फर्सेका बाढीपीडितलाई छोएन दशैंको रौनकले

नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ । कतै घर लिपपोत गरेर चिटिक्क पारिँदैछ त कतै दसैँका लागि भेडाच्याङ्ग्राको जोहो गरिँदैछ । चाडपर्वका लागि आवश्यक सामग्री किनमेल गर्न बजारमा चहलपहल बढेको छ तर म्याग्दीको सदरमुकाम बेनी बजारसँगै जोडिएको पर्वतको जलजला गाउँपालिका–८ फर्सेका बासिन्दालाई यस वर्ष दसैँको रौनकले छोएको छैन । यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले घरबास बगाएपछि उनीहरूको दसैँ खल्लो बनेको छ । जिन्दगीभरको कमाइ र मेहनतले बनाएको घर गुमाएका उनीहरूलाई चाडपर्वको खुसीभन्दा घरबारविहीन हुँदाको पीडाले बढी सताएको छ । बेनी नगरपालिका–१ बेलबोटकी देवी थापाले फर्सेमा गाईभैँसी पालेर दुई दशक बिताइन् । बाढीले घर बगाएपछि अहिले उनी माइतीको आश्रयमा छिन् । घर गुमाउँदाको पीडाले यस वर्ष दसैँ मनाउने जाँगर नचलेको उनले बताइन् । ‘जिन्दगीभरको कमाइ र मेहनतले जोडेको घर बाढीले बगायो । अहिले माइतीमा आश्रय लिएर बसेका छौँ,’ उनले भनिन्, ‘घर गुमेको पीडाले चाडपर्व मनाउने मनस्थिति छैन । यसपालि जमरा पनि राखेकी छैन ।’ ६६ वर्षीय तीर्थबहादुर केसीको पीडा पनि उस्तै छ । बाढीले घर बगाएपछि उनी ६ जनाको परिवारसहित छिमेकीको घरमा डेरा लिएर बसेका छन् । ‘घरगोठ र सम्पत्ति सबै गुमायौँ । अहिले छिमेकीको घरमा बसेका छौँ,’ उनले भने, ‘यस्तो अवस्थामा दसैँ मनाउने अवस्था नै छैन ।’ कालीगण्डकी नदीको बाढीले बस्तीलाई बगरमा परिणत गरेपछि फर्सेका करिब एक सय परिवारको अवस्था यस्तै छ । जलजला गाउँपालिका–८ का वडाध्यक्ष हरिविकास जिसीका अनुसार बाढीले फर्सेका ७५ घर पूर्ण रूपमा क्षति भएका छन् भने २७ घर जोखिममा छन् । बाढीका कारण विस्थापित भएका ७५ परिवारका १२९ महिला, १४४ पुरुष र पाँच वर्षमुनिका आठ बालबालिका प्रभावित भएका छन् । घरबारविहीन भएका परिवारमध्ये अन्यत्र घर नभएका र आफन्तकहाँ आश्रय लिन नसक्नेहरूलाई सुरक्षा निकायको सहयोगमा अस्थायी शिविरमा राखिएको छ । ‘बाढीपीडित सर्वसाधारण मात्र होइन, प्रभावितको व्यवस्थापनमा खटिएका जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीलाई पनि दसैँको रौनकले छोएको छैन,’ वडाध्यक्ष जिसीले भने, ‘पूर्वसूचना र सतर्कताका कारण मानवीय क्षति हुन पाएन । कालीगण्डकीको बाढीबाट फर्से सबैभन्दा बढी प्रभावित बस्ती बनेको छ ।’ रातको समयमा बाढी आएपछि ज्यान जोगाउन भागेका धेरै बासिन्दाले शरीरमा लगाएको कपडा र हातमा भएको मोबाइलबाहेक केही निकाल्न पाएनन् । घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, फर्निचर, नगद र महत्वपूर्ण कागजात बाढीमै बगे । ‘शरीरमा भएको कपडा मात्रै लगाएर झरीमा भिज्दै राति दुई बजे सडकमा निस्कियौँ,’ स्थानीय डल्ली दमाईले भनिन्, ‘घरमा अन्न, लत्ताकपडा, फर्निचर, भाँडाकुँडा, नगद र महत्त्वपूर्ण कागजात थिए । तर, हामीसँग ज्यान जोगाउने समय मात्रै थियो ।’ हाल विस्थापित परिवार दिनमा एकपटक बाढीले बगाएको घर भएको ठाउँमा पुग्छन् । भग्नावशेष हेर्छन् । पुराना दिन सम्झन्छन् । अनि भारी मन लिएर फर्किन्छन् । कृष्ण दमाई, राजेन्द्र श्रेष्ठ, सूर्य थापा, धनकुमारी अधिकारी र टीकाराम क्षेत्रीको अवस्था पनि उस्तै छ । उनीहरूले पनि शरीरमा लगाएको कपडाबाहेक घरबाट केही निकाल्न पाएनन् । बाढीले फर्से र बागलुङको ढोडेनी जोड्ने करिब एक सय वर्ष पुरानो झोलुङ्गे पुल बगाएको छ । इतिहास र स्थानीय जनजीवनसँग जोडिएको उक्त पुल अब सम्झनामा मात्रै सीमित भएको छ । बाढीबाट नभत्किएका घरभित्र पनि पानी र हिलो पसेकाले बस्न नसकिने अवस्था छ । बचेका घर जोखिममा छन् । पञ्चायतकालमा फर्से व्यापारिक केन्द्रका रूपमा परिचित थियो । बागलुङ, मुस्ताङ र म्याग्दी ओहोरदोहोर गर्ने यात्रुका लागि यो महत्वपूर्ण ठाउँ थियो । सडक विस्तारसँगै फर्सेको पुरानो व्यापारिक स्वरूप बदलियो । स्थानीय बासिन्दा कृषि तथा पशुपालन व्यवसायमा लागे । बेनी, कुश्मा र बागलुङ बजार नजिकै भएकाले यहाँका बासिन्दाले दूध र तरकारी उत्पादनलाई आम्दानीको मुख्य स्रोत बनाएका थिए । बाढीले घरगोठ र पशुपालनका संरचना बगाएपछि किसानको जीविकोपार्जन सङ्कटमा परेको छ । सरकारी निकायबाट सहयोग पाएमा पुनः पशुपालन व्यवसाय सुरु गर्न सकिने आशा सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाका सचिव खड्ग केसीले बताए । कृषक रुपा सापकोटाले गोठमा बिछ्याउने काउम्याट उपलब्ध भए गाईभैँसीलाई चिसोबाट जोगाउन सकिने बताइन् । उनले बाढी प्रभावित किसानका लागि तत्काल पशुआहारा र दानाको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । पुनःस्थापनाको पर्खाइमा प्रभावित बस्ती पछिल्लो मनसुनजन्य विपद्बाट जलजला गाउँपालिका–८ स्थित फर्सेसँगै वडा नम्बर ७ का ताङवाङ र खानीगाउँ प्रभावित भएका छन् । वडा नम्बर ४ को लामाखेतमा कालीगण्डकीको बाढी पसेर क्षति पुगेको छ । पहिरोका कारण ताङवाङ र खानीगाउँका ३५ परिवार विस्थापित भएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए । ‘पहिरोले बस्ती घेरिएको छ । पाखो चिराचिरा परेको छ भने घरका पर्खाल सुरक्षित छैनन्,’ उनले भने, ‘त्यसैले खानीगाउँ र ताङवाङका बासिन्दा सुरक्षित ठाउँमा आएर अस्थायी टहरा बनाएर बसेका छन् । प्रभावित बस्तीको स्थलगत निरीक्षण गरी आधारभूत राहत सामग्रीको व्यवस्था र अल्पकालीन तथा दीर्घकालीन पुनःस्थापनाको कार्ययोजना अघि बढाएका छौँ ।’ जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप काफ्लेका अनुसार गाउँपालिकाभर बाढीपहिरोबाट १२६ घर पूर्ण र ५० घर आंशिक रूपमा क्षति भएका छन् । थप एक ४० घर जोखिममा छन् । गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बाढीपहिरो प्रभावितको पुनर्वास र पुनर्निर्माणका लागि अल्पकालीन तथा दीर्घकालीन योजना बनाइएको बताए । उनका अनुसार निजी आवाससँगै क्षतिग्रस्त सडक, खानेपानी, सिँचाइ र विद्यालय भवन पुनर्निर्माण तथा जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्नेछ । बाढीपहिरो नियन्त्रणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन सङ्घीय तथा प्रदेश सरकार र दातृ निकायसँग समन्वय भइरहेको उनले बताए । दसैँमा घर फर्किने, परिवारसँग बसेर मीठोमसिनो खाने र खुसी साटासाट गर्ने फर्सेबासीको चाहना यस वर्ष बाढीले खोसेको छ । घरबार गुमाएका उनीहरूका लागि अहिले चाडपर्वको उल्लासभन्दा सुरक्षित बास र गुमेको जीवनयापन पुनः कसरी सुरु होला भन्ने चिन्ताले सताएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन
चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरी सम्बन्धित कार्यालयलाई सचेत गराएको छ । विमानस्थल परिसरभित्र रहेका शौचालय दुर्गन्धित भएको, नियमित सरसफाइ नभएको, विमानस्थल परिसरलाई आवश्यक सौन्दर्यता दिने काम नगरिएकोजस्ता गुनासो आएपछि अनुगमन गरिएको हो । चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई सर्वसाधारणले सो गुनासो गरेका थिए ...

हुम्लामा ट्याक्टर दुर्घटना, सहचालकको मृत्यु
२९ असोज, काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिका–१ तल्लो सागोमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ । बुधबार साँझ ६ बजे चुवाखोलाबाट दोजामतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ त ०१५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सहचालक सिमकोट गाउँपालिका–६ का धानुक सुनारको मृत्यु भएको हो । प्रहरीका अनुसार दोजाम निवासी ३० वर्षीय नाकु लामाले चलाएको उक्त… ...

दशैंमा चङ्गा, मनमा उमङ्ग (तस्वीरहरु)
काठमाडौं उपत्यकामा चङ्गा उडाउने संस्कृति दशैँको उमङ्गसँगै पुस्तान्तरण भइरहेको छ । ...

कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरिबाबु महर्जनको अग्रता कायमै, कुन उम्मेदवारकाे कति मत?
२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् । ५ हजार ४०० मतगणना हुँदा महर्जनले ४ हजार १४९ मत प्राप्त गरेका छन्। खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुनेछन् । मतगणनाको पछिल्लो विवरणअनुसार निश्कल राई ३ हजार ८४० मतसहित दोस्रो र इन्द्रबहादुर बानियाँ ३ हजार… ...


