चीनमाथिको निर्भरता घटाउन भियतनाममा दुर्लभ खनिज खोज्दै ईयू

हनोई । चीनमाथिको अत्यधिक निर्भरता घटाउन युरोपेली युनियन (ईयू) ले भियतनामबाट महत्त्वपूर्ण खनिज पदार्थ खरिद बढाउने रणनीति बनाएको छ। रोयटर्सले प्राप्त गरेको ईयूको आन्तरिक प्रतिवेदन अनुसार रक्षा उद्योग तथा आधुनिक प्रविधिमा आवश्यक पर्ने दुर्लभ धातुहरूको आपूर्तिका लागि युरोपले भियतनामसँगको सहकार्यलाई तीव्र पार्न खोजेको हो। भियतनाममा टङ्गस्टन, रेअर अर्थ (दुर्लभ खनिज), एन्टिमनी, बिस्मथ र बक्साइटजस्ता बहुमूल्य र रणनीतिक खनिजका ठूला भण्डारहरू रहेका छन्। बक्साइटबाट उप-उत्पादनका रूपमा ग्यालियम समेत निकाल्न सकिन्छ। हालसम्म युरोपमा भियतनामबाट मुख्य गरी गोलाबारुद र विस्फोटक पदार्थ उत्पादनमा प्रयोग हुने टङ्कस्टन र एन्टिमनी मात्रै निर्यात हुँदै आएको छ। ‘युरोपलाई रक्षा क्षमता सुदृढ गर्नुपर्ने तीव्र आवश्यकता छ। यस्तो अवस्थामा प्रचुर मात्रामा ‘रेअर अर्थ’ र टङ्गस्टन भण्डार भएको भियतनामजस्तो सम्भावित आपूर्तिकर्तालाई बेवास्ता गर्न सकिँदैन,’ हनोईस्थित ईयू प्रतिनिधिमण्डलले तयार पारेको प्रतिवेदनमा उल्लेख छ। रोयटर्सले प्राप्त गरेको सन् २०२६ जुनको गोप्य प्रतिवेदनमा भियतनामको खानी तथा प्रशोधन उद्योगमा वित्तीय सहयोग बढाउन सिफारिस गरिएको छ। विशेष गरी भियतनामबाट टङ्गस्टन, बिस्मथ, एन्टिमनी र टाइटानियमको आयात विस्तार गर्न आवश्यक रहेको उल्लेख छ। अन्य साझेदार देशहरूसँगको प्रतिस्पर्धाबाट युरोपेली आपूर्ति प्रभावित हुन नदिनका लागि भियतनामलाई वित्तीय प्रोत्साहन दिन जरुरी रहेको उक्त दस्तावेजमा उल्लेख छ। विगतमा बेइजिङले लगाएको निर्यात प्रतिबन्धका कारण युरोपेली आपूर्ति शृङ्खला प्रभावित भएको थियो। प्रतिवेदनले उक्त विषय स्मरण गराउँदै चीनको विकल्प तयार पार्न भियतनामसँग बलियो साझेदारी हुनुपर्नेमा जोड दिएको छ। भियतनामी शीर्ष नेता तो लामको आगामी ब्रुसेल्स भ्रमणका क्रममा यस विषयमा ठोस सहमति गर्ने तयारी ईयूको छ। कूटनीतिक स्रोतका अनुसार यही अक्टोबर २२ मा तो लाम र ईयू नेताहरूबीच उच्चस्तरीय भेटवार्ता तय भएको छ, यद्यपि यसको औपचारिक घोषणा हुन बाँकी छ। ईयूका कार्यकारी प्रवक्ताले दस्ताबेज र भ्रमणबारे प्रतिक्रिया दिँदै भने, ‘युरोपेली आयोगले हाल महत्त्वपूर्ण कच्चा पदार्थको क्षेत्रमा भियतनामसँग ठोस सहकार्यका सम्भावनाहरूको अध्ययन गरिरहेको छ।’ युरोपले चीनबाट खनिज र प्रविधिको निर्भरता तोड्न कूटनीतिक र आर्थिक रणनीति बुनिरहेका बेला युरोपेली बजारमा चिनियाँ इलेक्ट्रिक गाडीहरूको आयात भने बढ्दो छ। दुर्लभ खनिज भएका ईयूका १६ वटा रणनीतिक साझेदार देशहरूको सूचीमा भियतनाम पर्दैन। तर आगामी साताको छलफलमा यस विषयलाई प्राथमिकतामा राखिने अपेक्षा गरिएको दुई अधिकारीहरूले रोयटर्सलाई बताएका छन्। गत साता ब्रुसेल्सले भियतनामलाई आफ्नो कर-छलीको कालोसूचीबाट हटाएको थियो। भियतनामले पनि ईयू देशहरूसँग सन् २०१९ को लगानी सुरक्षा सम्झौतालाई अनुमोदन गर्न माग गरिरहेको छ, जुन फ्रान्सलगायत केही देशका कारण रोकिएको छ। गोप्य दस्तावेजका विषयमा भियतनामको विदेश मन्त्रालय र ईयू प्रतिनिधिमण्डलले कुनै प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। ईयूले आफ्ना साझेदार देशहरूबाटै भइरहेको बढ्दो प्रतिस्पर्धालाई आपूर्तिको सम्भावित खतराका रूपमा हेरेको छ। दस्तावेज अनुसार, गत वर्ष अस्ट्रेलिया, अमेरिका र क्यानडाका कम्पनीहरूले भियतनामको सबैभन्दा ठूलो टङ्गस्टन परियोजना (मासान हाई-टेक मिनिरल्स) मा बहुमत सेयर लिने प्रयास गरेका थिए, जुन असफल भयो। यसबाहेक, अस्ट्रेलियाको ‘लाइनास रेअर अर्थ्स’ र दक्षिण कोरियाको ‘एलएस इको एनर्जी’ले भियतनाममा सुरु गर्न लागेका आयोजनाहरूले पनि ईयूलाई पछाडि पार्ने जोखिम रहेको प्रतिवेदनमा औँल्याइएको छ। त्यसैले ईयूले प्रशोधन उद्योगमा प्राविधिक तथा वित्तीय सहयोग बढाउन जोड दिएको छ। रोयटर्स
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

जेनजी आन्दोलनपछि कांग्रेसको राजनीतिमा एकपछि अर्को सफलता चुम्दै बासना
काठमाडौँ । बासना थापा नेपाली कांग्रेसको राजनीतिमा लागेको धेरै भयो । १३औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेकी उनी १४औँ महाधिवेशनमा भने पराजित भइन् । गत वर्ष भदौमा भएको जेनजी आन्दोलनपछि भने बासनाले... ...

बाढीबाट प्रभावित सोलुखुम्बुका १४ परिवारलाई सात लाख सहयोग
सोलुखुम्बु समाचारदातासोलुखुम्बु, असोज २९ गते । भोटेकोशीमा आएको भीषण बाढीका कारण परिवारका सदस्य सम्पर्कविहीन भएका सोलुखुम्बुका १४ परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।गत भदौ १० ग... ...

बुढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार
गोरखा । बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार भएको छ । आइतबारदेखि बिहीबारसम्म एक हजार ४४ जनाको उद्धार भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। यसमध्ये ७० जना विदेशी नागरिक रहेका उनले बताएका छन् । बाढीले उत्तरी गोरखा जाने पदमार्ग र पुलमा क्षति पु¥याएसँगै सो क्षेत्रमा रहेका नागरिक फसेका थिए । नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरुलाई ...

प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो
काठमाडौं – साताको कारोबार हुने बिहीबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा बन्द भएको नेप्से परिसूचक बिहीबार प्रि–ओपन सेसनमा ०.१५ अंकले बढेर २६२१.४१ विन्दुमा पुगेको हो । यद्यपि, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१८ अंकले घटेको छ । बिहीबारको प्रि–ओपन सेसनमा ५३ वटा स्टकको ९० ...


