अडियो प्रकरणमा खगेन्द्र सुनारको इन्कारी जवाफ, अब छानबिन प्राविधिक परीक्षणतर्फ

काठमाडौं । विवादित अडियो प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफ्नो संलग्नता अस्वीकार गरेपछि पार्टीको छानबिन प्राविधिक परीक्षणतर्फ अघि बढेको छ। सुनारले पार्टीको अनुशासन आयोगअन्तर्गतको छानबिन समितिलाई लिखित रूपमा जवाफ दिँदै सार्वजनिक भएको अडियोमा सुनिएको आवाज आफ्नो नभएको दाबी गरेका छन्। अनुशासन समितिका उपप्रमुख तथा छानबिन समिति संयोजक अधिवक्ता हरिचन्द्र भट्टराईका अनुसार सुनारले अडियो संवाद आफ्नो नभएको भन्दै लिखित इन्कारी पत्र दिएका छन्। उनका अनुसार सुनारले सामाजिक सञ्जालमार्फत यसअघि सार्वजनिक गरेका दाबीहरूकै आधारमा लिखित जवाफ दिएका हुन्। सुनारले अडियो आफ्नो नभएको दाबी गरेपछि छानबिन समितिले अब प्रमाण संकलनमा जोड दिएको छ। समितिले अडियो सार्वजनिक गर्ने जनआस्था पत्रिकासँग सम्पादन हुनुअघिको मूल अडियो प्राप्त गरेको छ। साथै, पीडित भनिएकी महिलाको नाममा प्रसारित अन्तर्वार्ताको अडियो उपलब्ध गराउन न्युज २४ लाई पत्राचार गरिएको समितिले जनाएको छ। समितिका संयोजक भट्टराईका अनुसार संकलित अडियोको आन्तरिक रूपमा प्रमाणीकरण गरिनेछ। आवश्यक परे प्राविधिक परीक्षणका लागि सम्बन्धित निकायमा पठाउने तयारी समितिको छ। उनका अनुसार प्राविधिक परीक्षण पूरा भएपछि सुनारसँग थप सोधपुछ गरिनेछ। प्राविधिक परीक्षणमा लाग्ने समयअनुसार छानबिनको अन्तिम प्रक्रिया अघि बढ्नेछ। अन्य पक्षको अनुसन्धान भने धेरै अघि बढिसकेको समितिले जनाएको छ। विवादित अडियो सार्वजनिक भएपछि सुनारले त्यसलाई एआईलगायत प्रविधिको प्रयोग गरेर बनाइएको भन्दै आफ्नो बचाउ गर्दै आएका छन्। प्रहरीमा भएको भ्रष्टाचारसम्बन्धी विषय उठाएपछि आफूलाई निरन्तर निशाना बनाइएको उनको दाबी छ। सामाजिक सञ्जालमार्फत उनले सार्वजनिक भएका आरोपहरू झुटा र एआईलगायत प्रविधिबाट तयार गरिएका प्रचार भएको दाबी गरेका थिए। अडियो सार्वजनिक भएपछि रास्वपाले पनि घटनालाई गम्भीर रूपमा लिँदै सांसद सुनारमाथि आन्तरिक छानबिन गर्न अनुशासन आयोगलाई निर्देशन दिएको थियो। छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुनसमेत निर्देशन दिइएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

‘बाटुलो जून’को डान्सिङ नम्बर ‘अल्लारे ठिटो आयो’
काठमाडौं । अनमोल केसी अभिनीत चलचित्र ‘बाटुलो जून’मा समावेश डान्सिङ नम्बर ‘अल्लारे ठिटो आयो’ सार्वजनिक गरिएको छ । यही कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको उक्त गीत निर्माण टिमले युट्युबमार्फत वर्ल्ड प्रिमियर गरेको हो । सार्वजनिक गीतको भिडियोमा अनमोलसँगै डेब्यू अभिनेत्री प्रिन्सी खतिवडा देखिनुभएको छ । पुरानो नेपाली समाजको मौलिक परिवेशलाई समेटेर तयार पारिएको भिडियोमा अनमोल र प्रिन्सीबीचको दोहोरी ...

एनपिएलमा पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी हुने पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित बनेको छ । प्रतियोगितामा खेल्न आवश्यक अनापत्ति प्रमाणपत्र (एनओसी) जारी गर्ने प्रक्रिया पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले रोकेको र यसअघि अनुमति पाइसकेका खेलाडीको स्वीकृतिसमेत स्थगित गरेको रिपोर्ट सार्वजनिक भएपछि उनीहरूको सहभागितामाथि अन्योल बढेको हो । क्रिकइन्फोले एनपिएलसँग सम्बन्धित विभिन्न व्यक्तिसँग कुरा गर्दा यसअघि एनओसी पाइसकेका खेलाडीलाई समेत लिगमा ...

सूर्यविनायक अन्तरवडा फुटबलको उपाधि वडा नं. १० लाई
भक्तपुर । सूर्यविनायक नगरपालिकामा सञ्चालित सूर्यविनायक अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० (चित्तपोल) ले जितेको छ । फाइनलमा वडा नं. ९ (नंखेल) लाई तीन-एक गोल अन्तरले पराजित गर्दै वडा नं. १० ले उपाधि हात पारेको हो । सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा वडा नं. ९ उपविजेता बनेको छ । त्यस्तै, तेस्रो स्थानका लागि भएको खेलमा वडा ...

शादाबको कीर्तिमानी शतकमा पाकिस्तानको रोमाञ्चक जित
लाहोर । शादाब खानको अविजित शतक र हारिस राउफसँगको कीर्तिमानी साझेदारीको मद्दतमा पाकिस्तानले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) त्रिकोणात्मक शृंखलामा इंग्ल्याण्डलाई एक विकेटले पराजित गरेको छ । गद्दाफी रंगशालामा २४२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४७.१ ओभरमा नौ विकेट गुमाएर २४३ रन बनाउँदै अक्टोबर ३१ मा हुने फाइनलमा स्थान पक्का गरेको हो । पाकिस्तान १५४ रनमा नौ विकेट गुमाएर जितका लागि थप ८८ ...


