Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

आईक्यापको स्ट्यान्डिङ कमिटी सदस्यमा कांग्रेस उपसभापति विनोद चौधरी निर्वाचित

Share:WhatsAppFacebookX (Twitter)Telegram
आईक्यापको स्ट्यान्डिङ कमिटी सदस्यमा कांग्रेस उपसभापति विनोद चौधरी निर्वाचित
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी दक्षिण कोरियाको सोलमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित भएका छन् । आईक्यापको १३औँ महासभाले चौधरीलाई स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित गरेको हो । एसियाका विभिन्न मुलुकका राजनीतिक दलका नेता तथा प्रतिनिधि सहभागी महासभाबाट उनको निर्वाचनले क्षेत्रीय राजनीतिक संवाद तथा सहकार्यमा नेपालको सहभागितालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ । सम्मेलनमा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै सहभागी भएका चौधरीले नेपालको आर्थिक विकासका लागि निजी क्षेत्रको सशक्तीकरण, लगानी आकर्षण र स्वदेशी उद्योगलाई विश्व बजारसँग जोड्नुपर्नेमा जोड दिएका छन् । सम्मेलनलाई सम्बोधन गर्दै उनले दक्षिण कोरियाको आर्थिक विकास मोडल नेपालका लागि अनुकरणीय रहेको बताए । विश्वस्तरमा पहिचान स्थापित गरेका ब्रान्ड निर्माण, निजी क्षेत्रको सशक्तीकरण र सरकार तथा निजी क्षेत्रबीचको प्रभावकारी सहकार्यबाट दक्षिण कोरियाले अर्थतन्त्रमा उल्लेखनीय रूपान्तरण गरेको उनको भनाइ थियो । निजी उद्यमलाई विस्तार, प्रतिस्पर्धा र विश्व बजारमा स्थापित हुन अनुकूल वातावरण सिर्जना गर्दै राज्यले रणनीतिक स्वामित्व र विकासको मार्गदर्शक भूमिका निर्वाह गर्नु दक्षिण कोरियाली विकास मोडलको महत्त्वपूर्ण विशेषता रहेको उनले बताए । नेपाली कांग्रेसको लोकतान्त्रिक विरासत र नेपालको राजनीतिक तथा आर्थिक विकासमा पार्टीले पुर्‍याएको योगदानको चर्चा गर्दै चौधरीले विगतका कमजोरी र गुमेका अवसर स्वीकार गर्दै वर्तमान नेतृत्व र सिंगो पार्टी त्यसलाई सच्याएर अघि बढ्न प्रतिबद्ध रहेको बताए । खुला बजार अर्थतन्त्र, आर्थिक उदारीकरण र विश्वव्यापीकरणको महत्त्वलाई नेपाली कांग्रेसले आत्मसात् गरेको उल्लेख गर्दै उनले लोकतन्त्र र उदार आर्थिक नीतिलाई विकासका आधारभूत स्तम्भका रूपमा व्याख्या गरे । नेपालको भावी विकास रणनीति पनि यिनै मान्यतामा आधारित हुनुपर्ने उनको धारणा थियो । सम्बोधनका क्रममा चौधरीले नेपालमा युवा पुस्ताले उठाएका भ्रष्टाचार, जवाफदेहिता, सुशासन र अवसरसम्बन्धी प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । युवाको असन्तुष्टिलाई राजनीतिक स्वीकारोक्तिमा मात्र सीमित नराखी सार्थक सुधार र परिणाममार्फत सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो । राजनीतिक नेतृत्वप्रतिको विश्वास स्वतः प्राप्त नहुने भन्दै उनले इमानदारी, पारदर्शिता र परिणाममुखी कार्यबाट मात्रै जनविश्वास आर्जन गर्न सकिने बताए । राजनीतिक संस्थाहरूलाई अझ खुला, जवाफदेही र नागरिकका आकांक्षाप्रति उत्तरदायी बनाउनुपर्नेमा पनि उनले जोड दिए । राजनीतिक नवीकरणसँगै आर्थिक अवसरको विस्तार आवश्यक रहेको उल्लेख गर्दै चौधरीले युवाका लागि स्वदेशमै रोजगारी, उद्यमशीलता, आधुनिक सीप र भविष्य निर्माणका अवसर सिर्जना गर्नु राजनीतिक नेतृत्वको महत्त्वपूर्ण जिम्मेवारी भएको बताए । एसियाली मुलुकहरूबीच सुशासन, युवा सहभागिता, उद्यम विकास, प्रविधिको जिम्मेवार प्रयोग र जलवायु परिवर्तनबाट उत्पन्न चुनौती सम्बोधनमा अनुभव आदानप्रदान तथा सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । ‘राजनीतिक नेतृत्वको वास्तविक मूल्य हामीले कति शक्ति प्राप्त गर्‍यौँ भन्नेमा होइन, कति विश्वास आर्जन गर्‍यौँ र कस्तो भविष्य निर्माण गर्न सक्यौँ भन्नेमा मापन हुन्छ,’ चौधरीले आफ्नो सम्बोधनमा भने । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमबारे चर्चा गर्दै उनले हालै नेपालको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीलाई गम्भीर चेतावनीका रूपमा लिनुपर्ने बताए । जलवायु परिवर्तनको असर कुनै एक देशमा सीमित नरहने उल्लेख गर्दै उनले यसको जोखिम न्यूनीकरणका लागि विश्वका सबै मुलुकले साझा जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिए । आईक्याप एसियाका विभिन्न राजनीतिक विचारधारा र पृष्ठभूमिका राजनीतिक दलहरूबीच संवाद, सहकार्य र आपसी समझदारी प्रवर्द्धन गर्ने क्षेत्रीय मञ्च हो । सन् २००० मा स्थापना भएको यस संस्थाले क्षेत्रीय शान्ति, स्थायित्व, लोकतन्त्र, आर्थिक विकास र आपसी समझदारी प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ । यसको स्ट्यान्डिङ कमिटीले संस्थाका गतिविधि सञ्चालन, नीति तथा कार्यक्रमको समन्वय र भावी कार्यदिशा तय गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । स्ट्यान्डिङ कमिटीमा भारतका पूर्वविदेशमन्त्री सलमान खुर्सिद, मलेसियाका व्यापार तथा जीवनयापन लागतसम्बन्धी उपमन्त्री डा. फुजिया सल्लेह, श्रीलंकाका यातायात, राजमार्ग तथा सहरी विकासमन्त्री एवं संसद्का नेता बिमल रत्नायके र जापानको कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टीकी अन्तर्राष्ट्रिय विभाग निर्देशक तथा हाउस अफ काउन्सिलर्सकी सदस्य माइको ताजिमालगायत एसियाका विभिन्न देशका वरिष्ठ राजनीतिक व्यक्तित्वहरू रहेका छन् । व्यवसाय, उद्यमशीलता तथा सामाजिक क्षेत्रमा लामो अनुभव हासिल गरेका चौधरीले स्ट्यान्डिङ कमिटी सदस्यका रूपमा लोकतान्त्रिक शासन व्यवस्था, आर्थिक विकास, उद्यमशीलता, युवा आकांक्षा तथा एसियाली राजनीतिक दलहरूबीचको सहकार्यका विषयमा हुने क्षेत्रीय छलफलमा योगदान पुर्‍याउने अवसर पाएका छन् । चौधरीको निर्वाचनले नेपालको आर्थिक रूपान्तरण, समावेशी विकास र अन्तर्राष्ट्रिय सहकार्यका विषयलाई एसियाली राजनीतिक मञ्चमा उठाउने अवसरसमेत प्रदान गर्ने अपेक्षा गरिएको छ । उनी नेपाली कांग्रेसको हालै सम्पन्न १५औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शान्ति सुरक्षाको अवस्थाबारे प्रधानमन्त्री बालेनले लिए सुरक्षा प्रमुखसँग ब्रिफिङ
OthersJust now

शान्ति सुरक्षाको अवस्थाबारे प्रधानमन्त्री बालेनले लिए सुरक्षा प्रमुखसँग ब्रिफिङ

प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोज कुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति–सुरक्षाको व्यवस्थापनबारे जानकारी लिएका हुन् । प्रधानमन्त्रीले देशको सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल ...

पर्दाफास
इनम सापकोटा प्रकरणमा सत्ताको चरम दुरुपयोग भयो : पद्मा अर्याल
OthersJust now

इनम सापकोटा प्रकरणमा सत्ताको चरम दुरुपयोग भयो : पद्मा अर्याल

अर्यालले अहिलेको सरकार रास्वपा नेतृत्वको भएकाले सरकारले गरेका कामको जवाफदेहीता पनि रास्वपाले लिनुपर्ने तर्क गरिन् । ...

अनलाइन खबर
परराष्ट्रमन्त्री खनाल र अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुखबीच भेटवार्ता
OthersJust now

परराष्ट्रमन्त्री खनाल र अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुखबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालस्थित अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनबीच शिष्टाचार भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे छलफल भएको मन्त्रालयले जनाएको छ । भेटका क्रममा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विभिन्न विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । ...

पर्दाफास
चन्द्रागिरीमा पटका सहित एक जना पक्राउ
OthersJust now

चन्द्रागिरीमा पटका सहित एक जना पक्राउ

१९ कात्तिक, काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा पटकासहित एक जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–६ छापाली चोकबाट करिब १ लाख ५० हजार रूपैयाँ बराबरको विभिन्न किसिमका पटका सहित सोही ठाउँ बस्ने २१ वर्षीय प्रशुन मान्नधरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई उक्त… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play