प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने, साइबर अपराध नियन्त्रणमा नयाँ संयन्त्र ल्याइँदै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताएका छन् । नेपाल प्रहरीको ७१औँ स्थापना दिवस, २०८३ का अवसरमा नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् । प्रधानमन्त्री शाहले प्रहरी कर्मचारी, उनीहरूका परिवार तथा सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो योजना अघि बढाइएको बताए । जनताको सेवामा अग्रभागमा खटिने नेपाल प्रहरीलाई विपद् व्यवस्थापन तथा चुनौतीपूर्ण परिस्थितिको सामना गर्न सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । प्रहरी संगठनलाई थप सबल बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको उनले बताए । प्रविधिको बढ्दो प्रयोगसँगै वित्तीय तथा साइबर अपराध जटिल बन्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यस्ता अपराधको रोकथाम र नियन्त्रणका लागि सरकार गम्भीर रहेको बताए । नेपाल प्रहरीको सहकार्यमा नेपाल राष्ट्र बैंक, इन्टरनेट तथा टेलिकम सेवाप्रदायक र डिजिटल वालेट सञ्चालकलाई एकै ठाउँमा ल्याएर नागरिकका गुनासा प्रभावकारी रूपमा सम्बोधन गर्ने व्यवस्था गर्न लागिएको उनले जानकारी दिए ।अपराध अनुसन्धानलाई थप प्रविधिमैत्री बनाउन कृत्रिम बौद्धिकता (एआई), ‘एरियल सेक्युरिटी एन्ड सपोर्ट युनिट’ र ‘इन्टिग्रेटेड एन्टी–स्क्याम सेन्टर’ स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको पनि प्रधानमन्त्री शाहले बताए । ‘विपद्मा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा उनले हालैको भोटेकोशी–त्रिशूली विपद् तथा विभिन्न कालखण्डमा कर्तव्य पालनका क्रममा जीवन उत्सर्ग गर्ने अमर प्रहरीहरूप्रति श्रद्धाञ्जली अर्पण गरे । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रहरी संगठन निर्माणमा योगदान पुर्याएका पूर्वप्रहरी कर्मचारीप्रति आभार व्यक्त गरे । सो अवसरमा प्रधानमन्त्री शाहले ‘पुलिस मिरर २०२६’ पुस्तक विमोचन गरे । उक्त प्रकाशनले नेपाल प्रहरीको इतिहास र वर्तमानलाई भावी पुस्तासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे । विपद् व्यवस्थापन, प्रविधि विस्तार र पूर्वाधार विकासमा सहयोग पुर्याउने मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय विकास साझेदारलाई पनि उनले धन्यवाद दिए । संकटको घडीमा राष्ट्रसेवकहरूको वास्तविक परीक्षा हुने उल्लेख गर्दै प्रधानमन्त्री शाहले धैर्य, सही निर्णय र कुशल कार्यसम्पादनबाट मात्रै चुनौतीपूर्ण परिस्थितिको सामना गर्न सकिने बताए । सम्बोधनको अन्त्यमा उनले ७१औँ प्रहरी दिवस तथा आसन्न बडादशैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरे । कार्यक्रममा गृहमन्त्री, सुरक्षा निकायका प्रमुख, विशिष्ट अतिथि, कूटनीतिक नियोग तथा विकास साझेदारका प्रतिनिधि, अमर प्रहरीका परिवारजन र सञ्चारकर्मीको उपस्थिति थियो ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नवनिर्वाचित कांग्रेस सभापतिको शपथ शनिबार
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण असोज ३१ गते शनिबार हुने भएको छ । शपथ पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे हुने कांग्रेस प्रचार समितिले जनाएको छ । थापा कांग्रेसको... ...

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छः मुख्यमन्त्री थापा
बागमती । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका रूपमा अनुभूति गर्न सक्ने वातावरण तयार गर्न निर्देशन दिएका छन् । एकहत्तरौँ प्रहरी दिवसका अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले प्रहरी र नागरिकबीचको सम्बन्ध विश्वास, सहकार्य र पारस्परिक सम्मानमा आधारित हुनुपर्ने बताए । नेपालको संविधान, प्रचलित कानुन र जनताको सेवाप्रति समर्पित रहँदै राष्ट्र र नागरिकको ...

कोशी सडक अवरुद्ध, चुम्मुसुरको पहिरो हटाउन विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने
संखुवासभाको चुम्मुसुर सडक खण्डमा चट्टानसहितको पहिरो खस्दा चीनसँग सीमा जोडिएको किमाथांकासम्मको यातायात प्रभावित भएको छ। ...

प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमै चुनौती : मुख्यमन्त्री थापा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रहरी समायोजन हुन नसक्दा संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमा चुनौती उत्पन्न भएको बताएका छन् । ७१औँ प्रहरी दिवसका अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयले शुक्रबार हेटौँडामा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले संविधानले प्रदेशलाई दिएको अधिकार र जिम्मेवारी कार्यान्वयनका लागि प्रहरी समायोजन अपरिहार्य रहेको बताए । […] ...


