स्वर्णिम वाग्लेलाई प्रदीप ज्ञवालीकाे जवाफ : नेपालमा कहिल्यै भारतविरोधी राष्ट्रवादको युग थिएन

काठमाडौं, कात्तिक ९ । नेकपा एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा दिनुभएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनुभएको छ । उहाँले नेपालको राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर व्याख्या गर्नु नेपालको स्वाभिमान र राष्ट्रिय हितमा आँच पुर्याउने विषय भएको टिप्पणी गर्नुभएको छ ।

अर्थमन्त्री वाग्लेले नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै नेपालमा भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग समाप्त भएको बताउनुभएको थियो । उहाँको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेता ज्ञवालीले सामाजिक सञ्जालमार्फत नेपालको राष्ट्रवाद र भारतसँगको सम्बन्धबारे आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो । “अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भनेर दिनुभएको अभिव्यक्ति गैरकूटनीतिक, असान्दर्भिक र नेपालको स्वाभिमान एवं हितमा आँच पुर्याउने खालको छ,” ज्ञवालीले लेख्नुभएको छ ।

उहाँले विदेशी भूमिमा पुगेर आफ्नो देशको आन्तरिक राजनीतिक मतभिन्नताबारे टिप्पणी गर्नु सरकारी पदाधिकारीका लागि उपयुक्त नहुने बताउनुभएको छ । नेपालको राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर प्रस्तुत गर्नु नै गलत भएको उहाँको तर्क छ । “नेपालमा कहिल्यै ‘भारतविरोधी राष्ट्रवादको युग’ थिएन । नेपालले जहिल्यै सार्वभौम समानता र पारस्परिक हित एवं सम्मानमा उभिएको मित्रतापूर्ण सम्बन्ध चाह्यो र आज पनि त्यही चाहन्छ,” ज्ञवालीले स्पष्ट पार्नुभएको छ ।

कुनै व्यक्ति वा समूहको दृष्टिकोणलाई समग्र राष्ट्रको भावनाका रूपमा व्याख्या गर्न नमिल्ने उल्लेख गर्दै उहाँले अर्थमन्त्री वाग्लेलाई प्रश्न गर्नुभएको छ, “अर्थमन्त्रीले कुन ‘युग’ को कुरा गर्नुभएको हो ?”

नेता ज्ञवालीले नेपाल र भारतबीचको सम्बन्ध घनिष्ठ भए पनि दुई देशबीच समाधान हुन बाँकी रहेका विभिन्न समस्या रहेको औँल्याउनुभएको छ । उहाँले सीमा विवाद, सन् १९५० को सन्धिका कतिपय प्रावधान, नेपाली उत्पादनले भारतीय बजारमा प्रवेश पाउन भोग्नुपर्ने झन्झट, बढ्दो व्यापार घाटा र सीमावर्ती क्षेत्रमा बनाइएका एकतर्फी बाँधका कारण नेपाली भूभागमा हुने डुबानजस्ता विषय उठाउनुभएको छ ।

त्यसैगरी, नेपालले पाउनुपर्ने वैकल्पिक हवाई प्रवेश मार्गका विषयमा भइरहेको ढिलाइप्रति पनि उहाँले ध्यानाकर्षण गराउनुभएको छ । यी विषयलाई बेवास्ता गरेर दुई देशबीचको सम्बन्ध बलियो हुन नसक्ने उहाँको भनाइ छ । “घनिष्ठ छिमेकी मित्रसँग यी विषयमा खुलस्त कुरा हुनु आवश्यक छ । समस्यालाई गुन्द्रीमुनि लुकाएर सम्बन्ध बलियो हुँदैन,” ज्ञवालीले लेख्नुभएको छ ।

नेपाल–भारत सम्बन्धमा रहेका समस्या र असहमतिका विषय उठाउनु कुनै देशविशेषको विरोध नभई नेपालको राष्ट्रिय हितसँग सम्बन्धित प्रश्न भएको उहाँले स्पष्ट पार्नुभएको छ । “यी विषयहरू उठाउनु कुनै देशविशेषको विरोध होइन । यो नेपालको राष्ट्रिय हितको प्रश्न हो,” उहाँले उल्लेख गर्नुभएको छ ।

ज्ञवालीले राष्ट्रिय हितको रक्षा गर्नु हरेक सरकारको दायित्व भएको स्मरण गराउँदै नेपाल–भारत सम्बन्धका जटिल विषय समाधान गर्न बलियो राष्ट्रिय एकता र साझा सहमति आवश्यक रहेको बताउनुभएको छ । उहाँका अनुसार राष्ट्रिय सहमतिका आधारमा गम्भीर कूटनीतिक पहल अघि बढाउनु नै समस्याको समाधान गर्ने उपयुक्त बाटो हो ।

अर्थमन्त्री वाग्लेको अभिव्यक्तिलाई लक्षित गर्दै ज्ञवालीले यथार्थलाई ढाकछोप गरेर अपनाइने तुष्टीकरणको नीतिले देशको हित र स्वाभिमानको रक्षा गर्न नसक्ने टिप्पणी गर्नुभएको छ । “यथार्थलाई ढाकछोप गरेर लिइने तुष्टीकरणको नीतिले राष्ट्रिय हित र स्वाभिमानलाई बलियो बनाउँदैन, बरु तिनमा आँच पुर्याउँछ,” उहाँले लेख्नुभएको छ ।

नेपाल र भारतबीचको सम्बन्ध पारस्परिक सम्मान, समान सार्वभौमिकता र साझा हितका आधारमा अघि बढ्नुपर्नेमा जोड दिँदै ज्ञवालीले राष्ट्रिय स्वाभिमानसँग जोडिएका विषयमा स्पष्ट अडान राख्नु सरकारको जिम्मेवारी भएको धारणा व्यक्त गर्नुभएको छ ।

Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

चलचित्र विकास बोर्ड अध्यक्षमा मनिष पण्डित, सम्हाले कार्यभार
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले सोमबारबाट कार्यभार समेत सम्हालेका छन् । सूचना तथा सञ्चार मन्त्री डा.बिक्रम तिमिल्सिनासँग नियुक्ति पत्र बुझ्दै उनले औपचारिक रूपमा कार्यभार सुरु गरेका हुन् । मन्त्री तिमिल्सिनाले पण्डितलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना दिए । सो अवसरमा डा. तिमिल्सिनाले बोर्डलाई सबै चलचित्रकर्मीको साझा ...

ईश्वर जिसी भन्छन्- अनुभवबाट सिक्दै उपाधि जित्ने लक्ष्यमा लुम्बिनी लायन्स
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्सले अघिल्लो सिजनका अनुभवबाट सिक्दै अझ सन्तुलित र प्रतिस्पर्धी टोलीका रूपमा प्रस्तुत हुने लक्ष्य लिएको छ । लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले नेपाली खेलाडीको क्षमता, विदेशी खेलाडीको अनुभव र समर्थकको विश्वासलाई आधार बनाएर यस वर्ष उत्कृष्ट प्रदर्शन गर्ने तयारीमा रहेको बताएका छन् । अध्यक्ष जिसीले अघिल्लो सिजनको फाइनलसम्मको यात्रालाई महत्वपूर्ण अनुभवका रूपमा लिँदै यसपटक ...

साइबर जोखिमपछि बन्द सरकारी वेबसाइट सञ्चालनमा, केही सेवामा अझै समस्या
गत बिहीबारदेखि बन्द रहेका सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू पुनः सञ्चालनमा आएका छन् । दशैंको लामो बिदापछि सोमबारदेखि खुलेका सरकारी कार्यालयहरूमा अनलाइन प्रणालीमा देखिएको समस्या पुनः सञ्चालनमा आएसँगै सेवाग्राहीहरूले नियमित सेवा लिन थालेका छन् । अधिकांश सरकारी वेबसाइटमार्फत सेवा सुचारु भए पनि काठमाडौं महानगरपालिकाका वडा कार्यालयहरूमा भने अनलाइन सिफारिस प्रणालीमा समस्या देखिएको छ । काठमाडौं महानगरपालिकाको ३१ नम्बर वडा कार्यालयका वडासचिव सुरेश साहु ...

रेष्टुरेन्ट सञ्चालकको मृत्यु प्रकरणमा रेष्टुरेन्टकै क्यासियर रहेकी युवती पक्राउ, प्रेम सम्बन्धमा रहेको खुलासा
मोरङ, कात्तिक ९ । शनिवार दिउँसो केराबारीको जङलमा मृत फेला परेका विराटनगरका होटल सञ्चालकको मृत्युको विषयलाई लिएर प्रहरीले रेष्टुरेन्टमै कार्यरत एक युवतीलाई पक्राउ गरेको छ । फिजफायर रेष्टुरेन्टका सञ्चालक मनोज खत्रीको मृत्यु प्रकरणको अनुसन्धानको क्रममा प्रहरीले सोही होटलमा कार्यरत युवतीलाई नियन्त्रणमा लिएको हो । रेष्टुरेन्ट सञ्चालक खत्री शनिबार दिउँसो केराबारी गाउँपालिका–९ को धारापानी जङ्गलमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । ...