर्ने क्षमतामा समेत असर पार्न सक्छ । बाइपोलर डिसअर्डर वा सिजोफ्रेनियाजस्ता मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिमा क्याफिनको सेवनले लक्षण बढाउन सक्ने जोखिम पनि रहने उनले बताए । इनर्जी ड्रिङ्क्स सेवन गरेपछि मुटु ढुकढुक हुने, शरीरमा पसिना आउने, चक्कर लाग्ने, सास रोकिएजस्तो हुने र अत्यधिक डर लाग्ने अनुभव लिएर आउने व्यक्तिहरू पनि भेटिने गरेको उनले बताए । ‘मैंले नेपालमा पाइने इनर्जी ड्रिङ्क्स सेवन गरेको थिएँ, त्यसले मलाई एकदमै गाह्रो भयो, सास रोकिएजस्तो भयो, छटपटी भयो, डर लाग्यो, पसिना आयो, लड्छु जस्तो लाग्यो, चक्कर लाग्यो भन्नेहरू पनि हुनुहुन्छ,’ उनले भने । उनका अनुसार विज्ञापनको प्रभाव, फेसन र साथीभाइको देखासिकीले पनि युवा पुस्तामा इनर्जी ड्रिङ्क्सको सेवन बढाएको हुनसक्छ । तत्काल फुर्ति बढेको महसुस भए पनि यसलाई स्वास्थ्यवर्धक पेय पदार्थका रूपमा लिन नहुने उनले बताए । निद्रा नलाग्ने र एन्जाइटीको समस्या लिएर आउने बढे यता नसा तथा मानसिक रोग विशेषज्ञ डा. प्रदीप पाण्डेले पनि इनर्जी ड्रिङ्क्स सेवनपछि निद्रा नलाग्ने र एन्जाइटी अर्थात् चिन्ता तथा बेचैनीको समस्या भएको गुनासो गर्ने व्यक्तिहरू भेटिने गरेको बताए । उनका अनुसार यस विषयमा आफूले पछिल्लो समयका अनुसन्धानहरू विस्तृत रूपमा नहेरेको भए पनि व्यावहारिक रूपमा यस्ता गुनासो लिएर आउने व्यक्तिको संख्या पहिलेको तुलनामा बढेको अनुभव छ । ‘प्राक्टिकल रुपमा हामीसँग फलानो नाम गरेको इनर्जी ड्रिङ्क्स सेवन गरेको थिएँ अनि एन्जाइटी भयो, निद्रा लागेन, कोल्ड ड्रिङ्क्स खाएपछि मलाई गाह्रो भयो भन्नेहरूको संख्या पहिलाभन्दा तुलनात्मक रूपमा बढ्दै गएको छ,’ उनले भने । इनर्जी ड्रिङ्क्स सेवन गरेपछि डर लाग्ने, मुटुको धड्कन बढ्ने, निद्रा नलाग्ने र बेचैन हुने समस्या लिएर आउने व्यक्तिहरू भेटिने गरेको उनले बताए । ‘एन्जाइटी र इन्सोम्निया अलि बढी देखिएको छ । रेस्टलेस हुने, चिन्तित हुने, अनिद्रा हुने चाहिँ छ,’ उनले भने । यद्यपि, डा. पाण्डेले आफूले पछिल्लो समय आएका अनुसन्धानहरुबारे अध्ययन नगरेको स्पष्ट पार्दै सबै मानसिक स्वास्थ्य समस्यालाई इनर्जी ड्रिङ्क्सकै कारण भएको निष्कर्ष निकाल्न नहुने बताए । तर, सेवनपछि समस्या देखिएको अनुभव हुने व्यक्तिले त्यसलाई बेवास्ता गर्न नहुने उनको भनाइ छ । कति सेवन गर्ने, कसले नगर्ने ? खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गरेको सूचनामा स्वस्थ वयस्कले एक दिनमा सबै स्रोतबाट प्राप्त हुने कुल क्याफिनको मात्रा ४०० मिलिग्राम नबढ्ने गरी सेवन गर्न सक्ने उल्लेख छ । तर, यो सीमा सबै व्यक्तिका लागि समान रूपमा उपयुक्त हुन्छ भन्ने होइन । क्याफिनप्रति संवेदनशील व्यक्ति वा स्वास्थ्य समस्या भएका व्यक्तिमा कम मात्राले पनि असर गर्न सक्छ । त्यसैले इनर्जी ड्रिङ्क्सको क्यानमा लेखिएको क्याफिनको मात्रा, सेवनसम्बन्धी चेतावनी र अन्य सामग्रीको विवरण हेर्न आवश्यक छ । दिनभर चिया, कफी र अन्य क्याफिनयुक्त पेय पदार्थ सेवन गर्ने व्यक्तिले इनर्जी ड्रिङ्क्सबाट थपिने क्याफिनको मात्रालाई पनि ध्यान दिनुपर्छ । चिकित्सकहरूले विशेषगरी मुटुरोग, उच्च रक्तचाप, मुटुको चालसम्बन्धी समस्या र मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई चिकित्सकीय सल्लाहबिना यस्ता पेय पदार्थ सेवन नगर्न सुझाव दिएका छन् । बालबालिका, गर्भवती तथा सुत्केरी महिलाले सरकारी सूचनाअनुसार इनर्जी ड्रिङ्क्स सेवन नगर्नु उचित हुन्छ । ऊर्जा प्राप्त गर्नकै लागि इनर्जी ड्रिङ्क्स सेवन गर्न आवश्यक नरहेको चिकित्सकहरूको भनाइ छ । पर्याप्त पानी पिउने, सन्तुलित खाना खाने, फलफूल सेवन गर्ने र पर्याप्त निद्रा लिने बानीले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । क्षणिक फुर्ति र उत्साहका लागि सेवन गरिने पेय पदार्थले स्वास्थ्यमा कस्तो असर पारिरहेको छ भन्नेबारे सचेत हुनु आवश्यक छ । आकर्षक विज्ञापन र लोकप्रियताका आधारमा मात्र कुनै पेय पदार्थलाई स्वस्थकर ठान्नुको सट्टा त्यसमा भएका तत्व, सेवनको मात्रा र आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी राख्नु नै सुरक्षित विकल्प हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

एनपीएल : जनकपुरले काठमाडौंलाई हरायो
OthersJust now

एनपीएल : जनकपुरले काठमाडौंलाई हरायो

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको हो । जितका लागि पाएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्याे । जसमा मोइन अलीले अर्धशतकीय पारी खेल्दै अविजित ५८ रन बनायो । मोइन प्रतियोगितामा अर्धशतक हिर्काउने तेस्रो खेलाडी समेत बने । यस्तै ...

पर्दाफास
मोइन अलीको नाममा एनपीएलको तेस्रो अर्धशतक
OthersJust now

मोइन अलीको नाममा एनपीएलको तेस्रो अर्धशतक

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो अर्धशतक जनकपुर बोल्ट्सका मोइन अलीको नाममा दर्ता भएको छ । अलीले आज काठमाडौं गोर्खाजकाविरूद्ध ४९ बलमा अर्धशतक हिर्काए । जसमा ३ चौका र २ छक्का सामेल छन् । यसअघि एनपीएलको दोस्रो अर्धशतक सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको नाममा छ । ऐरीले पोखरा एभेन्जर्सकाविरूद्ध ३६ बलमै अर्धशतक पूरा गरेका थिए । जारी ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play