काठमाडौं।सरकारले दुई अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने, सडक सुधारका लागि वैदेशिक सहायता स्वीकार गर्नेलगायत ६ वटा निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले एसियाली विकास बैंक (एडीबी) बाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठकले प्रेस काउन्सिल ऐन, २०४८ तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधनसम्बन्धी दुई अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। त्यस्तै, नेपाल पुनर्बिमा कम्पनी लिमिटेडमा सरकारका तर्फबाट थप हकप्रद सेयर लगानी गर्न सहमति प्रदान गरिएको छ। कृषि क्षेत्रसँग सम्बन्धित नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री हुने जैविक एवं प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समेट्ने गरी मल नियन्त्रण आदेश, २०८३ पनि स्वीकृत गरिएको छ। बैठकले आगामी कात्तिक २३ देखि मंसिर ४ गतेसम्म टर्कीको आन्ताल्यामा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई अनुमति दिने निर्णय समेत गरेको छ। यसैगरी, मोही लागेको जग्गाको बाँडफाँटका लागि निवेदन दिने म्याद २०८५ कात्तिक मसान्तसम्म र जग्गा बाँडफाँटसम्बन्धी प्रक्रिया टुंग्याउने अवधि २०८६ असार मसान्तसम्म थप गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताए।
सरकारका ६ निर्णय : अध्यादेशदेखि सडक ऋणसम्म

Read Complete Original Article
Published originally on नेपालन्युज






