ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिकामा अन्तरपालिका पुरुष फुटबल प्रतियोगिता ‘सुनकोशी गाउँपालिका कप-२०८३’ आयोजना हुने भएको छ । सुनकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय मूलखर्कको आयोजनामा आगामी मंसिर २१ देखि २४ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो । ‘संस्कृति, पर्यटन, कृषि र पूर्वाधार : समावेशी सुनकोशी समृद्धिको आधार’ भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिता सुनकोशी गाउँपालिका-५, मूलखर्कस्थित खेलमैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुन गाउँपालिकाले सूचना जारी गर्दै देशभरका स्थानीय तह, खेलाडी तथा खेलप्रेमीलाई आह्वान गरेको छ । प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राईका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले मंसिर १८ गतेभित्र दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ । टिम दर्ता शुल्क १० हजार रुपैयाँ, बीमा शुल्क एक हजार रुपैयाँ र धरौटीबापत दुई हजार रुपैयाँ निर्धारण गरिएको छ । प्रतियोगिता ९ ए साइडमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को नियमअनुसार नकआउट प्रणालीमा सञ्चालन गरिनेछ । प्रत्येक टिममा १४ जना खेलाडी, एक जना प्रशिक्षक र एक जना व्यवस्थापक गरी १६ जनाको टोली रहने व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रत्येक नगरपालिका वा गाउँपालिकाबाट एक टिमले मात्र सहभागिता जनाउन पाउनेछन् । सहभागी खेलाडी सम्बन्धित स्थानीय तहकै हुनुपर्नेछ । टिम दर्ताका क्रममा सम्बन्धित नगरपालिका वा गाउँपालिकाको आधिकारिक सिफारिसपत्र तथा खेलाडीको नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य बुझाउनुपर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता टिमले तीन लाख ३३ हजार ३३३ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टिमलाई एक लाख ७७ हजार ७७७ रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यसैगरी सेमिफाइनलसम्म पुग्ने बाँकी दुई टिमलाई जनही एक लाख रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई जनही १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिनुभयो । प्रतियोगिताले स्थानीय तथा अन्तरपालिका स्तरमा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान र खेल पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा आयोजकले गरेको छ । प्रतियोगिताका अन्य नियम तथा व्यवस्थाबारे खेल सुरु हुनुअघि र सञ्चालनका क्रममा जानकारी गराइने गाउँपालिकाले जनाएको छ ।
सुनकोशी गाउँपालिका कप फुटबल प्रतियोगिता मंसिर २१ देखि

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






