लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। बुधबार न्यायाधीश डा. श्री रत्नबहादुर बागचन्दको एकल इजलासले सरकारसहित विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको हो। अदालतले निवेदकको मागबमोजिम आदेश जारी गर्न नपर्ने आधार र कारण खुलाएर बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीहरूलाई आदेश दिएको छ। त्यस्तै, रिट निवेदकले माग गरेको अन्तरिम आदेशका सम्बन्धमा दुवै पक्षबीच छलफल गर्नुपर्ने भन्दै अदालतले आगामी मंसिर १४ गतेका लागि पेसी तोकेको छ। राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहसहितले आनीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा सार्वजनिक पदाधिकारीको नियुक्ति र योग्यतासम्बन्धी मापदण्ड, २०७१ अनुसार आनी उपाध्यक्ष पदका लागि योग्य नरहेको दाबी गरिएको छ। सरकारले गत असोज ३० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा १ (ख) अनुसार आनीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। ऐनअनुसार उपाध्यक्षको पदावधि पाँच वर्षको हुन्छ। उनले मंसिर २ गतेदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेकी थिइन्। The post आनीको नियुक्तिबारे सर्वोच्चको कारण देखाऊ आदेश appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
आनीको नियुक्तिबारे सर्वोच्चको कारण देखाऊ आदेश

Read Complete Original Article
Published originally on कर्पोरट खबर






