स्पाम कलबाट हैरान हुनुहुन्छ? रोबोकल गर्नेहरूले सबैभन्दा पहिले तपाईंको फोन नम्बर कसरी प्राप्त गर्छन् भन्ने कुरा यहाँ जान्नुहोस्। स्पाम कल होस् वा टेक्स्ट म्यासेज, अहिलेको डिजिटल संसार अनावश्यक सन्देश र फोनमार्फत हुने ठगीले भरिएको छ। आफूले अर्डर नै नगरेका सामानको डेलिभरी वा कहिल्यै प्रयोग नगरेका सेवाबारे सूचना आइरहँदा यस्ता विज्ञापन र ठगीका सन्देश आफू कहाँबाट आइरहेका छन् भन्ने जिज्ञासा हुन सक्छ। तर केही उपाय अपनाएर यस्ता अनावश्यक कल र सन्देशको संख्या घटाउन सकिन्छ। एन्ड्रोइड, आईफोन र अन्य डिभाइसमा स्पाम कल रोक्ने विभिन्न उपाय छन्। तर समस्या आएपछि समाधान खोज्नुभन्दा पहिले नै सावधानी अपनाउनु राम्रो हुन्छ। स्पाम गर्नेहरूबाट बच्न सबैभन्दा पहिले उनीहरूले तपाईंको फोन नम्बर कसरी प्राप्त गरिरहेका छन् भन्ने बुझ्न आवश्यक छ। दुर्भाग्यवश, यसका धेरै कारण हाम्रो नियन्त्रणबाहिर हुन्छन्। जस्तै, रोबोकल प्रणालीबाट अनियमित रूपमा नम्बर डायल हुनु वा कुनै कम्पनीको डेटा चोरी हुनु। यद्यपि, आफ्नो फोन नम्बर थप फैलिन नदिन केही सावधानी अपनाउन सकिन्छ। स्पाम कल र म्यासेज आउनुको एउटा ठूलो कारण संयोग पनि हो। कहिलेकाहीँ कुनै महत्त्वपूर्ण अनलाइन खातामा दर्ता हुन आफ्नो फोन नम्बर दिनुपर्ने हुन्छ। तर पछि त्यही वेबसाइट वा सेवा साइबर आक्रमणको सिकार भएर प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी हुन सक्छ। त्यस्तै गैरकानुनी रूपमा सञ्चालन भइरहेका रोबोकल प्रणालीले अनियमित रूपमा तपाईंको नम्बरमा फोन गर्न सक्छन्। उनीहरूले अदालतका सार्वजनिक अभिलेख, घरजग्गासम्बन्धी कागजात वा कम्पनी दर्तासम्बन्धी विवरणबाट पनि फोन नम्बर प्राप्त गर्न सक्छन्। इन्ग्याजेटका अनुसार अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी) को ‘डु नट कल रजिस्ट्री’मा आफ्नो नम्बर दर्ता गराए पनि सबै प्रकारका स्पाम कलबाट बच्न सकिँदैन। यो सूचीले अधिकांश टेलिमार्केटिङ कललाई प्रतिबन्ध लगाउने भए पनि परोपकारी संस्था, राजनीतिक दल, ऋण असुली गर्ने कम्पनी, टेलिफोन सर्वेक्षण गर्ने संस्था र अन्य छुट प्राप्त निकायबाट कल आउन सक्छ। तर स्पाम गर्ने र ठगी गर्नेहरूले प्रयोग गर्ने अधिकांश फोन नम्बर डाटा ब्रोकरबाट खरिद गरिएका हुन्छन्। धेरैजसो अवस्थामा तपाईंले विभिन्न अनलाइन खाता, लोयल्टी कार्यक्रम, प्रतियोगिता वा पुरस्कार योजनामा सहभागी हुँदा उपलब्ध गराएको विवरण तेस्रो पक्षलाई कानुनी रूपमा बिक्री गरिन्छ। कुनै सेवा प्रयोग गर्न अनिवार्य सर्तका रूपमा वा वेबसाइटमा राखिएका झुक्याउने खालका चेकबक्समा ध्यान नदिई सहमति जनाउँदा पनि तपाईंको विवरण बिक्री हुन सक्छ। त्यस्तै, फिसिङ ठगीमा परेर पनि तपाईंको फोन नम्बर र अन्य व्यक्तिगत विवरण बाहिरिन सक्छन्। नक्कली लगइन पेजमा विवरण भर्नु, शंकास्पद वेबसाइटमा खाता खोल्नु, नक्कली रोजगारी विज्ञापनमा आवेदन दिनु वा झुटो एप तथा सेवामा दर्ता हुनु यसका उदाहरण हुन्। यदि तपाईंले कुनै अनलाइन सेवामा आफ्नो फोन नम्बर उपलब्ध गराउनुभएको छ भने त्यो विवरण बिक्री भएको हुन सक्ने सम्भावना रहन्छ। तपाईंका डिभाइसमा फिसिङबाट जोगाउने केही सुरक्षा सुविधा हुन्छन्। जोखिमपूर्ण वेबसाइटबारे ब्राउजरले चेतावनी दिने तथा बैंकिङ ठगीबाट बचाउन एन्ड्रोइडले उपलब्ध गराउने थप सुरक्षा सुविधा यसका उदाहरण हुन्। तर आफ्नो फोन नम्बर सुरक्षित राख्न तपाईंले पनि सावधानी अपनाउनुपर्छ। सधैँ आफूले प्रयोग गर्ने वेबसाइटबारे सचेत रहनुहोस्। धेरै विज्ञापन देखाउने वा आफूलाई जानकारी नभएका वेबसाइट प्रयोग नगर्नुहोस्। कुनै वेबसाइटमा खाता खोल्नुअघि त्यसबारेका समीक्षा र ठगीसम्बन्धी उजुरीहरू खोजेर हेर्दा थप सुरक्षित हुन सकिन्छ। सामान्यतया, सार्वजनिक सामाजिक सञ्जाल प्रोफाइलमा आफ्नो फोन नम्बर नराख्नुहोस्। साथै, कतिवटा अनलाइन खाता खोल्दै हुनुहुन्छ र दर्ता गर्दा कुन-कुन विकल्पमा सहमति जनाउँदै हुनुहुन्छ भन्ने कुरामा ध्यान दिनुहोस्। यदि रोबोकल गर्नेहरूले लगातार फोन गरेर हैरान बनाइरहेका छन् भने अमेरिकाको एफटीसीको ‘डु नट कल रजिस्ट्री’मा आफ्नो नम्बर दर्ता गराउनु एउटा उपाय हुन सक्छ। यसले स्पाम कलको जोखिम कम गर्न मद्दत गर्छ। आफ्नो फोन नम्बर कसरी बाहिरियो भन्ने पत्ता लगाउन सम्बन्धित अनलाइन खाता कुनै डेटा चोरीको घटनामा परेको थियो कि थिएन भनेर पनि जाँच गर्न सकिन्छ। यसका लागि ‘Have I Been Pwned’ जस्ता वेबसाइटमा आफ्नो इमेल ठेगाना खोज्न सकिन्छ। त्यस्तै, आफ्नो फोन नम्बरलाई उद्धरण चिह्नभित्र राखेर गुगलमा खोज्दा त्यो नम्बर इन्टरनेटमा कतै सार्वजनिक भएको छ कि छैन भन्ने पनि पत्ता लगाउन सकिन्छ। The post स्पाम कल गर्नेहरूले सबैभन्दा पहिले तपाईंको फोन नम्बर कसरी पाउँछन्? जान्नुहोस् appeared first on Technology Khabar.
स्पाम कल गर्नेहरूले सबैभन्दा पहिले तपाईंको फोन नम्बर कसरी पाउँछन्? जान्नुहोस्

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






