‘सडकहरू खाली भएर के भयो त ? मनहरू यसैगरी भरिइरहुन्, टीका र जमराको रङ्ग कहिल्यै नखुइलियोस्’ (फोटो फिचर)

काठमाडौं । बडादशैँको मुख्य दिन विजयादशमीमा मान्यजनबाट रातो टीका, पहेँलो जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएसँगै काठमाडौं उपत्यकाका सडकमा सर्वसाधारणको चहलपहल बढेको छ। घटस्थापनादेखि सुनसानप्रायः बनेका राजधानीका मुख्य सडक तथा चोकमा टीका र आशीर्वाद थाप्न आफन्तकहाँ जानेहरूको आवागमन दिउँसोदेखि बाक्लिएको हो। विजयादशमीका दिन बिहान घरघरमा कुलदेवताको पूजाआराधना गरी टीका लगाएपछि सर्वसाधारण नजिकका नातागोता तथा आफन्तकहाँ पुग्ने गरेका छन्। यसले बिहानको तुलनामा दिउँसो उपत्यकाका सडकमा चहलपहल बढाएको छ। घटस्थापनापछि ठूलो संख्यामा नागरिक दशैँ मनाउन गाउँघर फर्किएपछि काठमाडौं उपत्यका केही दिनयता शान्त देखिएको थियो। तर, विजयादशमीको टीका सुरु भएसँगै चक्रपथसहित भित्री सडकमा समेत निजी तथा सार्वजनिक सवारीसाधनको चाप बढेको छ। कोटेश्वर, नयाँ बानेश्वर, कलंकी, चाबहिल र महाराजगञ्जलगायत प्रमुख चोकमा नयाँ पहिरनमा सजिएर टीका लगाउन हिँडेका सर्वसाधारणको बाक्लो उपस्थिति देखिएको छ। दशैँको मुख्य दिन सार्वजनिक सवारीसाधन न्यून संख्यामा सञ्चालन हुँदा सर्वसाधारणलाई आवतजावतमा केही असहजता भएको छ। सार्वजनिक यातायातको विकल्पका रूपमा ट्याक्सी, निजी कार तथा मोटरसाइकलको प्रयोग बढेको छ। यसैबीच, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्वका बेला हुन सक्ने दुर्घटना न्यूनीकरण तथा सवारी आवागमन सहज बनाउन विभिन्न रणनीतिक स्थानमा ट्राफिक प्रहरी परिचालन र जाँचलाई तीव्रता दिएको जनाएको छ। विजयादशमीका दिन सुरु हुने टीका तथा आशीर्वाद ग्रहणको क्रम कोजाग्रत पूर्णिमासम्म चल्ने धार्मिक तथा सांस्कृतिक परम्परा छ। टाढा रहेका मान्यजन तथा आफन्तकहाँ पुगेर आशीर्वाद लिने चलन कायम रहेकाले आगामी दिनमा पनि उपत्यकाभित्र र जिल्लाहरूबीचको आवतजावत बढ्ने अपेक्षा गरिएको छ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

नवदुर्गासँग जोड्दै नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नखः
भक्तपुर। भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् । विजयादशमीको दिन आज मान्यजनको हातबाट मोहनी सिः न अर्थात कालो टीका, राटो टीका, जमरा ग्रहण गरि मोहनी नःख मनाएका हुन्... ...

जथाभाबी खानपानले बिग्रेला है दाँत ?
दसैं हो भन्दैमा जे पायो त्यही खान हुँदैन । दाँतको स्वास्थ्य नबिग्रियोस् भन्नका लागि गुलिया परिकारको सेवन र मुखको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । ...

क्यासिनोमा नेपाली प्रवेश गराई जुवा खेलाउने पाँच जना पक्राउ
जुवा खेल्ने-खेलाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ...

यमनमा हुथी विद्रोहीको निरन्तर आक्रमण, ताइजमा दुई किशोरीको मृत्यु
एसोसिएटेड प्रेसका अनुसार मंगलबार भएको उक्त आक्रमणमा दुई किशोरीको मृत्यु भएको छ । ...


