भोटेकोसी बाढीको नाममा सरकारले उठायो १७ अर्ब ७५ करोड, खर्चियो ३७ करोड मात्रै

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारले करिब १८ अर्ब रुपैयाँ संकलन गरेको छ । तर, हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट उक्त रकम खर्च भएको छैन । कोषमा जम्मा भएको १७ अर्ब ७५ करोड रुपैयाँ खर्च नभई त्यसै थन्किएको हो । पहिलो चरणको आधारभूत व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केन्द्रीय विपद् व्यवस्थापन कोषबाट खर्च व्यवस्थापन गर्दै आएको छ । जसअनुसार प्राधिकरणले करिब दुई महिनामा बाढी प्रभावित क्षेत्रको उद्धार तथा आधारभूत व्यवस्थापनका लागि ३७ करोड रुपैयाँ मात्रै खर्चिएको छ । गत भदौ १० गते रसुवाको भोटेकोसीमा बाढी आउँदा रसुवा, धादिङ, नुवाकोट लगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । सरकारले गठन गरेको इनिसियल र्यापिड एसेसमेन्ट टोलीले उक्त बाढीबाट चार खर्ब आठ अर्ब रुपैयाँबराबरको क्षति भएको तथ्यांक निकालेको थियो । उक्त क्षतिपछिको पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब रुपैयाँ आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ । तर, बाढी आएको दुई महिना बित्नै लाग्दा समेत सरकारले पुनर्निर्माणलाई तीव्रता दिन सकेको छैन । बरु संकलित रकम पुनर्निर्माणका लागि थन्क्याएर प्राधिकरणको केन्द्रीय कोषबाट आधारभूत खर्च मात्रै गरिँदै आएको छ, जुन आवश्यकताभन्दा निकै न्यून हो । प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार, हालसम्मको खर्च प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषबाट नभई केन्द्रीय विपद् व्यवस्थापन कोषबाट भइरहेको छ । “केन्द्रीय विपद् कोषमा करिब चार अर्ब रुपैयाँ मौज्दात थियो, त्यसैबाट प्राधिकरणले हालसम्म ३७ करोड रुपैयाँ खर्चिएको हो,” प्रवक्ता केसीले बाह्रखरीसँग भने । प्राधिकरणले हालसम्म रसुवा, नुवाकोट र धादिङका जिल्ला विपद् व्यवस्थापन कोषमा कुल दुई करोड ५० लाख रुपैयाँ पठाएको छ । जसअनुसार रसुवामा एक करोड, नुवाकोटमा एक करोड र धादिङमा ५० लाख रुपैयाँ निकासा गरिएको छ । त्यस्तै, बाढीबाट प्रभावित १५ वटा स्थानीय तहलाई संकटग्रस्त घोषणा गरिएपछि ती क्षेत्रको व्यवस्थापनका लागि १३ करोड ५० लाख रुपैयाँ खर्च गरिएको प्राधिकरणले जनाएको छ । उद्धार कार्यमा खटिएका सुरक्षा निकायलाई पनि केन्द्रीय कोषबाटै रकम उपलब्ध गराइएको छ । जसअन्तर्गत नेपाली सेनालाई उद्धार तथा व्यवस्थापन खर्चबापत नौ करोड, नेपाल प्रहरीलाई ६ करोड र सशस्त्र प्रहरी बललाई ६ करोड रुपैयाँ पठाइएको केसीले बताए । यसरी जिल्ला विपद् व्यवस्थापन कोष, संकटग्रस्त स्थानीय तह तथा सुरक्षा निकायमा रकम पठाउँदा हालसम्म ३७ करोड रुपैयाँ खर्च भएको प्राधिकरणको विवरण छ । पहिलो चरणको व्यवस्थापन सकेको प्राधिकरणले दोस्रो चरणमा भने प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको रकम प्रयोग गरिने उल्लेख गरेको छ । तर, हाललाई प्रभावित क्षेत्रबाट थप रकम माग नभएकाले तत्काल थप निकासा गर्नुपर्ने अवस्था नरहेको प्रवक्ता केसीले बताए । “हाम्रो प्रमुख खर्च जिल्लामार्फत हुने हो । जिल्लाबाट माग नभएपछि थप पैसा आवश्यकता परेको छैन,” उनले थपे, “केन्द्रबाट सिधै खर्च गर्ने भन्ने हुँदैन, जिल्लाको कोषबाट खर्च गरिन्छ । उहाँहरूले आवश्यकताअनुसार रकम माग गरेपछि केन्द्रीय कोषबाट निकासा हुन्छ । अहिले त्यसरी कसैले थप रकम माग्नुभएको छैन ।” जिल्लाबाट थप रकम माग भएको र केन्द्रीय कोषको रकम सकिएको खण्डमा मात्रै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको रकम माग गर्ने योजनामा प्राधिकरण छ । मृतकका परिवारले दाहसंस्कार सके तर खर्च पाएनन् बाढीमा परेर बेपत्ता भएका व्यक्तिहरूलाई सरकारले अझै मृत घोषणा गरिसकेको छैन । बाढीमा परी मृत्यु भएकाहरूको अन्तिम संस्कारका लागि प्रतिव्यक्ति दुई लाख रुपैयाँ दिने सरकारको घोषणा छ । बाढी आएको दुई महिना बितिसक्दा अधिकांश बेपत्ताका परिवारले सांस्कृतिक रूपमा अन्तिम संस्कार (काजकिरिया) समेत गरिसकेका छन् । तर, सरकारले कानुनी रूपमा मृत घोषणा गर्न ढिलाइ गर्दा पीडितले पाउने राहत रकम वितरण हुन नसकेको हो । बाढीमा बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढेपछि राहत तथा क्षतिपूर्तिका लागि थप रकम आवश्यक पर्ने प्राधिकरणको अनुमान छ । हाल विवरणमा उल्लेख भएका बेपत्ता व्यक्तिहरूलाई मृत घोषणा गरेपछि प्रतिव्यक्ति दुई लाख रुपैयाँका दरले रकम उपलब्ध गराइने केसीले बताए । “हामीले जिल्लाको कोषमा रकम पठाइसकेका छौँ, स्थानीय तहबाट माग भएबमोजिम त्यो वितरण हुनेछ । बेपत्ता व्यक्तिलाई मृत घोषणा गरेपछि रकम वितरणको माग आउन सक्छ,” उनले भने । यद्यपि, उक्त शीर्षकमा कुल कति रकम खर्च हुन्छ भन्ने यकिन विवरण अहिले नै आइनसकेको प्राधिकरणले जनाएको छ । जिल्लाबाट माग आएपछि मात्रै आवश्यक रकम निकासा हुने भएकाले आगामी दिनमा खर्च बढ्न सक्ने देखिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि प्रयोग गरिएका हेलिकोप्टरको खर्चसमेत अझै पूर्ण रूपमा हिसाबमा आइनसकेको केसीले बताए । निजी क्षेत्रबाट हेलिकोप्टर प्रयोग गरेबापत १२ देखि १३ करोड रुपैयाँबराबरको बिल आएको उनको भनाइ छ । तर, सबै खर्चको विवरण संकलन भइनसकेकाले अन्तिम लागत कति पुग्छ भन्ने स्पष्ट भएको छैन । सरकारले संकलन गरेको रकम तत्काल खर्च नभएको देखिए पनि प्राधिकरणले भने जिल्लाबाट माग नआएसम्म केन्द्रबाट रकम निकासा गर्ने अवस्था नरहेको जनाएको छ । अर्कोतर्फ, पुनर्निर्माणका लागि आवश्यक रकम प्रारम्भिक आकलनमै सात खर्ब रुपैयाँभन्दा माथि देखिएकाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रहेको रकमले मात्रै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण धान्न निकै कठिन हुने देखिन्छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

भ्रमणका नाममा खिचडी नपकाउनू : रवि लामिछाने
महेन्द्रनगर।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाका हुदै आज भारत प्रस्थान गरेका छन्। सभापति लामिछानेले पत्नीसहित स्थलमार्ग हुँदै भारतको उत्तराखण्डको नैनीताल जिल्लाको प्रसिद्ध धार्मिकस्थल कैचीधाम .नीम करौली बाबा) को दर्शन गर्ने कार्यक्रम रहेको छ। तीन दिने तीर्थाटनका क्रममा उत्तराखण्डको कैचीधामका साथै गुवाहिटीस्थित कामाख्या मन्दिरमा पूजार्चना गर्ने कार्यक्रम रहेको सो पार्टीका सचिवालय सदस्य एवं सांसद दीपकराज बोहराले ...

पीएचपीको एउटा कमजोरीले विश्वभर बढेको साइबर सुरक्षा जोखिम, १५ प्रश्न र उत्तरमा बुझ्नुहोस्
पीएचपी२शेल के हो? यसले वेबसाइट, बैंकिङ सेवा र सरकारी डिजिटल प्रणालीमा कस्तो जोखिम सिर्जना गर्छ? नेपालमा किन वेबसाइटका सेवा अस्थायी रूपमा बन्द गरिए? जोखिमबाट बच्न कसले के गर्नुपर्छ र अबको बाटो के हो? एजेन्सीको सहयोगमा टक्साले १५ प्रश्न र उत्तरमा यस विषयमा बुझ्न सहयोग गर्न सामग्री बनाएको छ; काठमाडौं। विश्वभर व्यापक रूपमा प्रयोग हुने पीएचपी (PHP) प्रोग्रामिङ भाषामा भेटिएका दुई ...

ट्युनिसियामा प्रहरी र प्रदर्शनकारीबिच झडप, देशव्यापी असन्तोष बढ्दै
ट्युनिस । ट्युनिसियाको राजधानी ट्युनिससहित विभिन्न सहरमा प्रहरीसँग प्रदर्शनकारीको झडप भएको छ । प्रहरी नियन्त्रणमा रहेका व्यक्तिको मृत्यु तथा सार्वजनिक सेवाको कमजोर अवस्थालाई लिएर बिहीबार प्रदर्शन चर्किएको हो । राजधानीको उपनगरीय... ...

गड्डाचौकी नाका हुँदै भारततर्फ लागेका रविले भने- जेलमा गरेका भाकल पूरा गर्न जाँदैछु
महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तीर्थाटनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान गरेका छन् । सभापति लामिछानेले पत्नीसहित स्थलमार्ग हुँदै भारतको उत्तराखण्डको नैनीताल जिल्लाको प्रसिद्ध धार्मिकस्थल कैचीधाम (नीम करौली बाबा)को दर्शन गर्ने कार्यक्रम रहेको छ । तीन दिने तीर्थाटनका क्रममा उत्तराखण्डको कैचीधामका साथै गुवाहिटीस्थित कामाख्या मन्दिरमा पूजार्चना गर्ने कार्यक्रम रहेको सो पार्टीका सचिवालय सदस्य एवं सांसद ...


