Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/‘असल बन्ने आसक्तिमा पनि दुःख हुन्छ’

‘असल बन्ने आसक्तिमा पनि दुःख हुन्छ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘असल बन्ने आसक्तिमा पनि दुःख हुन्छ’

पेमा वाङ्गेल पूर्वी भुटानका बौद्ध भिक्षु हुन्। उनले १७ वर्षको उमेरमा भिक्षु बन्ने निर्णय गरेका थिए। रोबिन लियो होफमान जर्मन अभिनेता, फिल्मकर्मी तथा ‘स्टिल ह्युमन : कन्भर्सेसन्स फर अ चेन्जिङ वर्ल्ड’का प्रस्तोता हुन्। नेपाल यात्राका क्रममा भेटिएका उनीहरूले काठमाडौँस्थित टेर्गार गुम्बामा यो संवाद गरेका हुन्। ‘अझ बढी सिक्नुस्, सुन्नुस् र अवलोकन गर्नुस्’ म अन्नपूर्ण पदमार्गमा यात्रा गरिरहेको थिएँ र तपाईं भिक्षुहरूसँग मनाङस्थित मिलारेपाको गुफाको तीर्थयात्रामा हुनुहुन्थ्यो। हाम्रो भेट त्यतिबेला भएको थियो है? हो, हामी मिलारेपाको गुफा दर्शन गर्न गएका थियौँ। मिलारेपाबारे नसुनेका मानिसलाई उहाँ को हुनुहुन्थ्यो भनेर कसरी बुझाउनुहुन्छ? बौद्ध परम्पराअनुसार मिलारेपा एउटै जीवनमा बुद्धत्व प्राप्त गर्ने महान् योगीमध्ये एक हुनुहुन्थ्यो। तर उहाँको प्रारम्भिक जीवन हेर्ने हो भने धेरै दुःख भोग्नुभएको थियो। उहाँकी आमाले परिवारलाई दुःख दिनेहरूसँग बदला लिन भन्नुभयो। त्यसपछि उहाँले आमाको कुरा मानेर बदला लिनुभयो। उहाँको जीवनकथाअनुसार त्यस क्रममा मानिसहरूको ज्यानसमेत गएको थियो। त्यसो भए तपाईं त्यस्ता व्यक्तिलाई अनुसरण गर्नुहुन्छ, जसले बदला लिन तान्त्रिक विद्या सिके, मानिसहरूको ज्यान लिए र अन्ततः बुद्धत्व प्राप्त गरे? हो। उहाँको प्रारम्भिक जीवनमा फर्केर हेरौँ। उहाँ सानै हुँदा बुवाको निधन भयो। निधनअघि बुवाले आफ्नो सम्पत्ति भाइको जिम्मा लगाउनुभएको थियो। उहाँले भाइलाई सम्पत्ति र परिवारको हेरचाह गर्न तथा छोरा १८ वर्ष पुगेपछि सबै सम्पत्ति फिर्ता दिन भन्नुभएको थियो। तर मिलारेपा हुर्किएपछि काकाले सम्पत्ति फिर्ता दिन मानेनन्। काका र काकीले परिवारलाई धेरै दुःख दिए। उनीहरूले आफ्नै घरमा लगभग दाससरह जीवन बिताउनुपर्‍यो। धेरै मेहनत गर्नुपर्थ्यो, खान थोरै दिइन्थ्यो र लगाउन पुराना कपडा मात्र पाइन्थ्यो। यसले मिलारेपाकी आमालाई अत्यन्त दुःखी बनायो। उहाँ बदला लिन चाहनुहुन्थ्यो। कथाअनुसार काकाले चुनौती दिँदै भनेका थिए– छोरासँग सेना छ भने ल्याएर लडोस्, सेना छैन र ऊ एक्लै छ भने तान्त्रिक विद्या प्रयोग गरोस्। ती शब्द आमाको मनमा गढे। उहाँले छोरालाई त्यस्तो विद्या सिकाएर बदला लिने निश्चय गर्नुभयो। मिलारेपालाई त्यस्तो विद्या सिक्न पठाउनुभयो। मिलारेपा जानुभयो, विद्या सिक्नुभयो र परिवारलाई दुःख दिनेहरूसँग बदला लिन सफल हुनुभयो। एक हिसाबले हेर्दा यो निकै निर्दोष र निष्कपट व्यवहारजस्तो पनि सुनिन्छ किनकि उनले आमाले भनेको कुरा मात्र गरिरहेका थिए। हो। उहाँले आमाबुवाले भनेको कुरा मान्नुभयो। त्यो राम्रो हो कि नराम्रो, त्यसले हानि गर्छ कि फाइदा, त्यसको मूल्याङ्कन गर्नुभएन। आफूलाई जे भनिएको थियो, त्यही गर्नुभयो। मिलारेपाको कथामा अझ गहिरिएर जानुअघि म हाम्रा जीवनका फरक बाटाबारे सोध्न चाहन्छु। तपाईं र म हेर्दा फरक छौँ, हाम्रो पहिरन फरक छ र हामीले जीवन बिताउने फरक बाटा रोजेका छौँ। भिक्षु नभएका मानिसले तपाईंको २० वर्षको भिक्षु जीवनबाट सिक्न सक्ने एउटा कुरा के होला? म जीवनलाई सरल राख्न र सिकाइमार्फत अझ धेरै कुरा बुझ्ने प्रयास गर्न सुझाव दिन्छु। सिक्नु भनेको सुन्नु, पढ्नु र अवलोकन गर्नु पनि हो। तपाईं साँच्चिकै जीवनमा कुनै दिशा खोजिरहनुभएको छ भने अझ बढी सिक्नुपर्छ, सुन्नुपर्छ र अवलोकन गर्नुपर्छ। तपाईंले मसँग १७ वर्षको हुँदा भिक्षु बन्ने कुरामा ७० देखि ८० प्रतिशत निश्चित थिएँ भन्नुभएको थियो। त्यो चाहना कहाँबाट आयो? अनि किन ७० देखि ८० प्रतिशत मात्र? सानो हुँदा हामी पूर्वी भुटानको दुर्गम क्षेत्रमा बस्थ्यौँ। हाम्रो समुदायका मानिसहरू गुम्बा गइरहन्थे। गाउँमा कुनै समस्या पर्दा गुम्बाले सहयोग गर्थ्यो। कुनै विपद् आयो, परिवारमा कठिनाइ पर्‍यो वा अरू कुनै समस्या भयो भने मानिसहरू गुम्बामा पुगेर सहयोग माग्थे। आवश्यकताअनुसार गुम्बाले भिक्षुहरू पठाउँथ्यो। त्यतिबेला हाम्रो समाजमा भिक्षुहरू सुपरहिरोजस्तै थिए। मानिसहरूलाई जहिले आवश्यकता परे पनि उनीहरू पुग्थे। बिहान सबेरै होस्, दिउँसो, साँझ वा राति, जुनसुकै बेला कसैले सहयोग मागे पनि उनीहरू मद्दत गर्न खोज्थे। बाल्यकालमा मलाई यो कुराले अत्यन्त प्रभावित पारेको थियो। मैले भिक्षुहरूले गाउँलेलाई सक्दो सहयोग गरेको देखेको थिएँ। उनीहरूले कुनै प्रतिफलको अपेक्षा नगरी निःशुल्क सहयोग गर्थे? हो। उनीहरूले कहिल्यै केही माग्दैनथे। मानिसहरूले खाना, चिया वा अरू पेयपदार्थ दिए भने स्वीकार गर्थे। कहिलेकाहीँ पैसा पनि दिन्थे र भिक्षुहरूले लिन सक्थे। तर कतिपय भिक्षु यति दयालु थिए कि परिवारको अवस्था हेरेर पैसा फिर्ता दिन्थे, विशेषगरी परिवार आर्थिक समस्यामा परेको छ भने। उनीहरूले खाना र पेयपदार्थ लिन सक्थे, तर पैसा फर्काइदिन्थे। बाल्यकालमा यसले मलाई गहिरो प्रेरणा दियो। मैले सोचेँ, ठुलो भएपछि केही उपयोगी काम गर्न चाहन्छु भने म यही समूहमा सामेल हुनुपर्छ। म त्यो समुदायको सदस्य बन्न चाहन्थेँ। १७ वर्षको हुँदासम्म भिक्षु बन्ने निर्णयमा ७० देखि ८० प्रतिशत निश्चित भइसकेको थिएँ। तर शतप्रतिशत निश्चित थिइनँ, किनकि मेरो निर्णयबारे आमाबुवा र आफन्तले के सोच्नुहुन्छ भन्ने थाहा थिएन। उहाँहरूका मप्रति फरक अपेक्षा हुन सक्थे। उहाँहरूले मैले पढाइ जारी राखूँ, जागिर खाऊँ वा उहाँहरूको सपना पूरा हुने कुनै काम गरूँ भन्ने चाहनुभएको हुन सक्थ्यो। मेरो, परिवारको वा समाजको हितका लागि अर्को बाटो राम्रो हुन्छ भन्ने उहाँहरूलाई लाग्न सक्थ्यो। म परिवारको एक्लो छोरा पनि हुँ, त्यसैले थप जिम्मेवारी थियो। यही कारण म पूर्ण रूपमा निश्चित छु भन्न सक्दिनथेँ। तर आफ्नै इच्छाअनुसार निर्णय गर्ने स्वतन्त्रता पाएको भए म गुम्बामा जान चाहन्छु भन्नेमा स्पष्ट थिएँ। त्यसपछि आमाबुवासँग कुरा कसरी अघि बढ्यो? तपाईं उहाँहरूकहाँ गएर ‘मेरो सपना यस्तो छ, म भिक्षु बन्न चाहन्छु’ भन्नुभयो? वास्तवमा हाम्रो गाउँमा एक महान् गुरु हुनुहुन्थ्यो, जो अझै जीवित हुनुहुन्छ। अहिले उहाँ करिब ९४ वा ९५ वर्षको हुनुपर्छ। एकपटक उहाँले मलाई ‘भिक्षु बन्न चाहन्छौ’ भनेर सोध्नुभयो। इच्छुक भए गुम्बामा जाने उपयुक्त समय यही हो भन्नुभयो। गुम्बामा पढाइ जारी राख्न पुग्ने शिक्षा मैले विद्यालयबाट पाइसकेको छु भन्ने पनि उहाँको भनाइ थियो। उहाँको सल्लाहले मलाई आफन्तसँग कुरा गर्ने आधार दियो, सायद एउटा बहाना पनि। म उहाँहरूलाई हाम्रा गुरुले गुम्बामा जान सुझाव दिनुभएको छ भन्न सक्थेँ। मैले आफन्तलाई यो कुरा सुनाएपछि विशेषगरी हजुरआमाले परिवारका अरू सदस्यसम्म खबर पुर्‍याउन सहयोग गर्नुभयो। गुरुले यस्तो सुझाव दिनुभएको सुनेर अधिकांश खुसी हुनुभयो। मेरो विचारमा झन्डै ९९ प्रतिशत आफन्तले निर्णय स्वीकार गर्नुभयो र साथ दिनुभयो। एक-दुई जना आफन्तले भने पहिले पढाइ जारी राख्न सुझाव दिनुभयो। सायद कलेज वा विश्वविद्यालयको पढाइ सकेर गुम्बामा जाँदा राम्रो हुन्छ भन्ने उहाँहरूको सोच थियो। तर अधिकांश परिवारजनले मलाई समर्थन गर्नुभयो। अहिले तपाईं भिक्षु भइसक्नुभएको छ। आफन्तहरूले तपाईंलाई कसरी हेर्नुहुन्छ? के उहाँहरूले तपाईंलाई अरूभन्दा माथिल्लो स्थानमा राख्नुहुन्छ? उहाँहरूले आफ्नै तरिकाले सम्मान गर्नुहुन्छ। दुःखी हुँदा वा जीवनमा समस्या पर्दा कहिलेकाहीँ सल्लाह माग्नुहुन्छ। मैले झन्डै २० वर्ष भिक्षु जीवन बिताइसकेकाले मेरो कुरा ध्यान दिएर सुन्नुहुन्छ। त्यसले मलाई पनि कसरी सल्लाह दिने भन्नेमा अझ सावधान बनाउँछ, किनकि मैले भनेको कुराले उहाँहरूको जीवनमा प्रभाव पार्न सक्छ। उहाँहरूले मलाई सम्मान गर्नुहुन्छ। हामी पनि आमाबुवा, हजुरबुवाहजुरआमा वा अरू ज्येष्ठ आफन्तलाई उहाँहरूको उमेर र पारिवारिक स्थानअनुसार सम्मान गर्छौँ। ‘हामी पनि अरूजस्तै मानिस हौँ’ तपाईं कपाल खौरनुहुन्छ, रातो वस्त्र लगाउनुहुन्छ र आफ्नो व्यक्तिगत पहिचानका केही पक्ष त्याग्नुहुन्छ। भिक्षु हुनुको एउटा हिस्सा यही हो, होइन? तर के त्यसभित्र छुट्टै ‘तपाईं’ पनि हुनुहुन्छ? तपाईं अझै पेमा हुनुहुन्छ कि मानवताको व्यापक हितका लागि समर्पित भिक्षु मात्र? यसले हामीमाथि जिम्मेवारी थप्छ। मानिसहरूसँग कसरी बोल्ने, कस्तो व्यवहार गर्ने र समाज, आफन्त, साथी तथा वरपरका सबैलाई कसरी सहयोग गर्ने भन्ने सोच्नुपर्छ। मानिसहरूले भिक्षुबाट अपेक्षा राख्छन्। कोही २० वर्षदेखि भिक्षु छन् भन्ने सुन्दा उनीहरूसँग कुनै विशेष शक्ति छ वा सामान्य मानिसभन्दा धेरै कुरा थाहा छ भन्ने सोच्न सक्छन्। आफ्नो समस्या सुनाएपछि भिक्षुले समाधान गरिदिन्छन् वा मार्गदर्शन गर्न सक्छन् भन्ने ठान्छन्। कहिलेकाहीँ हामीप्रति मानिसहरूको अपेक्षा धेरै ठुलो हुन्छ। तर हामीसँग त्यस्ता शक्ति छैनन्। मानिसहरूले अपेक्षा गरेजस्ता सबै समाधान हामीसँग हुँदैनन्। सबैभन्दा पहिले हामी यथार्थवादी हुनुपर्छ। हामी पनि अरूजस्तै मानिस हौँ। फरक यत्ति हो कि हामीले जीवनको यो बाटो रोजेका छौँ। हामी सिकिरहेका छौँ, शिक्षा ग्रहण गरिरहेका छौँ र गुरुहरूको मार्गदर्शन अनुसरण गरिरहेका छौँ। त्यसैले आफू पेमा हुनु र भिक्षुका रूपमा रहनुबीच सन्तुलन छ। तपाईं यस्तो पहिरनमा नहुँदा के गर्नुहुन्छ? के सधैँ भिक्षुको वस्त्र लगाउनुहुन्छ? हामी अधिकांश समय यही वस्त्र लगाउँछौँ। सामान्यतया सुत्ने बेला फेर्छौँ, तर कहिलेकाहीँ यही लगाएर सुत्छौँ। व्यक्तिगत रूपमा भन्नुपर्दा, बिहान धेरै सबेरै उठ्नुपर्ने छ भने म कहिलेकाहीँ यही वस्त्र लगाएर सुत्न रुचाउँछु। त्यसो गर्दा उठेपछि लुगा लगाउन समय खर्च गर्नुपर्दैन। मलाई यो कुरा मन पर्‍यो। तर तपाईंको फुर्सदको समय हुन्छ? भिक्षु पेमाका लागि नभई केवल पेमाका लागि छुट्याउने समय हुन्छ? एकपटक भिक्षु बन्ने प्रतिबद्धता जनाएर त्यस जीवनका नियम स्वीकार गरेपछि ती प्रतिबद्धताबाट पूर्ण रूपमा मुक्त हुने क्षण हुँदैन। सोच, बोली र व्यवहार सबै आफूले स्वीकार गरेको नैतिक अनुशासनअनुसार हुनुपर्छ। निश्चय पनि कहिलेकाहीँ हामी बिर्सन्छौँ। कहिलेकाहीँ हाम्रा विचार वा व्यवहार ती प्रतिबद्धताअनुसार हुँदैनन्। तर तिनलाई शुद्ध रूपमा पालना गर्न चाहने हो भने सधैँ प्रयास गर्नुपर्छ। गुम्बाको दैनिक जीवन कस्तो हुन्छ? पहिलो कुरा, त्यहाँ बढी शान्ति हुन्छ। दोस्रो, अध्ययन र साधनाका लागि बढी समय पाइन्छ। तर म के पनि भन्छु भने हामीसँग धेरै जिम्मेवारी हुन्छन्। व्यक्तिगत साधना गर्नु र गुम्बाका नियम पालना गर्नु हाम्रो जिम्मेवारी हो। समुदाय र बौद्ध शिक्षाबारे पनि सोच्नुपर्छ। त्यसभन्दा बाहिर आफ्नो संस्कृति, देश र आफू सम्बन्धित परम्पराप्रति पनि जिम्मेवारी हुन्छ। हामीले आफ्नो गाउँ, जन्मथलो र आफूसँग सम्बन्धित मानिसलाई सम्झनुपर्छ। यी जिम्मेवारी पूरा गर्न सकेनौँ भने हाम्रो व्यक्तिगत प्रतिष्ठा मात्र बिग्रँदैन। मानिसहरूले हाम्रो व्यवहारबाट गुम्बा, गुरुहरू र समग्र बौद्ध परम्पराको पनि मूल्याङ्कन गर्न सक्छन्। त्यसैले भिक्षु जीवन ठुलो जिम्मेवारी हो। यो रोचक छ। बौद्ध धर्मबारे सोच्दा म आफू विशेषज्ञ होइन भन्ने बुझ्छु। तपाईं हुनुहुन्छ। त्यसो भए एउटा वाक्यमा बौद्ध धर्मलाई कसरी परिभाषित गर्नुहुन्छ? बौद्ध धर्म के हो? यो जीवन जिउने तरिका हो। प्रत्येक व्यक्तिका लागि जीवन जिउने तरिका। तपाईं बौद्ध हुनुहुन्छ वा हुनुहुन्न भन्नेले फरक पार्दैन। बुद्धका शिक्षालाई प्रत्यक्ष रूपमा हेर्ने हो भने तिनले हामीलाई जीवन कसरी जिउने भन्ने सिकाउँछन्। तर बुद्धले मूलतः ध्यान नै गर्नुभएको होइन र? के ध्यान नै बौद्ध धर्मको सार हुन सक्दैन? तपाईं ध्यान गर्नुहुन्छ, आफ्नो अनुभवप्रति खुला हुनुहुन्छ र त्यस प्रक्रियाबाट बाँकी कुरा आफैँ पत्ता लगाउनुहुन्छ। बुद्धबारे सोच्दा हामी प्रायः रूखमुनि ध्यान गरिरहेको र बुद्धत्व प्राप्त गरेको चित्र कल्पना गर्छौँ। तर त्यो अन्तिम चरण थियो। त्यसअघि उहाँले धेरै कुरा गर्नुभएको थियो। परम्परागत कथनअनुसार राजकुमार सिद्धार्थ अत्यन्त बुद्धिमान्, शारीरिक रूपमा बलियो र उच्च शिक्षित हुनुहुन्थ्यो। उहाँलाई धेरै भाषा आउँथे। खेलकुद, कुस्ती, धनुर्विद्या र अरू गतिविधिमा दक्ष हुनुहुन्थ्यो। उहाँलाई अत्यन्त सुन्दर र दयालु व्यक्तिका रूपमा पनि चित्रण गरिएको छ। आजको भाषामा सायद हामी उहाँलाई ‘मिस्टर पर्फेक्ट’ भन्थ्यौँ। तपाईंले उहाँका काकाका छोरा देवदत्तले एउटा चरालाई बाण हानेको कथा सुन्नुभएको होला। राजकुमार सिद्धार्थले त्यो चरालाई बचाउनुभयो। देवदत्तले आफूले बाण हानेकाले चरा आफ्नै भएको दाबी गरे, सिद्धार्थले आफूले ज्यान बचाएकाले आफ्नो भएको बताउनुभयो। कथाअनुसार सिद्धार्थले विवादको निर्णय न्यायालयबाट गराउन प्रस्ताव गर्नुभयो। मेरो विचारमा यस कथाले उहाँमा जनावरप्रति समेत कति गहिरो करुणा थियो भन्ने देखाउँछ। उहाँको जीवनका बौद्ध कथनलाई अझ पछाडि फर्केर हेर्दा पूर्वजन्मका कथाहरू आउँछन्। बौद्ध परम्पराअनुसार राजकुमार सिद्धार्थका रूपमा जन्मनुअघि बुद्धले धेरै जीवन बिताउनुभएको थियो। ती जीवनमा उहाँले दानशीलता र अन्य पारमिताको अभ्यास गर्नुभयो। कहिलेकाहीँ अरू प्राणीको हितका लागि आफ्नो सम्पत्ति, शरीर वा जीवनसमेत त्याग्नुभयो। यी कथाहरू जातक परम्परालगायत बौद्ध साहित्यमा पाइन्छन्। विभिन्न कथामा उहाँ राजा, मन्त्री, हात्ती, हरिण, खरायो र अरू प्राणीका रूपमा जन्मनुभएको उल्लेख छ। ती जीवनभर उहाँले बुद्धत्व प्राप्तितर्फ लैजाने गुणहरूको विकास गर्दै जानुभएको थियो। तर तपाईंलाई यो कसरी थाहा हुन्छ? यी कथाहरू बुद्ध र उहाँका शिष्यहरूसँग सम्बन्धित प्रवचन तथा विवरणमा पाइन्छन्। परम्पराअनुसार बुद्धत्व प्राप्त गरेपछि शिष्यहरूले उहाँका पूर्वजन्मबारे सोधेका थिए र उहाँले ती जन्मका बारेमा बताउनुभएको थियो। त्यसो भए उहाँलाई आफ्ना सबै पूर्वजन्म सम्झना थिए? हो। बौद्ध शिक्षाअनुसार कसैले त्यस्तो उच्च तहको बुद्धत्व प्राप्त गरेपछि आफ्ना पूर्वजन्म सम्झन सक्छ। अरू चेतनशील प्राणीका पूर्वजन्मबारे पनि जान्न सक्छ। तपाईं यसमा विश्वास गर्नुहुन्छ? हो। यस्ता शिक्षा विभिन्न बौद्ध परम्परामा पाइन्छन्। पाली, संस्कृत, तिब्बती र चिनियाँ स्रोतहरू छन्। ती विभिन्न समयमा लेखिए र संरक्षण गरिए। केही त धेरै शताब्दी पुराना छन्। ‘एउटै जीवन किन पर्याप्त छैन?’ मलाई अलमल्याउने कुरा यही हो। आफूले सायद सम्झनासमेत नराख्ने अर्को जन्मका लागि यो सम्पूर्ण जीवन सद्‌गुण विकास गर्न समर्पित गर्ने विचार मैले राम्रोसँग बुझ्न सकेको छैन। हामी यहाँ गुम्बामा शिक्षाहरू सुनिरहेका छौँ। मानिसहरूलाई यो जीवन आध्यात्मिक साधना, पुण्य सञ्चय र सद्‌गुण विकासमा समर्पित गर्न प्रोत्साहित गरिन्छ। सामान्य रूपमा राम्रो काम गर्ने र असल मानिस बन्ने कुरामा म सहमत छु। तर एउटै जीवन किन पर्याप्त छैन? मलाई आफ्ना पूर्वजन्म सम्झना छैनन्। अर्को जन्म भयो भने पनि सम्भवतः यो जीवनमा के भयो भन्ने याद रहनेछैन। त्यसो भए अर्को जन्ममा मात्र लाभ हुन सक्ने कुराका लागि अहिले नै किन आफूलाई समर्पित गर्ने? बौद्ध दृष्टिकोणबाट हेर्दा मृत्युपछि पनि जीवनको निरन्तरता रहन्छ। अहिलेको जीवनभन्दा अघि पनि जीवन थियो। हामीले यसअघि असङ्ख्य जीवन बिताइसकेका छौँ भन्ने विश्वास गर्छौँ। यो बौद्ध धर्मको आधारभूत बुझाइ हो। हामी यसबारे कुरा गर्दा एउटा यात्रु अतिथिगृहमा बसेको उदाहरण दिन्छौँ। यात्रु आउँछ, केही समय बस्छ र फेरि जान्छ। त्यसैगरी यो शरीर पनि अतिथिगृहजस्तै हो। जीवन केही समयका लागि यसमा आउँछ र त्यसपछि जान्छ। बौद्ध शिक्षाअनुसार हामीले धेरै शरीर र धेरै जीवनको यात्रा गरिसकेका छौँ। अहिले हामी मानिसका रूपमा छौँ, तर विगतका जन्ममा जनावर वा बौद्ध परम्परामा वर्णित अरू कुनै प्राणीका रूपमा रहेका हुन सक्छौँ। तर समस्या त यही हो। हामीलाई ती जीवन सम्झना छैनन्।कुनै कुरा सम्झना नहुनुको अर्थ त्यो कहिल्यै भएको थिएन भन्ने होइन। उदाहरणका लागि केही महिनाअघि भएका सबै कुरा हामी सम्झँदैनौँ। केही दिनअघि के खायौँ वा पियौँ भन्ने पनि ठ्याक्कै सम्झना नहुन सक्छ। तर त्यसको अर्थ ती दिनमा हामीले केही खाएका वा पिएका थिएनौँ भन्ने हुँदैन। त्यसैले मेरो दृष्टिकोणमा विगतको कुनै अनुभव सम्झना नहुनुले त्यो अनुभव भएको थिएन भन्ने प्रमाणित गर्दैन। तर मैले हरेक दिन आफूले खाएको कुराको फोटो खिच्न सक्छु। त्यसपछि मसँग प्रमाण हुन्छ। हो। फोटो हेर्दा तपाईंले के खानुभएको थियो भन्ने सम्झना आउन सक्छ। फोटो नभए बिर्सन सक्नुहुन्छ। मैले भन्न खोजेको कुरा हाम्रो स्मरणशक्तिका सीमा हुन्छन् भन्ने हो। कुनै कुरा सम्झना नहुनुको अर्थ त्यो भएको थिएन भन्ने होइन। बौद्ध धर्ममा हामीले धेरै जीवन र सांसारिक अस्तित्वका विभिन्न रूप अनुभव गरिसकेका छौँ भन्ने मान्यता छ। अहिलेको जीवनमा बुद्धले देखाउनुभएको आध्यात्मिक मार्गमा आफूलाई समर्पित गर्ने अवसर छ। त्यो मार्ग अनुसरण गर्‍यौँ भने बुद्धले देखाउनुभएको दिशातर्फ अघि बढिरहेका हुन्छौँ। तर अन्तिम लक्ष्य के हो? हामी कहाँ पुग्न खोजिरहेका छौँ?अन्तिम लक्ष्य स्थायी सुख प्राप्त गर्नु, दुःखबाट मुक्त हुनु र अरू प्राणीको सेवा गर्नु हो। बौद्ध शिक्षाअनुसार हामी अस्तित्व र दुःखको निरन्तर चक्रबाट मुक्त हुन चाहन्छौँ। त्यसका लागि त्यो चक्र तोडेर मुक्ति प्राप्त गरिसक्नुभएको व्यक्तिले देखाउनुभएको मार्ग अनुसरण गर्छौँ। के बुद्धले पनि कसैलाई अनुसरण गर्नुभएको थियो? हो। कसलाई? उहाँले सत्यलाई अनुसरण गर्नुभयो, वास्तविकताको स्वरूप र चार आर्यसत्यलाई। तर तपाईंले भर्खरै लक्ष्य प्राप्त गरिसकेका व्यक्तिलाई अनुसरण गर्नुपर्छ भन्नुभयो। बुद्धले त्यस्तो व्यक्तिलाई अनुसरण गर्नुभएन। उहाँ आफैँले बुद्धत्व प्राप्त गर्नुभयो। हामी उहाँले कुनै कुरालाई अनुसरण गर्नुभयो भन्न सक्छौँ, तर त्यो अनिवार्य रूपमा व्यक्ति नै हुनुपर्छ भन्ने छैन। बुद्धत्व प्राप्त गर्नुअघि उहाँका गुरुहरू थिए र उहाँले तिनीहरूबाट सिक्नुभयो। तर अन्ततः आफ्नै अनुभवबाट सत्यको बोध गर्नुभयो। कसैलाई अनुसरण गर्नुपर्छ भन्दा मैले कुनै व्यक्तिको पछिपछि हिँड्नुपर्छ भनेको होइन। हामी त्यो व्यक्तिले दिएको सन्देश वा पत्ता लगाएको बाटो अनुसरण गर्न सक्छौँ। बुद्धले चार आर्यसत्य र आर्य अष्टाङ्गिक मार्गको बोध गर्नुभयो। आफूले पत्ता लगाएको सत्य अनुसरण गर्नुभयो र त्यही मार्गबाट बुद्धत्व प्राप्त गर्नुभयो। कसैले आएर हामीलाई बाटो देखाउन किन यति महत्त्वपूर्ण हुन्छ? वाङ्गेल : अरू प्राणी, विशेषगरी मानिसलाई प्रेरणा दिन। कोही देवताको रूपमा आए भने मानिसहरूले भन्न सक्छन्, ‘निश्चय पनि उहाँले त्यो गर्न सक्नुहुन्छ। उहाँ त देवता हुनुहुन्छ, अलौकिक शक्ति छ। मैले कसरी त्यही बाटो अनुसरण गर्न सक्छु?’ तर बुद्ध मानिसका रूपमा आउनुभयो। मानिसले पनि बुद्धत्व प्राप्त गर्न सक्छ भन्ने देखेपछि अरू मानिसमा आफूले पनि त्यो गर्न सक्छु भन्ने प्रेरणा जाग्न सक्छ। होफमान : त्यसो भए बुद्धत्व प्राप्त गर्न निश्चित नियम, परम्परा, अनुष्ठान र आनीबानी अनुसरण गर्नुपर्छ भन्ने तपाईंको विश्वास हो? वाङ्गेल : प्रारम्भमा मार्गदर्शन आवश्यक हुन्छ। राजकुमार सिद्धार्थले चार आर्यसत्यको बोध आफैँ गर्नुभयो, तर हामीमध्ये अधिकांशले आफ्नो अनुभवबाट अझै त्यस्तो बोध गरेका छैनौँ। हामी सिक्न सक्छौँ, तर उच्चतम अनुभूतिका लागि आवश्यक क्षमता, अनुभव र पुण्य विकास गरिसकेका नहुन सक्छौँ। होफमान : तर सायद तपाईं आफैँ पनि कुनै कुराको बोध गर्न सक्नुहुन्छ। वाङ्गेल : हो, हामी केही कुराको बोध गर्न सक्छौँ। तर उच्चतम अनुभूतिका लागि आवश्यक क्षमता विकास भइसकेको नहुन सक्छ। होफमान : त्यो कसले भन्छ? वाङ्गेल : हामी आफैँले महसुस गर्न सक्छौँ। होफमान : कसरी? वाङ्गेल : मैले पहिले पनि भनेँ, म यस क्षेत्रमा सबैभन्दा बुद्धिमान् व्यक्ति होइन। यहाँ सबैभन्दा बलियो पनि म होइन। मलाई आफ्नो क्षमता र सीमाबारे थाहा छ। राजकुमार सिद्धार्थबारे कुरा गर्दा परम्परागत कथनले उहाँलाई असाधारण बुद्धिमान्, बलियो, करुणामय र सक्षम व्यक्तिका रूपमा वर्णन गर्छ। उहाँले धेरै गुणको विकास गर्नुभएको थियो। मलाई आफू त्यो तहमा पुगेको छु जस्तो लाग्दैन। होफमान : तर के तपाईं आफैँलाई कम आँकिरहनुभएको छैन? वाङ्गेल : मलाई त्यस्तो लाग्दैन। म आफूलाई चिन्छु र आफ्नो क्षमता महसुस गर्न सक्छु। ती सबै गुण मैले अझै विकास गरिसकेको छैन भन्ने बुझ्छु। होफमान : त्यसो भए सायद तपाईं व्यक्तिगत रूपमा बुद्धत्व प्राप्त गर्नुहुन्न? वाङ्गेल : हामी प्राप्त गर्न सक्छौँ। होफमान : तपाईं पनि? वाङ्गेल : हो। बौद्ध शिक्षाअनुसार सबैले प्राप्त गर्न सक्छन्। म मात्र होइन, जनावर, चरा र कीराहरूले समेत अन्ततः बुद्धत्व प्राप्त गर्न सक्छन्। तर त्यसका लागि लामो समय लाग्न सक्छ। होफमान : लामो समय भन्नाले धेरै जन्म? वाङ्गेल : हो, धेरै जन्म। होफमान : यथार्थमा तपाईंको लक्ष्य के हो? कहिलेसम्म बुद्धत्व प्राप्त गर्छु भन्ने लाग्छ? तपाईंले भिक्षुका रूपमा झन्डै २० वर्ष बिताइसक्नुभएको छ। वाङ्गेल : यो मेरो बुद्धि, लगनशीलता र साधनामा निर्भर हुन्छ। अहिलेसम्म मैले धेरैजसो समय सिक्ने, अध्ययन गर्ने र शिक्षा सुन्ने काम गरेको छु। हरेक समय पूर्ण समर्पणका साथ साधना गरेको छैन। गुम्बामा अरू जिम्मेवारी पनि हुन्छन्। नियम पालना गर्नुपर्छ र विभिन्न काम गर्नुपर्छ। त्यसैले सघन आध्यात्मिक साधनामै पूरै समय दिन सधैँ सम्भव हुँदैन। आवश्यक तयारी र अवस्था पूरा गरेर कसैले पूर्ण रूपमा साधना गर्न सके यही जीवनमा बुद्धत्व प्राप्त गर्न सकिन्छ भन्ने बौद्ध शिक्षा छ। होफमान : त्यसो भए तपाईं किन त्यसो गरिरहनुभएको छैन? किन पूर्ण रूपमा अनुष्ठान र साधनामा आफूलाई समर्पित गर्नुहुन्न? वाङ्गेल : किनकि कुनै कुरा गर्ने चाहना हुनु मात्र पर्याप्त हुँदैन। त्यसका धेरै सर्त र अवस्था हुन्छन्। पहिले आवश्यक निर्देशन र शिक्षा प्राप्त गर्नुपर्छ। गुरुको अनुमति र मार्गदर्शन पनि चाहिन्छ। विशेषगरी मानसिक रूपमा आफूलाई तयार पार्नुपर्छ। नकारात्मक विचार र कर्मलाई शुद्ध बनाउनु महत्त्वपूर्ण हुन्छ। सघन साधनाका लागि शरीर, वाणी र मनको ठुलो प्रतिबद्धता आवश्यक हुन्छ। कुनै दिन साधना गर्ने निर्णय गरेर तत्काल त्यसमा लागिहाल्ने कुरा मात्र होइन। होफमान : तपाईंले गुरुले त्यस्तो सघन साधना गर्न अझै अनुमति दिनुभएको छैन भनेर मलाई बताउनुभएको थियो। वाङ्गेल : अनुमति दिनुभएन भनेर म भन्दिनँ। अहिले मेरो लागि के उपयुक्त हुन्छ भनेर मैले उहाँसँग सल्लाह मागेको थिएँ। उहाँले अध्ययन जारी राख्न सुझाव दिनुभयो। म पहाडमा गएर सघन साधनामै पूर्ण रूपमा समर्पित भएँ भने समाजसँगको सम्बन्ध टुट्न सक्छ। आजको समयमा आध्यात्मिक जीवन र दैनिक सांसारिक जीवनबीचको सञ्चारको दूरी घटाउन ठुलो आवश्यकता छ भन्ने मेरो गुरुको विश्वास छ। हामी भौतिक रूपमा एकअर्कासँग नजिक हुन सक्छौँ, तर यी दुई संसारबीचको बुझाइ धेरै टाढा हुन सक्छ। ती दुवैबीच सेतु बन्न सके मैले सिकेको र अनुभव गरेको कुरा आदानप्रदान गर्न बढी उपयोगी हुन सक्छ। गम्भीर रूपमा साधना गर्ने र नियम अत्यन्त सावधानीपूर्वक पालना गर्ने धेरै भिक्षु छन्। कतिपयसँग ठुलो ज्ञान र अनुभव छ, तर गुम्बाबाहिरका मानिससँग त्यो बाँड्न गाह्रो हुन्छ। कहिलेकाहीँ भाषा वा सञ्चारको कठिनाइ हुन्छ। सिक्न चाहने मानिसले आध्यात्मिक ग्रन्थको परम्परागत भाषा नबुझ्न सक्छन्। अरू कतिपय भिक्षु सार्वजनिक रूपमा बोल्न चाहँदैनन्। क्यामेराअघि देखिनु वा आफ्नो साधनाबारे अरूलाई बताउनु आत्मप्रदर्शनजस्तो हुन्छ भन्ने उनीहरूलाई लाग्न सक्छ। होफमान : अहिले यसरी बोल्दा तपाईंलाई आत्मप्रदर्शन गरिरहेको जस्तो लाग्छ? वाङ्गेल : मलाई त्यस्तो लाग्दैन। गुरुको सल्लाहबाट मैले बुझेको कुरा के हो भने धेरै उच्च आध्यात्मिक अनुभूति प्राप्त नगरेको सामान्य भिक्षुले पनि समाजसँग उपयोगी कुरा बाँड्न सक्छ। हामी मानिसहरूबाट टाढा भाग्नुपर्दैन। सिक्दै र साधना गर्दै गरेको अवस्थामा पनि सुन्न चाहनेहरूसँग आफ्नो अनुभव बाँड्न सक्छौँ। ‘हामीलाई हतार किन गर्नुपर्‍यो?’ होफमान : अनि तपाईंमा कुनै आध्यात्मिक अहंकार छैन? यही जीवनमा वा आगामी पाँच वर्षभित्र बुद्धत्व प्राप्त गर्ने चाहना छैन? वाङ्गेल : हामी त्यस्तो लक्ष्यमा आसक्त हुनुहुँदैन। मैले ‘पाँच वर्षभित्र यो प्राप्त गर्नैपर्छ’ वा ‘यही जीवनमा बुद्धत्व प्राप्त गर्नैपर्छ’ भनेँ भने त्यो उपलब्धिप्रति अत्यन्त आसक्त हुन सक्छु। सांसारिक जीवनमा मानिसहरू सफलताको पछाडि दौडिन्छन्। पैसा, पद, प्रतिष्ठा वा अरू उपलब्धि चाहन्छन्। आध्यात्मिक जीवनमा आएर पनि कुनै उच्च उपलब्धि, शक्ति वा अनुभूतिको पछाडि त्यसैगरी दौडिन थाल्यौँ भने समस्या उस्तै हुन्छ। बाटो फरक हुन्छ, तर आसक्ति उस्तै हुन सक्छ। हामीलाई हतार किन गर्नुपर्‍यो? होफमान : त्यसो भए तपाईंमा कुनै आसक्ति र लक्ष्य नै छैन भन्नुभएको हो? वाङ्गेल : मैले त्यस्तो भनेको होइन। हाम्रा लक्ष्य हुन्छन्, तर तिनमा सन्तुलन चाहिन्छ। होफमान : तपाईंलाई दुःख हुन्छ? वाङ्गेल : हुन्छ। होफमान : के कारणले? वाङ्गेल : कहिलेकाहीँ आफ्नो उमेर र आफूले गरिरहेको कामबारे सोच्दा दुःख हुन्छ। होफमान : तपाईं कति वर्षको हुनुभयो? वाङ्गेल : ३६ वर्ष। हाम्रो तिब्बती परम्पराअनुसार गणना गर्दा ३७ वर्ष हुन्छु। होफमान : पर्खनुस्। पश्चिमी गणनाअनुसार ३६ र तिब्बती गणनाअनुसार ३७? वाङ्गेल : हो। हाम्रो परम्परामा बच्चा आमाको गर्भमा रहँदादेखि नै जीवनको गणना गरिन्छ। जन्मनुअघि नै जीवन सुरु भइसकेको मानिन्छ। त्यसैले उमेर गणना गर्ने तरिका फरक छ। होफमान : रोचक रहेछ। तपाईं जन्मदिन मनाउनुहुन्छ? कि गर्भमा जीवन सुरु भएको दिनलाई जन्मदिन मान्नुहुन्छ? वाङ्गेल : मेरो विचारमा जन्मदिन वास्तवमै जन्मिएको दिनमा मनाउनुपर्छ। त्यसपछि भने म प्रचलित तरिकाले मनाउँदिनँ। बत्ती बाल्न सक्छु, कुनै पवित्र स्थानमा जान सक्छु वा आध्यात्मिक साधना गर्न सक्छु। पहिले मैले कहिल्यै केक काट्ने वा पार्टी गर्ने गरेको थिइनँ। तर म २५ वर्षको हुँदा केही सहपाठीले फेसबुकबाट मेरो जन्मदिन थाहा पाएछन्। उनीहरूले मलाई आश्चर्यमा पार्दै केक काट्न लगाए। त्यो पाँच भारतीय रुपैयाँजतिको एकदमै सानो केक थियो। केही पर्यटकसहित करिब ३०-४० जना क्यान्टिनमा जम्मा भए। भारतीय चिया र स्थानीय खाजा थिए। एक्कासि भएको उत्सव थियो। यति सानो केकका लागि त्यति धेरै मानिस भेला हुँदा मलाई निकै भव्य उत्सवजस्तो लाग्यो। उनीहरूले मेरो रजत जयन्ती भएकाले मनाउनुपर्छ भनेका थिए। होफमान : कस्तो रमाइलो! तर तपाईंले उमेरका कारण कहिलेकाहीँ दुःख हुन्छ भन्नुभएको थियो। त्यसको अर्थ के हो? वाङ्गेल : म आफूजस्तै ३६ वर्षका मानिसलाई हेर्छु। उनीहरूमध्ये कतिले कति धेरै उपलब्धि हासिल गरिसकेका हुन्छन्। कोही देशका राष्ट्रपति वा नेता बनेका छन्। कोही हलिउड, बलिउड वा खेलकुदका सुपरस्टार बनेका छन्। उनीहरूले हजारौँ वा लाखौँ मानिसलाई प्रेरित गरिरहेका छन्। अनि उनीहरूसँग आफ्नो तुलना गर्दा म आफैँलाई सोध्छु- म के गरिरहेको छु? यो प्रश्न मेरो मनमा आउँछ। मैले अहिलेसम्म गरेको काम साँच्चिकै सार्थक छ कि छैन भनेर गहिरिएर सोच्न थाल्छु। भिक्षु भएर बिताइरहेको जीवनबारे भन्नुभएको हो? वाङ्गेल : हो। भिक्षु हुनु साँच्चिकै लाभदायक छ? उपयोगी छ? अर्थपूर्ण छ? ३६ वर्षको उमेरमा कतिपयका छोराछोरी छन्, परिवार हुर्काइरहेका छन्। कम्पनी चलाइरहेका छन् वा महत्त्वपूर्ण काम गरिरहेका छन्। अनि म यो गुम्बामा बसेर यही बाटो पछ्याउँदै के गरिरहेको छु भनेर आफैँलाई सोध्छु। यस्ता प्रश्न मनमा आउँछन्। तर आफ्नो जीवनलाई फर्केर हेर्दा मैले भेटेका र सहयोग गरेका मानिसलाई पनि सम्झन्छु। भिक्षु, सर्वसाधारण वा पर्यटक जो भए पनि कुनै प्रतिफलको अपेक्षा नराखी सक्दो सहयोग गर्ने प्रयास गरेको छु। उनीहरूको पृष्ठभूमि सोधेको छैन। कहाँबाट आएका हुन् भनेर मूल्याङ्कन गरेको छैन। उनीहरू असल हुन् कि खराब भनेर पहिले छुट्याउने प्रयास गरेको छैन। सहयोग गर्न सक्ने भए गरेको छु। यसरी विभिन्न तरिकाले सहयोग गरेका मानिस गन्ने हो भने पाँच सयभन्दा बढी होलान्। यसको अर्थ मैले सबैलाई आर्थिक सहयोग गरेको होइन। प्रायः आफूलाई थाहा भएका कुरा, आफ्ना अनुभव वा गुरुबाट सिकेका शिक्षा बाँडेको छु। आफूसँग जे थियो, त्यही बाँडेको छु। मानिसहरू गएपछि उनीहरूलाई फेरि सम्पर्क गर्न वा अहिले के गरिरहेका छन् भनेर खोज्न प्रायः प्रयास गर्दिनँ। बदलामा केही खोज्दिनँ। सहयोग गरेबापत उनीहरूले कुनै प्रतिफल दिनुपर्छ भन्ने अपेक्षा राख्दिनँ। प्रधानमन्त्री, सुपरस्टार वा ठुलो कम्पनी चलाउने व्यक्तिसँग तुलना गर्दा मैले धेरै थोरै उपलब्धि हासिल गरेको जस्तो लाग्न सक्छ। तर आफ्नै तरिकाले मैले पनि केही योगदान गरेको छु। सानो योगदान भए पनि त्यसलाई सम्झँदा कहिलेकाहीँ निरन्तर अघि बढ्ने प्रेरणा मिल्छ। होफमान : तर तपाईं आफूलाई अरूसँग तुलना नै किन गर्नुहुन्छ? वाङ्गेल : आफूभन्दा राम्रो गरिरहेका मानिससँग तुलना गर्दा सुधार गर्ने प्रेरणा मिल्न सक्छ। उनीहरूबाट केही सिक्न सक्छौँ। तर सधैँ बढी उपलब्धि हासिल गरेकाहरूसँग मात्र तुलना गरिरह्यौँ भने दुःखी हुन सक्छौँ। आफू सधैँ पछाडि परेको महसुस हुन सक्छ। कहिलेकाहीँ हामी आफूभन्दा उमेरमा ठूला भए पनि आफ्नो जीवन, परिवार वा समुदायप्रति जिम्मेवारी नलिएका मानिसलाई पनि हेर्न सक्छौँ। उनीहरूसँग तुलना गर्दा मैले केही उपयोगी काम गरिरहेको छु र केही जिम्मेवारी बुझेको छु भन्ने महसुस हुन सक्छ। त्यसैले मेरो लागि तुलना गर्नु भनेको अरूसँग प्रतिस्पर्धा गर्नु मात्र होइन। यसले आफ्नो अवस्था बुझ्न सहयोग गर्न सक्छ। होफमान : तर यो त अझै पनि अहंकारजस्तै सुनिन्छ। वाङ्गेल : साँच्चै? होफमान : हो। तुलना नै किन गर्ने? वाङ्गेल : कहिलेकाहीँ तुलनाले आफूले अनुसरण गरिरहेको बाटो सही छ कि छैन भनेर परीक्षण गर्न सघाउँछ। आफूले गरिरहेको काम आफ्ना लागि र वरपरका मानिसका लागि लाभदायक छ कि छैन भनेर सोध्न सक्छौँ। आफ्ना छनोटको कहिल्यै समीक्षा गरेनौँ भने काम उपयोगी छ कि छैन वा यही दिशामा अघि बढ्नुपर्छ कि पर्दैन भन्ने कसरी थाहा पाउने? होफमान : तर तपाईंसँग बुद्ध हुनुहुन्छ, मिलारेपा हुनुहुन्छ, गुरु हुनुहुन्छ र गुम्बा छ। तपाईंले राम्रो काम गरिरहनुभएको छ भन्ने प्रमाणका लागि त्यति पर्याप्त छैन? भिक्षु भएर पनि तपाईंका मनमा यस्ता विचार आउँछन् भन्ने सुन्दा मलाई अचम्म लाग्छ। धेरै वर्ष बौद्ध ग्रन्थ अध्ययन गरेपछि तपाईं पूर्ण रूपमा यो मार्गमा समर्पित हुनुहुन्छ र कुनै शङ्का हुँदैन भन्ने मैले सोचेको थिएँ। वाङ्गेल : अहिले मैले आफ्नो व्यक्तिगत अनुभव बाँडिरहेको छु। एउटा व्यक्ति पेमा हो र अर्को भिक्षु। म भिक्षुको भूमिकामा मात्र नभई आफूले अनुभव गरेका कुरा व्यक्तिगत रूपमा बताइरहेको छु। होफमान : त्यसो भए तपाईंभित्र कति पेमा हुनुहुन्छ र कति भिक्षु? वाङ्गेल : यो बातचितमा म करिब ९० प्रतिशत पेमा छु भन्छु। होफमान : त्यो त राम्रो भयो! अनि दैनिक जीवनमा? वाङ्गेल : दैनिक जीवनमा सायद ९० प्रतिशत भिक्षु र १० प्रतिशत मात्र पेमा। हामी लगभग सधैँ भिक्षुकै जीवनशैली अनुसरण गर्छौँ। विशेषगरी आध्यात्मिक साथीहरूसँग हुँदा वा मिलारेपाको गुफाजस्ता पवित्र स्थान भ्रमण गर्दा त्यही जीवनशैलीमा पूर्ण रूपमा डुब्न सक्छौँ। कहिलेकाहीँ आफ्नो व्यक्तिगत पक्ष पनि छ भन्ने बिर्सन्छौँ। ‘सबैभन्दा राम्रो उत्तर– मलाई थाहा छैन’ होफमान : मैले यहाँ पहिले भिक्षु रहेका एक जना मानिसलाई भेटेको थिएँ। उनी तपाईंझैँ करिब २० वर्षदेखि भिक्षु रहेछन्। मैले किन भिक्षु जीवन छोड्नुभयो भनेर सोधेँ। कुनै गहिरो आध्यात्मिक कारण सुन्ने अपेक्षा गरेको थिएँ। तर उनले मलाई हेरेर भने, ‘मलाई प्रेमिका चाहिएको थियो।’ उनको उत्तर त्यत्ति थियो। अहिले उनका श्रीमती र छोराछोरी छन्। उनी बालबालिकासँग काम गर्छन्, पैसा कमाउने प्रयास गर्छन् र हामीले सामान्य जीवन भन्ने खालको जीवन बिताउँछन्। तर उनी खुसी छन्। मैले भिक्षु हुँदा बढी खुसी हुनुहुन्थ्यो कि अहिले भनेर पनि सोधेँ। उनले खासै फरक महसुस गर्न नसकेको बताए। जीवनका दुवै तरिकाबाट खुसी पाएका रहेछन्। तपाईंलाई यसबारे के लाग्छ? वाङ्गेल : यो व्यक्तिमा निर्भर हुन्छ। उनी भिक्षु हुँदा कसरी बस्थे र अहिले परिवारसँग कसरी बसिरहेका छन् भन्नेमा भर पर्छ। प्रत्येक व्यक्तिको अनुभव फरक हुन्छ। होफमान : उनले भिक्षु रहिरहन आफ्नो कर्म पर्याप्त राम्रो नभएको हुन सक्छ पनि भने। मलाई त्यो एउटा बहानाजस्तो लाग्यो। हामी कर्मबारे कुरा गरौँ, किनकि मानिसहरू यो शब्द धेरै फरक अर्थमा प्रयोग गर्छन्। पूर्वभिक्षुले ‘मेरो कर्म राम्रो थिएन, त्यसैले भिक्षु जीवन छोड्नुपर्‍यो’ भने भने के त्यो साँच्चिकै कर्म हो? कि आफ्नो निर्णयलाई सही ठहर्‍याउने बहाना? वाङ्गेल : हामीलाई थाहा छैन। मेरो विचारमा सबैभन्दा राम्रो उत्तर नै ‘मलाई थाहा छैन’ हो। त्यो विशेष व्यक्तिले किन भिक्षु जीवन छोडे भनेर म ठ्याक्कै भन्न सक्दिनँ। सायद उनले कर्मलाई कसरी बुझेका छन् भन्नेमा पनि भर पर्छ। होफमान : तपाईं कर्मलाई कसरी बुझ्नुहुन्छ? कर्म के हो? वाङ्गेल : तपाईंले जे गर्नुहुन्छ, त्यसको परिणाम हुन्छ। कर्म हाम्रा काम र तिनका परिणामसँग सम्बन्धित छ। उदाहरणका लागि तपाईंले एक सट कफी पिउनुभयो भने त्यसको निश्चित प्रभाव हुन्छ। दुई सट पिउनुभयो भने प्रभाव अझ बलियो हुन सक्छ वा लामो समय रहन सक्छ। म यसलाई एउटा सरल उदाहरणका रूपमा प्रयोग गर्छु। बौद्ध बुझाइमा हाम्रा काम र नियतका परिणाम हुन्छन्। विचार पनि महत्त्वपूर्ण हुन्छन्, किनकि तिनले हाम्रो व्यवहारमा प्रभाव पार्न सक्छन्। मानिसहरूले कहिलेकाहीँ कर्मलाई नराम्रो कुरासँग मात्र जोड्छन्। तर कर्म नराम्रो काम वा नराम्रो परिणाममा मात्र सीमित छैन। होफमान : कर्मको परिणाम बदल्न सकिन्छ? वाङ्गेल : हाम्रा कामले हुने घटनामा परिवर्तन ल्याउन सक्छन्। हामी नयाँ कारण र परिस्थिति सिर्जना गर्न सक्छौँ। पहिले हानिकारक काम गरेका छौँ भने त्यसप्रति पश्चात्ताप गर्न, आफ्नो व्यवहार बदल्न र सकारात्मक काम गर्न सक्छौँ। होफमान : म तपाईंलाई व्यक्तिगत उदाहरण दिन्छु। म सानो हुँदा मेरो बुवाको निधन भयो। यदि मैले पूर्वजन्मको कर्ममा विश्वास गरेँ भने के कुनै पूर्वजन्ममा आफूले गरेको कामकै कारण बुवा गुमाउनुपरेको ठान्नुपर्छ? बुवासँग हुर्कने अनुभव गर्न नपाउनु मेरो कर्मको परिणाम हो? वाङ्गेल : सबैभन्दा राम्रो उत्तर हो– मलाई थाहा छैन। कसलाई थाहा हुन्छ र? होफमान : कर्मलाई थाहा हुन्छ? हेलो कर्म, म तपाईंसँग कुरा गर्दै छु! वाङ्गेल : हुन पनि सक्छ, नहुन पनि सक्छ। मलाई थाहा छैन। कर्म जटिल कुरा हो। हामी कर्म सिर्जना गर्न सक्छौँ र आफ्ना कामका परिस्थिति तथा परिणाममा प्रभाव पनि पार्न सक्छौँ। होफमान : त्यसरी कुनै कुरामा प्रभाव पार्न सक्छौँ कि सक्दैनौँ भन्ने नै थाहा छैन भने सुरुमा कर्मबारे सोचिरहनुको अर्थ के? वाङ्गेल : किनकि कर्मलाई एउटा नियमका रूपमा बुझिन्छ। यसलाई प्रकृतिको नियम पनि भन्न सक्छौँ। तपाईं अर्को देश भ्रमणमा जाँदा सबैभन्दा पहिले त्यहाँका आधारभूत नियम जान्नुपर्छ। के गर्न पाइन्छ? के गर्न पाइँदैन? त्यसैगरी बौद्ध धर्मअनुसार काम र परिणामबीचको सम्बन्ध बुझ्नुपर्छ। सबैलाई लागु हुने सामान्य सिद्धान्त हुन्छन्, तर प्रत्येक व्यक्तिका आफ्नै काम र अनुभव पनि हुन्छन्। मैले विगतमा नराम्रो काम गरेको छु भने आफ्नो व्यवहार बदल्न सक्छु। हानिकारक कामप्रति पश्चात्ताप गर्न र सकारात्मक कर्मको विकास गर्न सक्छु। यसले मेरो जीवन अघि बढ्ने दिशामा प्रभाव पार्न सक्छ। ‘असल बन्ने आसक्तिमा दुःख’ होफमान : मलाई लाग्छ, सबै मानिसभित्र आफूलाई सुधार्ने चाहना हुन्छ। हामी आफ्नो अझ राम्रो रूप बन्न चाहन्छौँ। तर मैले देखेको कुरा के हो भने यो चाहनाले अर्को किसिमको आसक्ति सिर्जना गर्न सक्छ। अनि आसक्तिले थप दुःख ल्याउन सक्छ। असल मानिस बन्ने चाहना र बुद्धत्व प्राप्त गर्ने चाहनाबीच वास्तवमै फरक छ? के बुद्धत्व प्राप्त गर्ने इच्छासमेत दुःखको कारण बन्न सक्छ? वाङ्गेल : हो। दुवै दुःखको कारण बन्न सक्छन्। सांसारिक जीवनमा होस् वा आध्यात्मिक जीवनमा, हरेक दिन अझ राम्रो बन्ने चाहनामा हामी अत्यधिक आसक्त भयौँ भने त्यसले दुःख दिन सक्छ। समाधान भनेको सन्तुलन कायम गर्नु र लक्ष्यप्रतिको आसक्ति घटाउनु हो। उदाहरणका लागि तपाईंले एक महिना वा एक वर्षभित्र केही उपलब्धि हासिल गर्ने अपेक्षा राख्नुभएको हुन सक्छ। समयसीमा तोक्नुहुन्छ र लक्ष्यमा पुग्न आफूलाई दबाब दिनुहुन्छ। तर त्यो प्रक्रियाले तपाईंलाई दुःखी बनाउँछ, मानसिक शान्ति खोस्छ भने तपाईंले अपनाएको अभ्यास वा काम गर्ने तरिकाले आफैँलाई चोट पुर्‍याइरहेको हुन सक्छ। त्यस्तो दबाब कम गर्नुपर्छ। होफमान : मलाई लाग्छ, मलगायत धेरै मानिस कहिलेकाहीँ आत्मसुधारको प्रक्रियामा यति धेरै डुब्छौँ कि के भइरहेको छ भन्ने नै थाहा पाउँदैनौँ। हामी सोच्छौँ, ‘पहिले यो किताब पढ्नुपर्छ, त्यसपछि यस्तो किसिमको ध्यान सयपटक गर्नुपर्छ, अनि अर्को केही गर्नुपर्छ।’ यो लगभग स्वचालित बानी बन्छ। लक्ष्यलाई कम महत्त्व दिनुपर्छ भन्न सजिलो छ, तर वास्तवमै त्यस्तो स्वतन्त्रता अनुभव गर्नु धेरै कठिन हुन्छ। वाङ्गेल : त्यो सही हो। त्यसैले धेरै शिक्षामा छोटो समय अभ्यास गर्ने, तर बारम्बार दोहोर्‍याउने सुझाव दिइन्छ। केही सेकेन्ड वा छोटो समय ध्यान गर्नुहुन्छ, त्यसपछि विश्राम गर्नुहुन्छ। केही समयपछि फेरि ध्यान गर्नुहुन्छ र विश्राम गर्नुहुन्छ। यसरी थोरैथोरै गर्दै धेरैपटक दोहोर्‍याउनुहुन्छ। विशेषगरी सुरुवाती अभ्यासकर्ताका लागि यो महत्त्वपूर्ण हुन सक्छ। हामीले आफ्नो स्तर बुझ्नुपर्छ र क्षमताअनुसार अभ्यास गर्नुपर्छ। मानौँ तपाईं तीन घण्टा ध्यान गर्न सक्नुहुन्छ र थकान वा दबाब महसुस हुँदैन। त्यसो भए तीन घण्टा उपयुक्त हुन सक्छ। तर पाँच घण्टा पुर्‍याउन खोज्दा थकान हुन्छ र आफूलाई अत्यधिक दबाब दिइरहेको महसुस हुन्छ भने समय घटाउनुपर्छ। सायद चार घण्टा वा साढे तीन घण्टा। आफ्नै अनुभव परीक्षण गरेर सन्तुलन खोज्नुपर्छ। होफमान : यो कुरा बर्लिनमा मैले चिनेका मानिसहरूको जीवनमा कसरी लागु हुन्छ भनेर सोचिरहेको छु। कसैको दैनिक जीवन तनावपूर्ण छ भने एक घण्टा ‘पिलाटेस’ गर्नुको सट्टा आधा घण्टा गर्नुपर्छ भन्नुभएको हो? एक घण्टा दौडिनुको सट्टा ३० मिनेट दौडने? अनि हरेक बिहान २० मिनेट ध्यान गर्नुको सट्टा १० मिनेट ध्यान गर्ने? वाङ्गेल : यदि त्यो दिनचर्याले दुःख दिइरहेको छ र आफूलाई अत्यधिक दबाब दिइरहेको महसुस हुन्छ भने समय घटाउनु उपयुक्त हुन सक्छ। बुद्धले मध्यम मार्ग, अर्थात् सन्तुलनको महत्त्व सिकाउनुभएको छ। एउटा बाजाको तारको उदाहरण छ। तार धेरै खुकुलो भयो भने राम्रो ध्वनि निस्कँदैन। धेरै कसियो भने पनि राम्रो ध्वनि निस्कँदैन। ठीक मात्रामा कसिएको हुनुपर्छ। साधना पनि त्यस्तै हो। आफूलाई अत्यधिक दबाब दियौँ भने दुःख हुन्छ। धेरै आराम गरेर कुनै प्रयास नै गरेनौँ भने प्रगति नहुन सक्छ। सन्तुलन खोज्नुपर्छ। होफमान : तर तार अत्यधिक कसिएको छ भन्ने कहिलेकाहीँ थाहा पाउनै गाह्रो हुन्छ। मानिस हप्तौँ वा महिनौँसम्म आफ्नो दिनचर्यामा यति व्यस्त हुन सक्छ कि दुःख भोगिरहेको छ भन्ने पनि महसुस हुँदैन। यसबाट हामी बौद्ध धर्मबारे प्रायः सुनिने एउटा कुरामा आइपुग्यौँ– जीवन दुःख हो। मानिसहरू यो कुरा सुन्छन् र कहिलेकाहीँ आफूले दुःख भोग्नैपर्छ भन्ने स्वीकार गरेजस्तो देखिन्छ। उनीहरू बिहान उठ्छन्, जिम जान्छन् र त्यहाँ एक–दुई घण्टा दुःख भोग्छन्। त्यसपछि काममा जान्छन् र आठ घण्टा दुःख भोग्छन्। अनि ठुलो सहरको अपार्टमेन्टमा फर्कन्छन्, जहाँ वरपर पर्याप्त प्रकृति पनि नहुन सक्छ, र त्यहाँ पनि दुःख भोग्छन्। त्यसो भए जीवन वास्तवमै केका लागि हो? वाङ्गेल : बुद्धले दुःख जीवनको एउटा हिस्सा हो भन्नुभयो, तर त्यसलाई कसरी बुझ्ने र सामना गर्ने भन्ने पनि सिकाउनुभयो। चार आर्यसत्य र आर्य अष्टाङ्गिक मार्गबाट मैले बुझेको कुरा भनेको दुःखलाई कसरी सम्हाल्ने भन्ने सिक्नुपर्छ। पहिलो चरण दुःख पहिचान गर्नु हो। समस्या छ भन्ने थाहा पाउनुपर्छ। त्यसपछि दुःखको उत्पत्ति वा कारण बुझ्नुपर्छ। हामी किन दुःखी हुन्छौँ? मानव जीवनमा यी समस्या किन अनुभव गर्छौँ? समस्या र त्यसको कारण बुझिसकेपछि अन्त्य गर्ने मार्ग खोज्न सक्छौँ। दुःखबाट मुक्त हुनु नै बौद्ध धर्ममा निरोध वा मुक्तिको अवस्था हो। यसलाई दैनिक जीवनमा पनि लागु गर्न सकिन्छ। हाम्रा विचार, अपेक्षा, डर, शङ्का, क्रोध, घृणा, इच्छा र अज्ञानताका कारण हामी दुःखी हुन्छौँ। नकारात्मक भावना र विचार दुःखका स्रोत बन्न सक्छन्। ती विचार कसरी उत्पन्न हुन्छन् र तिनलाई कसरी उपयोगी कुरामा रूपान्तरण गर्ने भनेर बुझ्नुपर्छ। बुद्धका शिक्षालाई कहिलेकाहीँ औषधिसँग तुलना गरिन्छ। एउटै औषधिले सबै रोग निको पार्दैन। चिकित्सकले बिरामीको परीक्षण गर्छ र रोगअनुसार औषधि दिन्छ। त्यस्तै फरक व्यक्तिलाई फरक साधना वा शिक्षा आवश्यक हुन सक्छ। आध्यात्मिक गुरुले व्यक्तिको अवस्था र अनुभवअनुसार मार्गदर्शन दिन सक्छन्। उपयुक्त शिक्षा अपनायौँ भने क्रमशः समस्या वा दुःखबाट मुक्त हुन सक्छौँ। एउटा मोबाइल फोनको उदाहरण लिऔँ। फोनले काम गरिरहेको छैन भने पहिले समस्या के हो भनेर पत्ता लगाउनुपर्छ। ब्याट्रीमा समस्या हो कि स्क्रिन बिग्रिएको हो? कि अरू कुनै भाग खराब छ? यो दुःख पहिचान गर्ने पहिलो चरणजस्तै हो। त्यसपछि फोन किन बिग्रियो भनेर सोध्नुहुन्छ। भुइँमा खसेको थियो कि पानी पसेको थियो? कि पुरानो भएर बिग्रिएको हो? कारण खोज्नु दुःखको उत्पत्ति बुझ्नेजस्तै हो। त्यसपछि फोन मर्मत गर्न जान्ने व्यक्तिकहाँ लैजानुहुन्छ। उसले समाधान पत्ता लगाएर फोन बनाउन सक्छ। यो दुःख अन्त्य गर्ने मार्ग अनुसरण गरेजस्तै हो। फोन फेरि चल्न थाल्यो र समस्या समाधान भयो भने त्यो दुःखको निरोधजस्तै हो। यो सरल उदाहरण हो, तर प्रक्रियालाई बुझाउन सहयोग गर्छ। होफमान : तर तपाईंको उदाहरणले सधैँ केही न केही मर्मत गर्नुपर्ने हुन्छ भन्ने देखाउँछ। फोन बिग्रिएको छ भने सामान्यतया समस्या पहिचान गर्न सकिन्छ। तर आफ्नो मनलाई हेर्दा त्यो बिग्रिएको छ कि छैन भनेर मैले कसरी थाहा पाउने? वास्तवमै केही गम्भीर समस्या छ कि मेरो दिन मात्र नराम्रो भइरहेको हो? सायद त्यो क्षणिक मनोदशा वा अस्थायी अवस्था मात्र हो। मानिसको मन बुझ्नु फोन जाँच्नुभन्दा धेरै जटिल देखिन्छ। अनि विशेषज्ञ को हो? मनोवैज्ञानिक? मस्तिष्क अध्ययन गर्ने चिकित्सक? कि ध्यान शिक्षक? वाङ्गेल : हामी मार्गदर्शनका लागि गुरु वा अरू मानिसमा भर पर्न सक्छौँ। तर अन्ततः आफ्नै मनको अवलोकन गर्नुपर्छ। म आफ्नो मन कसरी काम गर्छ भन्ने बुझ्ने व्यक्ति बन्नुपर्छ। तपाईंले पनि आफ्नो मनको अवलोकन गर्न सिक्नुपर्छ। ध्यानमार्फत विभिन्न अवस्थामा के भइरहेको छ भनेर हेर्न सक्छौँ। एक्लै हुँदा मनले कस्तो व्यवहार गर्छ? साथीसँग हुँदा कस्तो हुन्छ? आफ्ना विचारप्रति सचेत हुँदा के हुन्छ र ध्यान नदिँदा के हुन्छ? यसरी अवलोकन गर्दै जाँदा क्रमशः यी कुरा बुझ्न सक्छौँ। होफमान : तर तपाईंले धर्मग्रन्थ अध्ययन गर्नुपर्छ र आध्यात्मिक गुरु अनुसरण गर्नुपर्छ पनि भन्नुहुन्छ। आफ्नै मन बुझ्न सक्ने हो भने ती कुरा किन चाहियो? वाङ्गेल : ग्रन्थ र शिक्षाले निर्देशन दिन्छन्। मन, जीवन र आफूले अनुसरण गरिरहेको बाटोबारे अझ धेरै जान्न सहयोग गर्छन्। होफमान : त्यसो भए मानिसले कहिले आफ्नै मनको सहारा लिनुपर्छ र कहिले गुरु, धर्मग्रन्थ वा अर्को विशेषज्ञसँग परामर्श गर्नुपर्छ? वाङ्गेल : दैनिक जीवनमा आफ्ना विचार र भावनाको प्रत्यक्ष अनुभव हामीसँग हुन्छ। आफ्नो मनमा के भइरहेको छ भन्ने कुरा प्रायः अरूभन्दा बढी हामी आफैँलाई थाहा हुन्छ। तर आफूले कहिल्यै अनुभव नगरेको, नपढेको वा अभ्यास नगरेको कुरा बुझ्नुपर्‍यो भने बढी अनुभव भएको व्यक्तिसँग मार्गदर्शन लिन सक्छौँ। ग्रन्थबाट पनि सिक्न सक्छौँ। उदाहरणका लागि हामी रिसाउँदा तत्काल प्रतिक्रिया दिन सक्छौँ। जनावरले पनि खतरा वा क्रोध महसुस गर्दा प्रतिक्रिया दिन्छन्। तर आफ्नो क्रोध नियन्त्रण गर्न वा विवेकपूर्ण प्रतिक्रिया दिन अनुभव, मार्गदर्शन र बारम्बार अभ्यास आवश्यक हुन सक्छ। रिस उठ्दा कसरी सम्हालिने र कसरी व्यवहार गर्ने भन्ने कसैसँग सिक्नुपर्न सक्छ। होफमान : यो त एकदम सजिलो सुनियो। वाङ्गेल : हो, सिद्धान्तमा सजिलो सुनिन्छ। होफमान : सिद्धान्तमा त लगभग सबै कुरा बुझाउन सकिन्छ। तर आफ्नै जीवनमा लागु गर्न खोज्दा समाधान त्यति सजिलो नहुन सक्छ। वाङ्गेल : त्यो सही हो। हामी असफल हुन सक्छौँ, तर फेरि प्रयास गर्न सक्छौँ। मानौँ आज मैले आफ्नो रिस नियन्त्रण गर्न सकिनँ। पछि रिस शान्त भएपछि के भएको थियो भनेर सोच्न सक्छु। कुन बिन्दुमा नियन्त्रण गुमाएँ? के भनेँ? कस्तो प्रतिक्रिया दिएँ? त्यसबेला मेरो मनमा के भइरहेको थियो? अनुभवको समीक्षा गरेर कहाँ गल्ती गरेँ भनेर बुझ्न सक्छु। त्यसपछि फेरि रिस उठाउने परिस्थिति आयो भने पहिले सिकेको कुरा प्रयोग गर्ने प्रयास गर्न सक्छु। यस्तो अवलोकन र अभ्यास बारम्बार दोहोर्‍याउनुपर्छ। ‘जीवनलाई अलि कम गम्भीर रूपमा लिनु हुँदैन?’ होफमान : तपाईं एलन वाट्सलाई चिन्नुहुन्छ? वाङ्गेल : माफ गर्नुहोला, म उहाँलाई चिन्दिनँ। होफमान : उहाँ ताओवाद र विभिन्न धार्मिक तथा दार्शनिक परम्पराको अध्ययन गर्ने दार्शनिक र लेखक हुनुहुन्थ्यो। हामी सबै एउटा विशाल ब्रह्माण्डीय नृत्यको हिस्सा भएकाले जीवनलाई अत्यधिक गम्भीर रूपमा लिनुहुँदैन भन्ने उहाँको विचार थियो। त्यो नृत्य निरन्तर चलिरहेको छ र विकसित भइरहेको छ। तर गुम्बामा आउँदा म आध्यात्मिक साधनालाई अत्यन्त गम्भीरतापूर्वक लिने मानिसहरू देख्छु। वाङ्गेल : साँच्चै? तपाईंलाई उनीहरू धेरै गम्भीर लाग्छन्? होफमान : हो। तपाईंलाई नै भनेको होइन, तर धेरैलाई। तपाईं परम्परा, नियम र गुरु अनुसरण गर्ने कुरा गर्नुहुन्छ। मलाई यो निकै गम्भीर सुनिन्छ। हिजो काठमाडौँमा हिँड्दा सडकमा एक जना महिलाले दण्डवत् प्रणाम गरिरहेको देखेँ। कतिपय मानिस ठूला बौद्ध धार्मिक कार्यक्रमसँग जोडिएर लामो दूरीसम्म दण्डवत् प्रणाम गर्दै यात्रा गर्छन् भन्ने पनि सुनेको छु। यो त ठुलो मेहनत र त्यागजस्तो लाग्छ। वाङ्गेल : हो। यो गम्भीर कुरा हो, तर भक्तिभावबाट आउँछ। म यसलाई त्याग भन्छु। हामीले अघि मिलारेपाबारे कुरा गरेका थियौँ। जीवनको प्रारम्भमा उहाँले आमाको बदलाको चाहना पूरा गर्न आफूलाई समर्पित गर्नुभयो। पछि आध्यात्मिक साधना र बुद्धत्व प्राप्तिको लक्ष्यमा जीवन समर्पित गर्नुभयो। दुवै अवस्थामा ठुलो त्याग गर्नुभयो, यद्यपि लक्ष्य धेरै फरक थिए। गम्भीर साधकका लागि आध्यात्मिक अभ्यासमा ठुलो प्रतिबद्धता चाहिन सक्छ। भिक्षुका रूपमा हामी कहिलेकाहीँ आफूसँग प्रशस्त समय छ भन्ने सोच्छौँ, किनकि गुम्बामा बस्छौँ र नियमित शिक्षा पाउँछौँ। तर वास्तवमा हामीसँग पनि समय सीमित छ। दिनहुँ शिक्षा सुन्न पाइने भएकाले त्यसमा अभ्यस्त हुन्छौँ। कहिलेकाहीँ अलि हल्का रूपमा लिन्छौँ र जति गम्भीरतापूर्वक अभ्यास गर्नुपर्ने हो, त्यति गर्दैनौँ। तर धेरै समर्पणका साथ साधना गर्ने भिक्षु र अरू साधक पनि छन्। कतिपय सार्वजनिक रूपमा देखाउँदैनन्। उनीहरू चुपचाप साधना जारी राख्छन्। होफमान : तर के हामी सबैले जीवनलाई अलि कम गम्भीर रूपमा लिनु हुँदैन? गम्भीर साधना गर्ने भिक्षु, दण्डवत् प्रणाम गर्ने तीर्थयात्री, आगन्तुक र अहिले यहाँ गम्भीर प्रश्न सोधिरहेको मसमेत? वाङ्गेल : यो व्यक्तिको भक्तिभाव, रुचि, आस्था र परिस्थितिमा निर्भर हुन्छ। कतिपय साधकलाई आफूसँग धेरै समय छैन भन्ने लाग्छ। उनीहरू टाढाबाट आउँछन्। हवाई टिकट, भिसा र अरू खर्च तिर्छन्। सीमित समयका लागि गुम्बामा शिक्षा लिन आउँछन्। उनीहरूका लागि त्यो अवसर निकै मूल्यवान् हुन्छ। त्यसैले प्रत्येक क्षण गम्भीरतापूर्वक उपयोग गर्न चाहन्छन्। होफमान : यहाँ गुम्बाले तीन हजारभन्दा बढी सहभागीलाई निःशुल्क शिक्षा, खाना, पेयपदार्थ र अरू सहयोग उपलब्ध गराइरहेको छ। यो साँच्चिकै असाधारण कुरा हो। मलाई यो गुम्बाको मन पर्ने पक्ष के हो भने यसले मानिसलाई हरेक तरिकाले सहयोग गर्ने प्रयास गर्छ। वाङ्गेल : हो। यो धर्मको शक्ति हो। मैले बुझेसम्म पर्यटन र होटल व्यवसायसँग सम्बन्धित केही मानिसले गुनासोसमेत गरेका छन्, किनकि होटलमा बस्न सक्ने आगन्तुकलाई गुम्बाले सहयोग र बस्ने सुविधा दिइरहेको छ। तर मानिसहरू शिक्षामा सहभागी हुन सकून् भनेर गुम्बाले यी सुविधा उपलब्ध गराइरहेको छ। धेरै आगन्तुकका लागि यो दुर्लभ अवसर हुन सक्छ। उनीहरू टाढाबाट आएका हुन्छन् र समय सीमित हुन्छ। त्यसैले त्यो समय गम्भीरतापूर्वक उपयोग गर्न चाहन्छन्। यहाँ शिक्षा ग्रहण गरिरहेका अरू भिक्षु र भिक्षुणी केही समयपछि एकान्त साधनामा जान सक्छन्। तीन महिना, छ महिना वा तीन वर्षसम्म सघन साधना गर्न सक्छन्। त्यसैले मानिसहरूले साधनालाई फरक ढङ्गले अपनाउँछन्। होफमान : तर अलि कम गम्भीर भएर पनि त गर्न सकिन्छ नि? वाङ्गेल : कहिलेकाहीँ कुनै कुरालाई अत्यधिक हल्का रूपमा लिनु पनि राम्रो हुँदैन। पर्याप्त गम्भीरतापूर्वक लिएनौँ भने त्यो काम गर्दै नगर्न सक्छौँ। उपयुक्त सन्तुलन खोज्नुपर्छ। ‘अध्ययन गरेन भने परम्पराको निरन्तरता टुट्न सक्छ’ होफमान : मैले यसअघि एक जना व्यक्तिसँग संवाद गरेको थिएँ। उनले भनेका थिए, ‘हामी आफैँलाई सबैभन्दा बढी आवश्यक पर्ने कुरा अरूलाई सबैभन्दा राम्रोसँग सिकाउँछौँ।’ तपाईं यो भनाइ स्वीकार गर्नुहुन्छ भने भिक्षुहरू किन भिक्षु बन्छन्? वाङ्गेल : विनय परम्परालगायत बौद्ध मठीय ग्रन्थअनुसार भिक्षु बन्न चाहने व्यक्तिमा वैराग्यको भावना विकास भएको हुनुपर्छ। यसको अर्थ सामान्य सांसारिक जीवनप्रतिको आसक्ति त्याग्ने चाहना हो। व्यक्तिलाई सांसारिक सुख र आकर्षण पर्याप्त भइसकेको अनुभूति हुन्छ र आध्यात्मिक बाटो अनुसरण गर्न चाहन्छ। शिक्षामा यही वर्णन गरिएको छ। तर आफ्नो अनुभव हेर्दा म भिक्षु बन्ने बेला मसँग त्यस्तो विचार थिएन। हाम्रो समुदायमा, विशेषगरी हिमाली क्षेत्रमा, आमाबुवा र पुर्खाले बौद्ध धर्म संरक्षण गर्न र यसका शिक्षा अर्को पुस्तासम्म पुर्‍याउन ठुलो प्रयास गर्नुभएको छ। उहाँहरूले आध्यात्मिक परम्पराको निरन्तरता कायम राख्नुभयो, गुम्बा निर्माण गर्नुभयो र गुरुहरूलाई सहयोग गर्नुभयो। यी परम्परा एक पुस्ताबाट अर्को पुस्तामा जाऊन् भन्ने चाहनुभयो। अब संरक्षण गरेर भावी पुस्तालाई हस्तान्तरण गर्ने जिम्मेवारी हाम्रो पुस्ताको हो। हामीले वास्ता गरेनौँ, कोही गुम्बामा गएन, शिक्षा अध्ययन गरेन वा अरूसँग बाँडेन भने यीमध्ये केही परम्परा हराउन सक्छन्। तिनको निरन्तरता टुट्न सक्छ। हाम्रा पुर्खाले धेरै गुम्बा बनाउनुभयो र शिक्षा संरक्षण तथा विस्तारका लागि सम्पत्ति, समय र कहिलेकाहीँ सम्पूर्ण जीवन त्याग्नुभयो। बौद्ध शिक्षा भारतबाट तिब्बत र तिब्बतबाट हिमाली क्षेत्रका अरू भागसम्म पुग्यो। विभिन्न परम्परा चीन र जापानलगायत अन्य देशमा फैलिएका थिए भने दक्षिण तथा दक्षिणपूर्वी एसियामा अरू बौद्ध परम्परा विकसित भए। धेरै मानिसले यी शिक्षाको संरक्षण र पुस्तान्तरणका लागि जीवन समर्पित गरे। होफमान : तर ती शिक्षाको संरक्षण गर्नु किन यति महत्त्वपूर्ण छ? वाङ्गेल : किनकि मेरो विश्वासमा तिनले मानिसलाई सहयोग गर्छन्। तिनले हाम्रो जीवनमा उज्यालो ल्याउँछन्। केही लेखकले बुद्धलाई ‘एसियाको ज्योति’ भनेका छन्। म बुद्धलाई संसारकै ज्योति भन्छु। बौद्ध धर्मको इतिहास हेर्दा बौद्ध समुदायले शिक्षा र ज्ञान संरक्षणमा महत्त्वपूर्ण योगदान गरेको देखिन्छ। भारतका नालन्दा, विक्रमशिला र तक्षशिलाजस्ता ऐतिहासिक शिक्षाकेन्द्रलाई हेरौँ। बौद्ध विद्वान्, गुरु र संरक्षकहरू महत्त्वपूर्ण शैक्षिक परम्परासँग जोडिएका थिए। मेरो विचारमा शिक्षा समाजको विकासको एउटा प्रमुख आधार हो। विश्वविद्यालयले विद्वान्, वैज्ञानिक, इन्जिनियर र समाजमा योगदान गर्ने मानिस तयार गर्छन्। बौद्ध शिक्षाले अध्ययन र प्रज्ञाको विकासलाई प्रोत्साहन गरेको थियो। हामी आफैँ आफ्ना लागि ज्योति बन्नुपर्छ भन्ने शिक्षा पनि छ। तपाईं आफ्ना लागि ज्योति बन्नुभयो भने आफ्नो जीवन मात्र उज्यालो हुँदैन, अरू कसैलाई पनि बाटो देखाउन सक्नुहुन्छ। होफमान : अनि खुसीलाई राष्ट्रिय लक्ष्यका रूपमा महत्त्व दिने देशहरूमा पनि यी विचारको प्रभाव देख्न सकिन्छ। वाङ्गेल : हो। नेपाल र हिमाली क्षेत्रलाई हेर्दा म अर्को कुरा पनि सोच्छु। यहाँ धेरै बौद्ध गुम्बा, स्तूप र पवित्र स्थान छन्। पदयात्राका लागि मानिसहरू पुग्ने धेरै हिमाललाई बौद्ध परम्परामा पवित्र मानिन्छ। ती परम्पराअनुसार महान् बौद्ध गुरुहरू यी ठाउँमा पुगेर साधना गरेका थिए। उनीहरूले यस क्षेत्रका मानिसको भविष्यको कल्याणका लागि प्रार्थना र आशीर्वाद दिएको विश्वास गरिन्छ। म हिमालहरू हेर्छु, ती हेर्न कति मानिस आउँछन् भन्ने देख्छु र पर्यटनले यस क्षेत्रका मानिसको जीवनयापनमा कसरी सहयोग गरिरहेको छ भन्ने सम्झन्छु। त्यसबेला विगतका गुरुहरू र उहाँहरूको कामनाबारे सोच्ने गर्छु। आध्यात्मिक दृष्टिकोणबाट हेर्दा मानिसहरूले यी स्थानबाट पाइरहेको लाभलाई म विगतका गुरुहरूको आशीर्वाद र प्रार्थनासँग पनि जोडेर हेर्छु। ‘सांसारिक र आध्यात्मिक जीवनबीच सेतु बन्न चाहन्छु’ होफमान : आफ्नो भविष्यबारे तपाईंको दृष्टिकोण के छ? वाङ्गेल : मैले अघि पनि भनेँ, म सांसारिक र आध्यात्मिक जीवनबीच सेतु बन्न चाहन्छु। यी दुईबीचको दूरी घटाउन र एकअर्कालाई राम्रोसँग बुझ्न सहयोग गर्न चाहन्छु। आध्यात्मिक शिक्षाप्रति जिज्ञासु धेरै मानिस छन्, तर उनीहरू परम्परागत भाषा वा अभ्यास बुझ्दैनन्। मैले सिकेका कुरा बाँड्न र त्यसलाई उनीहरूका लागि बुझ्न सजिलो बनाउन चाहन्छु। मेरो आशा यही हो। होफमान : अनि मानवताको भविष्यबारे तपाईंको दृष्टिकोण के छ? वाङ्गेल : मानिसले जीवनलाई सांसारिक र आध्यात्मिक दुवै दृष्टिकोणबाट हेर्नु महत्त्वपूर्ण छ भन्ने लाग्छ। हामीले वरपरको संसार बुझ्नुपर्छ, तर आफ्नो भित्री जीवन पनि बुझ्नुपर्छ। बुद्धको जीवनकथा हेर्ने हो भने प्रकृतिको महत्त्व देखिन्छ। परम्पराअनुसार बुद्धको जन्म रूखमुनि भयो, उहाँले रूखमुनि बुद्धत्व प्राप्त गर्नुभयो, प्राकृतिक वातावरणमा शिक्षा दिनुभयो र रूखहरूकै बीच महापरिनिर्वाण प्राप्त गर्नुभयो। जन्मदेखि अन्तिम समयसम्म उहाँको जीवनमा प्रकृति उपस्थित थियो। यसले हाम्रो जीवनमा वातावरणको महत्त्वबारे पनि केही सिकाउँछ भन्ने मलाई लाग्छ। आजकल तनाव महसुस हुँदा कोही पदयात्रामा जान्छन्, कोही हिमाल चढ्छन् र अरू वन वा प्राकृतिक स्थानमा पुग्छन्। प्रकृतिसँग हुँदा मानिसलाई शान्त महसुस हुन र तनावबाट बाहिर निस्कन सहयोग पुग्न सक्छ। मानिस र प्रकृतिबीचको यो सम्बन्ध अत्यन्त महत्त्वपूर्ण छ। वातावरण संरक्षण, जलवायु परिवर्तनको सामना र वृक्षरोपणबारे पनि सोच्नुपर्छ। मैले बोधिवृक्ष र त्यसको प्राणवायु तथा वातावरणसँगको सम्बन्धबारे गरिएका केही दाबी पढेको छु। तर त्यसभन्दा बाहिर म त्यसका पातमा प्रतीकात्मक अर्थ देख्छु। बोधिवृक्षको पातको आकार मुटुजस्तो हुन्छ र त्यसको टुप्पो चुच्चो हुन्छ। मेरा लागि मुटुको आकारले दया, प्रेम र हेरचाह जनाउँछ। त्यो आफू वा अरू मानिसप्रति मात्र होइन, जनावर र प्रकृतिप्रतिको पनि हो। चुच्चो टुप्पोले प्रज्ञा, बुद्धि र स्पष्टता जनाउन सक्छ। त्यसैले यो रूखले मलाई करुणा र प्रज्ञालाई सँगै लैजानुपर्ने महत्त्व सम्झाउँछ। यी विचार दैनिक जीवन र आध्यात्मिक जीवन दुवैमा लागु गर्न सकिन्छ। यहाँका शिक्षामा हामी मनको स्वभावबारे बारम्बार सुन्छौँ। वन, हिमाल र अरू प्राकृतिक स्थानमा गएर बाहिरी प्रकृतिसँग नजिक हुँदा आफ्नै भित्री स्वभावबारे पनि केही बुझ्न थाल्छौँ भन्ने मलाई लाग्छ। बाहिरी संसार र हाम्रो भित्री संसार एकअर्कासँग जोडिएका छन्। होफमान : निकै राम्रो कुरा गर्नुभयो। अन्त्यतिर म केही छोटा प्रश्न सोध्न चाहन्छु। यदि तपाईंले ब्रह्माण्ड वा बुद्धलाई एउटा प्रश्न सोध्ने अवसर पाउनुभयो र त्यसको उत्तर अवश्य पाइन्छ भन्ने थाहा भयो भने के सोध्नुहुन्थ्यो? वाङ्गेल : मैले यस्तो अवसरबारे साँच्चिकै कहिल्यै सोचेको छैन। तर बुद्धलाई एउटा प्रश्न सोध्न पाउने भए म सायद यस्तो सोध्थेँ– सांसारिक जीवन बिताइरहेका मानिसलाई तपाईंका शिक्षा बुझ्न र अनुसरण गर्न कसरी सहयोग गर्न सक्छु? ती शिक्षा जान्न र बुझ्न मानिसलाई कसरी प्रेरित वा प्रोत्साहित गर्न सक्छु? होफमान : म संवाद गर्दा पाहुनाहरूलाई आफूलाई प्रभाव पारेका किताब, चलचित्र, सङ्गीत वा अरू कुरा सिफारिस गर्न पनि भन्छु। तपाईं केही सिफारिस गर्न चाहनुहुन्छ? वाङ्गेल : मलाई बौद्ध दर्शनमा बढी रुचि भएकाले म जोङ्सार जाम्याङ खेन्चे रिन्पोछेको पुस्तक ह्वाट मेक्स यू नट अ बुद्धिस्ट सिफारिस गर्छु। अर्को पुस्तक क्रेजी विज्डम हो। होफमान : ह्वाट मेक्स यू नट अ बुद्धिस्ट र क्रेजी विज्डम। अनि चलचित्र? वाङ्गेल : मलाई स्कारलेट जोहानसन अभिनीत लुसी मन पर्छ। यसले मनबारे प्रश्न उठाउने भएकाले रोचक लाग्छ। अर्को इन्सेप्सन हो, जसले मन र अवचेतन मनबारे कुरा गर्छ। बलिउडबाट चाहिँ पीके सिफारिस गर्छु। होफमान : मैले पीके हेरेको छु। मलाई त्यो चलचित्र निकै मन पर्छ। अब स्रोताहरूले दैनिक जीवनमा प्रयोग गर्न सक्ने एउटा सरल अभ्यास वा उपाय के हुन सक्छ? वाङ्गेल : म श्वासप्रश्वासको अभ्यास सिफारिस गर्छु। यो सरल छ र लगभग जहाँसुकै गर्न सकिन्छ। गाडीमा बस्दा, बाथरुममा हुँदा वा कफी पिउँदा समेत गर्न सक्नुहुन्छ। तीनपटक, सातपटक वा केही सेकेन्ड मात्र आफ्नो सासमा ध्यान दिन सक्नुहुन्छ। लामो अभ्यास हुनुपर्छ भन्ने छैन। छोटो समय ध्यान दिनु पनि उपयोगी हुन सक्छ। होफमान : तपाईंको विचारमा प्रत्येक मानिसले आफूलाई बारम्बार सोध्नुपर्ने प्रश्न के हो? वाङ्गेल : म सामान्यतया आफूलाई तीनवटा प्रश्न सोध्ने प्रयास गर्छु। पहिलो, मैले गरिरहेको काम मेरा लागि उपयोगी छ? दोस्रो, समाज र वरपरका मानिसका लागि उपयोगी छ? तेस्रो, यो आवश्यक छ? यी तीन प्रश्नले मलाई आफ्ना कामबारे सोच्न सहयोग गर्छन्। होफमान : यो बातचितबाट मानिसहरूले सबैभन्दा महत्त्वपूर्ण कुन कुरा बुझून् भन्ने चाहनुहुन्छ? वाङ्गेल : बुद्धका शिक्षाको महत्त्व। होफमान : सायद यो पनि उस्तै प्रश्न हो, तर राम्रो, अर्थपूर्ण र सत्यनिष्ठ जीवन जिउन के आवश्यक हुन्छ? वाङ्गेल : आफूले गर्ने कामबाट कसैलाई हानि नपुगोस् भन्ने सुनिश्चित गर्नुस्। जे गर्नुहुन्छ, सोच्नुहुन्छ, लेख्नुहुन्छ वा बोल्नुहुन्छ, त्यसबाट हानि नहोस् भन्ने प्रयास गर्नुस्। सम्भव भए त्यसभन्दा एक कदम अघि बढ्नुस्। आफ्ना काम आफू र अरू दुवैका लागि लाभदायक बनाउने प्रयास गर्नुस्। होफमान : अन्तिम प्रश्न। अहिले संसारलाई सबैभन्दा बढी के आवश्यक छ भन्ने लाग्छ? वाङ्गेल : अरूको महत्त्व बुझ्नु र दैनिक जीवनमा भइरहेका कुराको कदर गर्नु। (यो सम्पादित संवाद नेपालन्युज र ‘स्टिल ह्युमन : कन्भर्सेसन्स फर अ चेन्जिङ वर्ल्ड’का प्रस्तोता रोबिन लियो होफमानबीचको सहकार्यअन्तर्गत प्रस्तुत गरिएको हो। मूल बातचितको सम्पूर्ण भिडियो तल उपलब्ध छ।)

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

सभापति थापाको दसैं शुभकामना : आफ्नो खुसी बाँड्न सकौं, एकअर्काको सहारा बन्न सकौं
ताजा खबरJust now

सभापति थापाको दसैं शुभकामना : आफ्नो खुसी बाँड्न सकौं, एकअर्काको सहारा बन्न सकौं

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् भनी शुभकामना व्यक्त गरेका छन् । ...

कान्तिपुर
मध्यस्थता प्रयासबीच इरानी राष्ट्रपतिले आसिम मुनीरसँग भने, ‘अमेरिकाले धम्की र प्रतिबन्धको नीति त्यागोस्’
ताजा खबरJust now

मध्यस्थता प्रयासबीच इरानी राष्ट्रपतिले आसिम मुनीरसँग भने, ‘अमेरिकाले धम्की र प्रतिबन्धको नीति त्यागोस्’

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाले दबाब, धम्की र प्रतिबन्धको नीति नत्यागेसम्म वार्ताबाट समाधान ननिस्किने बताएका छन्। मंगलबार इरानी राष्ट्रपति पेजेस्कियान र पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल आसिम मुनीरबीच भएको भेटवार्तामा उनले यस्तो धारणा राखेका हुन्। इरान सरकारका अनुसार पेजेस्कियानले होर्मुज जलडमरूमध्यमा उत्पन्न अवरोधसहित क्षेत्रीय तनाव बढ्नुमा अमेरिकाको युद्ध भड्काउने नीतिको भूमिका रहेको बताएका थिए। […] ...

काठमाण्डुपाटी
बडादसैंले समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्न सकोस् : सभापति लामिछाने
ताजा खबरJust now

बडादसैंले समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्न सकोस् : सभापति लामिछाने

रास्वपा सभापति रवि लामिछानेले नवदुर्गा भवानीले सबैलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति, सद्बुद्धि र सङ्कटसँग जुध्ने साहस प्रदान गरून् भन्ने कामना ग गरेका छन् । ...

कान्तिपुर
ट्रम्पले भने– भारतसँगको व्यापार सम्झौता निकै नजिक
ताजा खबरJust now

ट्रम्पले भने– भारतसँगको व्यापार सम्झौता निकै नजिक

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीचको व्यापार सम्झौता अन्तिम रूप दिने चरणमा पुगेको बताएका छन् । मङ्गलबार ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले दुवै देश सम्झौता गर्न इच्छुक रहेको बताए। भारत–अमेरिका व्यापार सम्झौतासम्बन्धी प्रश्नमा उनले भने, ‘भारत सम्झौता गर्न चाहन्छ । हामी पनि सम्झौता गर्नेछौँ । हामी सम्झौताको निकै नजिक छौँ ।’ ट्रम्पले दुई देशबीच हुने सम्झौता यसअघि ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play