काठमाडौं – गत शुक्रबार डोल्पा जिल्ला कारागारबाट फरार भएका दुई जना कैदी रुकुम पश्चिममा पक्राउ परेका छन् । चौरजहारी बेस क्याम्प र प्रहरी चौकी गोतामकोटबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमान्डमा खटिएको पाँच सदस्यीय प्रहरी टोलीले उनीहरूलाई आठबिसकोट नगरपालिका–६ स्थित दामाचौरको खोली बगरबाट नियन्त्रणमा लिएको हो । प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोषसिंह राठौरका अनुसार राडीबाट आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०८३१ नम्बरको डबल क्याब बोलेरो जिप जाँच गर्ने क्रममा दुई जना व्यक्ति फेला परेका थिए । प्रहरीलाई देखेर भाग्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको राठौरले बताए । पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना रहेका छन् । दुवै जना जबर्जस्ती करणीसम्बन्धी कसुरमा कारागारमा रहेका थिए । डोल्पा कारागारबाट फरार भएका अन्य छ जना कैदी भने अझै पक्राउ परेका छैनन् । प्रहरीले उनीहरूको खोजी जारी राखेको छ ।
डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिममा पक्राउ, अझै ६ जना फरार

Read Complete Original Article
Published originally on विश्वखबर






