हुम्ला। कर्णाली प्रदेश सरकारले हुम्लाको ताँजाकोट गाउँपालिकाको भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिएको मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बताएका छन्। ‘गाउँपालिका अध्यक्ष शैक्षिक गुणस्तर तथा अतिरिक्त क्रियाकलाप सप्ताह कार्यक्रम–२०८३’ को आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली करिडोरदेखि ताँजाकोट जोड्ने सडक स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनले ताँजाकोटको पर्यटकीयस्थल रानीसैनको प्रचारप्रसार तथा प्रवर्द्धनमा पनि प्रदेश सरकार सक्रिय रहेको बताए। पछिल्लो १० वर्षमा ताँजाकोटको मुहार परिवर्तन हुनु सङ्घीयता र समावेशिताको उपलब्धि भएको उनको भनाइ थियो। गाउँपालिकाले हरेक वर्ष आयोजना गर्दै आएको शैक्षिक सप्ताहमा स्थानीय विद्यालयबीच ५० भन्दा बढी विधामा प्रतिस्पर्धा गराइँदै आएको छ। प्रतियोगितामा प्रथम हुने विद्यालयलाई एक लाख, द्वितीयलाई ७५ हजार, तृतीयलाई ५० हजार र सान्त्वना स्थान हासिल गर्ने विद्यालयलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिँदै आएको छ। विद्यार्थीको शैक्षिक गुणस्तर सुधार, प्रतिभा पहिचान र क्षमता विकासमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए। कार्यक्रममा कर्णाली प्रदेशका कृषिमन्त्री जुम्कित लामा र पूर्वजलस्रोतमन्त्री रणसिंह परियारलगायत सहभागी थिए।
पूर्वाधार विकासलाई प्राथमिकता दिएका छौँः मुख्यमन्त्री शाही

Read Complete Original Article
Published originally on नेपालन्युज






