न आफन्त रहे, न घर : छैन दशैंको रौनक

काठमाडौं। दशैं नजिकिँदै गर्दा निराजन पौडेलको मन पटक–पटक झुक्किन्छ। बजारमा दशैंको तयारीको चहलपहल देख्दा र सहरबाट घर फर्कनेको लर्को देख्दा उनको मनले पनि सम्झाउँछ, “ए, दशैं आइसकेछ ! अब त घर जाने तयारी गर्नुपर्छ।” तर, यो उमङ्गको सानो लहर उठ्न नपाउँदै सेलाउन पुग्छ। दशैंको झल्कोसँगै उनको मनमा भोटेकोशी बाढीको कहालीलाग्दो कल्पना आउँछ र त्यसले आफ्नो गाउँबस्तीको विभत्स दृश्य आँखै अगाडि ल्याइदिन्छ। जुन घरमा दशैंको खुसी छाउँथ्यो, परिवारसँगै बसेर विगतका दशैं मनाइन्थ्यो, आज त्यो घर नै छैन। जुन घरको आँगनमा परिवार र आफन्तसँग आत्मीयता र अपनत्व साटासाट हुन्थ्यो, आज त्यो आँगन बाढीले बगर बनाइदिएको छ। बाढीले घरसँगै गाउँ फर्कने र रमाउने निराजनको सपना पनि बगाइदिएको छ। त्यसैले, एकैछिनको मनको उमङ्गले उनलाई पटक–पटक झस्काउँछ। दशैं आयो, कैयौं परदेशी घर फर्कन पाउँदैनन्। कसैलाई रोजगारीले रोक्छ, कसैलाई गरिबीले त कसैलाई बाध्यताले छेक्छ। तर, निराजनको पीडा यी सबैभन्दा फरक छ। उनको फर्कने घर नै छैन। अरूका लागि घर पुग्ने हतारो भइरहेको दशैं उनका लागि भने आँशु बनेर आएको छ। विडम्बना कस्तो भने, दशैंको यो छेकोमा निराजनको मन आफूले गुमाएको घरको सम्झनामा डुबुल्की मारिरहेको छ। दशैंमा घर पुगेका कैयौंले यतिखेर आफ्ना घरका ढोका खोलिरहँदा निराजनको मनले भने सम्झनाको ढोका खोलिरहेको छ र त्यो खाली घरमा विगतका खुसीहरू खोजिरहेको छ। दशैंमा गाउँ फर्कने बाटो त बनेको छ, तर टेक्ने आँगन छैन। सम्झनामा घर छ, तर आँखाअगाडि भने बगर। अनि छातीभित्र कहिल्यै निको नहुने घाउ र नपुरिने रिक्तता। हो, यतिखेर सहरतिर दशैंको माहोल बढ्दै जाँदा निराजनलाई भने भदौ १० गतेको कहालीलाग्दो बज्रपातले पिरोलिरहेको छ। त्यो दिन उनलाई न सम्झन मन छ, न बिर्सन नै सक्छन्। नुवाकोटको विदुर नगरपालिकास्थित सोलेका निराजन पौडेलले भदौ १० गते सर्वस्व गुमाउन पुगे। बुबा वासुदेव पौडेलसहित आमा गोमा, काका हिमालय, काकी उमा र बहिनी हिमानी बाढीमा सम्पर्कविहीन भए। अहिले उनीसँग न ती प्रियजन छन्, न बाबुआमाले सिन्कासिन्का जोडेर परेवाले गुँड लगाएझैं बनाएको सम्पत्ति नै बाँकी रह्यो। आफ्नो घरखेत कहाँनिर थियो भन्ने संकेत समेत छैन। “बाबा, दशैं आयो नि ! हामी गाउँ कहिले जाने ? आमा–बुबा (हजुरबा–हजुरआमा) ले ‘पिङ खेल्न आऊ है झट्टै’ भनेर किन फोन नगर्नु भएको होला ? आजभोलि भिडियो कल किन नगर्नु भएको ? दशैंमा घर जाँदा म त रिसाउने हो।” यसरी पाँच वर्षीय छोरा लियान पौडेलले बारम्बार राखिरहेको जिज्ञासाले निराजन आँशु नै थाम्न सक्दैनन्। छोराले थाहा नपाओस् भनेर कहिले बाथरुममा, कहिले अर्को कोठामा गएर रुन्छन् र पानीले आँखा धुन्छन्। “बाबा, दशैंमा सोले घर गएर पिङ खेल्नु पर्छ भनेर छोराले सोध्दा म त आफूलाई सम्हाल्नै सकिरहेको हुन्नँ”, निराजनले भने। अबोध छोरा लियानलाई के थाहा ? भोटेकोशीको बाढीले सोलेको घर बगाएको छ, हजुरबा र हजुरआमालाई पनि बाढीले बेपत्ता बनाएको छ भन्ने कुरा। लियानलाई दशैं आएपछि गाउँको घर पुगिन्छ, हजुरबुबाले हालिदिएको पिङ खेलिन्छ, हजुरआमासँग भेट हुन्छ र पोहोर सालको जस्तै रमाइलो हुन्छ भन्ने लागिरहँदो हो। छोराको चित्त कसरी बुझाउने भनेर निराजन अलमलमा छन्। “छोरालाई केही थाहा छैन। अझै पनि दशैंमा सोले घर जाने र पिङ खेल्ने भनिरहेको छ। म अर्को कोठामा हुँदा समेत उसको आमाको फोनबाट घर अनि अघिल्लो दशैंमा नै हालिदिएको पिङ देखाउन भन्छ। ऊ आफ्नो घर छ कि छैन भनेर निश्चित हुन खोजिरहेको जस्तो गर्छ”, निराजनले भने। गाउँघरको दशैंको रौनक निराजनका लागि अब सम्झनामा मात्रै छ। आमाले कमेरो र रातोमाटो लगाएर घर लिपपोत गर्न थालेपछि दशैं घरआँगनीभित्र भित्रिन तम्तयार भएको भान हुन्थ्यो। थाक्रोमा पाकेर पट्ट फुट्न लागेका काँक्रा हुन्थे। दशैंका लागि भनेर आमाकै हातले बनाएका अचार हुन्थे। दशैंमा काट्नु पर्छ भनेर वरपर घाँस नकाटी राखिन्थ्यो। घरवरपरका झाडी सफा गरेर चिरिच्याट्ट बनाइन्थ्यो। निराजन दशैं बिदा भएपछि दशैंका लागि दाउरा खोज्न गएर आमालाई सघाउँथे। परदेशीहरू गाउँ फर्कन्थे। “गाउँ नै रमाइलो, दशैं रमाइलो,दशैं आउँदा मनमा पीर भए नि यसै रमाइलो।” शिव हमालको शब्द तथा संगीत र विमल परियार तथा सविता परियारको स्वरमा सजिएको यो दशैंको गीत अघिल्लो दशैंसम्म घन्कन थालेपछि निराजनको मनमा पनि उत्सवको माहोल आउँथ्यो। दशैंमा झनै रौनक देखिने र रमाइलो लाग्ने त्यो गाउँ नै अब उजाड बगर बनिसकेको छ। पढाइ र रोजगारीको सिलसिलामा निराजन काठमाडौं आएपछि कहिले छुट्टी होला र गाउँ जाउँला जस्तो हुन्थ्यो। यस पटक बुबाले घरमा प्लास्टर गरेका थिए। त्यही प्लास्टर गरिएको घरमा बसेर टीका र जमरा लगाउँला, आफन्त र साथीभाइसँग भेटौंला भन्ने सोच बनाएका थिए निराजनले। तर, ती आफन्त, काका–काकी अनि साथीभाइलाई बाढीको भेलले बगायो। अब उनीहरूसँग कहिल्यै भेट्न नपाइने भयो। “बुबाआमाले हरेक वर्ष फोन गरेर सोध्नु हुन्थ्यो, ‘दशैंमा कहिले आउँछौं ? कति दिन बस्छौ ? कति मासु खाने ?’” निराजनले भने। सधैंको दशैंमा जस्तै यस पटक पनि आमाले यसो भन्दै फोन गरिदिए हुन्थ्यो जस्तो लाग्छ उनलाई। “अहिले हामीलाई दशैं आएको हो कि अरू कुनै दिन हो, छुट्याउनै गाह्रो छ। पहिला दशैं आउँदा छुट्टै खुसी हुन्थ्यो। अहिले त चाडपर्व आएको अनुभूति समेत हुँदैन”, निराजनले भने। भूकम्पले विस्थापित, बाढीले सर्वस्व विसं २०७२ को भूकम्पले निराजनको परिवारलाई घरबाट विस्थापित गरेको थियो। भूकम्पले गाउँको घर बस्न नमिल्ने भएपछि परिवारका केही सदस्य तल बेंसीतिर झरेका थिए। त्यहाँ जग्गा किनेर घर बनाइएको थियो। खेतीपातीबाट हुने आम्दानी पनि परिवारको जीवनयापनको आधार बनेको थियो। भूकम्पपछि बनेको घरमा परिवारले विस्तारै जीवन व्यवस्थित गर्दै लगेको थियो। घर निर्माण भएको एक दशकभन्दा बढी समयपछि बल्ल त्यसलाई अझ राम्रो बनाउने योजना अघि बढ्यो। बुबाले दुई महिनाअघि मात्रै घरमा प्लास्टर गर्न लगाएका थिए। दशैंमा परिवारका सबै सदस्य आउँदा घर राम्रो देखियोस् भन्ने उनको चाहना थियो। घरको स्वरूप फेरिँदै थियो। परिवारका सपना पनि साकार हुँदै थिए। तर, भदौ १० गते आएको बाढीले ती सबै सपना क्षणभरमै बगाइदियो। बाढी आउनुभन्दा केही समयअघि निराजनले परिवारलाई गाउँमा नबस्न आग्रह गरेका थिए। अघिल्लो वर्ष पनि भोटेकोशीमा बाढी आएपछि जोखिम बढेको महसुस गर्दै उनले बुबा–आमालाई काठमाडौं आउन भनेका थिए। नातिको हेरचाह गर्नका लागि पनि परिवारलाई काठमाडौं ल्याउने सोच थियो निराजनको। तर, बुबा विद्यालयमा अध्यापन गर्थे। अवकाश हुन अझै तीन वर्ष बाँकी भएकाले बुबाले अब दशैंको पेस्की लिएर सोचौंला भनेको निराजनले सुनाए। “मैले बुबा–आमालाई अब त्यहाँ नबस्नुस्, जोखिम छ, काठमाडौं आउनुस् भनिरहेको थिएँ। तर, यस्तो विपत्ति आउला भन्ने कसैले कल्पना गरेका थिएनौं”, निराजनले सम्झिए। यदि बुबाआमा काठमाडौं आएको भए सम्पत्ति गुमाए पनि उनीहरूलाई त गुमाउनु पर्दैनथ्यो भन्ने लाग्छ उनलाई। पेसाले पत्रकार निराजन भदौ १० गते कार्यालयमा थिए। रातोपाटीमा कार्यरत उनलाई बाढी आएको खबर सुरुमा सामान्य लाग्यो। यसअघि पनि खोला बढ्ने र बाढी आउने गरेकाले यस पटक पनि त्यस्तै होला भन्ने लागेको थियो उनलाई। तर, केही समयपछि गाउँमा बाढी पसिसकेको खबर आयो। काठमाडौंमा बस्ने अर्जुन पौडेलले फोन गरेर बाढी सोलेसम्म आइपुगेको बताए। प्रत्यक्ष दृश्य र समाचारबाट बाढीको भयावहता थाहा हुन थालेपछि निराजनले परिवारका सदस्यलाई फोन गर्न थाले। पहिले आमालाई फोन गरे। सम्पर्क हुन सकेन। बुबालाई फोन गरे, लागेन। काका र बहिनीलाई फोन गर्दा पनि सम्पर्क हुन सकेन। फोन नलागे पनि निराजनको मनमा परिवारका सदस्य सुरक्षित ठाउँमा पुगेका होलान् भन्ने विश्वास थियो। यसअघि बाढी आउँदा गाउँका मानिस माथितिर सुरक्षित स्थानमा गएर बसेका थिए। यसपटक पनि सबै जना जङ्गलतिर वा माथिल्लो गाउँमा पुगेका होलान् भन्ने उनलाई लाग्यो। “मलाई दिउँसो २ देखि ३ बजेसम्म सबै जना सुरक्षित हुनुहुन्छ होला भन्ने लागेको थियो। फोन नलाग्नु सामान्य समस्या होला भन्ने सोचेको थिएँ”, उनले भने। पछि गाउँका मानिससँग सम्पर्क हुन थालेपछि अवस्था झन् भयावह भएको थाहा भयो। कतिपयले स्पष्ट रूपमा केही भन्न सकिरहेका थिएनन्। गाउँबाट अब सम्हालिनु पर्छ भनेर फोन आउँदा भने उनको मनमा चिसो पस्न थाल्यो। तर, पनि परिवारका सदस्य कतै जङ्गलमा बसिरहेका होलान्, फर्किहाल्छन् होला भन्ने लागिरह्यो। दिन बित्दै गए। परिवारका सदस्यको अवस्था पत्ता लागेन। शव पनि फेला परेनन्। कुशको शव बनाएर काजकिरिया गरियो। “अहिले पनि मनले उहाँहरू हुनुहुन्न भन्ने मान्न सकेको छैन। कतै जङ्गल या ओडारमा बसिरहनु भएको छ कि भन्ने लाग्छ। कहिलेकाहीँ फोन हेर्न मन लाग्छ। अब दशैंमा घर आउनु भनेर फोन गर्नु हुन्छ कि जस्तो लाग्छ”, उनले भने। बहिनी हिमानी चीनमा सिभिल इन्जिनियरिङ पढ्दै थिइन् र बिदामा घर आएकी थिइन्। बाढी आएको दिन उनी काकासँग काठमाडौं आउने तयारीमा थिइन्। पन्ध्र किलोमिटर टाढा रहेको विद्यालयमा पढाउने भएकाले बुबा स्कुल नजिकै बस्थे। त्यस दिन भने भतिजीलाई बिदा गर्न घर आएका रहेछन्। त्यही दिन आएको बाढीले सबैलाई बगाएर लग्यो। निराजनका गाउँका ७८ जना अझै बेपत्ता छन्। अब विपत्तिले दिएको यो मानसिक पीडा कसरी कम गरेर अगाडि बढ्ने भन्ने चिन्ता उनलाई छ। उनका अनुसार यस्तो विपत्तिबाट प्रभावित मानिसलाई मानसिक रूपमा सम्हालिन समय र राज्यको सहयोग दुवै आवश्यक छ। “हामीलाई अब राज्यको अभिभावकत्व चाहिएको छ। घर कहाँ बनाउने ? कसरी बस्ने ? कसरी जीवन चलाउने भन्ने आधार चाहिएको छ। कतिपय बालबालिकाले अभिभावक गुमाएका छन्। उनीहरूलाई कसरी सम्झाउने र उज्ज्वल भविष्य कसरी निर्माण गर्ने भन्ने पनि सोच्नुपर्छ”, उनले सुझाव दिए।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

नवप्रवर्तनको अभाव होइन, प्रयोग र विस्तारमा चुनौती छ : एफएओ महानिर्देशक डोङ्यु
काठमाडौं । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का महानिर्देशक चु डोङ्युले विश्वमा भोकमरी अन्त्य गर्न आवश्यक क्षमता, साधन, प्रविधि र ज्ञान उपलब्ध भए पनि तिनको व्यापक प्रयोग हुन नसक्दा खाद्य सुरक्षा सुनिश्चित गर्न चुनौती भइरहेको बताएका छन् । विश्व खाद्य दिवस २०२६ का अवसरमा वक्तव्य जारी गर्दै नवप्रवर्तनको अभावभन्दा पनि समाधानका उपयुक्त विकल्पलाई स्थानीय आवश्यकता अनुकूल बनाउँदै व्यापक रूपमा ...

प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा अयोजित कार्यक्रममा बोल्दै उले यस्तो निर्देशन दिएका हुन । उनले प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शुन्य सहनशीलता अपनाउनुपर्ने बताए । उनले साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा क्षमता ...

कोका-कोलाको ‘भरौँ खुसी’ अभियानले जोड्दैछ परिवारको खुसी
काठमाडौँ । अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो । तर, दशैँमा घर फर्किनका लागि टिकट पाउन भने धेरैलाई कठिन हुने गर्छ । यही समस्यालाई ध्यानमा राख्दै कोका–कोलाले ‘भरौँ खुसी’ दशैँ अभियान २०२६ सञ्चालनमा ल्याएको छ । यस अभियानले दशैँको खुसीलाई थप विशेष बनाउनुका साथै घर फर्किने यात्रालाई सहज ...

प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा अयोजित कार्यक्रममा बोल्दै उले यस्तो निर्देशन दिएका हुन । उनले प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शुन्य सहनशीलता अपनाउनुपर्ने बताए । उनले साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा क्षमता ...


