सिड्नी । अस्ट्रेलियाको सिड्नीमा गाडीको अगाडिको सिसा र ड्यासबोर्डमा सातवटा मोबाइल फोन तथा अन्य विद्युतीय उपकरण जडान गरी सवारी चलाउने एक चालकलाई प्रहरीले कारबाही गरेको छ । न्यु साउथ वेल्स (एनएसडब्ल्यू) प्रहरीले दिएको जानकारीअनुसार नोभेम्बर १७ मा बेराला क्षेत्रमा नियमित गस्तीका क्रममा लिडकमका एक पुरुष चालकको गाडी रोकेर जाँच गर्दा उक्त असामान्य दृश्य फेला परेको थियो । प्रहरीले गाडीको अगाडिको सिसा र ड्यासबोर्डमा विभिन्न स्थानमा सातवटा विद्युतीय उपकरणका स्क्रिन जडान गरिएको पाएको थियो । तीमध्ये एउटा स्क्रिनमा युट्युबको श्रव्यदृश्य सामग्रीसमेत सञ्चालन भइरहेको थियो । यस घटनामा प्रहरीले चालकलाई सडकको दृश्य अवरुद्ध हुने गरी उपकरण जडान गरेको र सवारी चलाउँदा चालकको दृष्टिमा पर्ने स्थानमा श्रव्यदृश्य सामग्री सञ्चालन गरेको आरोपमा दुईवटा जरिवाना सूचना जारी गरेको छ । प्रहरीले सार्वजनिक गरेको तस्बिरमा गाडीको अगाडिको भागभरि विभिन्न आकारका मोबाइल फोन तथा अन्य स्क्रिनहरू जडान गरिएको देखिन्छ । एनएसडब्ल्यू प्रहरीले सवारी चलाउँदा चालकको ध्यान सडकमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै यस्ता उपकरणले चालकको ध्यान भंग गराउनुका साथै दुर्घटनाको जोखिम बढाउन सक्ने चेतावनी दिएको छ । प्रहरीका अनुसार प्रतिघण्टा ५० किलोमिटरको गतिमा गुडिरहेको गाडीमा चालकले चार सेकेन्डसम्म सडकबाट आँखा हटाउँदा गाडी करिब ५५ मिटर अगाडि बढिसकेको हुन्छ । प्रहरीले चालकहरूलाई अगाडिको सडक दृश्य छेक्ने गरी कुनै पनि उपकरण जडान नगर्न तथा सवारी चलाउँदा मोबाइल फोन वा अन्य स्क्रिनमा श्रव्यदृश्य सामग्री नहेर्न आग्रह गरेको छ ।
सिड्नीमा एकै गाडीमा सातवटा विद्युतीय उपकरण जडान, चालकलाई प्रहरीको कारबाही

Read Complete Original Article
Published originally on अनलाइनपाना






