युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले श्रम, रोजगारी र वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका बेथिति अन्त्य गर्न सरकारले नीतिगत तथा कानुनी सुधारको काम अघि बढाएको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले वर्षौंदेखि थुप्रिएका समस्या समाधान गर्दै श्रम तथा रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन सरकार जुटेको बताए। मन्त्री यादवले १९ वर्षपछि वैदेशिक रोजगार ऐनमा व्यापक संशोधन गर्न लागिएको जानकारी दिए। त्यस्तै, संघीयता कार्यान्वयनमा आएपछि संशोधन हुन नसकेको राष्ट्रिय युवा ऐनलाई पनि समय र आवश्यकताअनुसार परिमार्जन गरिरहेको उनको भनाइ छ। सरकारले राष्ट्रिय रोजगार ऐन निर्माणको कामसमेत अघि बढाएको उल्लेख गर्दै उनले सामाजिक उद्यमशीलतालाई पनि उक्त ऐनमा समेट्ने घोषणा गरे। राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष ३५ वर्षमुनिको युवा हुने व्यवस्था प्रस्ताव गरिएको जानकारी दिँदै मन्त्री यादवले युवाका लागि नयाँ अवसर सिर्जना गर्नुका साथै ती अवसरलाई दिगो बनाउन बलियो नीतिगत आधार तयार पार्नु सरकारको प्राथमिकता रहेको बताए। उनले भने, ‘श्रम, रोजगारी र वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका बेथिति हटाइरहेका छौँ। वर्षौंदेखि थुप्रिएका फोहोर सफा गरिरहेका छौँ। विगतका काम र कमी कमजोरी सच्याइरहेका छौँ। समय र आवश्यकताअनुसार नीति, ऐन र नियमावली सुधार गरिरहेका छौँ।’ नीति, ऐन तथा नियमावलीमा सुधार गरेर प्रणालीप्रति नागरिकको विश्वास बढाउने काम भइरहेको उनको भनाइ थियो। मन्त्री यादवले सरकारले युवासँग सहकार्य गरेर नीति निर्माण गर्न चाहेको पनि बताए। युवाका आवश्यकता र सुझावलाई समेट्दै नयाँ अवसर सिर्जना गर्न सरकार उनीहरूसँगै अघि बढ्ने उनले प्रतिबद्धता जनाए।
१९ वर्षपछि वैदेशिक रोजगार ऐन संशोधन हुँदै, युवा ऐन पनि परिमार्जन गरिँदै

Read Complete Original Article
Published originally on पर्दाफास






