काठमाडौं। तीव्र गतिका बलर जाहानदाद खान र करण केसीको सनसनीपूर्ण बलिङ प्रेरणामा काठमाडौं गोर्खाजले तेस्रो जितसँगै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा दोस्रो स्थानमा उक्लिएको छ। कीर्तिपुरमा शनिबार पाकिस्तानी बलर जाहानदाद र करण चम्किएपछि काठमाडौंले लुम्बिनीमाथि ३६ रनको जित निकालेको हो। यससँगै शीर्ष स्थानमा रहेको लुम्बिनीको अपराजित यात्रा पाँचौं खेलमै पूर्णविराम लागेको छ। त्रिवि क्रिकेट स्टेडियममा काठमाडौंले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमै अलआउट भयो। मध्यक्रमका ब्याटर सन्दीप जोराले ४४ रन बनाए। त्यसबाहेक लुम्बिनीका अन्य ब्याटर लामो समय टिक्न सकेनन्। ४.३ ओभरमा २८ रनमा ६ विकेट गुमाएर धराशायी बनेको लुम्बिनीको इनिङ सन्दीपले सम्हाले। तर, उनको प्रयासले टोलीलाई जित दिलाउन सकेन। १८औँ ओभरमा आउट हुनुअघि उनले ४५ बलमा तीन चौका प्रहार गरे। करण र जाहानदादले संयुक्त रूपमा ६ विकेट लिएपछि काठमाडौंको जितको आधार तयार भएको थियो। पाँचौँ ओभरभित्रै यी दुई बलरले लुम्बिनीका शीर्षक्रमका ६ ब्याटरलाई सस्तैमा आउट गर्दै टोलीलाई नाजुक अवस्थामा पुर्याएका थिए। ४.३ ओभरमा लुम्बिनी २८/६ को अवस्थामा थियो। त्यसपछि सातौँ विकेटका लागि सन्दीप र रुबेल ट्रम्पलमेनले इनिङ सम्हाल्ने प्रयास गरे। तर ट्रम्पलमेन ११ रनमा आउट भए। उनलाई युवा स्पिनर सन्तोष यादवले बोल्ड गरे। यसअघि सन्दीप र ट्रम्पलमेनबीच २१ रनको साझेदारी बनेको थियो। ९.१ ओभरमा लुम्बिनी ४९/७ को अवस्थामा पुगेको थियो। तर एक छेउबाट सन्दीपले इनिङ सम्हालिरहे। उनले आठौँ विकेटका लागि अभिषेक गौतमसँग ४६ रन तथा नवौँ विकेटका लागि शेर मल्लसँग १९ रनको साझेदारी गर्दै लुम्बिनीलाई सय रनको आँकडा पार गराए। तर ती साझेदारी जितका लागि पर्याप्त भएनन्। ओपनरद्वय डार्सी सट र आसिफ शेखसँगै कप्तान रोहित पौडेल र विकेटकिपर निरोसन डिकवेला जस्ता महत्वपूर्ण ब्याटर दोहोरो अंकमा रन नजोड्दै आउट हुँदा लुम्बिनी पराजित हुन पुग्यो। काठमाडौंको बलिङमा जाहानदादले चार र करणले दुई विकेट लिए। साहब आलम, सन्तोष, सेहान आराचिगे र राशिद खानले समान एक विकेट लिए। पहिलो विकेटका लागि शतकीय साझेदारी भए पनि काठमाडौंले विशाल योगफल बनाउन सकेन। पूरै ओभर खेल्दै काठमाडौंले सात विकेट गुमाएर १६० रनको मध्यम योगफल बनाएको थियो। ओपनरद्वय डेभिड वार्नरले ६६ र साहिल पटेलले ३८ रन बनाए। वार्नरले ५० बलमा नौ चौका र एक छक्का प्रहार गरे। ३६ बल खेलेका साहिलले समान दुई चौका र छक्का हिर्काए। यी दुई ब्याटर चम्किएपछि एक समय काठमाडौं दुई सय रनको आसपास पुग्ने अनुमान गरिएको थियो। तर १४औँ ओभरमा पटेल र १६औँ ओभरमा वार्नर आउट भएपछि काठमाडौंको इनिङ धराशायी हुन थाल्यो। काठमाडौंले १२औँ ओभरमै सय रनको आँकडा पार गरिसकेको थियो। त्यसपछि लुम्बिनीका बलरले उत्कृष्ट पुनरागमन गर्दै दबाब बढाए। लुम्बिनीका स्पिनरले १३औँ ओभरदेखि किफायती बलिङ गर्दै काठमाडौंलाई दबाबमा राखे। वार्नर र साहिल पभेलियन फर्किएपछि काठमाडौंले लगातार विकेट गुमाउन थाल्यो। अन्तिम आठ ओभरमा काठमाडौंले ६० रन जोड्दा छ विकेट गुमायो। यससँगै ठूलो योगफल बनाउने काठमाडौंको लक्ष्य पूरा हुन सकेन। लुम्बिनीले १७ ओभरसम्म कसिलो बलिङ गरेको थियो। त्यसबेला काठमाडौं ११९/४ को अवस्थामा थियो। तर अन्तिम तीन ओभरमा काठमाडौंले ४१ रन जोड्दै प्रतिस्पर्धात्मक लक्ष्य खडा गर्न सफल भयो। यस क्रममा सेहान आराचिगेले १५ बलमा ३४ रनको आक्रामक इनिङ खेले। उनको इनिङमा तीन चौका र एक छक्का रह्यो। सेहानको आक्रामक ब्याटिङले काठमाडौंलाई प्रतिस्पर्धात्मक लक्ष्य दिन मद्दत गर्यो। लुम्बिनीका बलरले लयमा फर्किँदै काठमाडौंलाई ठूलो योगफल बनाउनबाट रोके। तीव्र गतिका बलर रुबेन ट्रम्पलमेन तथा स्पिनरद्वय शेर मल्ल र अभिषेक गौतमले समान दुई विकेट लिए। आइतबार विश्रामको दिन रहेको छ। – न्युज एजेन्सी नेपाल
लुम्बिनीको अपराजित यात्रामा पूर्णविराम

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






