परदेशमा रोकिएको दशैँको खुसीः सम्झनामा गाउँघर र आमाको हातको स्वाद !

काठमाडौं । माल्टामा आठ वर्षदेखि कार्यरत हरिप्रसाद पौडेलका लागि दशैँ केवल चाडपर्व होइन, परिवार, गाउँघर, बाल्यकाल र आमाको न्यानो काखसँग जोडिएको भावनात्मक सम्बन्ध पनि हो । चितवन घर भएका पौडेल र उनकी श्रीमती लक्ष्मी पौडेल यस वर्ष पनि दशैँ मनाउन नेपाल फर्किन पाएनन् । मनमा घर फर्किने चाहना हुँदाहुँदै पनि परिस्थितिले साथ नदिँदा पौडेल दम्पत्ति यसपटक पनि प्रवासमै बसेर दशैँ मनाउने तयारीमा छन् । आठ वर्षदेखि माल्टामा रहेर काम गर्दै आएका पौडेल हाल गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) माल्टाको उपाध्यक्षका रूपमा कार्यरत छन् । दशैँ नजिकिँदै गर्दा माल्टामा रहेका नेपालीहरू स्वदेश फर्किएको देख्दा उनलाई पनि परिवारसँगै बसेर चाड मनाउने रहर जागेको बताउँछन् । बुवा, आमा, छोराछोरी र आफन्तसँगै बसेर टीका लगाउने, आशीर्वाद लिने र बाल्यकालदेखिका परम्परालाई फेरि जिउने चाहना उनको मनमा छ । तर, कामको बाध्यताका बाबजुद यस वर्ष पनि त्यो चाहना पूरा हुन नसकेको उनी बताउँछन् । लगातार दुई वर्षदेखि परिवारबाट टाढिएर दशैँ मनाउनुपर्ने भएको छ । गत वर्ष आफ्नै कार्ड नवीकरण गर्नुपर्ने समय दशैँमै परेपछि उनी नेपाल जान पाएनन् । यस वर्ष श्रीमतीको कार्ड नवीकरण गर्नुपर्ने भएकाले घर फर्किने योजना फेरि रोकिएको उनी बताउँछन् । ‘घरबाट आउने आग्रहले झन् भावुक बनाउँछ’ पौडेलको पारिवारिक अवस्था पनि प्रवासको यथार्थसँग जोडिएको छ । उनी र उनकी श्रीमती माल्टामा छन् भने छोरा एक वर्षअघि अस्ट्रेलिया गएका छन् । नेपालमा बुवा, आमा र छोरी छन् । यसरी परिवारका सदस्यहरू विभिन्न ठाउँमा बाँडिँदा चाडपर्वको समयमा सबै एकै ठाउँमा भेला हुन पाउनु झन् कठिन बनेको छ । दसैँ आउन थालेपछि घरबाट जसरी पनि आउन आग्रह आउँछ । ‘छोरीले समेत बाबा–ममी घर आउनु भनेको सम्झँदा मन भावुक हुन्छ ।’ उनले भने । परिवारको त्यो आग्रहमा माया, प्रतीक्षा र सँगै बसेर चाड मनाउने स्वाभाविक चाहना मिसिएको हुन्छ । तर, चाहना हुँदाहुँदै पनि आउन नसक्ने अवस्था बुझाउनुपर्दा मन खिन्न हुने उनी बताउँछन् । यसपटक भौतिक रूपमा परिवारसँग उपस्थित हुन नसके पनि फोन र भिडियो कलमार्फत जोडिने उनको योजना छ । नेपालमा परिवारले दशैँको टीका लगाउँदा आफू पनि माल्टामा टीकाटालो गरेर भिडियो कलमा जोडिने, एकअर्काको अनुहार हेर्ने र आशीर्वाद साटासाट गर्ने प्रयास हुने उनी बताउँछन् । ‘ दशैँको दिन टिका लगाउँदै गर्दा भिडियो कल गर्छौँ । तर, प्रविधिले दूरी घटाए पनि परिवारको काखमा बसेर टीका लगाउँदाको अनुभूति भने त्यसले दिन सक्दैन ।’ उनी भन्छन् । सम्झनामा चङ्गा, पिङ र साथीभाइसँगको रमाइलो दशैँको माहोल सुरु हुनासाथ अग्ला पिङ, चङ्गा उडाउने दिन, लङ्गुरबुर्जा र साथीभाइसँगको रमाइलो उनी सम्झन्छन् । ‘नेपालमा दशैँको समयमा दिनभरि परिवार र साथीभाइसँग रमाइलो गर्ने अनि साँझ परेपछि साथीहरूसँग भेटघाट गरेर तास खेल्ने गरिन्थ्यो । जित–हारको रमाइलो, हाँसोठट्टा र गाउँघरमा दशैँले ल्याउने चहलपहल अहिले पनि सम्झना आइरहन्छ ।’ उनले भने । यसपटक दशैँमा परिवार र बालबच्चालाई लिएर दशैँको किनमेल, बुवालाई साथमा राखेर खसी वा च्याङ्ग्रा छान्ने, आमाको काखमा बसेर आमाले बनाएका मिठा परिकार खाँदै परिवारका सदस्यहरूसँगै बसेर दशैँको तयारी र घरमा आफन्त तथा साथीभाइसँग भेटघाट गर्ने उनको योजना थियो । तर, अहिले ती सबै दृश्य सम्झनामा मात्रै सीमित छन् । ‘परदेशमा काम र जिम्मेवारी पूरा गरिरहँदा गाउँघरमा बिताएका ती रमाइला दिनहरू फेरि फर्केर नआउने जस्तो लाग्छ ।’ उनी भन्छन् । आमाको हातको अचार र घरको बासनाको सम्झना दशैँसँग जोडिएको पौडेलको अर्को गहिरो सम्झना हो आमाको हातको खाना । दशैँका बेला आमाले बनाउने कालो कर्कलोको अचार, मुला र काँक्रोको अचार तथा विभिन्न घरेलु मसला प्रयोग गरेर तयार पारिने परिकारहरू उनलाई असाध्यै याद आउँछन् । आमाले बनाएका सबै परिकार उनलाई मीठा लाग्छन् । घरभित्र पस्दा आउने दसैँको विशेष बासना र भान्साबाट फैलिने खानाको सुगन्धले उनलाई बाल्यकालका दिनहरूमा पर्याउँछ । परदेशमा जति नै सुविधा भए पनि आमाको हातको खानाको स्वाद र घरको न्यानोपनको स्थान अरूले लिन नसक्ने उनी बताउँछन् । ‘दशैँमा परिवारसँग बसेर खानु, आमाले माया गरेर पस्किएको परिकार खानु र बुवाआमाको सामीप्यमा समय बिताउनु जीवनका अमूल्य सुख हुन् ।’ प्रवासमा दसैँका गीत बज्दा मन भारी हुन्छ दशैँको माहोल सुरु हुन थालेपछि नेपाली गीत र धुन सुनिन थालेका छन् । चाडपर्वको वातावरणले प्रवासमा रहेका नेपालीलाई केही समयका लागि आफ्नै देशमा पुगेको अनुभूति गराउँछ । तर, दसैँका गीतहरू खुसीका साथै पीडा महसुस हुने उनी बताउँछन् । दशैँका गीत बज्दा मन भारी हुने, आँखा रसाउने र परिवारसँगै हुन नपाएको अनुभूति तीव्र हुने उनी बताउँछन् । ‘सामाजिक सञ्जालमा परिवारसँग टीका लगाएका तस्बिरहरू देख्दा पनि मन खल्लो हुन्छ ।’ उनले भने ‘अरूले बुवाआमाको हातबाट टीका लगाएको, परिवारसँग बसेर खुसी साटेको र गाउँघरमा दसैँ मनाएको दृश्यले आफ्नै घर र परिवारको याद झन् बढाउँछ ।’ प्रवासमा पनि जमरा, टीका र नेपालीपन परदेशमा रहेर पनि पौडेल आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिनुपर्छ भन्ने मान्यता राख्ने गरेका छन् । नागपञ्चमी, जनैपूर्णिमा, कृष्णजन्माष्टमी, दसैँ र तिहारजस्ता चाडपर्वलाई सम्भव भएसम्म प्रवासमै मनाउने प्रयास उनीहरूले गर्दै आएका छन् । यस वर्ष माल्टामा उनले जमरा राखेका छन् । विदेशमा रहेर पनि नेपाली परम्परालाई जोगाउने र नयाँ पुस्तालाई त्यससँग परिचित गराउने प्रयासले चाडपर्वको महत्व झन् बढाउने उनी बताउँछन् । दशैँको अवसरमा यसपटक माल्टामा विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रम पनि आयोजना हुँदैछन् । विभिन्न संघसंस्था र नेपाल सोसाइटीको आयोजनामा टीकाटालो, भेटघाट तथा सामूहिक रूपमा दसैँ मनाउने कार्यक्रमहरू पनि राखिएका छन् । यस्ता कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई एक ठाउँमा भेला हुने अवसर दिने उनी बताउँछन् । ‘गाउँघरबाट टाढा भए पनि नेपाली दाजुभाइ, दिदीबहिनी, समाजका अग्रज र साथीभाइसँग भेट हुँदा नेपालमै रहेको अनुभूति हुन्छ ।’ उनले भने । प्रविधिले जोडेको सम्बन्ध, दूरीले छुटाएको सामीप्य आजको डिजिटल युगमा विदेशमा रहेका नेपालीका लागि फोन र भिडियो कल परिवारसँग जोडिने महत्वपूर्ण माध्यम बनेका छन् । पौडेल पनि यसैको सहारामा दसैँको खुसी परिवारसँग साट्ने तयारीमा छन् । नेपालमा बुवाआमा र छोरीले दसैँ मनाइरहँदा माल्टामा रहेका उनीहरू पनि टीकाटालो गरेर भिडियो कलमार्फत एकअर्कासँग जोडिने बताएका छन् । स्क्रिनमा देखिने अनुहार र प्रत्यक्ष रूपमा अँगालो हालेर भेट्नुबीच ठूलो अन्तर छ । उनी भन्छन्, ‘ भिडियो कलमा सबै कुराहरु हेरेपनि आमाको हातको खानाको स्वाद, बुवाआमाको आशीर्वाद, छोराछोरीको अँगालो र आफ्नै घरमा परिवारसँग बसेर मनाएको दसैँको आत्मीयता जीवनका त्यस्ता अमूल्य खुसी हुन्, जसको विकल्प हुँदैन ।’ उनले भने । हरिप्रसाद पौडेलको कथा प्रवासमा रहेका एक नेपालीको व्यक्तिगत अनुभव मात्र होइन । यो परिवारको भविष्यका लागि परदेशिएका हजारौँ नेपालीको साझा कथा हो । उनीहरू विदेशमा बसेर आर्थिक जिम्मेवारी पूरा गर्छन्, परिवारको सुखका लागि मेहनत गर्छन् र आफ्ना सपना पूरा गर्न संघर्ष गर्छन् । तर, दसैँजस्ता चाडपर्व आउँदा मन भने आफ्नै घर, गाउँ, आमाबुवा र बाल्यकालका सम्झनातिर फर्किन्छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल
एजेन्सी- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ यालु नदी पुल १२ वर्षको ढिलाइपछि बिहीबार सञ्चालनमा आएको छ। यसबाट दुई देशबीच व्यापार, यातायात र आर्थिक सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ। सन् २०१४ मै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको पुल उत्तर कोरियातर्फको निर्माण अधुरो रहेकाले लामो समय रोकिएको थियो। चीनमाथिको आर्थिक निर्भरता, उत्तर कोरियाको […] ...

दशैं, तिहार र छठमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैं, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ। विभागले बिहीबार जरुरी सूचना जारी गर्दै विशेषगरी राजमार्गमा आवतजावत गर्ने यात्रुलाई खाना, खाजा तथा नास्ता उपलब्ध गराउने खाद्य व्यवसायीलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ मात्र बिक्रीवितरण गर्न आग्रह गरेको हो। विभागले उपभोग्य ...

रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’
काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले जलवायुजन्य बाढीबाट प्रभावित विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवद्र्धनका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने बताएका छन् । बिहीवार सिंहदरबारमा राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षति गरेका जलविद्युत आयोजनासहितका भौतिक पूर्वाधारको पुनर्निमाणमा तीनै तहको सरकारबीच आवश्यक समन्वय र सहकार्य आवश्यक ...

बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
• बुढीगण्डकी नदीमा आएको बाढीका कारण ११ जना विदेशी नागरिकसहित ७६ जनालाई नेपाली सेनाले सुरक्षित स्थानमा पुर्याएको छ। • नेपाली सेनाको टोलीले हवाई र स्थल मार्गबाट निरन्तर खोज र उद्धार कार्य गर्दैछ। • राहत सामग्रीको ढुवानीलाई तीव्रता दिई ३,९६० किलोग्राम खाद्यान्न र अन्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। ...


