Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एआई र क्रिप्टो क्षेत्रका दाताले खन्याए अमेरिकी मध्यावधि निर्वाचनमा चन्दा

एआई र क्रिप्टो क्षेत्रका दाताले खन्याए अमेरिकी मध्यावधि निर्वाचनमा चन्दा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एआई र क्रिप्टो क्षेत्रका दाताले खन्याए अमेरिकी मध्यावधि निर्वाचनमा चन्दा

काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनको मिति नजिकिँदै जाँदा त्यहाँका धनाढ्य तथा अर्बपतिले राजनीतिक दल र उम्मेदवारलाई धमाधम चन्दा दिइरहेका छन् । विश्वकै सबैभन्दा धनी व्यक्ति इलन मस्कदेखि प्रविधि क्षेत्रका प्रमुखहरूले यो निर्वाचनलाई अहिलेसम्मकै सबैभन्दा महँगो बनाउन अर्बौं डलर चन्दा खन्याइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अमेरिकी राष्ट्रपतिको चारवर्षे कार्यकालको ठीक बीच अर्थात् दुई वर्ष पूरा भएपछि मध्यावधि निर्वाचन हुने गर्छ । नोभेम्बर ३ मा हुन लागेको यस निर्वाचनमा संघीय संसद्का प्रतिनिधि चयन हुँदै छन् । यसलाई वर्तमान राष्ट्रपतिको कार्यशैलीमाथि जनताको प्रतिक्रिया बुझ्ने जनमतसंग्रहका रूपमा हेर्ने गरिन्छ । समाचार संस्था एएफपीले अमेरिकी संघीय निर्वाचन आयोग (एफईसी) को तथ्यांक विश्लेषण गर्दै निर्वाचनमा शीर्ष १५ ठूला दाताले १ अर्ब ५० करोड डलरभन्दा बढी चन्दा दिइसकेको उल्लेख गरेको छ । गैरनाफामूलक संस्था ‘इस्यु वान’का निर्देशक माइकल बेकलले एएफपीसँगको कुराकानीमा यो निर्वाचन अमेरिकी इतिहासकै सबैभन्दा खर्चिलो मध्यावधि निर्वाचन बन्न लागेको प्रतिक्रिया दिएका छन् । उनका अनुसार प्रविधि र क्रिप्टोकरेन्सी क्षेत्रका दाताहरूले भविष्यमा आफू अनुकूलका नीति बनाउन सजिलो होस् भनेर राजनीतिमा उल्लेख्य रकम खन्याइरहेका छन् । अर्बपति इलन मस्कको चन्दाका विषयमा फरक–फरक सञ्चारमाध्यमले उनको चन्दा दानका फरक–फरक विवरण प्रस्तुत गरेका छन् । एएफपीका अनुसार मस्कले यस निर्वाचनका लागि हालसम्म ३६ करोड ५० लाख डलरभन्दा बढी सहयोग गरेका छन् । अर्कोतर्फ, प्रविधि केन्द्रित सञ्चारमाध्यम ‘वायर्ड’ ले निर्वाचन आयोगकै तथ्यांक विश्लेषण गर्दै मस्कले रिपब्लिकन समर्थक समूहलाई कुल ४४ करोड ५० लाख डलरभन्दा बढी दिइसकेको उल्लेख गरेको छ । मस्कको यो सहयोग कुनै पनि मध्यावधि निर्वाचनको इतिहासमै कुनै एक व्यक्तिले गरेको सबैभन्दा ठूलो चन्दा भएको ब्लुमबर्ग टेलिभिजनकी कर्पोरेट लबिइङ पत्रकार एमिली बर्नबाउमको भनाइ छ । ‘केही वर्षअघि मात्रै इलन मस्कले रिपब्लिकन पार्टी छाड्ने बताएका थिए । तर अहिले यही पार्टीलाई समर्थन दर्शाउने गरी उनले सर्वाधिक चन्दा दिएका छन्,’ एमिली भन्छिन्, ‘यसले अन्तिम समयमा आएर कि त रिपब्लिकन प्रतिस्पर्धालाई सुपरचार्ज गर्नेछ वा यसले रिपब्लिकनहरूलाई बचाउन केही पनि नगर्ने सम्भावना छ ।’ वायर्डका अनुसार मस्कको निजी राजनीतिक समिति ‘अमेरिका प्याक’ले अक्टोबरको पहिलो दुई सातामै ७ करोड ६० लाख डलरभन्दा बढी रकम खर्च गरेको छ । विशेषगरी टेक्ससको सिनेट दौडमा यस समितिले १ करोड ५२ लाख डलर खन्याएको छ । यसमध्ये १ करोड २४ लाख डलर डेमोक्रेटिक उम्मेदवार जेम्स टालारिकोविरुद्ध र २८ लाख डलर रिपब्लिकन उम्मेदवार केन प्याक्सटनको समर्थनमा खर्च गरिएको छ । मस्कको यो आक्रामक वित्तीय हस्तक्षेपको आलोचना गर्दै डेमोक्रेटिक उम्मेदवार टालारिकोले भनेका छन्, ‘कुनै एक खर्बपतिलाई आफ्नै व्यक्तिगत अमेरिकी सिनेटर किन्न दिने हाम्रो राजनीतिक प्रणालीमै गम्भीर कमजोरी छ ।’ मस्कको भूमिकालाई लिएर डेमोक्रेटिक सांसदहरूले उनी सम्बद्ध कम्पनी र सरकारी सम्झौतामाथि संसदीय छानबिन गर्ने चेतावनी दिएको पनि वायर्डले लेखेको छ । शीर्ष दाताहरूमा प्रविधि र क्रिप्टोकरेन्सी क्षेत्रको वर्चस्व रहेकोबारे एएफपीले विस्तृत विवरण दिएको छ । एएफपीका अनुसार १५ वटा ठूला दातामध्ये ५ वटा प्रविधि, एआई र क्रिप्टो क्षेत्रका छन् । भेन्चर क्यापिटलिस्ट मार्क एन्ड्रेसन र बेन्जामिन होरोविट्जले मात्रै ११ करोड ३० लाख डलरभन्दा बढी खर्च गरेका छन् । यसमध्ये ५ करोड डलर एआई समर्थक ‘लिडिङ द फ्युचर’ र ४ करोड ६८ लाख डलर क्रिप्टो सुपर प्याक ‘फेयरसेक’लाई दिइएको छ । क्रिप्टो एक्सचेन्ज कोइनबेस र यसका प्रमुख कार्यकारी ब्रायन आर्मस्ट्रङले ५ करोड ७० लाख डलर तथा रिपल ल्याब्स र यसका सह–संस्थापक क्रिस लार्सनले ६ करोड ८० लाख डलरभन्दा बढी चन्दा दिएको एएफपीले जनाएको छ । ब्रिटिस समाचार संस्था ‘द गार्जियन’ का अनुसार प्रविधि उद्योग र यसका अगुवाले सन् २०२६ को निर्वाचनलाई प्रभावित पार्न कुल आधा अर्ब डलरभन्दा बढी रकम खर्च गरिसकेका छन् । द गार्जियनमा पत्रकार निक रबिन्स–अर्लीको समाचार ‘हाउ टेक बिकेम द भिलेन अफ द यूएस मिड टम्र्स’ मा ओपनएआईका अध्यक्ष ग्रेग ब्रोकम्यान र मार्क एन्ड्रेसनद्वारा गठित ‘लिडिङ द फ्युचर’ प्याकले ७ करोड ५० लाख डलरभन्दा बढी संकलन गरेको उल्लेख छ । एन्थ्रोपिकले ब्राड कार्सनको ‘पब्लिक फस्र्ट एक्सन’ लाई ४ करोड डलरभन्दा बढी र ‘गार्डरेल्स अलायन्स’ले १ करोड १५ लाख डलरभन्दा बढी संकलन गरेको द गार्जियनले बताएको छ । क्यालिफोर्नियामा अर्बपतिहरूमाथि ५ प्रतिशत सम्पत्ति कर लगाउने प्रस्ताव ‘प्रपोजिसन ४०’ को विरोधमा भएको खर्चबारे अल जजिरा र द गार्जियनले छुट्टाछुट्टै विवरण दिएका छन् । सर्गेई ब्रिन, टोनी शु, प्याट्रिक कोकिसन, क्रिस लार्सन, जोहन डोएर, माइकल मोरिट्ज र विनोद खोसलाजस्ता अमेरिकी अर्बपतिले यो कर प्रस्ताव असफल पार्न ३० करोड डलरभन्दा बढी रकम जुटाइसकेको अल जजिराले उल्लेख गरेको छ । यसको तुलनामा करका समर्थकहरूले ३ करोड २० लाख डलर मात्रै जुटाउन सकेका छन् । अल जजिराले मेटाका संस्थापक मार्क जकरबर्गले कर तिर्नबाट जोगिन क्यालिफोर्निया बाहिर घर किन्ने योजना बोर्डसमक्ष राखेको समेत खुलासा गरेको छ । यता द गार्जियनका अनुसार गुगलका सह–संस्थापक सर्गेई ब्रिन एक्लैले यस कर प्रस्तावको विरोधमा कम्तीमा १० करोड २० लाख डलर योगदान गरेका छन् । चुनावी खर्चमा अपारदर्शी वा अज्ञात स्रोतबाट आउने ‘डार्क मनी’ को प्रयोगबारे एएफपीले प्रश्न उठाएको छ । दाताको नाम सार्वजनिक गर्नु नपर्ने चार गैरनाफामूलक संस्था शीर्ष १५ दाताको सूचीमा परेका छन् । रिपब्लिकन समर्थक समूह ‘वान नेसन’ले सिनेट लिडरसिप फन्डलाई १३ करोड ८० लाख डलर र ‘अमेरिकन एक्शन नेटवर्क’ले ६ करोड ४० लाख डलरभन्दा बढी दिएका छन् । उता डेमोक्रेटिक समर्थक ‘हाउस मेजोरिटी फरवार्ड’ले ९ करोड ५० लाख डलर र ‘मेजोरिटी फरवार्ड’ले १० करोड ४० लाख डलर योगदान गरेका छन् । क्याम्पेन लिगल सेन्टरकी वरिष्ठ कानुनी सल्लाहकार शाना पोट्र्सलाई उद्धृत गर्दै एएफपीले लेखेको छ, ‘कालो धानको खर्च बर्सेनि बढ्दै गएको छ । आफूले हेर्ने विज्ञापनमा कसले पैसा हालिरहेको छ भन्ने मतदाताले थाहा पाउनुपर्छ ।’ न्युयोर्कका पूर्वमेयर माइकल ब्लुमबर्गको खर्चबारे ब्लुमबर्ग टेलिभिजनले सेप्टेम्बर र अक्टोबरमा डेमोक्य्राटहरूलाई सहयोग गर्न ८ करोड डलर खर्च गर्ने योजना बनाएको जनाएको छ । एएफपीले भने अक्टोबर २१ सम्म उनले दिएको आधिकारिक चन्दा ५ करोड २६ लाख डलर रहेको उल्लेख गरेको छ । शीर्ष २० दातामध्ये १४ वटाले प्राय: पूर्ण रूपमा रिपब्लिकन उम्मेदवार वा उनीहरू सम्बद्ध बाह्य समूहलाई सहयोग गरेको अमेरिकी टेलिभिजन नेटवर्क सीएनबीसीका संवाददाता लुक फाउन्टेनको दाबी छ । रिपब्लिकनहरू बाह्य खर्चमा अगाडि छन् । उदाहरणका लागि ट्रम्पको ‘मागा इंक सुपर प्याक’ ले मात्रै २७ करोड ५० लाख डलरभन्दा बढी खर्च गरिसकेको छ । तर व्यक्तिगत उम्मेदवारहरूले पाउने प्रत्यक्ष चन्दा संकलनमा भने डेमोक्य्राटहरू अगाडि छन् । प्रविधि, एआई र क्रिप्टोकरेन्सी क्षेत्रका दाताले आफ्नो उद्योगमा सरकारी नियमन खुकुलो बनाउने र आफू अनुकूल नीति निर्माण गर्ने राजनीतिक उम्मेदवारलाई जिताउन भारी रकम चन्दा दिइरहेको यी सञ्चार माध्यमले उल्लेख गरेका छन् । आफ्नो सम्पत्तिमाथि अतिरिक्त कर लाग्न नदिन र कर लगाउने नीतिहरू रोक्न कतिपय अर्बपतिहरूले आक्रामक रूपमा चुनावी अभियानमा खर्च गरिरहेको बताइन्छ । मस्कजस्ता अर्बपतिले स्पेसएक्स, टेस्लाजस्ता आफ्ना कम्पनी र सरकारी सम्झौतालाई संसदीय छानबिन वा नियमनबाट जोगाउन रिपब्लिकन उम्मेदवारलाई समर्थन गरिरहेको वार्यडको विश्लेषण छ । ‘डेमोक्य्राटहरूले प्रतिनिधिसभामा जित हासिल गरे भने संसदीय समितिको नेतृत्व सम्हाल्ने दौडमा रहेका सांसदले सरकारी कार्यकुशलता विभाग (डज) मा मस्कको भूमिका, उनका कम्पनीले पाएका संघीय ठेक्का सम्झौता र क्यालिफोर्नियाकी डेमोक्य्राट सांसद जो लोफग्रेनले आश्चर्यजनक भनेर टिप्पणी गरेको स्वार्थको द्वन्द्वमाथि छानबिन हुने देखिन्छ,’ वार्यडले लेखेको छ, ‘संसद्मा डेमोक्य्राटहरूको पूर्ण नियन्त्रण कायम हुनु उनका लागि ठूलो समस्याको विषय बन्नेछ ।’ एजेन्सीबाट

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

निफ्राको खुद मुनाफा २०.१६ प्रतिशतले घट्यो, कर्जा प्रवाह र निक्षेप संकलन बढ्यो
ताजा खबरJust now

निफ्राको खुद मुनाफा २०.१६ प्रतिशतले घट्यो, कर्जा प्रवाह र निक्षेप संकलन बढ्यो

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २०.१६ प्रतिशतले घटेको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा १६ करोड ६४ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २० करोड ८५ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको ...

कर्पोरट खबर
नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा
ताजा खबरJust now

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

जेरुसेलम। इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सत्ताबाट हटाउने लक्ष्यसहित केन्द्र-दक्षिणपन्थीदेखि वामपन्थीसम्मका विपक्षी दलहरू एकजुट भएका छन्। ‘चेन्ज ब्लक’ मा आबद्ध दलहरूले नेतान्याहु र उनका अतिदक्षिणपन्थी सहयोगीलाई पराजित गर्न गठबन्धन बनाउने प्रतिबद्धता जनाएका छन्। अरब पार्टीले पनि सहभागी हुने इच्छा देखाएको छ, तर अन्य दलले त्यसबारे स्पष्ट धारणा दिएका छैनन्। पूर्वसेना प्रमुख गदी आइसेनकोट, पूर्वप्रधानमन्त्री नफ्ताली बेनेट, यायर लापिड, एभिग्डोर लिबरम्यान, यायर गोलन र ...

नेपालन्युज
पश्चिम एसियामा युद्धको जोखिम टार्न साउदी अरब, टर्की र पाकिस्तानका अधिकारीले गरे इरानसँग वार्ता
ताजा खबरJust now

पश्चिम एसियामा युद्धको जोखिम टार्न साउदी अरब, टर्की र पाकिस्तानका अधिकारीले गरे इरानसँग वार्ता

काठमाडौं । पश्चिम एसियामा पुनः ठूलो युद्ध भड्किने जोखिम बढिरहेका बेला साउदी अरब, टर्की र पाकिस्तानका उच्च अधिकारीहरूले सोमबार इरानी नेतृत्वसँग महत्त्वपूर्ण वार्ता गरेका छन्। आठ महिनादेखि जारी युद्ध फेरि चर्किन सक्ने चिन्ताबीच भएको वार्तालाई इरानले ‘निकै राम्रो’ भएको प्रतिक्रिया दिएको छ। गत अगस्टमा साउदी अरबको पवित्र सहर मक्कामा रक्षा गठबन्धन घोषणा भएपछि तीनै देशका उच्चस्तरीय अधिकारीहरूले संयुक्त रूपमा इरान भ्रमण ...

केन्द्रबिन्दु
सुरक्षा परिषद्‌मा सबै स्थायी सदस्यलाई भिटो अधिकार दिनुपर्ने भारतको माग
ताजा खबरJust now

सुरक्षा परिषद्‌मा सबै स्थायी सदस्यलाई भिटो अधिकार दिनुपर्ने भारतको माग

न्युयोर्क । भारतले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्‌मा व्यापक सुधारको माग गर्दै सबै स्थायी सदस्य राष्ट्रहरूलाई समान रूपमा भिटो (निषेधाधिकार) अधिकार विस्तार गर्नुपर्नेमा जोड दिएको छ। राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि पर्वथानेनी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play