होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे : हामी गरिबलाई के चाडपर्व ?

काठमाडौं । काठमाडौंको थापाथली सुकुम्बासी बस्तीबाट विस्थापित हरिमाया जिम्बा गत वैशाख १२ यता होल्डिङ सेन्टरमा हुनुहुन्छ । अस्थायी बासस्थानमा बस्न थालेपछि महिलाहरूको चाड तीज आयो । चुरा पनि लगाउन नपाएर सकियो । अब दसैँ र तिहार आएको छ । चाडपर्वको आगमनले उहाँलाई घरविहीन हुनुपरेको, अघिल्ला वर्षको चाडका दिन सम्झना आउँछ । घर, रोजगारी गुमेपछि कहाँ जाने, कसरी चाड मनाउने भन्ने चिन्ता थपिएको छ । अघिल्लो वर्ष घर हुँदा परिवार सँगै बस्ने गरेपनि यस वर्ष के गर्ने भन्ने टुंगो नरहेको उहाँले बताउनुभयाे । ‘हामीजस्तो गरिबलाई चाड के हो ? दसैँ के हो ? तिहार के हो ?’ उहाँले थप्नुभयाे, ‘पहिला आफैँ काम गरेर सानो झुप्रो भए पनि परिवारसँग बस्थ्यौँ, खान्थ्यौँ, रमाइलो गर्थ्यौँ । वैशाख १२ गते घर भत्किएपछि परिवार साथमा छैन । कोही कता, कोही कता छन् ।’ तीजमा चुरा पनि किनेर लगाउन नसकेको उहाँले सुनाउनुभयाे । उहाँ विगत ६ महिनादेखि होल्डिङ सेन्टरमा बस्दै आउनुभएकाे छ । सुरुका तीन महिना कीर्तिपुरको होल्डिङ सेन्टरमा बसेकी उहाँलाई त्यसपछि भक्तपुरको बोडेमा सारिएको थियो । सरकारले छानबिन गर्ने भन्दै आफूहरूलाई होल्डिङ सेन्टरमा ल्याएर राखे पनि त्यसपछि कसरी व्यवस्थापन गर्ने भन्नेबारे कुनै टुंगो नलागेको उहाँको भनाइ छ । होल्डिङ सेन्टरमा बस्नका लागि ठाउँ ठीकै रहेको तर जीविकोपार्जनको समस्या भएको उहाँले बताउनुभयाे ।विस्थापित हुनुअघि आफूहरू बसेको ठाउँ वरपर ठूला घर रहेको र त्यहाँ काम गरेर गुजारा चलाउने गरेको उहाँले सुनाउनुभयाे । मासिक १०–१२ हजार रुपैयाँ कमाइ हुँदा पनि खानलाउन पुगेको थियो । तर, घर भत्किएर होल्डिङ सेन्टरमा आएपछि रोजगारीको अवसरसमेत गुमेको छ ।‘अहिलेसम्म सरकारले बिहान–बेलुकाको खाना दिएको छ । तर, यसरी कति दिन बस्ने ? सरकारले छिटो दीर्घकालीन बासस्थानको व्यवस्था गरिदिए हुन्थ्यो,’ उहाँले भन्नुभयाे, ‘त्यसपछि काम गरेर परिवारसँग बसेर खान सकिन्थ्यो ।’ शंखमुलको सुकुम्बासी बस्तीबाट विस्थापित पवन गुरुङलाई पनि दसैँको मुखमा आफ्नै घर नहुनुको पीडाले सताएको छ । हाल संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका उपाध्यक्ष उहाँ वैशाख ८ गते खरिपाटीस्थित होल्डिङ सेन्टरमा लगिएका थिए । घर भत्काउनुअघि नै बासस्थानको व्यवस्था गर्न सुझाव दिएको भएपनि त्यसलाई बेवास्ता गरिएको र अहिले आफूहरू बिचल्लीमा परेको उहाँको गुनासो छ । होल्डिङ सेन्टरमा दालभात उपलब्ध रहेको तर सबैको आवश्यकता पूरा नभएको उहाँले बताउनुभयाे। विशेषगरी बिरामी र बालबालिकाले आवश्यक पोसिलो आहार पाउन नसकेको उहाँको भनाइ छ । उहाँका अनुसार घर भत्काइएको दुई महिनापछि सरकारले प्रतिपरिवार २५ हजार रुपैयाँ दिएको थियो । तर, त्यसपछि भाडामा बस्नेहरूलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने भनिए पनि कसैले उक्त रकम नपाएको उहाँको गुनासो छ । सुकुम्बासीलाई जग्गा व्यवस्थापन गर्ने र लालपुर्जा उपलब्ध गराउने आश्वासन पटकपटक पाएको भए पनि कहिले जग्गा पाइन्छ भन्ने टुंगो नलागेको गुरुङ बताउनुहुन्छ । होल्डिङ सेन्टरमा बसिरहेका परिवारको मुख्य चिन्ता अहिलेको खानपानभन्दा पनि दीर्घकालीन बासस्थान र जीविकोपार्जनको माध्यम के बनाउने भन्ने छ । ‘संसद्मा बोल्दा मन्त्रीले सुकुम्बासीलाई जग्गा दिने हो, पिर गर्नुपर्दैन भन्नुभएको छ,’ उहाँले प्रश्न गर्नुभयाे, ‘पीडितलाई जग्गा कहिले बाँड्ने ? हामी मरिसकेपछि ?’
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, टोलीमा एक परिवर्तन
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै छ । ओमान क्रिकेट एकेडेमीमा कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । अर्जुन कुमालको स्थानमा देव खनाल टोलीमा आएका छन्। अंकतालिकामा शीर्ष ६ मा अटाउनका लागि नेपाललाई यो खेल जित्नैपर्ने ...

अर्घाखाँचीमा यात्रुकाे चाप धान्न देउरालीले थप्यो ७ नयाँ बस
दसैं मनाउन राजधानीबाट घर फर्कने यात्रुको सहजताका लागि सन्धिखर्क–काठमाडौँ रुटमा तीनवटा र सन्धिखर्क–दिल्ली रुटमा चारवटा बस थपिएको हो । ...
![दशैँमा स्वास्थ्यमा ध्यान दिन जोड [भिडियो]](https://hamrakura.com/uploads/news/images/subarna-poudel-02-07.jpg)
दशैँमा स्वास्थ्यमा ध्यान दिन जोड [भिडियो]
आयुर्वेद चिकित्सक डा.सुवर्ण पौडेलले आग्रह गरेका छन्। ...

नेपाल, भुटान र भारतका याकपालकको क्षेत्रीय सञ्जाल स्थापना हुँदै
काठमाडौं । नेपाल, भुटान र भारतका याक तथा चौँरीपालक कृषकलाई एकै मञ्चमा जोड्ने उद्देश्यले हिमालय याक कृषक सञ्जाल स्थापना हुने भएको छ। भुटानमा आयोजना हुने नवौँ रोयल हाइल्यान्ड महोत्सवका अवसरमा सञ्जाल औपचारिक रूपमा सुरु गरिनेछ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार याकपालक समुदायमा मात्र केन्द्रित यो पहिलो क्षेत्रीय मञ्च हुनेछ। जलवायु परिवर्तन, चरन क्षेत्रको क्षयीकरण र युवाको बसाइँसराइजस्ता चुनौती बढिरहेका ...


