नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को पार्टीमा आबद्ध हुने तथा पार्टीविरुद्ध गतिविधि गर्ने जनप्रतिनिधिलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेका नेताहरूलाई लक्षित गर्दै यस्तो आग्रह गरेका हुन् । पार्टीको विधान र निर्णय नमान्ने व्यक्तिले कांग्रेसको नाममा निर्वाचित पद ओगटेर बस्न नहुने उनको भनाइ थियो । कांग्रेस एउटा मात्रै रहेको र पार्टीको महाधिवेशन सम्पन्न भइसकेको उल्लेख गर्दै उनले पार्टीको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को पार्टीमा प्रवेश गर्ने व्यक्तिको कांग्रेस सदस्यता कायम नरहने बताए । उनले राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहमा कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएका जनप्रतिनिधिलाई अर्को पार्टीमा आबद्ध भएको अवस्थामा तत्काल पदबाट राजीनामा दिन आग्रह गरे । ‘तपाईं राष्ट्रिय सभामा हुनुहुन्छ, प्रतिनिधिसभामा हुनुहुन्छ, प्रदेशसभामा हुनुहुन्छ, स्थानीय नगरपालिकाको मेयर, उपमेयर हुनुहुन्छ, वडा अध्यक्ष हुनुहुन्छ भने अर्को कुनै पार्टीको सदस्यता लिन जानुभयो भने कृपया कांग्रेसको अहिले भएको पदबाट राजीनामा गर्नुहोला,’ थापाले भने । उनले राजीनामा नदिए पार्टीको विधानअनुसार आवश्यक प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिए । पार्टीको विधान कार्यान्वयन गराउनु सभापतिको जिम्मेवारी भएको उल्लेख गर्दै उनले कसैलाई व्यक्तिगत रूपमा पार्टीबाट निकाल्ने आफ्नो उद्देश्य नरहेको स्पष्ट पारे । ‘तपाईंले राजीनामा गर्नुभएन भने पार्टीको विधानले जे गर्नुपर्ने हो, पार्टीको विधानले गर्छ । किनकि पार्टीको विधानको कार्यान्वयन गर्नु र गराउनु मेरो दायित्व हो, मेरो जिम्मेवारी हो,’ उनले भने । थापाले पार्टीको महाधिवेशनमा प्रतिस्पर्धा गरेर पराजित भएका वा जिम्मेवारी नपाएका नेताहरू अन्यत्र जाने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाए । पार्टीभित्रको प्रतिस्पर्धामा सहभागी भएर पछि अन्यत्र गतिविधि गर्नुभन्दा राजनीतिक नैतिकता देखाउनुपर्ने उनको सुझाव थियो । उनले कांग्रेसको विशेष महाधिवेशन, त्यसबाट निर्वाचित नेतृत्व र त्यसपछि सम्पन्न नियमित महाधिवेशनलाई लिएर नेता तथा कार्यकर्तालाई अन्योलमा नपर्न पनि आग्रह गरे । संसद् पुनःस्थापनासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको प्रसंग उल्लेख गर्दै थापाले कांग्रेसको नेतृत्व र महाधिवेशनसम्बन्धी विवादलाई पनि त्यसैसँग जोडेर बुझ्नुपर्ने बताए । ‘यदि संसद्को पुनःस्थापना हुन्छ भन्ने कुरा कसैले पत्याउनुहुन्छ भने नेपाली कांग्रेसको मुद्दामा पनि तलमाथि हुन्छ भन्ने कुरा पत्याए हुन्छ । तर संसद्को पुनःस्थापना हुन्छ भन्ने कुरा पत्याउनुहुन्न भने कृपया यस्ता कुराहरूमा नझुक्किनुहोला,’ उनले भने । सभापति थापाले आफू नेतृत्वमा आएपछि पार्टीका सबै पक्षलाई मिलाएर अघि बढ्ने प्रयास गरिरहेको पनि बताए । तर पार्टीको विधान र निर्णय कार्यान्वयन गर्ने जिम्मेवारीबाट आफू पछि नहट्ने उनको भनाइ थियो । उनले देशभरका कांग्रेस नेता तथा कार्यकर्तालाई पार्टीको आधिकारिक नेतृत्व र निर्णयबारे स्पष्ट भएर अघि बढ्न आग्रह गरे ।
देउवा पक्षमा लागेका जनप्रतिनिधीलाई गगनको निर्देशन- ‘रुख चिन्हबाट जितेको पदबाट राजिनामा दिनूस्’

Read Complete Original Article
Published originally on पर्दाफास






