७ देशका प्रभावशाली कन्टेन्ट क्रिएटर नेपालमा, पोखरा, चितवन र बर्दियाको पर्यटन प्रवर्द्धन गरिने

काठमाडौँ। पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल ‘गनेस’ ले नेपालको पर्यटन प्रवर्द्धनलाई डिजिटल माध्यमबाट प्रचार-प्रसार गर्ने विषयलाई प्राथमिकतामा राख्दै आएका छन् । जस अनुसार नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्म टिकटकमार्फत प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकको सहकार्यमा विभिन्न ७ देशका ट्राभल कन्टेन्ट क्रिएटरहरू नेपाल आइपुगेका छन् । फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, यूएई, बंगलादेश र श्रीलंकाका क्रिएटरहरूलाई नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक गतिविधि तथा पर्यटनका विविध अनुभव विश्वभरका दर्शकमाझ पुर्याउने उद्देश्यले उनीहरूलाई नेपाल बोलाइएको हो । उनीहरूमध्ये यूएई र ट्युनिसियाका क्रिएटर ३ जना फ्लाई दुबईको विमानबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । उनीहरूलाई नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य सन्तोष पोखरेल, बोर्डकै वरिष्ठ प्रबन्धक सूर्य थपलिया, पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेल र नाटा गण्डकीका अध्यक्ष संगिता पौडेललगायतले स्वागत गरेका थिए । त्यसैगरी अन्य क्रिएटरहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा बोर्डका वरिष्ठ अधिकृतद्वय कुन्दन शर्मा र सरोज महर्जनले स्वागत गरेका थिए । यस कार्यक्रमअन्तर्गत क्रिएटरहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण गरी त्यहाँका आकर्षण, स्थानीय जीवनशैली, संस्कृति, प्रकृति र पर्यटन गतिविधिसम्बन्धी भिडियो तथा डिजिटल सामग्री उत्पादन गर्नेछन् । उनीहरूले टिकटकसहितका सामाजिक सञ्जालमार्फत ती सामग्री सार्वजनिक गर्दै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा चिनाउन सहयोग गर्ने बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले बताएका छन् । एनटीबी र टिकटकबीच यसअघि सन् २०२५ अगस्ट १९ मा नेपालको पर्यटनलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । उक्त सहकार्यअन्तर्गत सुरु गरिएको ‘लाइफटाइम एक्सपिरियन्सेस’ अभियानले नेपालको हिमाली सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र स्थानीय जीवनशैलीलाई टिकटकका छोटा भिडियोमार्फत विश्वभरका दर्शकमाझ पुर्याउने लक्ष्य राखिएको छ । बोर्डका वरिष्ठ प्रबन्धक थपलियाले भने, “अभियानमा अन्तर्राष्ट्रिय तथा नेपाली कन्टेन्ट क्रिएटरलाई सहभागी गराउने र उनीहरूलाई नेपालका विभिन्न गन्तव्यको अनुभव गराएर सामग्री उत्पादन गर्न प्रोत्साहित गरिनेछ । यसरी उत्पादन गरिएका सामग्रीहरूलाई टिकटकमार्फत प्रवर्द्धन गरिने छ ।” यस सहकार्यलाई प्रभावकारी बनाउन सन् २०२६ मा पनि डिजिटल पर्यटन प्रवर्द्धनका गतिविधिलाई निरन्तरता दिइएको वरिष्ठ प्रबन्धक थपलियाले बताए । यसअघि गत जुन २४ देखि २६ सम्म काठमाडौंमा बोर्ड र टिकटकको संयुक्त आयोजनामा तीन दिने ट्राभल कन्टेन्ट क्रिएसन कार्यशाला सम्पन्न भएको थियो । उक्त कार्यशालामा पर्यटन व्यवसायी, डिजिटल क्रिएटर, पदयात्रा व्यवसायी, पर्वतारोही तथा पर्यटन क्षेत्रका सरोकारवालालाई डिजिटल स्टोरीटेलिङ, भिडियो निर्माण र सामाजिक सञ्जालमार्फत गन्तव्य प्रवर्द्धनका लागि प्रशिक्षण दिइएको थियो । यसपटकको भ्रमणमा सहभागी हुने क्रिएटरहरूमध्ये बंगलादेशका अनिर्बान कैसर, श्रीलंकाका कसुन सम्पथ देगोडा गमागे, ट्युनिसियाकी बाल्किस कसौरी र मोहम्मद जेमिल बेरी र यूएईका मोहम्मद नाबिलले पोखराका पर्यटकीय आकर्षणलाई प्राथमिकतामा राखेर सामग्री निर्माण गर्नेछन् । फ्रान्सका जेरेमी ब्युडेट चितवन पुगेर त्यहाँको वन्यजन्तु, निकुञ्ज तथा थारू संस्कृति र प्रकृतिमा आधारित पर्यटन अनुभवलाई समेट्नेछन् । त्यसैगरी पोर्चुगलका ड्यानियल रोक्स पिन्टो र दक्षिण कोरियाका वङ्ग्यु लीले बर्दियाको प्राकृतिक वातावरण, वन्यजन्तु तथा समुदायमा आधारित पर्यटनका सम्भावनालाई आफ्ना सामग्रीमार्फत प्रस्तुत गर्नेछन् । भ्रमणका क्रममा क्रिएटरहरूले सम्बन्धित गन्तव्यका प्राकृतिक तथा सांस्कृतिक विशेषतासँगै स्थानीय पर्यटन व्यवसाय, आतिथ्य सेवा, खानपान, साहसिक गतिविधि र पर्यटकले लिन सक्ने मौलिक अनुभवलाई समेत समेटेर सामग्री उत्पादन गर्ने वरिष्ठ प्रबन्धक थपलियाको भनाई छ । डिजिटल माध्यमबाट पर्यटकीय गन्तव्यको प्रचार गर्ने अभियानले वास्तविक यात्राका अनुभव, दृश्य र व्यक्तिगत कथामार्फत सम्भावित पर्यटकलाई आकर्षित गर्न मद्दत गर्ने विश्वास गरिएको छ । विशेषगरी युवा पुस्तामाझ लोकप्रिय टिकटकमा प्रसारण हुने छोटा भिडियोले नयाँ गन्तव्यको पहिचान विस्तार गर्नुका साथै पर्यटकहरूलाई गन्तव्यको यात्राका लागि निर्णयमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपालको पर्यटन प्रवर्द्धनमा डिजिटल प्लेटफर्म र सिर्जनात्मक सामग्रीको प्रयोगलाई प्राथमिकता दिँदै आएको बोर्डले अन्तर्राष्ट्रिय क्रिएटरसँगको सहकार्यलाई नेपालको पर्यटन कथा विश्व बजारमा पुर्याउने प्रभावकारी माध्यमका रूपमा अघि बढाएको छ । यसबाट पोखरा, चितवन र बर्दियाजस्ता स्थापित तथा सम्भावनायुक्त गन्तव्यको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा टेवा पुग्नुका साथै स्थानीय पर्यटन व्यवसाय र समुदायलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ । नेपालका हिमाल, प्रकृति र संस्कृतिलाई विश्वका विभिन्न देशका दर्शकमाझ पुर्याउने यो पहलले डिजिटल पर्यटन प्रवर्द्धनलाई थप विस्तार गर्ने विश्वास बोर्डले लिएको छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

रुसी ड्रोनबाट बच्न महिनौंसम्म ग्यास पाइपलाइनमा लुक्दै युक्रेनी सैनिक
काठमाडौं । रुस-युक्रेन युद्ध अब आफ्नो पाँचौँ वर्षमा प्रवेश गरेको छ। यस्तो अवस्थामा रुसको निरन्तरको ड्रोन आक्रमणले युक्रेनी सैनिकहरूलाई जमिनमा खुलेआम हिँडडुल गर्न मुस्किल बनाएको छ। उनीहरू पुराना ग्यास पाइपलाइनभित्र लुकेर बसिरहेका छन्। करिब ४ फिट चौडा यी सुरुङहरूमा सैनिकहरूले कैयौँ हप्तादेखि दुई महिनासम्म बिताउनुपर्ने बाध्यता छ। कुनै समय रुसबाट युरोपसम्म ग्यास पुर्याउने यी पाइपलाइनहरू अहिले युक्रेनी सैनिकहरूलाई खाना, हतियार र ...

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित
इलाम । अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका छन् । मुख्य उत्पादन दिने सिजनमै बोट मर्न थालेपछि व्यावसायिक अकबरे खेती गर्दै आएका जिल्लाका किसान चिन्तित बनेका हुन् । बोट एकाएक पहेँलिने र मर्ने समस्या देखिएको माङसेबुङ गाउँपालिका–६ का किसान प्रदीप राईले बताए। अकबरे खुर्सानीमा फल लाग्न थालेसँगै पात पहेँलिने, हाँगा सुक्ने र पूरै बोट मर्ने समस्या देखिएको ...

चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार
जनकपुरधाम । दीपावली र छठको पूर्व सन्ध्यामा जनकनन्दनी गाउँपालिका–४ खजुरीका कुमाल दियो, कलश, घैँटो, हाँडी, धुपौरो, हात्ती, कोसिया, कुर्वार, मट्का बनाउन व्यस्त छन् । बिहान सखारैदेखि साँझ अबेरसम्म उनीहरु माटो र... ...

स्थानीय तह निर्वाचनका लागि रास्वपाद्वारा उपसमिति गठन, महानगर र उपमहानगरमा आवेदन खुला
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरी उम्मेदवार छनोट प्रक्रियालाई तीव्रता दिएको छ। पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा महामन्त्री एवं समिति संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा... ...


