Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

टोकियो।दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता लगाउने काम अब विद्वान् र अनुभवी संकेतविदमा मात्र सीमित नरहेको देखाएको छ। सन् १८०९ मा फ्रान्सेली सेनाका एक जनरललाई पठाइएको उक्त सन्देशमा प्रतीक, संख्या र अक्षर प्रयोग गरिएका दुई दर्जन पंक्ति थिए। अनलाइन शैक्षिक अभिलेखमा लामो समयदेखि बेवास्तामा परेको यो सन्देश अमेरिकी एआई इन्जिनियर कार्टर चर्चले समाधान गरेका हुन्। सत्ताइस वर्षीय चर्चले च्याटजीपीटी निर्माता ओपनएआईको पछिल्लो मोडेल प्रयोग गरेर छ घण्टामै उक्त संकेत खुलाएका थिए। परम्परागत विधिबाट यस्तो काम गर्न हप्तौं लाग्न सक्ने उनको भनाइ छ। अमेरिकी साइबर सुरक्षा कम्पनी सेन्टिनेलवनमा कार्यरत चर्चले संकेत खोल्ने प्रविधि वा त्यस समयको इतिहासबारे आफूलाई धेरै जानकारी आवश्यक नपरेको बताए। केही साँझको प्रयासपछि उनले जापानी पेटेन्ट इन्जिनियर सातोसी टोमोकियोसँग परामर्श गरेका थिए। टोमोकियोले समाधान नभएका पुराना संकेतहरूको अनलाइन सूची राख्दै आएका छन्। चर्चका अनुसार एआईको प्रमुख विशेषता निरन्तर प्रयास गर्ने क्षमता हो। सन्देशको रहस्य खुलेपछि आफूले ठूलो सन्तुष्टि र उत्साह अनुभव गरेको उनले बताए। टोमोकियोले आफ्नो वेबसाइट ‘क्रिप्टियाना’ मा सन् २०२६ लाई ऐतिहासिक संकेतहरूको रहस्य खोल्ने काममा निर्णायक वर्षका रूपमा सम्झिइने उल्लेख गरेका छन्। उनका अनुसार सेप्टेम्बरको मध्यदेखि आफ्नो सूचीमा रहेका अधिकांश संकेत एआईको सहायताले समाधान भइसकेका छन्। अनुसन्धानकर्ताहरूले यसअघि नै पुराना संकेत खोल्न एआई मोडेल विकास गरिरहेका थिए। तर, शक्तिशाली सामान्य प्रयोजनका एआई उपकरण सार्वजनिक भएपछि समाधान भएका संकेतको संख्या उल्लेख्य रूपमा बढेको छ। चर्चले ओपनएआईको जीपीटी–६ एस्ट्रा प्रयोग गरेका थिए भने अन्य अनुसन्धानकर्ताले अमेरिकी कम्पनी एन्थ्रोपिकका एआई उपकरण प्रयोग गरेका छन्। टोमोकियोले कठिन संकेतहरूमध्ये केही अझै रहस्यकै रूपमा रहने बताएका छन्। समाधानका लागि उपयोगी तथ्याङ्क कम भएका कारण ती संकेत खोल्न आगामी वर्षहरूमा पनि चुनौती हुन सक्ने उनको भनाइ छ। लामो समयदेखि अड्किएका समस्या समाधान भएकोमा आफू उत्साहित भए पनि एआईले ती समस्या सजिलै समाधान गरेको देख्दा मिश्रित भावना उत्पन्न भएको उनले बताए। एक सहकर्मी संकेतविद्ले त एआईका कारण आफूलाई बेकार महसुस भएको प्रतिक्रिया दिएको उनले सुनाए। गणितदेखि कम्प्युटर प्रोग्रामिङसम्म एआईले मानिसको क्षमता उछिनिरहेको अवस्थामा यसले रोजगारीको स्वरूप बदल्ने वा केही काम विस्थापित गर्ने चिन्ता पनि बढेको छ। तर, इतिहासको अध्ययनमा भने यसले नयाँ सम्भावना खोलेको छ। पुराना कागजातका संकेत खुलाउनेदेखि लाखौं मध्ययुगीन पाण्डुलिपि विश्लेषण गर्ने र प्राचीन ग्रन्थ पढ्ने काममा एआई उपयोगी बनेको छ। इटालीमा अनुसन्धानकर्ताहरूले सन् ७९ मा भिसुभियस ज्वालामुखी विस्फोट हुँदा जलेर कार्बनमा परिणत भएका हर्कुलानियमका पपाइरस ग्रन्थ अध्ययन गर्न एक्स–रे र एआई प्रयोग गरिरहेका छन्। क्षति हुने जोखिमका कारण हातले खोल्न नसकिने सयौं ग्रन्थमध्ये एउटा ग्रन्थलाई पूर्ण रूपमा भर्चुअल विधिबाट खोलेको घोषणा अनुसन्धानकर्ताहरूले जुनमा गरेका थिए। त्यसमा नैतिकतासम्बन्धी ग्रन्थ रहेको पुष्टि भएको थियो। त्यसैगरी, हिब्रू पाण्डुलिपिका एक करोड पृष्ठ प्रतिलिपि गरी यहुदी इतिहास र संस्कृतिका दुर्लभ स्रोत समेटिएको खोज्न मिल्ने विशाल अभिलेख तयार गर्न एआई प्रयोग भइरहेको छ। पेरिसस्थित इकोल प्राटिक दे ओत एतुदका परियोजना प्रमुख डेनियल स्टोक्ल बेन एज्राका अनुसार यति ठूलो परिमाणको तथ्याङ्क मानिसले एक्लै प्रशोधन गर्न सक्दैन। डिजिटल अभिलेखबाट तयार हुने तथ्याङ्कको भण्डारलाई उनले ‘विगतको विशाल फेसबुक’ सँग तुलना गरेका छन्। यसबाट इतिहासमा मानिस, स्थान र विचारबीच रहेका सम्बन्ध पत्ता लगाउन सकिने अनुसन्धानकर्ताहरूको अपेक्षा छ। फ्रान्सको राजधानी पेरिसस्थित नोट्रडाम गिर्जाघरमा पनि एआई प्रणालीलाई मध्ययुगीन अभिलेखका १४ हजार ६०० ल्याटिन पृष्ठ प्रतिलिपि गर्न प्रशिक्षित गरिएको छ। यस परियोजनाले पुराना संकेत खोल्ने काम जस्तै जटिल ऐतिहासिक अभिलेख अध्ययन गर्न सघाएको छ। परियोजनाको नेतृत्व गरिरहेकी इतिहासकार जुली क्लाउस्ट्रेका अनुसार ती अभिलेख मध्ययुगीन नोटरीहरूले निर्णयलाई छोटकरीमा लेखेका प्रशासनिक दस्तावेज हुन्। तिनमा प्राविधिक शब्दावली र जटिल लेखन शैली प्रयोग गरिएको छ। एआई प्रणालीले अक्षर पहिचानमा ८८ देखि ९४ प्रतिशतसम्म सफलता हासिल गरेको छ। यसबाट गिर्जाघरको दैनिक जीवन, निर्माण कार्य, कर्मचारी र परित्यक्त बालबालिकाको हेरचाहसम्बन्धी जानकारी फेला परेको छ। यस्ता अभिलेख हातैले प्रतिलिपि गर्न धेरै दशक लाग्ने क्लाउस्ट्रेले बताइन्। उनका अनुसार एआईको महत्त्व समय बचतमा मात्र सीमित छैन। यसले पहिले सम्भव नभएका प्रश्नमा अनुसन्धान गर्न सहयोग पुर्‍याउँदै इतिहास अध्ययन गर्ने तरिकामै परिवर्तन ल्याइरहेको छ। –रासस / एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण
ताजा खबरJust now

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

काठमाडाैँ। अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट आएकी एक महिलामा सङ्क्रमण पुष्टि भएको छ भने केन्यामा सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ । नाइजेरियाका स्वास्थ्यमन्त्री मुहम्मद अली पाटेका अनुसार,... ...

रातोपाटी
‘सडकहरू खाली भएर के भयो त ? मनहरू यसैगरी भरिइरहुन्, टीका र जमराको रङ्ग कहिल्यै नखुइलियोस्’ (फोटो फिचर)
ताजा खबरJust now

‘सडकहरू खाली भएर के भयो त ? मनहरू यसैगरी भरिइरहुन्, टीका र जमराको रङ्ग कहिल्यै नखुइलियोस्’ (फोटो फिचर)

काठमाडौं । बडादशैँको मुख्य दिन विजयादशमीमा मान्यजनबाट रातो टीका, पहेँलो जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएसँगै काठमाडौं उपत्यकाका सडकमा सर्वसाधारणको चहलपहल बढेको छ। घटस्थापनादेखि सुनसानप्रायः बनेका राजधानीका मुख्य सडक तथा चोकमा टीका र आशीर्वाद थाप्न आफन्तकहाँ जानेहरूको आवागमन दिउँसोदेखि बाक्लिएको हो। विजयादशमीका दिन बिहान घरघरमा कुलदेवताको पूजाआराधना गरी टीका लगाएपछि सर्वसाधारण नजिकका नातागोता तथा आफन्तकहाँ पुग्ने गरेका छन्। यसले बिहानको ...

हिमालय टाइम्स
क्यासिनोबाट पाँच जना पक्राउ
ताजा खबरJust now

क्यासिनोबाट पाँच जना पक्राउ

पर्सा।क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालिमा नेपाली प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। बारा जिल्ला पचरौता नगरपालिका–४ का रामचन्द्र साह, प्रसौनी गाउँपालिका–३ का अच्छेलाल प्रसाद, प्रसौनी गाउँपालिका–१ का सुवासकुमार र परवानीपुर ...

नेपालन्युज
बाढीले खोस्यो दशैंको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार
ताजा खबरJust now

बाढीले खोस्यो दशैंको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

• बर्दियाको गेरुवा गाउँपालिका–५ सुखारका परिवारहरू यस वर्षको दशैंमा खुसी मनाउन सकेका छैनन्, किनभने भोटेकोशी नदीमा आएको बाढीले आफन्त बेपत्ता बनाएको छ। • बाढीले प्रभावित परिवारका सदस्यहरू दशैंको टीका र आशीर्वादको परम्परामा भाग लिन असमर्थ छन्, जसले गर्दा उनीहरूको मनमा शोक र पीडा छ। • बर्दियामा ७६ जना बेपत्ता भएका छन्, र ती परिवारहरू आफन्तको पर्खाइमा छन्, जसले गर्दा चाडपर्वको ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play