Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

Share:WhatsAppFacebookX (Twitter)Telegram
आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

बाँके । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै ग्रामीण कृषि कर्म सहज बन्दै गएको छ । विशेषगरी धान तथा गहुँ थन्क्याउने बेलामा जनशक्तिको अभाव झेल्दै आएका किसानहरूका लागि धान र गहुँ झार्ने थ्रेसर मेसिन, काट्ने रिपरजस्ता प्रविधिको विकासले एकातिर किसानको समय र श्रम बचत गरेको छ भने अर्कोतिर ग्रामीण क्षेत्रका युवाहरूका लागि स्वरोजगार र आम्दानीको गतिलो माध्यमसमेत बनेको छ। नेपालगञ्ज उपमहानगरपालिका–१९ का किसान मोहम्मद इस्लाम खाँका आँखा अगाडि अझै पनि दश वर्षअघिको दृश्य घुमिरहन्छ । उतिबेला पाकेको धानका बिटा बाँधेर खलामा लैजानुपर्थ्याे वा खेतका गरामै खलो बनाएर जनशक्ति खेताला लगाई धान झार्नुपर्थ्याे। त्यो बेला कसैले “एकैछिनमा धान झार्ने मेसिन आउँछ” भन्दा उनी पत्याउनु हुन्नथ्यो । आज समय बदलिएको छ । हिजो मेसिनको अस्तित्वमाथि शङ्का गर्ने उनै इस्लाम खाँ अहिले धान बाली थन्क्याउन थ्रेसर मेसिनको नियमित प्रयोगकर्ता हुन्। “अहिले यो मेसिनका कारण पाकेको धान झार्न असाध्यै सजिलो र छिटो भएको छ”, खाँले आफ्नो अनुभव सुनाउँदै भने, “गाउँका सबैजसो किसानले धान बाली स्याहर्न थ्रेसर नै प्रयोग गर्छन्। वैदेशिक रोजगार र अन्य कारणले खेतीपातीमा काम गर्ने जनशक्ति कम हुँदै गएका बेला यो मेसिन किसानका लागि ठूलो सहारा बनेको छ ।” बाँकेका गाउँगाउँमा आधुनिक कृषि प्रविधिको प्रवेशले परम्परागत खेती प्रणालीलाई एकाएक सहज बनाइदिएको छ। नेपालगञ्ज–१९ सुईया गाउँका अर्का किसान ध्रुवकुमार थापा क्षेत्री एक दशकदेखि जोत्नका लागि ट्याक्टर र धान–गहुँ थन्क्याउन थ्रेसर मेसिन प्रयोग गर्दै आएका छन्। त्यसअघि अर्मपर्म तथा खेताला लगाएर खेती गर्ने उहाँको अनुभवमा प्रविधिले कामलाई पूर्ण रूपमा बदलिदिएको छ। “गाउँमा काम गर्ने खेताला पाउनै मुस्किल छ, पाइहाले पनि दैनिक ६ सयदेखि एक हजारसम्म ज्याला माग्छन्”, क्षेत्रीले भने, “मजदुरी लगाउँदा समय धेरै लाग्छ तर थ्रेसर लगाउँदा बिना झन्झट समयमै धान भित्राउन पाइन्छ । पैसा भएपछि रोप्नदेखि उत्पादन भित्र्याउनसम्म धेरै सजिलो भएको छ ।” गाउँगाउँमा थ्रेसर मेसिनको माग बढेसँगै यसले स्थानीय स्तरमा स्वरोजगारको अवसर पनि सिर्जना गरेको छ । नेपालगञ्ज–१९ का अमजत अली शेखले पनि सात वर्षदेखि थ्रेसर मेसिन सञ्चालन गर्दै आएका छन्। उनका अनुसार विशेषगरी धेरै जग्गा भएका र घरमा काम गर्ने जनशक्ति कम भएका कृषकहरूले थ्रेसरको बढी माग गर्छन्। “थ्रेसरले एक घण्टामा १० कट्ठासम्मको धानबाली थन्क्याउन सकिन्छ”, शेखले यसको फाइदा खुलाउँदै भने, “पराल दाइँ गर्नुपर्ने वा धान केलाइरहनुपर्ने झन्झट हुँदैन । काम छिटो, खर्च कम र समयको बचत हुन्छ ।” शेखले रु तीन लाख ५० हजार रूपैयाँमा किनेको थ्रेसर मेसिनबाट धानबालीको सिजनमा मात्रै सबै खर्च कटाएर करिब रु एक लाख ५० हजारसम्म कमाई गर्ने गर्छन्। उनले शुल्कबापत प्रतिघण्टा रु.दुई हजार ५०० वा एक क्विन्टल धान बराबर १२ किलो धान लिने गरेका छन्। केही वर्ष अघिसम्म गाउँमा सबैजसो किसानले काटेको धान एउटै स्थानमा जम्मा गरेर पालैपालो थ्रेसर चलाउने गरे पनि अहिले प्रत्येक किसानको खेत–खेतमा थ्रेसर मेसिन पुर्याउनु पर्दा इन्धन र समय धेरै खर्च हुने गरेको अमजतको दुखेसो छ। गाउँमा सुरुमा आफूले थ्रेसर मेसिन सञ्चालन गरेपनि अहिले अन्य गाउँबाट समेत किसानले मेसिन मगाउने भएकोले प्रतिष्पर्धा हुने गरेको छ । यतिबेला धान झार्ने समयमा बिहान ५ बजेदेखि राति १२ बजेसम्म पनि किसानको खेतमै थ्रेसर पुर्‍याउने गरेको अमजतले बताए। राप्ती सोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्थाका व्यवस्थापक जमानसिंह वलीले मजदूरी लगाएर धान झार्न लामो समय लाग्ने र धेरै जनशक्ति चाहिने भएकाले थ्रेसर मेसिनप्रति किसानको आकर्षण ह्वात्तै बढेको बताए। उनका अनुसार परम्परागत खेती प्रणालीको विकल्पमा भित्रिएको आधुनिक कृषि यन्त्र थ्रेसर मेसिनले ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ । एकातर्फ यसले खेतीपातीमा जनशक्ति अभावको समस्यालाई समाधान गर्दै समयमै बाली भित्र्याउन सघाएको छ भने अर्कातर्फ मिहेनेती युवाहरूलाई आफ्नै गाउँमा बसेर स्वावलम्बी र आत्मनिर्भर बन्ने अवसर प्रदान गरेको छ। वलीले आफ्नो सहकारीमा आबद्ध आठ हजार बढी किसान सदस्य अहिले कृषि कर्ममा आधुनिक प्रविधिको प्रयोग गरी छिटोछरितो र गुणस्तरीय उत्पादन गर्दै आएको बताए। कृषिमा मेसिनको प्रयोगले आर्थिक रुपमा सस्तो हुने, श्रमको प्रयोग गर्न नपर्ने र छिटो पनि हुने भएकोले किसान प्रविधिमैत्री बन्दै गएको उनकाे भनाइ छ। सरकारका तर्फबाट यस्ता कृषि उपकरण खरिदमा अनुदान वा सहुलियत दिन सकेमा कृषिमा थप यान्त्रिकीकरण भई उत्पादन लागत घट्ने र गाउँ–गाउँमा स्वरोजगारका अवसरहरू थप विस्तार हुने उनले उल्लेख गरे। कृषिमा श्रम अभाव र बढ्दो लागत किसानका लागि चुनौती बन्दै गएका बेला बाँकेका किसानले कृषि प्रविधिलाई विकल्पका रूपमा अपनाउन थालेका छन्। धान काट्ने समय सुरु भएसँगै खेतमा परम्परागत श्रमशक्तिको स्थान कृषि यन्त्रले लिन थालेको छ। यसले कृषि पेसालाई निर्वाहमुखीबाट क्रमशः व्यावसायिक र प्रविधिमैत्री बनाउने संकेत देखाएको किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले बताए। उनका अनुसार यतिबेला धान झार्न प्रयोग हुने थ्रेसर र धान काट्न प्रयोग हुने रिपर मेसिनप्रति किसानको आकर्षण पछिल्ला वर्षमा बढ्दै गएको छ। कृषिमा काम गर्ने जनशक्तिको अभाव, मजदूरको बढ्दो ज्याला र समयमै खेतीको काम सम्पन्न गर्नुपर्ने बाध्यताले किसानलाई यान्त्रिकीकरणतर्फ आकर्षित गरेको छ । रिपर मेसिनले प्रतिघण्टा करिब १० देखि १५ कठ्ठासम्म धान काट्न सक्ने र करिब एक लिटर डिजेल खपत गर्ने गर्दछ। यसले छोटो समयमा ठूलो क्षेत्रफलको धान काट्न सहयोग पुर्याउने भएकाले किसानको समय र श्रम दुवै बचत हुने गरेको केसीले बताए। धान काट्ने काममा मात्रै नभई खेत तयार पार्नसमेत किसानले आधुनिक उपकरणको प्रयोग बढाएका छन्। मिनि टिलर जोत्न प्रयोग हुने प्रमुख उपकरणका रूपमा स्थापित हुँदै गएको छ । केसीेका अनुसार मिनि टिलरले प्रति घण्टा करिब पाँचदेखि १० कठ्ठासम्म जमिन जोत्नसक्ने र करिब एक लिटर डिजेल खपत गर्ने गर्दछ। यसबाट किसानले कम जनशक्तिमा खेतीको तयारी गर्नसक्ने अवस्था बनेको छ। कृषि क्षेत्रमा यान्त्रिकीकरणको प्रभाव खेतीपातीको काममा मात्र सीमित छैन । घाँस काट्ने मेसिन, दाना कुट्ने उपकरण, पशुपालनमा प्रयोग हुने काउ म्याटलगायतका सामग्रीको प्रयोग समेत बढ्दै गएको छ । कृषि उत्पादनसँगै पशुपालनलाई पनि प्रविधिसँग जोड्नसके उत्पादन लागत घटाउने, श्रम व्यवस्थापन गर्ने र व्यावसायिक उत्पादन विस्तार गर्ने सम्भावना बढ्ने केसीको भनाइ छ । “कृषिमा प्रविधिको प्रवेशलाई मजदुरको विकल्पका रूपमा मात्र बुझ्नु उपयुक्त हुँदैन । यसले किसानलाई समयमै खेती गर्न, श्रम र लागत व्यवस्थापन गर्न, उत्पादनको आकार बढाउन तथा कृषिलाई व्यवसायसँग जोड्न मद्दत गर्छ”, उनले भने,“खेतमा यन्त्रको प्रयोग बढ्नु कृषि औद्योगिकीकरणतर्फ अघि बढ्ने आधारसमेत बन्न सक्छ । तर यान्त्रिकीकरणसँगै किसानको आवश्यकता र स्थानीय अवस्था अनुसार उपयुक्त प्रविधि छनोट, मेसिन सञ्चालनसम्बन्धी सीप, मर्मतसम्भारको व्यवस्था र सहज वित्तीय पहुँच आवश्यक हुन्छ ।” सरकारले अनुदान वितरणमा पारदर्शिता र वास्तविक किसानको पहुँच सुनिश्चित गर्दै ‘मेसिन दिने’ मात्र होइन, ‘मेसिन चलाउने सीप र बजार दिने’ नीति अघि बढाउनसके कृषि अझ दिगो र व्यावसायिक बन्ने उनले उल्लेख गरे। कृषि यान्त्रिकीकरणमा स्थानीय तथा प्रदेश सरकारबाट समय–समयमा उपलब्ध हुँदै आएको अनुदानले पनि किसानलाई प्रविधि अपनाउन सहज बनाएको छ । बाँके जिल्लामा कृषि प्रविधिको पहुँच केवल धान झार्नमा मात्र सीमित छैन; यसले समग्र कृषि क्षेत्रको उत्पादकत्व बढाउनसमेत योगदान पुर्‍याएकाे छ। कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी तथा वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माका अनुसार पछिल्लो समय जिल्लाका धेरैजसो किसानले आधुनिक यन्त्र तथा उपकरण प्रयोग गरेर कृषि कार्य गरिरहेका छन् । कृषिमा प्रविधिको प्रयोगले किसानलाई काममा सहजता ल्याउनुका साथै बालीको नोक्सानी घटाएर उत्पादन वृद्धि गर्नसमेत प्रत्यक्ष सहयोग पुगेको शर्माले बताए। पछिल्ला वर्षहरूमा प्रविधिको प्रयोगले कृषि क्षेत्रलाई थप व्यवस्थित र आधुनिक बनाउँदै लगेको छ । खेताला नपाएर खेतमै धान बिग्रिने चिन्ताबाट बाँकेका किसानले राहत पाएका छन्, जसले नेपाली कृषि क्षेत्र बिस्तारै परम्परागत ढाँचाबाट आधुनिकतातर्फ रूपान्तरण भइरहेको सङ्केत गरेको सूचना अधिकारी शर्माको भनाइ छ । किसानलाई प्रविधिमैत्री बनाउन कृषि ज्ञान केन्द्रले पनि विभिन्न कृषि औजार, मेसिन र उपकरण खरिदमा केही प्रतिशत अनुदानको कार्यक्रम सञ्चालन गर्दै आएको सूचना अधिकारी शर्माले जानकारी दिए। “कृषि हाम्रो अर्थतन्त्रको आधार हो । अब कृषिलाई परम्परागत श्रममा मात्र निर्भर राखेर उत्पादन र आम्दानी बढाउन कठिन हुँदै गएको छ”,उनले भने,“हलोजोतदेखि धान कटानीसम्म र पशुपालनदेखि उत्पादन प्रशोधनसम्म प्रविधिको विस्तार गर्नसके किसानको श्रमलाई सम्मान गर्दै कृषिलाई उद्योगसँग जोड्न सकिन्छ । प्रविधिमैत्री कृषि नै भविष्यको आत्मनिर्भर र समृद्ध कृषिको महत्त्वपूर्ण आधार बन्न सक्छ ।”

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

नेपाल लाइफ क्यापिटललाई इक्रा नेपालद्वारा ‘एएमसी क्वालिटी ३’ रेटिङ
ताजा खबरJust now

नेपाल लाइफ क्यापिटललाई इक्रा नेपालद्वारा ‘एएमसी क्वालिटी ३’ रेटिङ

काठमाडौँ, १० कात्तिक । इक्रा नेपाल लिमिटेडले नेपाल लाइफ क्यापिटल लिमिटेडलाई फन्ड म्यानेजमेन्ट क्वालिटी रेटिङ (एफएमक्यूआर) अन्तर्गत‘एएमसी क्वालिटी ३’ रेटिङ पुनःपुष्टि गरेको छ। सो रे... ...

गोरखापत्र
एनपिएल-३: विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी
ताजा खबरJust now

एनपिएल-३: विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा सबै विकेट गुमाउँदै १४९ रनमा समेटियो। यससँगै चितवनले ८ रनको जित निकालेको हो । १५.५ ओभरमा पाँच विकेट गुमाएर १३२ रनको बलियो अवस्थामा रहेको विराटनगर त्यसपछि धराशायी बनेको थियो । विराटनगरका लागि इमरान ...

अर्थ सरोकार
तिहारमा करिब ५२ लाख माला खपत हुने अनुमान
ताजा खबरJust now

तिहारमा करिब ५२ लाख माला खपत हुने अनुमान

काठमाडौं।आगामी तिहारमा काठमाडौं उपत्यका करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी तिहारमा सयपत्री फूलका ४५ लाख र मखमलीका ६ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने जनाएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले यस पटकको तिहारमा स्वदेशी उत्पादनकै फूल र मालाले धान्ने दाबी ...

नेपालन्युज
काठमाडौँको मौलिक संस्कृति, परम्परालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्छौँ : सुनिता डंगोल
ताजा खबरJust now

काठमाडौँको मौलिक संस्कृति, परम्परालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्छौँ : सुनिता डंगोल

काठमाडौं । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँको मौलिक संस्कृति, परम्परालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गरिने बताएकी छन् । ‘काठमाडौँ फिल्म फेस्टिभल २०८३’ को जानकारी दिन मंगलबार आयोजित कार्यक्रममा कार्यवाहक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play